Showing posts with label महादेव. Show all posts
Showing posts with label महादेव. Show all posts

Sunday, March 15, 2020

सर्पलाई दुध चढाउनु गलत


सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमाए । 

उत्ता दूध खाईसकेपछि सर्पलाई प्यासले छटपट हुन्छ । सर्प जस्ता घिस्रने जन्तुहरुमा Mammary Gland हुंदैन । दूध खाएपछि सर्पलाई Dehydration र Stress हुन्छ र ३० देखि ४५ दिनभित्र मर्दछ । सायद, तराईमा सर्पले धेरै दु:ख दिने भएकोले सर्पहरु बाहिर निस्कने समय अनुसार सर्पलाई मार्ने उद्देश्यले यो चलन चलेको हुन सक्छ । दूध महादेवलाई चढाउने हो, घाँटीमा झुण्डेको सर्पलाई हैन ।

Tuesday, December 31, 2019

दोलाद्री पर्वत

चाँगु नारायण पर्वतलाई पौराणिक काल खण्डमा दोलाद्री पर्वत भन्ने गरिन्थ्यो । यस सम्बन्धमा एक कथा रहेको छ ।
उहिले काश्यप ऋषिका सन्तान सुरदैत्यले नवलिंगको तप गरि त्रिलोक्य जय हुने वरदान पाई सकल देव देवताहरुलाई जिति दु:ख दिएपछि बिष्णु भगवानको शरणमा आउंदा उदार गर्न गरुड चढेर घनघोर युद्ध गर्दा सुरदैत्यले यस गरुडको पखेटा नै काटी दिए । पछि महादेवले सुरदैत्यलाई कसैवाट पनि नमर्ने वरदान म आफैले दिएको तसर्थ युद्ध नगर्न र आफ्नै प्यारी श्री महादेवीले मात्र जित्न सक्ने आकासवाणी दिए । आकाशवाणी गुन्जदैं गर्दै गर्दा बिष्णु पर्वत भित्र लुकिरहेका थिए । सुरदैत्यले उक्त पर्वतलाई हातले उचाल्दै दोलाही हिल्यायो । त्यसैबखत महादेव प्रकट भै किला झै अडिग उभि दिए र किलेश्वर महादेव भए । किलेश्वर महादेवको आज्ञा अनुसार भगवान बिष्णुले समस्त जन देवदेवताहरुको हितको लागि आफ्नो शिर काटेर रगत बगाउँदै महादेवीको जगदम्बा स्वरुप आह्वान गरे । रगतको भेल देखेर सुरदैत्य अगाडि आए त्यसैबखत जगदम्बा प्रकट भैइ सुरदैत्यलाई भष्म पारे । मातृका गणहरु बिराजमान भए । भगवान बिष्णु दोला जस्तो हिल्याउदैं अलप भए र पर्वतको नाम दोलाद्री पर्वत नाम रहन गए ।




पौराणिक आख्यान बोकेको दोलाद्री पर्वत कसरी चाँगुनारायण रहन गए, सत्ययुग ताका अर्को कथा छ, पछि पोष्ट गरम्ला ।

श्रोत : देवमाला बंशावली ।

Thursday, October 25, 2018

सिन्धुपाल्चोक : पाँच पोखरी

ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो । श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए । एकपटक नारद उनलाई भेट्न गएछन् । ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए ।

अर्को एक कथा अनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पस्चिम ३ नं. क्षेत्रको भोताङ गा.वि.स १ नं. वडाको करिब ४२०० मिटर उचाईमा रहेको यो तिर्थस्थल आज भन्दा करिब २३२५ वर्ष अगाडि प्रख्यात सिकारी वुम्बा रवा वाईबा सिकार खेल्दै हाल पाँचपोखरी तिर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरीरहेको देखे ।
 
