Showing posts with label रातो मछिन्द्रनाथ. Show all posts
Showing posts with label रातो मछिन्द्रनाथ. Show all posts

Thursday, February 7, 2019

टेबहालको श्री संकटा


कलिगत संवत् ३६०६, बि.सं. ५६२, इ. सं. ५०५ तिर तत्कालिन लिच्छवि राजा नरेन्द्रदेवको पालामा नेपाल्मण्डलमा अनावृष्टी दुर्भिक्ष भएर हाहाकार भयो । खडेरी पर्यो ।, त्यसैको निवारणको लागि रातो मत्स्येन्द्रनाथ (बुङ्ग द्य:)लाई नेपालमण्डल ल्याउनलाई नरेन्द्रदेवले शान्तिकराचार्यलाई आहवान गरे । राजाको आहवानलाई सहर्ष स्विकार गरेर उन्ले आफ्नो शिष्य बन्धुदत्त आचार्यलाइ पठाए। यसरी भक्तपुरका नरेन्द्रदेव राजा, कान्तिपुरका बन्धुदत्त आचार्य र ललितपुरका ललित चक्र / रथ चक्र ज्यापू मिलेर कामारुकामाक्षबाट करुणामयलाई लिएर आउँदा करुणामय सँग-सँगै संकटा पनि आउनु भयो । 

त्यसरी आउँदा आउँदै कटुवाल दहमा आइपुग्दा संकटाले आफ्नो दाहिने हात देखाउनु भयो । त्यस हातको आकारको शिला / ढुङ्गा अहिले पनि त्यहाँ देख्न पाइन्छ । उहाँले देखाउनु भएको हात एकदमै भिमकाय, डरलाग्दो र ठूलो थियो । यसरी भिमकाय ठूलो आफ्नो दाहिने हातको दर्शन दिनु भएको हुनाले उहाँलाई तपा :ल्हा द्य: भनेर बन्धुदत्तले नामाकरण गरिदिनु भयो । त्यही नामलाइ पछि उनी आफैले पा : ल्हा द्य भनेर फेरि नामाकरण गरिदिनु भयो । यसरी संकटालाई  राजाले केही दिन कटुवाल दहमै राखी केही समयपछि आर्यावलोकितेश्वरलाई पाटनमै थापना गरि सकेपछि पाटनमा लोकेश्वरलाई  त: बहालमा जति ठुलो जग्गामा राखियो, तबहालकै क्षेत्रफलमा काठमाडौंको टेबहाल (राजकिर्ति महाविहार) मा संकटालाई स्थापना गरिदिए । त्यसैले संकटाको मुनि मन्दिर तल श्री रातो मत्स्येन्द्रनाथको मुर्ती रहेको छ । त्यस्तै वीर पुस्तकालयमा रहेको राजमाला बंशबलीमा श्री संकटा थापना बारे २ ओटा बंशवाली रहेको छ । त्यस्तै शाक्यसिंह तथागतले पनि बन्धुदत्त आचार्यले पद्मान्तक दश्क्रोधादी देवताको स्थापना गर्ने छ भनेर भबिस्यबाणी गर्नु भएको कुरा स्वयम्भू पुराणमा उल्लेख छ ।

किम्बदन्ती अनुसार भने टेबहाल भनेर संकटा स्थापना गर्नु भन्दा अघि यश ठाउँमा रहेको विहारलाई तिर्थ विहार भन्ने गरिन्थ्यो । उत्तर मोहडा भएको मन्दिरको पहिलो तल्लामा श्री संकटाको कृष्णवर्णको सुन्दर मुर्ती रहेको छ । उनले दाहिने हातले खड्ग समातेका छन भने देब्रे हातले पद्म समातेका छन । उनले शिरमाभने चन्द्रकलायुक्त रत्नमुकुट लगाएका छन । श्री संकटा, दश्क्रोध योग योगिनी र अष्टमातृका सहित उज्ज्वल , शान्त भै प्रशन्न मुद्रामा उत्तर दिशा हेरेर बिराजमान छन । सबैको संकट हर्ने भएकोले संकटा भनिएको भन्ने भनाइ छ । संकटालाइ शैव र वैष्णव धर्मावलम्बी हरुले भगवतीको रुपमा र शनि संकटाको रुपमा पुज्ने गर्दछन । बज्रयानीहरुले भने तान्त्रिक देवता पद्मान्तक भनेर पुज्नेगर्दछन । यसै गरि बौद्ध र हिन्दु हरुले भने संकट हरण गर्ने देवताको रुपमा मान्ने गरेका छन ।

