Showing posts with label इन्द्रजात्रा. Show all posts
Showing posts with label इन्द्रजात्रा. Show all posts

Monday, August 19, 2019

पेटमा भैरबको आकृति भएको बिष्णुको विश्वरुप मुर्ति



इन्द्रजात्राको समयमा तामाबाट बनाइएको यस बिष्णुको शानदार विश्वरुप मुर्तिलाई सर्वसाधारणको लागि प्रदर्शनीमा राख्ने गरिन्थ्यो l  प्रताप मल्ल र उनका परिवारले इन्द्रजात्रा कार्यक्रमको लागि उपहार स्वरूप प्रदान गरिएको यो पेटमा भैरब भएको मुर्ति अहिले कहाँ के अवस्थामा छ, अनभिज्ञ l सामाजिक संजाल फेसबुकमा बहसमा आएको कमेन्ट अनुसार यो चलन अहिले पलायन भै सकेको छ रे l 
 
फोटो : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकबाट साभार l

Thursday, October 25, 2018

इन्द्रजात्रा : दांगी


चथा: अर्थात गणेश चौथी देखि हराएको देवराज इन्द्र काठमाडौमा स्थानिय बासिन्दाले बाँधेर राखेको र छोरो खोज्न पठाएको ऐरावत हातिं पुकुकिसी पनि यता उता भौतारिएको दृश्य अन्तरध्यानबाट देखे पछि चतुर्दशीको दिन स्वयं कन्तिपुरी नगरी आई छोरालाई कैदमुक्त गराउन आएका आमा बसुन्धरा जसलाई दागीं भनिन्छ।

 साथै, बर्ष दिनमा मृत्यु भएकाहरुलाई देवराज इन्द्र र आमा बसुन्धरा संगै स्वर्ग पठाउन पछि लागेका आफन्तजनहरु !

Wednesday, September 19, 2018

किलाग: दि प्याखं / देवी नाच



संस्कृतविद सत्यमोहन जोशीको कथन अनुसार परापुर्वकालमा एक दानवराजले महादेवको भयङ्कर तपस्या गरेको रहेछ l  उसको तपस्याबाट खुसि भएर महादेवले उक्त दानवराजलाई बरदान दिन पार्वतीलाई पठाएको रहेछ l पार्वतीले दानवराजलाई महादेवको आज्ञा अनुसार बरदान माग्न भनेछ l दानवराजले आफुले यति ठुलो तपस्या गर्दा पनि महादेव स्वयं नआई पार्वती मार्फत बरदान माग्न भन्दा दानवराजले आफुले एक स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै पार्वतीको उपेक्षा गरेको रहेछ l

पार्वतीले आफुलाई ठुलो अपमान भएको अनुभव भएछ l यसर्थ अर्को जन्ममा आफुले भैरव र चण्डीको छोरी भएर जन्म लिई यस अहंकारी दानवराजको बध गर्ने अठोट लिएछ l यसै घटनाको प्रतिक स्वरूप इन्द्रजात्राको अवसरमा कुमारीको रथलाई एक छिन रोकेर यस कथाको नाच देखाउने गरि आएको पाइन्छ l

यस नाचमा मुलत: ७ जना पात्र क्रमस: भैरव, चण्डी (भैरवको श्रीमती), कुमारी (भैरव र चण्डीको छोरी), दैत्य, बेता: (भैरबको बाहन), कवंचा (कुमारीको बाहन) र ख्या:क (चण्डीको बाहन) रहेको पाइन्छ l नाचमा बेता:, कवंचा र ख्या:कले हाँस्यरस थपेर रमाइलो र रोमान्चकारी दिने गर्दछ l

श्रोत : झिगु.कम (रेखा शाक्यज्युको लेखबाट सानो अंश साभार गरिएको)

गणेश चौथी, चथा र हलिमाली खाने परम्परा



गणेश चौथी अर्थात गणेशको जन्म दिन । अरुको सहारामा रुपवान देखिने चन्द्रमाले गणेश भगवानलाई खिसी उदाएकोले गणेश भगवानको श्राप अनुसार आजको दिन चन्द्रमा दर्शन गर्नेलाई चोरको आरोप लाग्ने दिन ।
यस दिन देवराज इन्द्र आमा बसुन्धराको पुजाको लागि पारिजात फुल चोर्न काठमाडौ उपत्यका पसेको र बिष्णुमति - भद्रमति नदीको संगममा रहेको निर्मल तिर्थमा दर्शन गरी बिष्णुमति खोला किनारमा अवस्थित एक मालीको बगैंचामा पारिजात चोर्दै गर्दा स्थानिय बासीले देखेर चोरको आरोप लगाईएको र त्यही अनुरुप येँया जात्रामा बाँधेर राखेको कथा छँदै छ । चौरासी ब्यंजनमा रमाएका देवराज इन्द्रलाई चथा: को दिन बाँधेर राखी चपाउनै नसक्ने हलिमलि अर्थात बकुला, भतमास, मकै खान दिएका थिए रे । 