"यो के अचम्म हो ? यस्तो हिँउ पर्ने ठाउँमा पनि खेती गर्ने को होला" भन्दै खेती गर्ने नजिक पुग्दा लोग्ने मानिस (महादेव) ले सिकारी वुम्बा रवा वाईबालाई देख्ने वित्तीकै सम्पूर्ण धान खेती गर्ने सम्पूर्ण खेतालाहरु सहित यसै पाँच पोखरीमा रहेको हालको मन्दिर स्थानबाट अलप भएछन् । यो दृष्य देख्ने पहिलो व्यक्ति वुम्बा रवा वाईबालाई यस्तो अचम्मको दृष्य देख्दा अचम्म लागेकोले "यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ । मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ ।" भन्ने सोची आफ्नो सिकारी कुकुरलाई लगाएको घण्ट अलप भएको ठाउँमा झुण्ड्याई मन्दिरको स्थापना गरी फर्के । यसै रोपाई गरेको स्थानमा धानको वाला खोज्ने क्रम हालसम्म पनि चलिआएको छ । यहाँ धानको वाला भेटिएमा धनवान हुनेछ भन्ने भनाई आजसम्म पनि प्रचलित छ । 

धार्मिक किंवदन्ती अनुसार यस पाँच पोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृष्य जो कोही भाग्यमानी ले मात्र देख्न सक्दछन । पाँचवटा पोखरीले घेरिएको यस तिर्थस्थलमा एक चिज वर मागे भगवानले पुर्याईदिने किंवदन्ती अनुसार भाद्र महिनाको एकादशी देखि जनै पूर्णिमासम्म टाढाटाढाबाट हजारौ संख्यामा भक्तजनहरु आउने गर्दछ ।

Monday, May 28, 2018

डोटी जिल्ला : शैलेश्वरी देवी


महादेव र पार्वतीको विवाह पश्चात सुहागरात (मधुचन्द्रिका) का निम्ति डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोजेका थिए । हनिमुनमा रमाइरहेका महादेवलाई खोज्दै व्रम्हा विष्णु लगायत विभिन्न देवताहरु यहाँ आई पुग्दा पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको भनिन्छ !!

शैलेश्वरी देवीको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरु मध्ये एक मन्दिर मानिन्छ ।

देवताहरुको पनि रोमान्टिक क्षण हुँदो रहेछ है
।

Tuesday, February 27, 2018

बसन्तपुर : महादेव पार्वती जोडी


किम्वदन्ती अनुसार, हिमालय पर्वतमा ध्यानमा बस्दा बस्दा थाकेका महादेव काठमाडौं उपत्यकामा नचाइने विभिन्न दैत्य नाचहरु हेर्न काठमाडौं उपत्यका झरेछ l बसन्तपुर दरवार प्रांगणमा नचाइने नाचहरु देखेर सारै रमाएछ र उनि आफै पनि नाच्न गर्दथे रे l पछि महादेव आफु मात्र हैन, पार्वती सहित धेरै चोटी बसन्तपुरतिर आई नाचहरु हेर्न बस्दथे रे l 

यिनै किंवदन्तीलाई आधार मानेर माजु देवलको बाँया तर्फ राजा रणबहादुर साहले कलात्मक झ्यालमा अडेस लिएर बसेको महादेव - पार्वतीको यो वास्तुकलामा आधारित युगल मुर्ति / मन्दिर बनाउन लगाएका थिए l


श्रोत : हनुमान ढोका दरवार स्क्वायर (Culture Portrait Handbook) पुस्तकबाट साभार

अप्सरा तिलोत्तमा र महादेवको ३ मुखहरु




"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे । यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे ।
हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा अप्सराको शृजना गरेका थिए । 

जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए । 

तिलोत्तमा अप्सराको कथाको सारबाट के शिक्षा पाउनु भो हँ ?

Thursday, February 1, 2018

रुद्राक्षको कथा

महादेवले पार्वतीलाई सुनाएको कथा अनुसार :

एकपल्ट (सतीदेवीको मृत्यु पश्चात) महादेवले १००० बर्षसम्म समाधिमा बसी दिए । समाधिबाट ब्युँझेपछि महादेवको मन बाह्य जगतमा त आए, तर उनले सारा जगतको कल्याण गर्ने आँखा बन्द गरे ।  त्यहि बेला महादेवको आँखाबाट आँसुको एक थोपा पृथ्वीमा झर्यो र त्यहाँ एक रुख पलाए ।  त्यहि रुखमा फलेको फल नै रुद्राक्ष रहन गए । कालान्तरमा त्यसैको बिउबाट नेपाल भरि...थुप्रै स्थानहरुमा रुद्राक्षको रुखहरु फैलिए ।