जेष्ठ कृष्ण अष्टमीका दिन बन्धुदत्त आचार्यले राजा नरेन्द्रदेवको आज्ञा अनुसार आफ्नो मन्त्रसिद्धिले एउटा कलशमा श्री संकटा र अर्को कलशमा श्री वरुण (योगिनी) लाई कलशमा बिराजमान गराइ पुजा र तान्त्रिक साधना गरेकाले त्यसै अनुरुप आज सम्म पनि हरेक १२ वर्षको एक पटक संकटाका पुजारीहरु कटुवाल दह गै आराधना गरि संकटालाइ लिएर आउने गर्दछन । त्यसरी कलशमा साधना गरेर ल्याएपछि जात्रा गरि सानेपा देखि पङ्खाले हम्काएर संकटा ल्याउने चलन यद्यपि अहिले सम्म चलिरहेकै छ । यसरी जात्रा गरि ल्याइएको कलशलाई ७५ जना थकाली बज्राचार्यहरु द्वारा भित्राएर खटबाट ती २ वटा कलश निकाली मुल ढोकामा आठ वटा पत्र भएको कमलको फुलको प्रतिनिधी स्वरुप मण्डल बनाएर त्यहाँ राख्ने परम्परा छ । यसरी जात्रा गरेर ल्याउने क्रममा मखंबहालका बज्राचार्यहरुले पन्चताल / इन्द्रबाजा , टेबहालका सिख्राकारहरुले धाँ (स्वयम्भू मेला बेला बजाइने बाजा) बाजा , र पुखु द्याँ ( खिचापोखरी) का डङ्गोलहरुले धिमे बाजा बजाएर ल्याउने प्रचलन रहेको छ।  यस टेबहाल भित्र आज सम्म पनि संकटा ल्याउनु पुर्वको र ल्याइसकेपछिको गरेर २ वटा महाविहार रहेको छ । यहाँका पुजारिले चुडाकर्म गर्ने बेला पहिले पश्चिम दिशा फर्केका अक्षोभ्य बुद्धलाई पुजा गरि विधि पुर्याए पछि मात्र पुर्वतर्फ फर्केका अक्षोभ्य बुद्धलाइ पुज्ने गर्दछन । यस संकटाको मन्दिर रहेको परिसर टेबहाल भित्र सरस्वती , स सानाचैत्यहरु , बज्रधातु चैत्य , नमोबुद्धको प्रतिक मुर्तिहरु थुप्रै छन । साथै भद्रकालीदेवीको घर पनि रहेको छ भने यहाँ नास द्य ( नाट्येश्वर) को मन्दिर पनि छ ।

Thursday, March 22, 2018

नाला : सृष्टिकान्त लोकेश्वर / करुणामय जात्रा


हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ ।

पुजारी पुण्यराज बज्राचार्यको अनुसार सृष्टिकान्त लोकेश्वरलाई सम्पूर्ण भगवानहरुको सृष्टिकर्ताका रूपमा लिइने गरिन्छ । पुजारीको अनुसार यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ । पहिले यो मन्दिर काठमाडौँ उपत्यकाको बुंगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्याउने क्रममा यही नालाको बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर भागेको भन्ने भनाइ छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्त लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ ।

