Showing posts with label इन्द्रदेव. Show all posts
Showing posts with label इन्द्रदेव. Show all posts

Thursday, August 16, 2018

नाग पंचमी


श्रावण शुक्लपक्षको पञ्चमीको दिनमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको र यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ l 

बैदिक दर्शनमा उल्लेख अनुसार १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा #अनन्त, #वासुकी, #शेष, #पद्यम्, #कम्बला, #कारकोटका, #अश्भतरा, #धृतराष्ट्र, #शङ्कपला, #कालिया, #तक्शका र #पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमीको सन्दर्भमा महाभारतसंग जोडिएको एक कथा पाइन्छ । #परिक्षीत नाम गरेका एक राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे l यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्ध, ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्शका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्र सहित जन्मजयसम्म आइपुग्दछन् l यो देखेर सबै अचम्ममा परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजय समक्ष माफी माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । 

यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

श्रोत : हाम्रो पात्रो l

Tuesday, September 5, 2017

इन्द्रजात्रा : दागींको सन्दर्भ


देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भने अनुसार फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । 

पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

श्रोत : कल्याण मित्र, राजधानी दैनिक

Monday, September 4, 2017

अविरल बग्दछ इन्द्रावतीको कथा


कुनै बेला राजा इन्द्र स्वर्गको राजकाज सबै छोडेर यस नदीका तीरमा आई तपस्या गर्न लागे । उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्रायणी आई विलाप गर्न लागिन् । उनको विलाप सुनेर इन्द्रको मति फिरेछ र उनी फेरि स्वर्गमा गएर राजकाज सम्हाल्न थाले । इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती रहन गए ।

Thursday, August 31, 2017

नेपालमण्डल : नास: द्य:

 नास: द्य: सन्दर्भ:

लोककथा अनुसार एक पटक महादेव पार्वतीसंग वसिरहंदा अति खुसी भई पार्वतीलाई ब्रम्हाण्डकै सबै भन्दा सुन्दरी भनेर प्रसंसा दिन दिन भ्याएछ । महादेवको यस्तो कुरा सुनेर पार्वतीले नेपाल मन्डलमा आफु भन्दा पनि राम्री केटी देखेकॊ कुरा सुनाएछ । नारी र धन भनेपछि आफ्नॊ तेस्रॊ आँखा पनि खॊल्ने महादेवले पार्वती भन्दा पनि राम्री केटी नेपालमण्डलमा भएकॊ सुनेपछि चित्त आकुल ब्याकुल गर्दै सॊ केटीलाई खोज्न नेपालमन्डल झरेछ । खोज्दै हिड्दा एउटी नेवार केटी खेतमा काम गरीरहेकॊ देखेछ । पार्वतीले भनेझैं उनी अती राम्री थिईन । महादेवले आफ्नो मन थाम्न नसकी आफ्नॊ मायाजालले छॊपी उक्त केटीसंगै लसपस गरी त्यतै बस्न थालेछ । दिन बित्दै जाँदा सॊ केटी गर्भवती भईन । त्यॊ कुरा थाहा पाई महादेवलाई आपद पर्न थाल्यॊ । अब दुनियाले मेरॊ बारेमा थाहा पाउने भो भन्दै महादेव त्यहाँबाट सुटुक्क भागेछ । आफु गर्भवती भएकॊ र आफ्नॊ केटाले पनि छाडेर गएपछि गर्भवती केटी कसैले नदेख्ने ठाऊमा बस्दै रहँदै गर्दा एउटा छॊरालाई जन्म दिईन ।

छोरो त जन्मियो, जीउदाल हेर्दा अति खाईलाग्दॊ थियो तर उनकॊ अनुहार चाहिं थिएन । अर्थात अनुहार बिनाको छोरो जन्म भएछ । बच्चा जन्मिँदा बच्चामा आफ्नॊ अनुहार आउला र पछि आफ्नॊ बदनाम हॊला भन्ने डरले त्यस बालकलाई महादेवले बिना अनुहार जन्मन लगाएका थिए । पछि कालान्तरमा बच्चा ठुलॊ हुंदै आयॊ । उ सानैबेला देखी विभिन्न वस्तुहरु जम्मा गरी वाजा वनाई बजाउने, गाउने र नाच्ने गर्दथ्यो । उसकॊ यस्तॊ अदभुद खुबी देखेर स्वर्गका इन्द्रदेवले आफ्ना गन्दर्भ र अप्सराहरुलाई गीत, संगीत र नृत्य सिक्नलाई नेपालमण्डल पठाए र स्वर्गलोकमा गीत, संगीत र नृत्यकॊ शुरुवाट हुन थाले । पछि उनले नेपालमण्डलका नेवार समुदायहरुलाई पनि गीत, संगीत सिकाएर संगीतको शुरुवाट गरे भन्ने भनाइ रहेको छ । यसरी महादेवको अंशलाई बिस्तारै गीत संगीत र नृत्यका गुरु नट्रराज नाट्यश्वर आदि नामले चिनिन र पुज्न थाले ।

