Tuesday, March 21, 2017

पाहांचर्हे जात्रा

 
काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 

असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 

भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ । 


- सन्दिप महर्जन

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
    Replies
    1. पहाँचह्रेको दिन न्यत (नरदेवी) मा श्वेतकाली (नरदेवी) को देवी नाच पनि निकालिन्छ। बसन्तपुरको कुमारी जस्तै यिनलाई पनि जिवित देवीको रुपमा पुजिन्छन् । पहाँचह्रे अवसरमा नरदेवी को देवी नाच नहेरी पहाँचह्रे लागेको महसुस नहुने स्थनीय हरु बताउँछन्। पहाँचह्रे र श्वेतकाली सम्बन्धी एेतिहासिक र धार्मीक पछ्य बारे पनि खोजबिन हुन सके अझ राम्रो हुन्थ्यो कि ?

      Delete

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...