Sunday, April 2, 2017

रातो मछिन्द्रनाथको भोटो जात्रा


पाटनमा वरदेव राजाको शासनकालमा कर्कोटक नागराजाको श्रीमतीको आँखा दुखेछ । अनेक उपाय गर्दा पनि निको नभएपछि, भक्तपुरको नामी बुढा बैद्यलाई भेट्न भक्तपुर गएछ । मानवरुपी नागराजले बाटोमा बुढा बैद्यलाई भेटेछ । मानवरुपी नागराजले बुढा बैद्यलाई लिएर टौदहमा पुगेपछि नाग रुप लिएर बुढोलाई लिई टौदह भित्र पसेछ । भित्र सुवर्णमय ठुलो दरबार रहेछ । बुढाले चारपाँच दिनसम्म औषधी गरी निको बनाईदिएपछि, नागराजले खुसी हँदै औषधी गरेबापत के चाहिन्छ माग भन्दा, बुढा बैद्यले त्यसबेला नागराजले लगाएको मणीजडित भोटो मागेछ । नागराजले मुसुमुसु हाँसी भोटो फुकाली दिएछ र अन्य धन सम्पत्ति दिई बिदा गरेछ ।

बुढाले घर फर्केपछि, त्यहि भोटो लगाएर खेतमा काम गर्न गएछ । दिउँसो गर्मी भएपछि, भोटो फुकाली खेतको आलीमा राखि काम गर्न थालेछ । एकजना भुतले भोटो देखेर भोटो लिई भागेछ अनि बुढोले भेटाउन नसक्ने गरी गायब भएछ ।

समय बित्दै जाँदा श्री रातो मच्छिन्द्रनाथको रथ जात्रा हुँदा श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा रहेको बेला, त्यो भोटो चोर भुत मच्छिन्द्रनाथको जात्रा हेर्न अन्य भुतहरुसँग आएछ । उनीहरु अदृष्य भएर त्यहाँ जात्रा हेर्न आएका भक्तजनहरुको सरसामानहरु चोरी गरीरहेका थिए । नागराजा पनि मानवरुप लिएर जात्रा हेरिरहेका थिए । बुढो बैद्य पनि जात्रा हेर्न आएछ । 

भक्तजनहरुको सामान हराएकोले ललितपुरको एकजना बज्राचार्यले मन्त्रगरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरु कहीँ जान नसकेर देखिन थाले । यही मौकामा भोटो लाएको भुतलाई बुढाले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणीमय भोटोको प्रभावले भुत बलियो भई बुढालाई कस्त दिएछ । बुढाले गुहार मागेछ । मानवरुपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनी भुत भुईँमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो बुढोलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकोले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्तबुझेकोले श्री मच्छिन्द्रनाथलाई चढाएछ । 

यो समाचार सुनेर तत्कालिन राजा वरदेवपनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो बर्षेनि जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पल्ट देखाउन आदेश दिएछ । प्रथम पल्ट देव, मनुष्य, नागलोकलाई; दोष्रो पल्ट काठमाडौँ, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथंचक्र भरिया र कर्कोटक नागराजा,  तेश्रो पल्टको भुत बुढा बैद्य मन्त्र गर्ने बज्राचार्य सहित यक्ष लोकलाई देखाउनु भनेछ । यो कुरामा सबैलाई राजी गराइ साक्षी राखी नागराज अलप भएछ त्यसबेला देखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किंम्बदन्ती छ ।

मानिसहरुमा यो भोटो कस्को हो भनि भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कस्को हो भनि देखाएको नभई कर्कोटक नागराजाको आदेश अनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किंम्बदन्ती पाइन्छ ।


श्रोत : किरण गाइजु

रातो मछिन्द्रनाथ : १२ बर्षे मेला


१२ बर्षे बिशेष मेलाको अवसरमा परम्परा अनुसार
पहिलो दिन छ्यासीकोटदेखि भैँसेपाटीसम्म
दोस्रो दिन भैँसेपाटीदेखि नख्खु खोलासम्म
तेस्रो दिन नख्खु खोला देखि युलाखेल हुँदै पुल्चोकसम्म रथ तान्ने गरिन्छ

