Showing posts with label असन. Show all posts
Showing posts with label असन. Show all posts

Thursday, March 28, 2019

चाबहिलको सेतो स्याल नुहाउने "जम्बुकुण्ड"

६ दशक अघि देखि मासिसकेको चाबहिल अवस्थित सेतो स्याल नुहाउने #जम्बुकुण्ड पुनर्जीवित हुने तरखरमा । 

पौराणिक कालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका नेवार समुदायका मानन्धरहरु साँखुको बज्रयोगिनी मन्दिरमा दर्शन गर्न जाने गर्दथे । एक पटक दर्शन गरेर फर्कने क्रममा राति भएछ । उक्त बेलामा ती दर्शनार्थीहरुलाई एउटा स्यालले चाबहिलको कुटुबहालसम्म सुरक्षा दिएर पुर्याएको र त्यसैबेला देखि नै उक्त स्यालको मूर्तिलाई स्याल राजा अर्थात जम्बूक राजाको रुपमा पूजिने गरेको किम्बदन्ती रहेको छ । ७७ वर्षीय स्थानीय न्हूछेरत्न शाक्यको भनाई अनुसार अहिले पनि साँखु बज्रयोगिनीको पूजा गरेपछि फर्कदा कालिमाटी लगायतका मानन्धर समुदायहरुले प्रसादको एक भाग कुटुबहालस्थित स्यालको प्रस्तर मूर्तिमा चढाउने प्रचलन रहँदै आएको छ ।

यस जम्बूकुण्डमा नुहाई भिजेकै लुगासहित अञ्जुलीमा पानी ल्याएर नजिकैको जम्बूक राजा (स्याल) लाई नुहाई दिने तथा पानी चढाउने प्रचलन पछि सम्म थियो । तर अहिले पानी नभएपछि पूजा मात्र गर्ने चलन छ – शाक्य बताउँछन् । कुण्डको पानी सुकेपछि यो परम्परा नै लोप हुँदै गएको छ ।





श्रोत : https://bit.ly/2Nv8FZI

Wednesday, September 19, 2018

कल्खु अजिमा / कलङ्की अजिमाको सन्दर्भ


कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास गर्ने देवीको रुपमा चित्रण गरिएको छ l नेपालभाषामा कलह + खु (खुसि ~ खोला) बाट कल्खु बनेको र कलंक हरणी साक्षात देवी भएकोले कल्खु बालकुमारीबाट कलङ्की अजिमा र त्यस ठाउँको नाम समेत कलङ्की रहन गएको भनाई पाइन्छ l

कल्खु अजिमा परिसरमा एक मन्दिरकै गहनाको रुपमा बर पिपलको रुख छ l परापुर्वकालमा बालकुमारी अजिमा लामो यात्राको दौरान यसै बर पिपल रुख मुनि थकाई मारेको भन्ने किम्वदन्ती पाइन्छ l 

यस कल्खु अजिमा र असन केलटोलको बालकुमारी अजिमा र मध्यपूर थिमीको बालकुमारी अजिमासँग परम्परागत सम्बन्ध रहेको पाइन्छ l परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्व भेग मध्यपूर थिमिका केही मानिसहरू बालकुमारी अजिमा र गणहरूलाई तन्त्र साधना गरी स्थानान्तर गरेर थिमि लाने क्रममा असन केलटोलमा एकरात बास बसेको र बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै सिद्ध भएको भनिन्छ l भोलिपल्ट बालकुमारी अजिमा एवं अन्य देवदेवीहरू थिमिमा प्रतिस्थापन गराइएको भन्ने किम्वदन्तीहरु पाइन्छ l

यस कल्खु अजिमालाई केलटोल अवस्थित बालकुमारी अजिमाको आमा भनेर पनि चिनिन्छ l यस मन्दिर परिसरमा पहिले पहिले बिचित्रको दृश्यहरु देखिने गर्दथ्यो रे ! मन्दिर भित्र बालिका खेली रहेको, सेतो घोडा मन्दिर घुम्दै रहेको, सेतो खरायो देखिने गर्दथ्यो रे !

श्रोत : मन्दिर पुजारी प्रकाश मान शिल्पकारज्युको ब्लगबाट साभार !