यसर्थ यस दिन देवताका राजा देवराज इन्द्रलाई नेवारहरु खुं द्य अर्थात चोर देवताको रुपमा मानेर हलिमली खुवाउने र खाने गर्दछन् ।

Wednesday, August 29, 2018

बसन्तपुर अवस्थित रहस्यमय इन्द्रपुर मन्दिर !


राजा प्रताप मल्लको पाला (सन् १६४१ - ७४) मा बनेको यो मन्दिरलाई रहस्यमय मन्दिरको रुपमा लिइन्छ l नाम इन्द्रपुर मन्दिर भित्र चाहिं शिवलिंग भेटिन्छ l मन्दिरको ढोकामा कुनै तोरण राखिएको छैन, जसले गर्दा कुन चाहिं देवता भनेर छुट्याउन सकिंदैन l मन्दिरको भुइँतल्लाको दक्षिणतर्फ गरुड राखिएको छ, जसले बिष्णु पो हो कि भनेर अलमलाउँछ l
जानकारको भनाई अनुसार उहिले इन्द्रजात्राको बेलामा यो मन्दिरको माथिल्लो तल्लामा इन्द्रको मुर्ति सजाउने गरिन्थ्यो रे ! मन्दिरको निर्माण गर्दा यसको सक्कल नक्सा डिजाइन अनुसार गरिएको छैन l सामान्य छानाको बनावट रहेको यस मन्दिरको भुइँ र पर्खाल खम्बाहरु एक आपसमा नमिल्ने गरि बनाइएको छ रे !!

श्रोत : An Introduction to Hanuman Dhoka

Tuesday, September 19, 2017

इन्द्रजात्रा : सव: भक्कु



 
भैरबलाई तत्कालिन उपत्यकाभित्रको राज्यको संरक्षकको रुपमा लिइन्छ ! हल्चोक स्थित सव भक्कु (हल्चोक - आकास भैरब) लाई पश्चिम दिशाबाट धेरै नै बिघ्नहरु तथा राक्षसहरुले दुख दिन थाले पछि बिघ्नहरुबाट संरक्षण गर्न स्थापना गरिएको थियो ।


निलो अनुहार / मास्क लगाएको भैरब र सुन्तला - रातो रंगको अनुहार भएका २ सहयोगीहरुमा बाघको अनुहार भएकालाई सिम्बा द्य: र सिहंको अनुहार भएकालाई धुम्बा द्य: भनिन्छ । इन्द्रजात्राको बेला हल्चोक भैरब र अन्य २ सहयोगीहरु सिम्बा द्य: र धुम्बा द्य: नाच्दै निस्कने गर्दछ । सिम्बा द्य: र धुम्बा द्य:लाई चण्डी र कुमार पनि भनिन्छ ।


पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका हमला गर्दा उनि एकचोटी बेहोस भएका थिए । त्यतिबेला यिनै हल्चोक आकास भैरबले सहयोग गरेर गोर्खा सम्म फर्काएका थिए l यसैको सम्झनामा नेवार मध्यकै एक जाति पुटुवारहरु आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:को रुपमा सजिएर नाच देखाउने गरिन्छ । शहरका बिभिन्न समुदायहरुले आमन्त्रण गर्छन र पुजा गर्ने गर्दछ । आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:नाच्दा रोगब्याधी र नकारात्मक शक्तिहरु निर्मुल हुने जनविश्वास रही आएको छ । कसैले पनि आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:बाटो काट्दा नराम्रो हुने विश्वास रही आएको छ l इन्द्रजात्रा समन्वयकर्ता सुरेन्द्र श्रेष्ठका अनुसार आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य: भएर नाच देखाउन अबिबाहित हुनु पर्ने र सुद्ध हुनु पर्ने भनाई रहेको छ ।

Tuesday, September 5, 2017

इन्द्रजात्रा : दागींको सन्दर्भ


देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भने अनुसार फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । 

पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

श्रोत : कल्याण मित्र, राजधानी दैनिक

इन्द्रजात्रा : कुमारी रथयात्रा


- कल्याण मित्र, राजधानी दैनिक

नेवारहरूको आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा छ । जुन उनीहरूको मौलिक पहिचान हो । नेवारहरूको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृतिका रूपमा विश्व प्रसिद्ध छ । नेवारी चाडबाड, विभिन्न देवीदेवताका जात्रा र पर्वले गर्दा नेवारहरू संस्कृतिमा सम्पन्न भएका हुन् । नेवार समुदायको आफ्नै नेपाल भाषा र आफ्नै नेपाल सम्वत् सरकारी र गैरसरकारी कामकाजमा प्रयोग हुँदै आएको थियो । यसरी पूर्ण रूपमा नेवारको मात्र देश भइरहेको बेलादेखि नै नेपालमण्डप नेवारी संस्कृतिका रुपमा यँयाः अर्थात् इन्द्रजात्रा मनाइँदै आइरहेको छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी ८ दिनसम्म इन्द्रजात्रा मनाइन्छ ।

देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भनेकाले फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

इन्द्रलाई चोर भन्दै सजाय दिएको सम्झना स्वरूप नेवारहरूले काठको इन्द्र बनाएर दुवै हात फैलाएर डोरीले बाँधी इन्द्रजात्रा मनाउने गरेको हो । आखिर जेजस्तो भने तापनि इन्द्र र आमा दागीं मत्र्यलोकमा आई काठमाडौंका मानिसको उद्धार गरेकाले इन्द्रजात्राका दिन दागीं जाने चलन चलेको हो । यो चलन लिच्छविकालीन राजा गुण कामदेवले चिंकमुगलको अट्कोनारायण स्थान अगाडि इन्द्रध्वज ठड्याएर येंमाः द्यः अर्थात इन्द्र देवता प्रदर्शन गरेर इन्द्रजात्रा मनाउने चलन चलाएको हो । पछि राजा प्रतापसिंह शाहले नेसं ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका दरबारको कालभैरव अगाडि इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा मनाउन थालिएको हो भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन यःसिं इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । यःसिं ठड्याउन चाहिने ३२ हात लामो, घेरा भएको सिंगो रूख ल्याउन काठमाडौंका मानन्धर र ठिमीका गुठियारहरू संयुक्त रुपमा यःसिं वनमा गई बोका बलि दिएर यःसिं रुख काटेर ल्याउनुपर्छ । ‘कुनचाहिँ रुख काट्ने’ भनी वनमा बलिको बोको छोडिन्छ, बोकोले जुन रुखलाई हान्छ, त्यही रुखमा त्यही बोको बलि दिई रुख काटिन्छ । त्यहीबाट रुख तानेर ल्याई इन्द्रको नाममा इन्द्रध्वजोत्थान भनी यःसिं ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन्, बैण्ड बाजा बजाउँछन्, मालश्री धुन पनि बजाउँछन् । इन्द्रको प्रतीकको रूपमा काठको इन्द्रलाई इन्द्रचोक, मरु, नरदेवी, किलागल ज्यावहाल, ब्रम्हटोलका साथै विभिन्न टोलमा प्रदर्शित गरिन्छ । यःसिं ठड्याउने दिनदेखि काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरूले विभिन्न स्थानमा हाथु द्यः भैरवका साथै विभिन्न देवताहरू प्रदर्शन गरेर दलुमत बाल्छन् । दिवंगतहरूका नाममा यो दिन उपत्यकाका बाटोमा भएका विभिन्न देवीदेवता र चैत्यहरूमा पाल्चा मत बत्ती दिई धूप बालेर उपाकु जाने भनी परिक्रमा गर्छन् । मध्यरातमा इन्द्रचोकका आजु द्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनको लागि राखिन्छ । यो दिनदेखि हल्चोकका सवः भकु, किलागलको पुलुकिसी र देवीनाच, मजियारको मजियाः लाखे, कुम्हा ननिको नाच, भक्तपुरको महालक्ष्मी नाच र बाँदर नाचका साथै त्रिपुरेश्वरको १० अवतार नाच पनि हनुमानढोका वसन्तपुरमा ल्याई प्रदर्शन गरिन्छ ।

