नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य:
(लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यसदिनलाई
"पिसाच चतुर्दशी" पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे अर्थात
पर्व, बिहे गरि पठाइसकेका छोरीबेटीहरुलाई वर्षको
एक दिन भएपनि अनिवार्य रुपमा निम्तो गरेर भोज खुवाउने
परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा
अनुसार पाहाँ चर्हे मनाइने गरिन्छ ।
घोडाजात्राको सन्दर्भ :
पाहाँ चर्हेको भोलिपल्ट अश्वयात्रा गर्नाले भबिष्य ज्ञान प्राप्त
गर्न सकिन्छ अर्थात् घोडा जति बेगले दौडन सक्छ त्यतिनै देशमा दुःख कष्ट
हराउने र शत्रुहरु नाश हुन्छ भन्ने मान्यता अनुसार घोडे जात्रा मनाउने
परम्परा रहिआएको छ ।
किम्वदन्ती अनुसार प्राचीन कालमा गुरुमापा
नाम गरेको एक राक्षसले सहरका बालबालिकालाई खाने गरेको र
पछि पीडित सहरवासीहरुले विविध उपाए अपनाई त्यसलाई शहर बाहिर टुंडीखेलमा बस्न लगाई नियन्त्रण गरिएको कथा पाइन्छ । उक्त गुरुमापाले फेरी पनि बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले
प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसलाई घोडाको टापले
कुल्चाएर दबाउने गरिएको भनाई पाइन्छ ।
नेपालमा
कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि
टुँडिखेलमा मनाइने घोडेजात्रा १५~१६औ शताव्दीदेखि मनाउन
थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा
सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो । पाटन बालकुमारीमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको पाइन्छ ।
लुकु महाद्य: अर्थात लुकेको महादेवको सन्दर्भ :
लुकु महाद्य: अर्थात लुकेको महादेवलाई क्षेत्रपाल पनि भनिन्छ । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ ।
यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचर्हे मनाउने गर्दछन् ।यसदिन आ-आफ्नो घर अगाडि चोक, टोलहरूमा लुकेर बसेका महादेवलाई
बाहिर निकाली सफा सुग्घर गरी साँझ विशेष पूजा गरी मनाइने चलन रहेको पाइन्छ ।
किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले महादेवलाई भन्नुहुन्छ :
"हे
इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै
खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने
गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि
अप्ठेरो महसुस भएको छ ।"|
त्यसपछि श्री महादेवले "त्यसो होइन" भनि आफै सुटुक्क
कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा
खाएर पार्वतीलाइ देखाउनु भयो ।
महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव (लुकु महाद्य:) लाई मासु,
लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने
उल्लेख छ । लुकुमहाद्य:लाई दिइएको बत्तिबाट गाजल थापी आँखामा लगाउने चलन रहेको छ । यसरी गाजल लगाउनाले आँखा तेजिलो हुने जनविश्वास रही आएको छ । नेपालभाषामा "धुँया मिखा काँ काँ छुँ या मिखा त्यला" भन्ने उखान चलनमा रहेको पाइन्छ ।
मल:जा खुवाउने सन्दर्भ :
पाहाँचर्हे प्राय फागुन - चैत्रतिर पर्दछ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर मल:जा खुवाउने चलन रहेको पाइन्छ । मल: जा खुवाउनाले सा-साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास रहेको छ ।
पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्राको सन्दर्भ :
काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व
बोकेको जात्रा हो , पाहाँचर्हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक
वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ ।
किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना
देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ
। पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो
भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि
दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग
अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा (
स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने
म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ ।
असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा
मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट
गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु
(भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई
झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन
र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त
झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो ।
भोलि
पल्ट इन्द्रायणी आफ्ना
लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन ।
बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन ।
टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू
गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर
हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो
इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका
स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन
। उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर
किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा
त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब
बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर
इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले
-" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म
तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर
फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे ।
त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्हे बेला हुने गर्दछ भने अरु
अजिमाको जात्रा पहाँचर्हे बेला हुने गर्दछ ।
यद्यपि अहिले पनि पाहाँचर्हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्हे जात्रा हुने गर्दछ ।
No comments:
Post a Comment