Showing posts with label हाँस्यब्यङ्ग. Show all posts
Showing posts with label हाँस्यब्यङ्ग. Show all posts

Thursday, August 24, 2017

गाईजात्रा : ऐतिहासिक पृष्ठभुमि


नेवार संस्कृतिमा दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि मनाइने सापारु अर्थात गाइजात्रा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । नेपालभाषामा “सा” भन्नाले गाई र “पारू” भन्नाले कृष्ण पक्षको पहिलो दिन भन्ने अर्थ लाग्दछ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोल–टोलमा घुम्ने यस पर्वमा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदाय बसोबास गर्ने क्षेत्रहरू मुख्यतः काठमाडौं उपत्यकालगायत कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, दोलखा, ओखलढुङ्गा, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा भाद्र शुक्ल प्रतिपदा अर्थात जनै पूर्णिमाको भोलिपल्ट गाइजात्रा मनाइने गर्दछ ।

गरुड पुराणअनुसार यमलोकको मुख्य ढोका वर्षभरी बन्द रहने र पृथ्वीलोकमा गाइजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको पाइन्छ । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाइजात्रामा सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र पैसा दान गर्ने चलन रही आएको छ ।


गाइजात्राको अवसरमा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्दै प्रहसन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा करुण रसका गीतहरू पनि गाइने चलन रहेको छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमहरू आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कूरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलनसमेत रही आएको छ ।

ऐतिहासिक कथनअनुसार प्रताप मल्ल एक तान्त्रिक एवं शक्तिशाली राजा थिए । उनले आफ्ना वरपरका राज्यहरूलाई दबाई शासन गर्दथे । उनी आफ्नो बुबा राजा लक्ष्मीनरसिंह मल्ललाई अपदस्थ गरी सिंहासनमा पुगेका थिए । भनिन्छ, उनका बैध रानीहरू मात्र नौ जना थिए । तिनीहरू मध्ये उनलाई एकदम मन पर्ने रानी अनन्तप्रिया थिइन् । प्रताप मल्ल यिनै महारानीको छोरा चक्रवेर्तिन्द्रलाई आफूपछिको राजा बनाउन चाहन्थे र आफू जिउँदो छँदै कान्छा छोरा चक्रवेर्तिन्द्र मल्ललाई गद्दीमा राखेर राजा बनाएका थिए । तर, दुर्भाग्य छोरा चक्रवेर्तिन्द्र मल्ल गद्दीमा रहेकै बेला मृत्यु भयो ।

पुत्र वियोगमा परेकी रानीलाई मन बहलाउन राजा प्रताप मल्लले विभिन्न कार्यहरू गरेको ऐतिहासिक तथ्यहरू पाइन्छ । रानीको मन बहलाउन उनले वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गरे, तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने कार्य गरे । मुद्रामा रानीको नाम उल्लेख गराए । मृत्यु शाश्वत सत्य हो, मृत्युलाई सहज वरण गर्नु पर्दछ, दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ र मानिसलाई धैर्यताको खाँचो हुन्छ भन्ने सन्देश दिँदै सन्तापमा रहेकी रानीलाई सान्त्वना दिन दुनियाँदारको मृत्यु भएको सम्झनामा वासा, ताहासा, गाई सिङ्गारेर जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाइजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए र वर्ष दिनमा कति जनाको मृत्यु हुन्छ भन्ने मृत्यु गणना गर्न साँस्कृतिक परम्परा चलाएको देखिन्छ । यसै बेलादेखि गाइजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

गरुड पुराणको प्रेताकल्प भन्ने खण्डमा प्रेतत्वबाट मुक्ति भन्ने शीर्षकमा प्रेतत्वको मुक्तिको लागि मूर्तिको निर्माण गर्ने उल्लेख भएको पाइन्छ । साथै, “ललित विस्तर” भन्ने बौद्ध ग्रन्थमा बौद्धदेवको तपस्या भङ्ग गर्न क्लेस, मृत्यु, देवस्कन्ध आदि विभिन्न रूपमा नक्कल गरी तपस्या भङ्ग गर्न आएको तथ्यहरू पाइन्छ । यस अर्थमा सापारु अर्थात गाइजात्रा मल्लकालभन्दा धेरै पहिलेदेखि नै प्रचलनमा रहेको देखिन्छ । मृत्यु गणना गर्ने सन्दर्भमा संस्कारमूलक सांस्कृतिक थालनी चाहीँ मल्लकालमा भएको देखिन्छ ।

यता भक्तपुरमा भने गाइजात्रा आठ दिनसम्म मनाइन्छ र छुट्टै रौनक र आकर्षण रहेका छन् । भक्तपुरमा गाइजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामचा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामचालाई मृतकका घरको मूल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराई नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विशेषता हो भने घिन्ताङ्गघिसी र माक प्याखँ (बाँदर नाच) गाइजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामचासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा गाई्जात्राको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामचाको नगर परिक्रमाबाट गाइजात्रा सुरु हुन्छ भने बेलुका पख भैरब र भद्रकालीको तहामचा ल्याएपछि समाप्त हुन्छ ।

यसैगरी, ठिमीमा चाहीँ राँको बालेर गाइजात्रा मनाइने चलन रहेको पाइन्छ छ । ललितपुरमा भने गाइजात्राको भोलिपल्ट दिवंगत आफन्तको सम्झनामा बौद्ध परमपराअनुसार भित्री शहरमा रहेका विभिन्न देवदेवी, मन्दिर, चैत्यको पूजा गर्दै मतयाः अर्थात दीपयात्रा मनाइन्छ । यता पाल्पा, तानसेनमा गाइजात्राको अवसरमा क्रमशः गाइजात्रा, रोपाई जात्रा, गणेश जात्रा र बाघ जात्रा निकालिने गरिन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...