धर्मग्रन्थहरूको पौराणिक कथाअनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाटनजिकै बस्थे । अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए । समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए ।
यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरिक सम्बन्ध बनाए । नदी तटनजिकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए । आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुबैलाई श्राप दिए । श्रापको प्रभावका कारण अहिल्या ढुङ्गामा परिणत भइन् । उक्त ढुङ्गा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्थित छ । श्रापकै कारण राजा इन्द्रको शरीरभर हजारौँ योनी निस्किए ।
कथाअनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे । गुरुको सल्लाहअनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको १२ वर्षे तपस्यामा बसे । तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, “यसलाई टेक्दै यात्रा गर्नु, बाँसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनी मुक्त हुनेछौ ।”
मुक्तेश्वर महादेवको आज्ञाअनुसार पृथ्वीको यात्रामा निस्किएका इन्द्र त्रिवेणीकोनजिक पुगेपछि उनले ढुङ्गामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभरी आएका योनी लुप्त भए ।
इन्द्रले ढुङ्गामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ । किनभने, नेपालभाषामा ‘पँ’ भनेको बाँस र ‘ल्होँ’ भनेको ढुङ्गा भन्ने बुझिन्छ । ढुङ्गामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ ‘पँल्होँ’ हुँदै कालान्तरमा पनौती नामाकरण भएको मानिन्छ ।
निधारको योनी नहटेपछि राजा इन्द्र पनौतीनजिकै रहेको भालेश्वर महादेवको १२ वर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ । यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनीलाई आँखामा प्रमाणित गरिदिए । भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ । त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेश्रो आँखा भएका इन्द्रको पूजा महत्वको विषय रहँदै आएको छ । जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ ।
इन्द्रले जुन ढुङ्गामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए । इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ । उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईश्वीको १३ औं शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन् । यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ । अहिले पनि उक्त मन्दिर १३ औं शताब्दीकै स्वरूपमा छ । समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन् । तर, ती दुबै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औं र १५ औं शताब्दीमा बनेका हुन् ।
श्रोत : विकिपिडिया
No comments:
Post a Comment