 
तेस्रो दिनको रथ जात्रा बारे एउटा रमाइलो कथा रहेको छ रथलाई नख्खु खोलाबाट तानेर युलाखेलमा विश्राम गराइन्छ किम्बदन्ती अनुसार नख्खु खोलासम्म आफ्नो छोराको पिछा गरिरहेकी श्री मत्स्येन्द्रनाथको राक्षस कुलकी आमाले छोरालाइ खोला तारेर लगेपछि अब कसरी जाने भन्ने चिन्ता परेछ । हतासमा भएकोले आफू राक्षसनी भएको र आफुसंग शक्ति भएको पनि बिर्सेछन । नख्खु वारि बसेर रोइरहेको बेला उनलाई झट्ट याद आयो र माछाको रुप लिएर नख्खु खोला पार गर्ने कोसिस गरेछन् तर सकेनछ । त्यसपछि बायुको वेगमा उडेर बल्ल तल्ल पार गरिन् र आफ्नो छोरा भएको ठाउँसम्म पुगेछन् ।

त्यसपछि अब मछिन्द्रनाथलाई उसकी आमाबाट कसरी पिछा छुट्टाउने भनेर मानिसहरु सोच्न थालेछन् र एउटा उपाय निकालेछ । छोरा भएको ठाउँ भन्दा अलि पर सुतेकी राक्षसनीलाई छल गरि कुनै आवाज ननिकाली बिस्तारै मत्स्येन्द्रनाथलाइ त्यहाँबाट भगाएर हालको पुल्चोक पुर्याएछन् ।

अर्को कथा अनुसार नख्खु तारेर रथलाइ हालको युलाखेलमा पुराएर राखिरहँदा कारणबस किर्तिपुरेहरुसँग पाटनवासीहरुको बाझाबाझ भएछ । मत्स्येन्द्रनाथ भने चुप लागेर ध्यान गरि बसिरहे । त्यसपछि अब किर्तिपुरमा रथ लानेछौँ पख भनेर किर्तिपुरका मान्छेहरु त्यहाँबाट किर्तिपुरमा मत्स्येन्द्रनाथ ल्याउनलाई मान्छे बोलाउन गए । १-२ जना कुरुवा बसेका थिए तर रात भएकोले निदाएछन् । मत्स्येन्द्रनाथको रथलाइ यतै राखे त किर्तिपुरमा लान्छ भन्ने डरले कसैले थाहा नपाउने गरि बाजागाजा केही नबजाइ सुटुक्क रथलाइ रातारात तानेर हालको पुल्चोक पुर्याइयो । भोलिपल्ट अमृतसमयमा किर्तिपुरका मान्छेहरु रथ लिन आउँदा त रथै थिएन । खोज्दै जाँदा हालको पुल्चोलमा पुर्याई सकाका रहेछन् । रथको धमा उतै फर्किरहेको हुनाले मत्स्येन्द्रनाथसंग माफी मागी फर्केछन्
 

रथको धमा ( भैरवको मुकुट राखिएको कर्कट नागको स्वरुप मानिने रथमा पाङ्ग्राहरुको बिचमा रहेको लामो काठ) जता फर्किएको छ , रथ उतै तानिनु पर्छ भन्ने परापुर्व काल देखिको मान्यता अनुसार आज सम्म पनि भोलि रथ कता तन्ने हो , धमा पनि उतै फर्काएर राख्ने गरिन्छ । त्यसैले आज सम्म पनि १२ वर्षको मेलामा युलाखेलबाट रथलाइ मध्यरातमा हल्ला नगरी कुनै पनि बाजा नबजाइ तानेर पुल्चोक पुराउने गरिन्छ ।

श्रोत : सन्दिप महर्जन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...