नेपाल सम्बतको तेस्रो महिना पोहेलाथ्व, अष्टमीको दिन बेलुकीपख सेतो मछिन्द्रनाथलाई नुहाई दिने र सजाई दिने गरिन्छ । यस दिन मछिन्द्रनाथ देवतालाई जनबहाल अवस्थित मछिन्द्रनाथको मन्दिरकै प्राङ्गणको डबलीमा ल्याइन्छ । मछिन्द्रनाथ
देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरु फुकालिन्छ । त्यसपछि दुध,
घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाई दिन्छ ।
नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधिहरु मन्दिरकै
पुजारीहरुले गर्ने गर्दछन् । यस समारोहमा
नेपालको जीवित देवी कुमारीले पनि भाग लिने गर्दछ । मछिन्द्रनाथलाई बर्षा र
सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करुणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ । सेतो मछिन्द्रनाथलाई यसरी नुहाई दिंदा समस्त मानवजातीमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
किम्वदन्ती अनुसार राजा यक्ष मल्लको पालामा कान्तिपुरीबासीहरु मृत्युपछि
स्वर्ग जान पाइन्छ भन्दै कान्तिपुरका पबित्र नदिहरुमा स्नान गर्दै स्वयम्भु
दर्शन गर्न जाने गर्थे । एकदिन यमराजले कान्तिपुरबासीका यी गतिविधिहरु र
भगवान स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाएछ र यमराज स्वयम् मान्छेको
भेषमा स्वयम्भूको दर्शन गर्न भनि आएछ । यमराज यसरी मान्छेको भेषमा
स्वयम्भुनाथको दर्शन गर्न आएको कुरा राजा यक्ष मल्ल र उसका तान्त्रिक
गुरुहरुले थाहा पाएछ र यमराज फर्किने बेलामा समातेर आफुहरु सधै अमर हुने
बरदान मागेछ र यमराजलाई छोड्न मान्दै मानेनन् ।
यमराजलाई फसाद ! फसादमा परेपछि यमराजले उनीहरुबाट मुक्ति पाउन आर्य-अवलोकितेश्वर (सेतो मछिन्द्रनाथ)लाई प्राथना गरेछ । सेतो मछिन्द्रनाथ (सेतो
रंगको देउता, आधा आँखा खोलेका) तुरुन्तै पानीबाट प्रकट भए र कालिमाटी र
बागमती क्षेत्रभित्र मन्दिर बनाई रथ तान्ने जात्रा चलाउन आज्ञा दिएछ ।
तदनुसार हरेक बर्ष चैत्र महिनामा ३ दिन जमल देखि भोटाहिटी, भोटाहिटी देखि
हनुमान ढोका र हनुमान ढोका देखि लगन टोलसम्म जात्रा चलाउन लगाए । कथाअनुसार मछिन्द्रनाथ देवताले कान्तिपुरबासीहरुलाई सुखमय जीवन तथा दिर्घायुको लागि बरदान दिन्छ भने जनविश्वास रही आएको छ । यसैको प्रतिकको रुपमा सेतो मछिन्द्रनाथको जात्रा हरेक बर्ष निरन्तर चल्दै आएको छ ।
No comments:
Post a Comment