महादेवको त्यो आँसु नेपालमै झर्यो र फलत: नेपालमा पाइने रुद्राक्ष बिशेष गुणस्तरको मानिन्छ । सामान्यत: रुद्राक्ष १ देखि १४ मुखिसम्म पाइए पनि पछिल्लो अध्धयनले ३८ मुखी सम्म पनि भेटिएको खोजकर्ताहरु बताउँछन् ।

रुद्राक्षको स्पर्शले रक्तचाप, उत्तेजना तथा हृदय रोगहरुलाई नियन्त्रण गर्दछ भने आयुर्वेदिक उपचारमा पनि यसको प्रचुरमात्रामा प्रयोग गरिएका छन् ।

एक मुखे रुद्राक्षलाई शिवको प्रतिक मानिन्छ । यो दुर्लभ मानिन्छ ! यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ रे ।

Friday, December 22, 2017

भगवान शिवको अति प्रिय नशा : धतुरो



Datura Stramonium अर्थात धतुरोको फूल । संस्कृतमा शिवशेखर भनिन्छ l भगवान शिवको प्रिय प्रिय नशाको रुपमा लिइन्छ।

पुष महिनामा यो फूल पशुपतिमा महादेवलाई चढाई पुजा गरेमा उच्च पदमा पुगिन्छ भनेर पुजा गर्ने विधिमा लेख्या रहेछ ।

प्राचीन विष विज्ञान- 'अगदतन्त्र'मा धतुरोलाई उपविष भनिएको छ। विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो। आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ। सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ।
प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ। यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुनथाल्छ। जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ। आँखा, मुख सबै रातो हुनथाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ। बरबराउने, कपडा लुछ्ने, उफ्रने, दौड्नेसम्मका पागलपन सवार हुनथाल्छ। यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुर्‍याइदिन्छ। धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको होस्। अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा हो।

ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ। यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ। शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ। पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ। ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ। औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ।

धतुरोको पात विषालु हुँदैन। कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ। छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन्। धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ। मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ। त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन्।

सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ। नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ। धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ। मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ।

Wednesday, September 20, 2017

अछाम : बैजनाथ मन्दिर


परापूर्वकालमा अछामतिर रोगव्याधी तथा महामारी फैलिएको बेला महादेवले वैद्य रुपधारण गरी आफ्ना भक्तजनहरुको औषधोपचार गरी उद्धार गरेको रहेछ ।  स्थानीयबासीहरुले सो कुरा थाह पाई उक्त स्थानमा बैजनाथ ज्योर्तिलिङ्गको स्थापना गरी नित्य पूजाआराधना गर्दै आएको कुरा जनश्रुतीहरुमा पाइन्छ । हरेक वर्ष शिवरात्रीका अवसरमा ठूलो मेला लाग्ने यो मन्दिर वैजनाथ गाविस अर्न्तर्गत पवित्र बुढीगंगा नदीको किनारामा अवस्थित रहेको छ । 

Monday, September 4, 2017

टोखा : बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने एक जात्रा



एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।

यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।

साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।

Thursday, August 31, 2017

नेपालमण्डल : नास: द्य:

 नास: द्य: सन्दर्भ:

लोककथा अनुसार एक पटक महादेव पार्वतीसंग वसिरहंदा अति खुसी भई पार्वतीलाई ब्रम्हाण्डकै सबै भन्दा सुन्दरी भनेर प्रसंसा दिन दिन भ्याएछ । महादेवको यस्तो कुरा सुनेर पार्वतीले नेपाल मन्डलमा आफु भन्दा पनि राम्री केटी देखेकॊ कुरा सुनाएछ । नारी र धन भनेपछि आफ्नॊ तेस्रॊ आँखा पनि खॊल्ने महादेवले पार्वती भन्दा पनि राम्री केटी नेपालमण्डलमा भएकॊ सुनेपछि चित्त आकुल ब्याकुल गर्दै सॊ केटीलाई खोज्न नेपालमन्डल झरेछ । खोज्दै हिड्दा एउटी नेवार केटी खेतमा काम गरीरहेकॊ देखेछ । पार्वतीले भनेझैं उनी अती राम्री थिईन । महादेवले आफ्नो मन थाम्न नसकी आफ्नॊ मायाजालले छॊपी उक्त केटीसंगै लसपस गरी त्यतै बस्न थालेछ । दिन बित्दै जाँदा सॊ केटी गर्भवती भईन । त्यॊ कुरा थाहा पाई महादेवलाई आपद पर्न थाल्यॊ । अब दुनियाले मेरॊ बारेमा थाहा पाउने भो भन्दै महादेव त्यहाँबाट सुटुक्क भागेछ । आफु गर्भवती भएकॊ र आफ्नॊ केटाले पनि छाडेर गएपछि गर्भवती केटी कसैले नदेख्ने ठाऊमा बस्दै रहँदै गर्दा एउटा छॊरालाई जन्म दिईन ।

