एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।
यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।
साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।
No comments:
Post a Comment