Monday, March 20, 2017

महाँकाल भैरवको कथा

काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा

लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पानी पार्ने अनेक उपाय गरे । धेरै गण्यमान्यहरू र तान्त्रिकहरूसँग सर–सल्लाह हुँदा तान्त्रिकका पनि तान्त्रिक शाश्वत बज्र गुभाजुको नेतृत्वमा ठूलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक र आध्यात्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे । यज्ञ सुरु भो, अग्नी दन्कियो, स्वाहा गर्यो । सर्पदेखि बिच्छीसम्म होमिए । हेर्दाहेर्दै आकाशमा अजङ्गको कालो मेघ देखा पर्यो । यति बिशाल र सघन बादल कहिले पनि देखिएको थिएन । सब खुशी भए । राजा जनता, बटुक, पण्डित । तर तान्त्रिक गुभाजुको अनुहारमा चमकभन्दा ज्यादा चिन्ता देखिए । सहकर्मी तान्त्रिकहरू छक्क परे । यत्रो साधनाको फल, आकाशमा देखिँदा पनि तान्त्रिक गुभाजु हर्षित थिएन । सबै तान्त्रिकहरू गुभाजु भए ठाउँमा गए र जिज्ञासा राखे ।

“गुरु देव, यज्ञ सफल भएकोमा हजुर खुशी देखिनु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौं” गुभाजुले आफ्नो चिन्ता प्रकट गरे ।
‘मलाई यो मेघ प्राकृतिक लागेन, पानीको कुनै अंश देख्दिन’
‘कुनै दैवी छल वा पिसाचको संकट हुनसक्छ’
‘त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु, सत्य देख्न चाहन्छु’

गुभाजुको यो तर्क सुनेपछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए । गुभाजुले आफ्नो भए भरको तन्त्रमन्त्र प्रयोग गरी त्यो भीमकाय मेघलाई तारण लगाई झारे । झर्दा त बिशाल कालो रंगको ढुङ्गा झरे । करिब ६ हात लामो, ३ हात चौडा र २ हात उचाईको ढुङ्गा झरे । घोर अनिष्ट ! आकाशबाट बिशाल ढुङ्गा झरेकोमा हल्लाखल्ला धेरै भए । गुभाजुलाई लाग्यो तारण लगाई झारेको ढुङ्गा चानचुने होइन । यो कसैको छद्मभेषी अवतार हुन सक्छ । तारण फुकालेर, तन्त्रको बलले सही रूपमा प्रकट हुन आग्रह गरे । अचम्म, कालो वर्णको, भीमकाय शरीर भएको, सर्पको माला लगाएको, हातमा पात्र (गुलपाः), गद्दा, खड्ग बोकेको महाँकाल रहेछ, संसारलाई शत्रु र संकटबाट बचाउने देवको रूपमा । त्यो थाहा पाएपछि, गुभाजुले आफ्नो अज्ञानताको लागि माफी मागे र देशमा संकट भएकोले अबदेखि यहीँ राज हुन अनेक बिन्ति गरे ।महाँकाल देवताले ‘मलाई संसारभरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन, त्यसले वत्स, तिम्रो आग्रहलाई मानेर म हरेक शनिबार अवश्य आउँछु । मलाई एउटा मन्दिर बनाएर र मूर्ति बनाई राखी देउ, म आएर दर्शन दिन्छु ।

एक दिनले नपुग्ने गुनासो गरेपछि भगवानले केही सहुलियत दिने निर्णय गरे । ‘हरेक शनिबार त म आउँछु र मंगलबारको दिन पनि अन्य संकटकालीन काम आइपरे भने ऐच्छिक रूपमा आउँछु र कान्तिपुरबासीको दुःख निवारण गर्न सक्दो मदत गर्नेछु ।’

यति सुनेर गुभाजु लगायत सबै जनाले महाँकाल देवताको जय जयकार गर्न थाले । अचेल त्यो ढुङ्गारूपी महाँकाल खसेको ठाउँ ढुङ्गासहित यद्यपी देख्न सकिन्छ । पुरानो बसपार्क, शहीद शुक्र माध्यमिक विद्यालयको सामुन्ने त्यो ढुङ्गारूपी असली महाँकाल अहिले पनि देख्न सकिन्छ
। हाल त्यस स्थानलाई सुरक्षित रूपमा बार लगाई, माथी सुनको जलप भएको झल्लर राखिएको छ ।

श्रोत : राहुल भाई (www.sajha.com)

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...