छोरो त जन्मियो, जीउदाल हेर्दा अति खाईलाग्दॊ थियो तर उनकॊ अनुहार चाहिं थिएन । अर्थात अनुहार बिनाको छोरो जन्म भएछ । बच्चा जन्मिँदा बच्चामा आफ्नॊ अनुहार आउला र पछि आफ्नॊ बदनाम हॊला भन्ने डरले त्यस बालकलाई महादेवले बिना अनुहार जन्मन लगाएका थिए । पछि कालान्तरमा बच्चा ठुलॊ हुंदै आयॊ । उ सानैबेला देखी विभिन्न वस्तुहरु जम्मा गरी वाजा वनाई बजाउने, गाउने र नाच्ने गर्दथ्यो । उसकॊ यस्तॊ अदभुद खुबी देखेर स्वर्गका इन्द्रदेवले आफ्ना गन्दर्भ र अप्सराहरुलाई गीत, संगीत र नृत्य सिक्नलाई नेपालमण्डल पठाए र स्वर्गलोकमा गीत, संगीत र नृत्यकॊ शुरुवाट हुन थाले । पछि उनले नेपालमण्डलका नेवार समुदायहरुलाई पनि गीत, संगीत सिकाएर संगीतको शुरुवाट गरे भन्ने भनाइ रहेको छ । यसरी महादेवको अंशलाई बिस्तारै गीत संगीत र नृत्यका गुरु नट्रराज नाट्यश्वर आदि नामले चिनिन र पुज्न थाले ।

यसैले काठमाडौ उपत्यकामा टोल टोलमा बाजा बजाउने कला सिके पछि कप्लास / कवीलास अवस्थित नास:द्य:को मा पुजा जानु पर्ने प्रचलन अहिले पनि यथावत रही आएको छ ! त्यसै गरि काठमाडौ उपत्यका भित्र रहेका बिभिन्न नासल चोकहरुमा अवस्थित नास:द्य: हरुको मन्दिरमा कुनै पनि मुर्ति राखिंदैन
।

नाट्यश्वरलाई नृत्य देवताको रुपमा प्रस्तुत गरिएको छ ! नेवारहरुले मान्ने नास: द्य: बाजा बजाउने, गाउने कलासंग सम्बन्धित छ
। त्यसैले नाट्यश्वर र नास:द्य: मा मेल खाँदैन ।

श्रोत : @SIRSUREN, संजिव महर्जन

Sunday, August 27, 2017

लाखे


सामान्यतः लाखे भन्ने बितिक्कै एक डरलाग्दो रूप हाम्रो अगाडि आउँछ । काठमाडौमा २३० बर्ष अघि देखि लाखे नाच चलीआएको विश्वास गरिन्छ । नेपाल अधिराज्यभर नचाइने धेरै जसो लाखे नाचहरूमा लाखेलाई हिन्दू धर्मका कथाहरूसँग जोडिएर एक राक्षस वा दैत्यको रूपमा प्रस्तुत गरिएको देखिन्छ । धेरै जसो लाखेको कथाहरूमा लाखे मारिएको प्रसङ्गहरू जोडिएका छन् तर काठमाडौं उपत्यकाभित्रको मजिपात लाखेलाई भने लाखे “आजु” को रूपमा पुजिन्छ । मजिपात लाखेलाई ‘शान्त भैरब’ पनि भनिन्छ । मजिपात लाखेको विगत राक्षसी स्वभाव भएता पनि कालान्तरमा आएको परिवर्तनले गर्दा यिनलाई भैरबको एक रूपमा पुजिँदै आएको छ । भैरब शिवकै एक डरलाग्दो रूप हो जुन श्रृष्टिको संहारसँग सम्बन्ध राख्दछ । भैरबलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु र रक्षा गर्नु सँग सम्बन्धित छ । कथाअनुसार लाखेले हाम्रा साना नानीहरूको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुजिने गरिन्छ । देशका विभिन्न स्थानहरूमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदिइयोस् भनेर लाखे नाच नचाउने गरिएको कथाहरू पाईन्छ ।