Wednesday, October 25, 2017

असनको दिब्य माछाको कथा

धेरै पहिले काठमाण्डौं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषी हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति , तिथी अनुसार उसले ज्योतिषी हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरुलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउन्छ ।
 
राजज्योतिषको ज्योतिषी विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्षवितिसकेको हुन्छ । 

एकदिन काठमाण्डौं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाण्डौं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषी हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह , नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिवारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।

उता दाउरेले हुर्काएका बीसवर्षो जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगतगुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषीमा रुचिराखी लागिपरेकाले गर्दा २० वर्षो उमेरसम्ममा ज्यातिषीको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाण्डौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्रभाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाण्डौ उपत्यकाभरी हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षो जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।

राज ज्योतिष :- मैले अहिलेसम्म ज्योतिष हेरिसकेँ त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक :- अब मिथ्या हुनेवाला छ ।

राज ज्योतिष :- यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ , के यो तिमी मञ्जूर गर्र्छौ ?
जवान युवक :- गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषीमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरवारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रकृया मिलाउन लगाउँछ ।

जवान युवक :- हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।

राजज्योतिष :- म अरु कुरा सुन्न चाहन्न , तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।

शनिवारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।

राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरु अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषी हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।


Thursday, August 31, 2017

व्यापारिक केन्द्र असन : असंभुलु अजिमा अर्थात अन्नपूर्ण देवी


उहिले उहिले कान्तिपुर पुरै जंगल भएको बेला असन पनि जंगल नै थियो त्यसबेला एक घाँसीनी नागार्जुन जंगल तलतिर घाँस काट्दै थिए असंभुलु अजिमा नागको रुप लिएर त्यहि घाँसीनीको डोकोमा बसेछ घाँसीनी घाँसको डोको बोक्दै जाँदा जाँदा थाकेर असनमा रहेको ठुलो अशोकको रुख मुनि डोको बिसाएर आराम गरेछ आराम गरि सकेपछि हिड्न खोज्दा घाँसीनीले डोको उचाल्न सकेनछ अचम्म लागेर के भाको हो बुझ्न तान्त्रिक बोलाएर देखाउँदा डोको भित्र त कलस सिद्ध भएको नागरूपी अन्नपुर्ण देवी भएको थाहा पाए यसैले असंभुलु अजिमा नागको रुप लिएर आएको हुनाले यस असंभुलु अजिमा मन्दिरमा नागको कलस अहिले पनि रहेको छ यस कलस भित्र चामल, समयबजी, हाँसको अन्डा, रक्सी, दुध चढाउने गरिन्छ ! कलसमा यसरी अन्न चढाउँनाले कहिले अन्नको दु:ख हुँदैन, मनोकामना पुरा हुन्छ भन्ने परम्परागत विश्वास रहेको छ
 
असन नाम रहन गएको सन्दर्भमा,
उहिले उहिले एक जना थिमीका चामल / चिउराका ब्यापारी अन्नको भारी बोक्दै ब्यापारको सिलसिलामा असन हुँदै जाँदैथ्यो ! थाकेर भारी यसै असनमा बिसाएछ र आराम गरेछ ! आराम गरि सकेपछि भारी उठाउन खोज्दा उचाल्नै सकेनछ र ब्यापारी त्यतिकै फर्केछ ! घर परिवारले के भो, कसो भो, भारी खोइ भनेर सोध्दा बोल्नै सकेन र नेवारीमा "अनसं अनसं" मात्र बोल्न सके
पछि घर परिवारले तान्त्रिकलाई देखाउँदा त्यो भारी बिसाएको ठाउँमा असंभुलु अजिमा रहेको पता लागेछ त्यो ठाउँलाई ब्यापारीले अनसं अनसं भनेकोले पछि त्यहि सब्द अपभ्रंस भै असन हुन गहेको हो भन्ने भनाइ पनि रहेको छ ! चामलको भारी बिसाएकोले यस अजिमाको कलसमा चामल भरेर दिने चलन अहिले पनि रहेको छ भन्ने परम्परागत भनाइ रहेकको छ
 
आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध असंभुलु अजिमा / अन्नपूर्ण देवीको जात्रा गरिन्छ । ने.सं. ६९६ को गीतिपुस्तिका र विभिन्न ऐतिहासिक अभिलेखमा आसा मण्डप भनेर लेखिराखेकाले त्यसैको अप्रभंश भएर यो स्थानको नाम असन हुन गएको हो भन्ने भ
नाइ पाइन्छ । चाँदीको कलशलाई अन्नपूर्ण देवीको मूर्तिका रूपमा मान्दै आएको छ । प्यागोडा आकारको तीन तल्ले पित्तलको कलात्मक मन्दिरभित्र विराजमान भइरहेकी यी देवीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा लिइएको छ । हिन्दूहरूले अन्नपूर्ण देवी र बौद्धहरूले वसुन्धरा देवीका रूपमा पुज्दै आएका छन् । अष्टमातृकामध्ये एक देवीका रूपमा मान्दै आएको यी अन्नपूर्ण देवीको आठ हात छन् । दाहिने चार हातमा खड्ग, बज्र, वरद मुद्रा, कचौरा छन् भने देब्रे हातमा विन्दु मुद्रा, जयमाला, घन्टा र कलश समाती कमलको फुलको आसनमा बसिरहेकी र मान्छेको टाउकाको माला पहिरिएको देखाइएको छ । यस्तो चित्र मन्दिरको टुँडालमा कुँदिएको देखिन्छ ।