यही दिन रात्रिमा इन्द्रचोकमा प्रदर्शनको लागि राखिने आजु द्यः आकाश भैरव किराती राजा यलम्बर हुन् । ५ हजार वर्षअघि हिन्दूस्तानको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । यलम्बर यति शक्तिशाली थिए कि उनले ‘युद्धमा कौरव र पाण्डवमध्ये जुन पक्षले हार्छ, उसैको पक्षमा युद्ध लड्छु’ भन्न थालेछन् । युद्ध भने सुरु भइसकेको थिएन । यस्तो भयो भने त महाभारत युद्ध कहिल्यै पनि नसकिने भयो भन्ने ठानेर श्रीकृष्णले छल गरी सुदर्शन चक्रले यलम्बरको टाउको काटी दिएछन् । महादेवको अंश भएका राजा यलम्बर आफैं तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफ्नो टाउको आकाश भई राखी महाभारतको युद्ध पूरै हेरेर आफ्नो देशमा फर्केर आई सिद्ध भएका रहेछन् । यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनिएको हो । काठमाडौंका प्रजाहरूले आफ्ना राजाको सम्मानमा मन्दिर बनाई इन्द्रचोकमा राजा यलम्बरको सिद्ध भएको टाउकोको स्थापना गरी आजु द्यःको रूपमा मान्दै आएको हो भनिन्छ । यही दिनको स्मरणमा हरेक वर्ष आजु द्यः आकाश भैरवको टाउको र अर्कोतर्फ वाकाः द्यः भनी आजु द्यः काभित्रको टाउकोलाई पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको हो ।

वर्षा ऋतु सकिएर शरद ऋतु लाग्ने र दशैं चाड पनि तीन हप्ता मात्र बाँकी रहेको समयमा पर्ने यो जात्रा निकै रमाइलो हुन्छ । भाद्र शुक्ल अनन्त चतुर्दशी जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्दी बैठकमा राष्ट्र प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कुमारी रथयात्रा चलाइन्छ । साथै गणेश र भैरवको रथयात्रा पनि गरिन्छ । यही समयमा मजियाः लाखे, सवः भकु र दशावतार, महालक्ष्मी र पुलुककिसीको नाच पनि नचाइन्छ ।
यो दिन क्वः ने या भन्दै कुमारी, गणेश र भैरवको रथ वसन्तपुरबाट अट्कोनारायण, चिंकमुगल, लगन, गोफल, बम्हटोल, बन्दे, हिउमत, जैसीदेवल, क्वःहिटी, भीमसेन टोल, मरु, इलाछें, तहविल हुँदै कुमारी घर फर्काइएपछि पहिलो दिनको रथयात्रा सकिन्छ । यो क्वःनेयाको समयमा जैसीदेवलको डबलीमा दि प्याखँ देवी नाच नचाइन्छ । यही दिन कुमारीको थयात्रा सकिएपछि दागींलाई थःने क्वःने अर्थात माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतीकको रूपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दागींलाई, धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दागींको पछिपछि लाग्दै काठमाडौंका नेवारहरूले सोही वर्षमा दिवंगत भएका आपनतहरूको नाममा नौथरी गेडागुडी बाटोभरि छर्दै हिँड्छन् । यो दिन स्वर्ग जाने बाटो मानिएको थानकोटको इन्द्रदहमा ठूलो मेला लाग्छ ।

भाद्र शुक्ल पूर्णिमाका दिन यँयाः पुन्ही भनेको समय पुन्ही हो । यो दिन नेवारहरूले घरैपिच्छे छ्वयला, लसुन, अदुवा, कालो भटमास राखेर समयबजी खाने र बाँड्ने चलन छ । घरैपिच्छे केटाकेटीहरूले ‘ला छकू वयेक समयबजी, वल वल पुलुकिसी’ भन्दै समयबजी माग्न जाने चलन छ । समयबजी माग्ने क्रममा पुलुकिसी पनि टोल टोलमा जाने गर्दछ । सन्ध्या समयमा इन्द्र, हाथु द्यः भैरव र दलुमत पूजा गरेर हाथु हायकेगु भन्दै आजु द्यः आकाश भैरवको मुखमा पाइप जोडेर जाँड झारेर प्रसादको रूपमा जाँड र समयबजी बाँडेर खान्छन् । यसै दिन कुमारी रथयात्राको दोस्रो दिन थःने या मनाइन्छ । थःनेया गरिँदा पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफुल, यट्का, नरदेवी, टेंगल, न्ह्यौखाः बांगेमुढा, न्हयैकन्तला, असन, केलटोल, इन्द्रचोक, मखन हुँदै वसन्तुपुरमा पु¥याएर रथयात्रा सकिन्छ । यसरी थनेःया माथिल्लो टोलमा रथ यात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दि प्याखँ देवी नाच नचाइरहेको हुन्छ । यही पूर्णिमाका दिन भक्तपुरको सिद्ध पोखरीमा मेला लाग्छ ।