मजिपात लाखेको प्रेम कथा :

ऐतिहासिक कथामा आधारित इतिहासविद् डा. सत्यमोहन जोशीको “मजिपात लाखे” नाटकमा प्रस्तुत गरिएअनुसार काठमाडौंको मजिपातकी एक सुन्दर युवती “बाँलाः मयजु” (सुन्दर महिला)मा लाखेको प्रेम बस्न थाल्छ, आफ्नी प्रेमिका भेट्न उ मानिसको भेषमा बारम्बार आउन थाल्छ । आफ्नो प्रेमिको लागि जे गर्न पनि तत्पर लाखे एक्लैले एकैछिनमा प्रेमिकाको खेत खनजोत गरी दिन्छ, प्रेमीको हरेक समस्यालाई लाखे क्षणभरमै समाधान गरी दिन्छ । आफ्नो प्रेमीप्रति मोहित लाखेले खेतमा टाँगिएको बुँख्याचालाई साक्षी राखेर बिहे गरेको घोषणा गर्छ र भगाएर १५ दिनसम्म आफ्नै घरमा लगेर पनि राख्छ ।

यता काम गर्न खेतमा गएकी “बाँलाः मयजु” हराएपछि घरमा खैलाबैला हुन्छ । आमा माया र बुबा धनवीरले छोरी हराएकोमा निकै सुर्ता गर्छन् । लाखेसँगको पिरतीमा फसेकी छोरी “बाँलाः मयजु” लाखेको घरमा पुगेकी हुन्छे । पछि स्थानीयबासिन्दाले “बाँलाः मयजु” लुकाएको ठाउँ र छोरी भगाउने लाखेको असली रूप थाहा पाउँछ र समातेर राजा समक्ष बुझाउँछन् ।

राक्षस मानिने लाखेले छोरी लगेपछि गाउँले बसेर समस्या समाधानको उपाय खोज्छन् । राजाले अन्य राक्षसहरूबाट आफ्नो राज्यमा रहेका बालबालिकालाई बचाउन सहयोग गर्छ भने एक निश्चित ठाउँ दिन आफू तयार भएको प्रस्ताव राख्दछ । प्रस्ताव स्वीकार गरेर लाखे काठमाडौंको मजिपाट लाखे ननिमा घरज्वाँई भएर बस्न थाल्छ । हेर्दैमा डरलाग्दो लाखेले संकटमा परेका स्थानीयलाई उद्दार गर्न थाल्छ र संकटमा परेकाले उनलाई भाकल गर्ने क्रम पनि क्रमशः बढ्दै जान थाल्यो । भयावह रूपभित्र पनि कमलो मन छ, उसमा पनि प्रेमको भावना छ, उसले कसैलाई मन पराउन सक्छ, प्रेममा डुब्न सक्छ भन्ने सन्देश लाखेको कथाले देखाउँछ । आफ्नो प्रेमीको लागि लाखेले आफ्नो राक्षसी स्वभाव पनि त्याग गरी दिन्छ ।

जङ्गबहादुर राणा प्रधानमन्त्री हुनु भन्दाअघि उनी लगनमा डेरा गरी बस्थे । त्यही बेला लाखेको महिमासँग उनी परिचित हुन पुगेका थिए । उनी बेलायत भ्रमणमा गएका बेला बाटोमा आँधी बेहरी आएर उनी चढेको डुङ्गा डुब्ने डर भएको थियो । उनले त्यतिखेर नै लाखेलाई सम्झेर भाकल गरेका थिए र फर्किंदा लाखेको भाकल पूजा गर्न चार वटा हिरा लिएर आएको र भाकल पूरा गरेको यथार्थलाई पनि मजिपात लाखेको सन्दर्भमा पढ्न पाइन्छ ! त्यसबेलादेखि शक्तिको स्वरूप मान्दै मुकुट लगाएर ‘लाखे’ नचाउने चलन सुरु भएको देखाइन्छ ।

