Showing posts with label बछला माजु. Show all posts
Showing posts with label बछला माजु. Show all posts

Tuesday, April 18, 2017

बाला चर्‍हे र इन्द्रायणी जात्रा

- सन्दिप महर्जन
 


इन्द्रायणीलाई इन्द्रको पत्नीको रूपमा पुजिन्छ । बिष्णुमतिको किनारामा रहेको यस इन्द्रायणीलाई नेपालभाषामा लुती अजिमा भनिन्छ ।

किम्बदन्तीअनुसार लुती अजिमा अजिमाहरू मध्ये सबैभन्दा गरिब थिए । कथाअनुसार पशुपतिस्थित बछला माजु (भुवनेश्वरी) ले सबै दिदी बहिनीहरूलाई पाहाँ चर्‍हेमा भोज बोलाएछन् । सबैले मीठो मीठो भोज खुवाए तर लुती अजिमालाई भोलिपल्ट मात्र बोलाएछन् । खुसी हुँदै आफ्ना लालाबाला सबै बच्चाहरू लिएर भोजमा जाँदा भोज सिध्याएर भाँडा माझिरहेको थियो । आज भोज होइन ? भनेर इन्द्रायणीले प्रश्न गर्दा भोज त सकिसक्यो । खाने भए हिजोको बासी अलिकति बाँकी होला सोहरेर खाउ भनेर दिदीले उत्तर दिएछन् । यसरी आफू हेपिएपछि चित्त दुखाएर इन्द्रायणी फर्केछन् ।

इन्द्रायणीका धेरै सन्तानहरू थिए र ती सबै भोकले गर्दा रोइरहेका थिए । दिक्क भएकी इन्द्रायणीले जहाँ–जहाँ जुन–जुन बच्चाले धेरै दुःख दियो, त्यहीँ त्यहीँ छोड्दै हिँड्न थाले । आफूलाई एकदम प्यारो लाग्ने आफ्नो कान्छी छोरी मनकामना (मांकाचा) लाई लिएर केही शीप नलागेपछि खेतमा गएर एउटा फर्सी चोरेर घरमा पकाएर खानलाई काट्दा त्यस फर्सीबाट सुन निस्किएछ । त्यसपछि इन्द्रायणीले आफ्नो सबै बच्चाहरूलाई पुनः घर बोलाएर भोज खुवाए । त्यो दिन बाला चतुर्दशीको दिन थियो । त्यही बेलादेखि इन्द्रायणीको जात्रा अलग्ग हुने गरेको मानिन्छ जबकी अरू सबै अजिमाहरूको जात्रा पाहाँ चर्‍हेको बेला हुने गर्दछ । इन्द्रायणीले आफ्ना बच्चाहरूलाई भोज बोलाएपछि अरूले देख्ला भनेर ढोका लगाएर आफ्नो बच्चालाई मात्र खुवाए । अझै पनि बाला चर्‍हेको तीन दिन अगाडि लुती अजिमाको मन्दिरको ढोका लगाउनु पर्ने परम्परा छ ।

अर्को किम्बदन्तीअनुसार त्यसरी रोएर आएकी इन्द्रायणी थाय् मरु (बाङ्गेमुढा) मा बसिरहेको त्यसबेलाको त्यःर (त्यौड) टोलको जुजु (राजा) ले देखेछ । जुजुले रोइरहेकी आईमाई साधारण व्यक्ति नभइ देवता हुनुपर्छ भन्ने अनुमान लगाए । अनि इन्द्रायणीको अगाडि गएर भक्तिभावले बिन्ती गरेर दर्शन मागे । इन्द्रायणीले दर्शन दिई सकेपछि जुजुले इन्द्रायणीलाई आफ्नो टोलमा बस्न आग्रह गरे । जुजुले अनुनय–बिनय गरेपछि उनी राजी भइन् । अनि जुजुले उनलाई त्यःर त्वाः (त्यौड टोल)मा लगेर राखे । इन्द्रायणीले आफ्नो दुःख सुनाएपछि जुजुले हरेक वर्ष पुजा दिने बाचा गरे । इन्द्रायणीले आफू धेरै भोकै भयो भने रुद्र रूपधारण गर्न सक्ने र बलि लिन सक्ने कुरा सुनाएपछि राजाले बिन्ती गर्दै म हरेक वर्षको एक पटक ठूलो अग्नि होम गरी हजुरलाई बलि पनि दिन्छु । तर यसको बदलामा तपाईंले मेरो राज्यको सुरक्षा गर्नु पर्छ भनेर भनेपछि इन्द्रायणीले हुन्छ मलाई बाला चतुर्दशीको दिन पूजा गरेर बलि चढाउनु भनेर त्यहीँ अलाप भएछ । त्यसपछि जुजुले मूर्ति प्रतिस्थापन गरे ।

लुती अजिमालाई हेपिएको भएर उहाँले राजालाई दर्शन दिएर सपनामा जात्रा पनि चलाउ भनेपछि बाला चर्‍हेमा लुती अजिमासहित स्वाँछपु गणेश, भुँडी गणेश, मनकामना, ज्वालामाई, शोभा भगवतीको खट जात्रा गरिन्छ ।

वंशावलीअनुसार कलिगत सम्वत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षार्थ नगरको चारैतिर लुँमढी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंगेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खट जात्रा चलाएका हुन् ।

मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा अवस्थित इन्द्रायणी र भगवतीको सन्दर्भमा किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लडाँई हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रायणीले श्रीमान् युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सती घाटमा सती जान लाग्दा आकाशबाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुसीयालीमा इन्द्रायणीको जात्रा मनाउन थालिएको हो ।

 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...