देवताका राजा इन्द्रले आफ्नी
आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भने
अनुसार फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे ।
त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’
भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल
अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे ।
पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले
खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा
पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही
बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर
परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने
चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै
गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने
व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा
हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा
पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको
प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका
परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।
श्रोत : कल्याण मित्र, राजधानी दैनिक
No comments:
Post a Comment