आश्विन कृष्ण चौथीका दिन नानीचाःया भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचाः याः लाई दथुयाः अर्थात बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखन र हनुमानढोका दरबार हुँदै वसन्तपुर पुगेपछि नानीचायाःको समापन गरिन्छ । राजा जयप्रकाश मल्लले भित्रिनी रानीलाई देखाउन कुमारी रथयात्रा यहाँ चलाएका हुन् भनिन्छ । यही दिन इन्द्रध्वज विसर्जन गर्ने भन्दै इन्द्रध्वज ढालेर टेकु दोभानमा लगी फाल्ने बित्तिकै इन्द्रजात्रा सकिन्छ ।

जीवित कुमारी देवीलाई यसरी मान्नुपर्ने सन्दर्भमा एउ
टा ऐतिहासिक तथ्य लुकेको पाइन्छ । राजा त्रैलोक्य मल्लले तलेलु भवानीसँग पासा खेल्दा रहेछन् । कालो पर्दाभित्र तलेजु भवानी र बाहिर राजा तैलोक्य मल्ल बसी पासा खेल्दा राजकाजसम्बन्धी कुराकानी गरिँदो रहेछ । यसरी दिनहुँ पासा खेल्ने क्रममा एक दिन पासा खेल्दै गर्दा राजा त्रैलोक्यले पासा हान्दै गरेकी तलेजु भवानीको हात राम्ररी देखेछन् । भवानीको हात त यति राम्रो छ भने मुख कति राम्रो होला भनी उत्सुकतावस पर्दा उघारेर हेर्ने प्रयास गर्दा तलेजु भवानीले ‘आइन्दा म आउँदिन । शाक्य जातकी बालिकाको शरीरमा म आउने छु’ भनी त्यही कुमारी कन्यासँग सरसल्लाह गर्ने गर्नु भन्दै तलेजुी भवानी लप भइछिन् । त्यही बेलादेखि शाक्य जातकी जीवित देवी कुमारीको हातबाट राजाले इन्द्रजात्राको समयमा टीका ग्रहण गर्ने चलन चलेको हो भनिन्छ ।

मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ललाई श्रीकुमारीले ‘अब तिम्रो राज्य गर्ने शक्ति क्षीण भइसक्यो, राज्य बचाइ राख्ने हो भने मेरो रथयात्रा गरी देश परिक्रमा गराउनु’ भनेकीले राजा जयप्रकाशले ने.सं ८७६ देखि कुमारीको रथयात्रा चलाएका हुन् । तर, राजा जयप्रकाशले सुख सयलमा भुलेर देश र जनताको चिन्ता नलिई चाडबाड र जात्रामा मात्र भुलिरहे ।

स्मरणरहोस्, नेवारहरूले आफ्नो धर्म, संस्कृति र परम्परा चलाउँदै आएको राज्यमा गोरखाका राजा पृथ्वीनारायण शाहले ने.सं ८८८ मा काठमाडौंमा इन्द्रजात्रा मान्दै कुमारीको रथयात्रा गरी रमाइलो सँग जाँडरक्सी खाई चाड मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल मण्डल जितेका हुन् । पृथ्वीनारायण शाहले नेवारी संस्कृतिलाई नमानी यहाँ शासन गर्न अप्ठेरो पर्ने कुरा बुझेर नेवारी संस्कृति, चाडवाड र जात्रा सबै जस्तो छ, त्यस्तै मान्ने वचन दिएकाले आजसम्म पनि कुमारीको रथयात्रा चल्दै आएको हो ।

Monday, September 4, 2017

टोखा : बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने एक जात्रा



एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।

यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।

साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।

इन्द्रजात्रा : लिङ्गो अर्थात इन्द्रध्वजा

फोटो : रत्न श्रेष्ठ, रासस

इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक मानन्धर समुदायले इन्द्रध्वजा सहितको ३२ हात लामो लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलान्चोक जिल्लाको उग्रचण्डी नाला स्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालाभैराबको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। नेपाल भाषामा 'योसीं' भनिने उक्त लिङ्गोमा  मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । उक्त लिंगो ठड्याएपछि फेंदमा हाती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्याण्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको  स्वेतभैरबको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ ।

यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरि आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कु नाच हलचोकको (सवभकु ), भक्तपुरको महाकाली नाच, मजिपातको लाखे नाच,  दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलको पुलुकिसी) पुलुंकिसी नाचा नचाउने गरिन्छ । 

यस उपलक्ष्यमा काठमाडौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ । साथै कुमारीघर अगाडि रहेको त्रिलोक नारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ ।

फोटो : कान्तिपुर
परापूर्वकालमा भगवान् इन्द्र र दैत्यहरूबीच घमासान युद्ध हुँदा इन्द्रले ती दैत्यहरूमाथि विजय हासिल गरेको खुसियालीमा लिंगो ठडयाउने गरिएको किम्वदन्ती पाइन्छ ।






 



सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...