यसैले काठमाडौ उपत्यकामा टोल टोलमा बाजा बजाउने कला सिके पछि कप्लास / कवीलास अवस्थित नास:द्य:को मा पुजा जानु पर्ने प्रचलन अहिले पनि यथावत रही आएको छ ! त्यसै गरि काठमाडौ उपत्यका भित्र रहेका बिभिन्न नासल चोकहरुमा अवस्थित नास:द्य: हरुको मन्दिरमा कुनै पनि मुर्ति राखिंदैन
।

नाट्यश्वरलाई नृत्य देवताको रुपमा प्रस्तुत गरिएको छ ! नेवारहरुले मान्ने नास: द्य: बाजा बजाउने, गाउने कलासंग सम्बन्धित छ
। त्यसैले नाट्यश्वर र नास:द्य: मा मेल खाँदैन ।

श्रोत : @SIRSUREN, संजिव महर्जन

Sunday, August 27, 2017

पुलुंकिसी


किम्वदन्ती अनुसार स्वर्गका राजा इन्द्रदेव नेपालमण्डल, विष्णुमति नदी अवस्थित निर्मल तिर्थ दर्शन गरेर फर्कने बेला पारिजात फुल चोर्दै गर्दा समातेर बाँधेर राखे । आफ्नो इष्टदेव तथा बाहान स्वर्गमा फर्केर नआएपछि एरावत हाती आश्चर्य मान्दै छटपटाइ रहे ! २-३ दिनसम्म पनि इन्द्रदेव स्वर्ग नफर्केपछि एरावत हात्ती स्वर्गबाट धर्तीमा झरे । यता उता भौतारिन्दै इन्द्रदेवलाई खोज्दै रहे । इन्द्रदेव जता गए पनि एरावत हात्ती चढेर जाने गर्थ्यो, अब इन्द्रदेव नै नरहेपछि एरावत हात्ती कसरी बस्न सक्थे ? तसर्थ नेपालमण्डलको गल्ली गल्ली हुँदै अन्नपानी वास्ता नगरी यता उता भौतारिन्दै खोज्दै हिंडे ।

नेपालमण्डलमा यसरी यता उता भौतारिन्दै गरेको हात्ती देखेर मानिसहरु छक्क परे । गहनाहरुले सुसज्जित सेतो हात्ती, हेदै राम्रो ऐरावत हात्ती, बाटोमा हिडिरहेका मानिसहरुलाई पनि वास्ता नै नगरी दौडादौड, भागमभाग गर्दै भौतारिरहेको देखेर मानिसहरुले एरावट हातिलाई समातेर किलागल: मा बाँधी दिए ।

यता आफ्नो छोरा हेर्न पठाएको हाती पनि नफर्के पछि इन्द्रदेवका माता आफै ध्यानमा बसेर हेर्दा त आफ्नो छोरा र एरावट हात्ती दुबैलाई बाँधेर राखेको देखिन् । त्यसपछि माता आफै धर्तीमा झरेर दुबैलाई स्वतन्त्र गराई स्वर्गमा फर्काए ।

यसैको सम्झानार्थ इन्द्रदेव नरिसाओस् भनेर इन्द्रजात्राको चलन रहेको भनाइ छ । इन्द्रजात्रामा एरावत हात्ती इन्द्रदेबलाई खोज्दै हिंडेको प्रतिकको स्वरूप आजसम्म पनि पुलुंकिसी शहरभरि यता उता घुमाउने चलन रहेको छ । त्यसैगरि, आफ्नो छोरालाई बाँधेर राखेकोले रिसाएर श्राप दिन लाग्दा भुल भयो, क्षमा पाउँ भनि क्षमा मागेको हुनाले आज सम्म पनि इन्द्रजात्रा प्रतिकको रुपमा इन्द्रजात्राको रथ तानी सकेपछि दागीं ल्याउने चलन रहेको छ । इन्द्रलाई लिन आएको बेला इन्द्रदेबको माताले बत्ति बाल्दै आएको प्रतिक स्वरूप इन्द्रजात्रा पर्वको बेला दागींको अगाडी बहुमत / बौ:मत / लामो बाँसमा लहरै पाल्चा बाल्दै शहर घुमाउने चलन अहिले पनि रहेको छ ! दांगी रिसाएर भाग्छ भन्दै दायाँ बायाँ मानिसहरुले हात समातेर राख्ने गरिन्छ ।