मजिपात लाखे, आगमन, रक्सी र ज्यापुको एक सन्दर्भ :

कुनै समय, एक राक्षस (दैत्य / लाखे) लाई भक्तपुरबाट काठमाडौंमा तलेजु भवानीको द्वारपालको रुपमा भित्राइएको थियो । गुभाजु, काठमाडौका राजा र एक ज्यापुले यिनलाई काठमाडौं भित्राउँदा मान्छेको मासु खुवाउने बचन दिएका थिए ।

राक्षस मान्छेको मासु र रगत खाँदै जीवन यापन गर्दै गर्दा एक दिन एक ज्यापु काम गरिरहेको खेतमा आइ पुगे । मान्छे खाने राक्षस आफ्नो खेतमा आएको देखेर ज्यापु आफ्नो बल्चा: (खेतमा अवस्थित एक सानो अस्थायी घर) तर्फ लुके । राक्षस तिर्खाएका थियो । ज्यापुले सुतुक्के रक्सी पिलाई दिए । राक्षसले अझ बढी रक्सी मागे । ज्यापुले चलाखीपुर्वक शर्त राखे, यदि मेरा खेतहरु सबै खनि दिने हो भने म अरु रक्सी दिन्छु । राक्षसले यति धेरै रक्सी पिए कि उनले मान्छेको मासु र रगत खाने बानी नै छोडी दिए ।

एक दिन ज्यापु, नयाँ लुगा लगाएर चिटिक्क परेर बाहिर निस्कनै लाग्दा राक्षस टुप्लुक्क भेटिए र कहाँ जान लागेको भनेर सोधे । ज्यापुले जात्रा हेर्न जान लागेको भने । राक्षसले पनि जात्रा हेर्ने रहर गरे । ज्यापुले विभिन्न कारणहरुले लैजान चाहेन, अप्ठ्यारो महसुस गरे । राक्षसले जसरी भए पनि जात्रा हेर्ने ढिपी गरे र कसैलाई पनि केहि हानी नगर्ने बचन दिई निकै उत्सुकताका साथ जात्रा हेर्न पुगे, विविध बाजागाजाको संगीतमा रमाए, र आफै पनि नाचे ।
यिनै राक्षस नाचेको नाचको प्रतिकको रुपमा हिजोआज लाखेको स्वरुपमा रंजित समुदायबाट मुकुट ओढेर लुगा, जामा, घांग्ला, जनै, पटा / फेटा लगाई लाखे नाच प्रदर्शन गर्ने गरिन्छ । लाखेले लगाउने पहिरन तासले बनेका हुन्छन् । तासलाई सुद्ध कपडाको रुपमा लिइन्छ । लाखेले इन्द्रजात्राको रथयात्राको दौरान देवी कुमारीलाई आफ्नो नाच देखाउने विश्वास गरिन्छ ।

मजिपात लाखे र तलेजु भवानीको सन्दर्भ :

किम्बदन्तीअनुसार पहिलो मल्ल राजाले तलेजु भवानी (हिन्दू देवी)लाई दक्षिण भारतबाट १४ औं शताब्दीमा नेपाल ल्याई प्रतिस्थापन गरेका थिए । मल्ल राजा तलेजु भवानीसँग सिँधै कुराकानी गर्दथे । एकदिन एक जना मल्ल राजाको दव्र्यवहारले गर्दा तलेजु भवानीले मल्ल राजासँग सिधा कुरा गर्न मनाही गरी दिए । वर्षौ दिनको क्षमायाचना तथा अनुरोधपछि मल्ल राजाले तलेजु भवानीलाई जिउँदो कुमारीको रूपमा प्रकट गराउन सफल हुन्छन् । यसैले, तलेजु भवानी र कुमारी अलग–अलग रूप तथा पहिचानको एकै देवीको रूपमा मानिन्छ ।
तलेजु भवानी अन्तध्र्यान भएपछि खोज्न जाने क्रममा मजिपात लाखे मल्ल राजाको पाईलाका छापहरू पछ्याउँदै जाँदा हनुमानढोकाभित्र पुगेपछि समाप्त भएको थियो । यसर्थ इन्द्रजात्रामा लाखे नृत्यले अन्तध्र्यान भएका तलेजु भवानीलाई खोज्दै हिँडेको आभाष दिलाउँछ ।

