पौराणिक कथा अनुसार शिवभक्त दानवराज वाणासुर र यादव सेनाबीच युद्ध भएको
बेला वाणासुरका सेनालाई महादेव एवं कुमार कार्तिकेयले र यादव सेनालाई कृष्ण
भगवानले साथ दिएका थिए । युद्धको क्रममा महादेवले तीनवटा टाउको र तीनवटा
खुट्टा भएका शीतज्वर वा महेश्वरज्वरले यादव सेनालाई आक्रमण गरे । तर
अर्कोतर्फ भगवान कृष्णले विषमज्वर उत्पन्न गरी वाणासुरका सेनालाई आक्रमण
गरेपछि दानवराजको सेना युद्धमा हारे । युद्धमा हारेपछि कुमार कार्तिकेय
भागे ।
शैव र वैष्णव बीचको यस शीतज्वर व विषमज्वर युद्ध ललितपुरमा
देखाइने कार्तिक नाचमा अहिले पनि प्रदर्शन गर्ने चलन छ । संस्कृतिविद
जोशीका अनुसार दानवराजको पक्षमा युद्ध गरेकाले घण्टाकर्णलाई पनि राक्षस
भन्ने गरियो । र गठेमंगललाई बिसर्जन गर्ने चलन पनि युद्धमा हारेर भागेको
प्रतीकको रुपमा लिने गरिन्छ ।
संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका
अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं
भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो ।
घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन
केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो
चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।
बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत
भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा
रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो ।
गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका
रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको
ठाउँमा जम्मा गरिन्छ ।
बिहानैदेखि आआफ्नो टोलको दोबाटो र चौबाटोमा
निगालो वा छ्वालीबाट बनाइएको तीनवटा खुट्टा भएको घण्टाकर्ण ठड्याइन्छ । र
भूतको प्रतिमा बनाएर त्यसमा झुन्ड्याइन्छ । त्यसपछि कुनै ब्यक्तिलाई पेटभरी
दहीचिउरा खुवाई त्यही दहीको भाँडोमा पैसा उठाउन लगाइन्छ ।
दिनभरी
पैसा उठाउन लगाई साँझमा टोलबासी सबै मिलेर तान्त्रिक पूजा सहित त्यही
ब्यक्तिलाई फेरि पेटभरी खुवाउँछन् र बलेको छ्वाली समात्न लगाई घण्टाकर्ण
ढाल्ने गरिन्छ । त्यसपछि घण्टाकर्णमाथि उसलाई राखेर टोलका सबै मिली तानेर
नजिकको नदीमा बिसर्जन गरिन्छ ।
यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट
हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा
भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने
चलन छ ।
भारतको वाराणशीमा प्रचलित रुद्रायमल तन्त्रको कथाका पात्र
घण्टाकर्णलाई काठमाडौं उपत्यकामा प्रचलित गथांमुग:संग जोडिएपछि घण्टाकर्ण र
गथांमुग: एकै हुन् भन्ने भान परेको हो। धेरैले गथांमुग:को शाव्दिक अनुवाद
नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद्
सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ।
'रुद्रायमल तन्त्रको कथाका
अनुसार एक नास्तिकले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर
हिड्ने गर्थे। त्यसैले उनको नाम घण्टाकर्ण रहन गयो' श्रेष्ठ बताउनुहुन्छ।
नेपालभाषामा 'गं' (घण्ट) र 'ग:' (सहर)को अर्थ फरक हुन्छ। 'ग:'लाई 'गं'
बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ।
श्रोत :
http://ujyaaloonline.com/news/23650/