नवमीदेखि द्वादशीसम्म जात्रा चलाउने सन्दर्भमा भोटाहिटीमैं भएको देवघरबाट ज्यापू गुथियारहरूले अष्टमीका दिन अन्नपूर्ण देवीलाई राँगो बली दिन्छ । देवीलाई भोग दिएको हेर्न हुँदैन भनेर देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । अन्नपूर्ण देवीलाई दशमीका दिन खटमा राखेर बाजा बजाई जात्रा गरेर घरैपिच्छे पूजा गराउन लागिन्छ । त्यस्तै द्वादशीका दिन कुमारी रथ तान्ने बाटोमा गुथियारका छोरी चेलीका घर घरमा लगेर पूजा गराइन्छ र नगर परिक्रमा गराएर साँझ देवघरमै भिœयाइन्छ । अन्नपूर्ण देवीको यो जात्रा किरातकालदेखि चल्दै आएको हो भन्ने अनुमान गरिएको छ ।

Monday, April 3, 2017

सेतो मछिन्द्रनाथको जात्रा


 नेपाल सम्बतको तेस्रो महिना पोहेलाथ्व, अष्टमीको दिन बेलुकीपख सेतो मछिन्द्रनाथलाई नुहाई दिने र सजाई दिने गरिन्छ । यस दिन मछिन्द्रनाथ देवतालाई जनबहाल अवस्थित मछिन्द्रनाथको मन्दिरकै प्राङ्गणको डबलीमा ल्याइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरु फुकालिन्छ । त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाई दिन्छ । नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधिहरु मन्दिरकै पुजारीहरुले गर्ने गर्दछन् । यस समारोहमा नेपालको जीवित देवी कुमारीले पनि भाग लिने गर्दछ । मछिन्द्रनाथलाई बर्षा र सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करुणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ । सेतो मछिन्द्रनाथलाई यसरी नुहाई दिंदा समस्त मानवजातीमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार राजा यक्ष मल्लको पालामा कान्तिपुरीबासीहरु मृत्युपछि स्वर्ग जान पाइन्छ भन्दै कान्तिपुरका पबित्र नदिहरुमा स्नान गर्दै स्वयम्भु दर्शन गर्न जाने गर्थे । एकदिन यमराजले कान्तिपुरबासीका यी गतिविधिहरु र भगवान स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाएछ र यमराज स्वयम् मान्छेको भेषमा स्वयम्भूको दर्शन गर्न भनि आएछ । यमराज यसरी मान्छेको भेषमा स्वयम्भुनाथको दर्शन गर्न आएको कुरा राजा यक्ष मल्ल र उसका तान्त्रिक गुरुहरुले थाहा पाएछ र यमराज फर्किने बेलामा समातेर आफुहरु सधै अमर हुने बरदान मागेछ र यमराजलाई छोड्न मान्दै मानेनन् ।

यमराजलाई फसाद ! फसादमा परेपछि यमराजले उनीहरुबाट मुक्ति पाउन आर्य-अवलोकितेश्वर (सेतो मछिन्द्रनाथ)लाई प्राथना गरेछ । सेतो मछिन्द्रनाथ (सेतो रंगको देउता, आधा आँखा खोलेका) तुरुन्तै पानीबाट प्रकट भए र कालिमाटी र बागमती क्षेत्रभित्र मन्दिर बनाई रथ तान्ने जात्रा चलाउन आज्ञा दिएछ । तदनुसार हरेक बर्ष चैत्र महिनामा ३ दिन जमल देखि भोटाहिटी, भोटाहिटी देखि हनुमान ढोका र हनुमान ढोका देखि लगन टोलसम्म जात्रा चलाउन लगाए । कथाअनुसार मछिन्द्रनाथ देवताले कान्तिपुरबासीहरुलाई सुखमय जीवन तथा दिर्घायुको लागि बरदान दिन्छ भने जनविश्वास रही आएको छ । यसैको प्रतिकको रुपमा सेतो मछिन्द्रनाथको जात्रा हरेक बर्ष निरन्तर चल्दै आएको छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...