लाखेले सवः भक्कुका दुई जना केटाकेटीहरू ग्रहण गरी दिएको र पछि आकाश भैरब र हनुमानको अनुरोधमा लाखेलाई शहरबाट बाहिर निकालेको प्रसङ्ग पनि पढ्न पाइन्छ । पछि येँयाः पुन्ही (ईन्द्रजात्रा)को दिन लाखेले दुबै केटाकेटीहरूलाई फिर्ता गरेर आफ्नो उदारता प्रस्तुत गरेको कथा पनि पढ्न पाईन्छ ।

लाखे र झ्यालिंचाको सन्दर्भ:
परम्परा अनुसार लाखे नाच नचाउँदा झ्यालिंचाको पनि उपस्थिति देखिन्छ । लाखे त्यतिबेला नाच्छ, जब झ्यालिंचाले जिस्काउन थाल्दछ । जामा लगाएको सानो फुच्चे केटालाई झ्यालिंचा भनिन्छ । लाखे अर्थात शान्त भैरब  शान्त स्वभावको भएकोले झ्यालिंचाले जिस्काई रहन्छ र लाखे झ्यालिंचालाई समात्ने प्रयासमा नाच्न थाल्दछ । लाखे र झ्यालिंचाको "मलाई समात्न सके समात" भाव अनुसार लाखे र झ्यालिंचाको नृत्यले मानिसहरुलाई हँसाउने र मनोरंजन दिने गर्दछ ।  २० बर्ष लाखे नाच नाची सकेका लाखेको अनुसार लाखे नाच सिक्नै पर्दैन, जब धिमे र भुस्याको एकसुरको तालमा बाजा बज्न थाल्छ, लाखे उही सुरमा नाच्न थाल्दछ ।

कीर्तिपुरको जात्रा र लाखेको सम्बन्ध :
कीर्तिपुरमा वर्षौसम्म लुटपाट र अन्न बाली लुटेर खाई आएको लाखेलाई मारेको खुसियालीमा कीर्तिपुरको जात्रा चलिआएको किम्बदन्ती छ । बस्ती विकासको इतिहास तथा किम्बदन्तीअनुसार राजा रत्न मल्लको पालामा तिब्बतको कुँकुँ जातको भोटेहरूले राति लुटपाट, चोरी, डकैती गरेर दुःख दिई आएको र कीर्तिपुर वरीपरीको बस्तीहरूमा थप व्यवस्थित बस्तीहरू विकास गरी आफ्नो सुरक्षार्थ अष्ट मातृका शक्ति देवीको रूपमा जागृत गरी कीर्तिपुर जात्रा सुरु गरेको उल्लेख छ । यसरी राति–राति लुट्न आउने भोटेहरूलाई लाखेको रूपमा प्रस्तुत गरिएको छ ।

कीर्तिपुरकै अर्को किम्बदन्तीअनुसार मध्यकालमा कीर्तिपुरमा लाखे लसिँहरूले सार्‍है दुःख दिन थालेकोले लाखे लसिँहरूसँग लड्न सात गाउँहरू एक आपसमा सल्लाह गरी सात गाउँ जात्रा चलाएको भनाई छ ! (जसलाई त्यहाँका स्थानीयहरूले नेपालभाषामा न्हय्गाँ जात्रा भनेर मनाउने गरिन्छ ।) सातै गाउँहरू एक आपसमा मिलेर लाखे लसिँहरूलाई धपाएर पठाएको कुरा उल्लेख गरिएको छ ।

कीर्तिपुरको इन्द्रायणी यात्रा सम्बन्धी अर्को किम्बदन्तीअनुसार परापूर्वकालमा कीर्तिपुर शहरको पश्चिम क्षेत्रको कोतः झाः भन्ने जंगलमा बस्दै आएको लाखेले कीर्तिपुर शहरमा बेला–बेलामा ठूलो उत्पात मचाउँदै लुटेर खाईरहेको हुँदा स्वयं इन्द्रायणी देवी प्रकट भई उक्त राक्षसलाई मारेको हुनाले इन्द्रायणी जात्रा सुरु भएको उल्लेख छ । कीर्तिपुरको उत्तर पश्चिम तिरको यो घना जंगल अहिले पनि छन् जहाँबाट उहिले–उहिले बस्ती नै नभएको बेला डरलाग्दो थियो । यसै जंगलबाट लाखे रूपी तिब्बती भोटेहरू राति–राति आएर लुटपाट मचाई रहेको हुँदा यसबाट सुरक्षित हुन कीर्तिपुरबासीहरूले ती लाखेहरूलाई खुवाउन तथा लाखे कुरुवा राख्ने गरेको पनि उल्लेख गरिएको छ ।

