किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै स्थापना गरेका थिए ।
अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग नागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भनेर अनुरोध गरे ।
यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीमा यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।
नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बिःसित (नाग मर्यो) , बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा भई अपभ्रंश हुँदै बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाका बताउँछन् ।
९ दिन ८ रातसम्म चल्ने (हरेक बर्ष चैत्र २७ देखि नयाँ बर्षको बैसाख ५ सम्म) चल्ने यो जात्रा नेपाल सम्वत् २६८मा राजा जगतज्योति मल्लले विशेषरूपमा मनाउने व्यवस्था गरेको थियो भने नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्लले अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको थियो ।
यो कथा मेरो मम्मीले म सानो हुँदा राती सुत्ने बेला सुनाउनु हुन्थियो | अहिले आएर पढ्दा मलाई फेरी बाल्यकाल मा पुर्यायो | कथा मलाई एकदमै राम्रो लाग्यो . यस्तै किम्बदन्ती कथा हरु अझौ लेख्न आग्रह गर्छु तपाई सामु
ReplyDelete