श्रोत : सन्दिप महर्जन

Tuesday, April 18, 2017

मकवानपुर : थाहानगरमा ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा




परापूर्व कालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । युद्धमा कहिले देवताहरुको जित हुन्थ्यो, कहिले दानवहरुको जित हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चली नै रह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जित भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौं मारिए, कयौ घायल भए, कयौ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध युग समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्ण तर्फ भागी आउने देवताहरु हिन्दुस्थान भित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महशुस हुन थाल्यो । बाँचेकाहरु पुर्व एशियाका देशहरुमा स्थापना हुँदै आएका मध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३/१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । 

यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग बास मागेछ । पालुङका मानिसहरुले उहाँँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन–‘तपाइ जस्तो यौवनले धपक्क बलेको सुन्दरी युवतीलाई हामी बास दिन सक्दिन ।’ कसैले भनेछन्–‘यहाँ केही समय बास दिदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोध र अलि हँसिलो भावमा भनेछ–‘अब म पनि कुनै दिन तपाइहरुले धुमधामसंग मान्नुपर्ने भएर सिन्दुरयात्रा देखाउँदै आउनेछु ।’ अब म बास दिएता पनि बस्दिन भनी पालुङ शहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउलेहरुले भनेछ–तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिदा तपाइलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओड्ने ओछ्याउने बस्तु केही छैन, के गरौ ? भनेपछि इन्द्रायणी माताले भनिछन्् –मलाई ओड्ने ओछ्याउने केही पनि चाहिँदैन । वेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ भनेपछि एउटा घरको कुनामा बास दिएछ । र, त्यहीँ इन्द्रायणी बास बसेछ । (त्यही बास बसेको घर नै हालको द्योछेः हो ।


त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने जस्तो अनौठो बाजागाजाको आवास आए जस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चन्चलता भइरहने जस्तो अचम्म लाग्न थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तीत मुद्रामा देख्ने, कहिलेकाँही आफ्नो पतिदेव इन्द्रदेवको सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लीएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिदैन ।

यसरी कुनै बेला साता, दुईसाता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले घर गर्दै गयो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सुपना दिएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दावहरुबीच घोर घमासान रणसंग्राम लडाई हुँदा सो लडाईमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास गरिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिनू र त्रसित हुन पर्दैन । म यहाँ रहुन्जेलसम्म हरेक समयमा तपाइहरुको सुरक्षा हुनेछ । तपाईहरुको भलाइ हुनेछ । यो तपाइहरुको गाउँमा  तपाईहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखे । 

यसरी समय बित्दै जाँदा दानवहरुको दूत जासुु पनि इन्द्रायणी कहाँ पुगेछ भनी खोजी निती गर्दै आउँदा इन्द्रायणी यहिँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्य्रायणी समक्ष भनेछ–देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खबर सुनाएर त्यही गाउाको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउलागाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामयीम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनू होला । हे इश्वर, हे देवी माता, के कालिका देवी होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस प्रभू । भनेर स्तुति प्रणाम गरेपछि इन्द्रायणीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरी पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रहि आएकोले अब म पनि यस मत्र्यलोकमा रहनूहुन्न ।     मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानू पर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जोडाइदिनूहोला ।

भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने–सति सामाग्रीहरु के के चिज हो भगवान ? इन्द्रायणी माताले भने धुप दिप, लाजा, सिन्दुर, फूल अक्षता नदीको किनारामा   दाउराको चाङ लगाई सोला बनाइदिनू प¥यो । देउलाहरु पनि अलाप बिलाप गरी रुन लागे । नचहाँदा नचाहँदै पनि  उहाँले भने बमोजिम सम्पूर्ण सामाग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ ।

त्यसपछि देउलागाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगिेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हगाचा नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणीदेवी माताले गंगाजीको दर्शन गरी पूरे कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनु भयो । त्यसै बेलादेखि इन्द्रायणी सतिजान नहुएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ छ ।


Source : www.bikaskhabar.com

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...