समग्रमा काठमाडौं उपत्यकाभित्रको ‘मजिपात लाखे’को कथामा लाखे राक्षसी वर्ग भए पनि उसको प्रेम, बलिदान र त्यागको कारणले उनलाई शान्त भैरबको रूपमा पुजिँदै आएको देखिन्छ । यता कीर्तिपुरमा लाखेले कीर्तिपुर बासीहरूलाई दुःख दिने गरेको र मारिएको कथाहरू पाईन्छ । देशका अन्य विभिन्न स्थानहरूमा नचाइने लाखेको कथाहरू पनि ठाउँअनुसार फरक–फरक पाइएको छ ।

अन्य लाखे नाचहरूको सन्दर्भ :
रिडी क्षेत्रमा लाखे नाच सबैभन्दा लोकप्रिय र चर्चित नाच हो । धेरै वर्ष पहिलेदेखि चली आएको यो नाच प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीको दिन परम्पराअनुसार लाखेले गठेमंगलको पुत्ला दहन गरी कालीगण्डकीमा मिल्काएपछि लाखे नाच सुरु हुन्छ भने कृष्ण जन्माष्टमीको दिन बलराम र कृष्णको स्वरूप धारण गरी लाखेको बध गरी लाखे नाच अन्त्य गरिन्छ ।

यसैगरी भोजपुरमा कृष्णलाई मार्न कंसले पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिन्छ । ऋषि पञ्चमीका दिन पुतनाको मृत्यु भएको सम्झँदै नजिकको मन्दिरमा गई पूजाआजा गरी लाखे नाच बिसर्जन गर्ने गरिन्छ ।

यता ललितपुरको सिद्धिपुरमा गथेमंगलको भोलिपल्टदेखि बाजागाजाका साथ लाखे नाच नचाउने गरिन्छ ! लाखे नाच देखाउँदै बाजा खलकहरू टोल–टोलमा र घर–घर अगाडि आउने गर्छ र प्रत्येकले, पिठो, चामल र पैसा दिने प्रचलन रहेको छ । आफन्तहरू लाखे भएर आएको छ भने विधिपूर्वक पूजा गरी (सगुन) शुभ–साईतको दही लिई घर भित्र्याईन्छ । यसरी भित्र्याउँदा घरमा रहेको भूत, पिसाच बाहिर जान्छ भन्ने जनविश्वास रहेको छ । अन्तिममा पालाको घर अगाडि लगी धुमधामका साथ बाजा बजाई रात नै चमक हुने गरी छ्वाली (पराल) बाली लाखे नाच्न लगाईन्छ र तीन चोटी लाखेलाई कुदाउँदै च्याप्प समातेर लाखे घरभित्र लगेर लाखे नाच बिसर्जन गरिन्छ । अन्त्यमा सबै जना मिलेर भोज खाने चलन रहेको छ ।

त्यसैगरी, चरिकोटमा नेवारहरूको संस्कृतिअनुसार भगवान श्रीकृष्णको चरित्रको आधारमा लाखे नाच नचाइने गरिएको छ । गठेमंगलको दिन नाट्यश्वरीको मन्दिरमा भोग दिएर पूजा गरी भोज खाने र भोलिपल्टदेखि लाखे नाच प्रदर्शन गरिन्छ भने यो नाच कृष्ण जन्माष्टमीसम्म प्रदर्शन गर्ने गरिएको छ । नाचको अन्तिम दिन राति १२ बजेपछि कृष्णले चक्र हानी लाखेलाई मार्ने चलन छ ।

माथि प्रस्तुत गरिएको सामग्रीहरू केही उदारहण मात्र हुन् । देशका विभिन्न देवी देवताका कथाहरूमा लाखेको उपस्थिति देखिन्छ । हरेक कथाहरूमा लाखेको भूमिका फरक–फरक भेटिन्छन् ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...