सामान्यतः लाखे भन्ने बितिक्कै एक डरलाग्दो रूप हाम्रो अगाडि आउँछ । काठमाडौमा २३० बर्ष अघि देखि लाखे नाच चलीआएको विश्वास गरिन्छ । नेपाल अधिराज्यभर नचाइने धेरै जसो लाखे नाचहरूमा लाखेलाई हिन्दू धर्मका कथाहरूसँग जोडिएर एक राक्षस वा दैत्यको रूपमा प्रस्तुत गरिएको देखिन्छ । धेरै जसो लाखेको कथाहरूमा लाखे मारिएको प्रसङ्गहरू जोडिएका छन् तर काठमाडौं उपत्यकाभित्रको मजिपात लाखेलाई भने लाखे “आजु” को रूपमा पुजिन्छ । मजिपात लाखेलाई ‘शान्त भैरब’ पनि भनिन्छ । मजिपात लाखेको विगत राक्षसी स्वभाव भएता पनि कालान्तरमा आएको परिवर्तनले गर्दा यिनलाई भैरबको एक रूपमा पुजिँदै आएको छ । भैरब शिवकै एक डरलाग्दो रूप हो जुन श्रृष्टिको संहारसँग सम्बन्ध राख्दछ । भैरबलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु र रक्षा गर्नु सँग सम्बन्धित छ । कथाअनुसार लाखेले हाम्रा साना नानीहरूको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुजिने गरिन्छ । देशका विभिन्न स्थानहरूमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदिइयोस् भनेर लाखे नाच नचाउने गरिएको कथाहरू पाईन्छ ।
मजिपात लाखेको प्रेम कथा :
ऐतिहासिक कथामा आधारित इतिहासविद् डा. सत्यमोहन जोशीको “मजिपात लाखे” नाटकमा प्रस्तुत गरिएअनुसार काठमाडौंको मजिपातकी एक सुन्दर युवती “बाँलाः मयजु” (सुन्दर महिला)मा लाखेको प्रेम बस्न थाल्छ, आफ्नी प्रेमिका भेट्न उ मानिसको भेषमा बारम्बार आउन थाल्छ । आफ्नो प्रेमिको लागि जे गर्न पनि तत्पर लाखे एक्लैले एकैछिनमा प्रेमिकाको खेत खनजोत गरी दिन्छ, प्रेमीको हरेक समस्यालाई लाखे क्षणभरमै समाधान गरी दिन्छ । आफ्नो प्रेमीप्रति मोहित लाखेले खेतमा टाँगिएको बुँख्याचालाई साक्षी राखेर बिहे गरेको घोषणा गर्छ र भगाएर १५ दिनसम्म आफ्नै घरमा लगेर पनि राख्छ ।
यता काम गर्न खेतमा गएकी “बाँलाः मयजु” हराएपछि घरमा खैलाबैला हुन्छ । आमा माया र बुबा धनवीरले छोरी हराएकोमा निकै सुर्ता गर्छन् । लाखेसँगको पिरतीमा फसेकी छोरी “बाँलाः मयजु” लाखेको घरमा पुगेकी हुन्छे । पछि स्थानीयबासिन्दाले “बाँलाः मयजु” लुकाएको ठाउँ र छोरी भगाउने लाखेको असली रूप थाहा पाउँछ र समातेर राजा समक्ष बुझाउँछन् ।
राक्षस मानिने लाखेले छोरी लगेपछि गाउँले बसेर समस्या समाधानको उपाय खोज्छन् । राजाले अन्य राक्षसहरूबाट आफ्नो राज्यमा रहेका बालबालिकालाई बचाउन सहयोग गर्छ भने एक निश्चित ठाउँ दिन आफू तयार भएको प्रस्ताव राख्दछ । प्रस्ताव स्वीकार गरेर लाखे काठमाडौंको मजिपाट लाखे ननिमा घरज्वाँई भएर बस्न थाल्छ । हेर्दैमा डरलाग्दो लाखेले संकटमा परेका स्थानीयलाई उद्दार गर्न थाल्छ र संकटमा परेकाले उनलाई भाकल गर्ने क्रम पनि क्रमशः बढ्दै जान थाल्यो । भयावह रूपभित्र पनि कमलो मन छ, उसमा पनि प्रेमको भावना छ, उसले कसैलाई मन पराउन सक्छ, प्रेममा डुब्न सक्छ भन्ने सन्देश लाखेको कथाले देखाउँछ । आफ्नो प्रेमीको लागि लाखेले आफ्नो राक्षसी स्वभाव पनि त्याग गरी दिन्छ ।
जङ्गबहादुर राणा प्रधानमन्त्री हुनु भन्दाअघि उनी लगनमा डेरा गरी बस्थे । त्यही बेला लाखेको महिमासँग उनी परिचित हुन पुगेका थिए । उनी बेलायत भ्रमणमा गएका बेला बाटोमा आँधी बेहरी आएर उनी चढेको डुङ्गा डुब्ने डर भएको थियो । उनले त्यतिखेर नै लाखेलाई सम्झेर भाकल गरेका थिए र फर्किंदा लाखेको भाकल पूजा गर्न चार वटा हिरा लिएर आएको र भाकल पूरा गरेको यथार्थलाई पनि मजिपात लाखेको सन्दर्भमा पढ्न पाइन्छ ! त्यसबेलादेखि शक्तिको स्वरूप मान्दै मुकुट लगाएर ‘लाखे’ नचाउने चलन सुरु भएको देखाइन्छ ।
मजिपात लाखे, आगमन, रक्सी र ज्यापुको एक सन्दर्भ :
कुनै समय, एक राक्षस (दैत्य / लाखे) लाई भक्तपुरबाट काठमाडौंमा तलेजु भवानीको द्वारपालको रुपमा भित्राइएको थियो । गुभाजु, काठमाडौका राजा र एक ज्यापुले यिनलाई काठमाडौं भित्राउँदा मान्छेको मासु खुवाउने बचन दिएका थिए ।
राक्षस मान्छेको मासु र रगत खाँदै जीवन यापन गर्दै गर्दा एक दिन एक ज्यापु काम गरिरहेको खेतमा आइ पुगे । मान्छे खाने राक्षस आफ्नो खेतमा आएको देखेर ज्यापु आफ्नो बल्चा: (खेतमा अवस्थित एक सानो अस्थायी घर) तर्फ लुके । राक्षस तिर्खाएका थियो । ज्यापुले सुतुक्के रक्सी पिलाई दिए । राक्षसले अझ बढी रक्सी मागे । ज्यापुले चलाखीपुर्वक शर्त राखे, यदि मेरा खेतहरु सबै खनि दिने हो भने म अरु रक्सी दिन्छु । राक्षसले यति धेरै रक्सी पिए कि उनले मान्छेको मासु र रगत खाने बानी नै छोडी दिए ।
एक दिन ज्यापु, नयाँ लुगा लगाएर चिटिक्क परेर बाहिर निस्कनै लाग्दा राक्षस टुप्लुक्क भेटिए र कहाँ जान लागेको भनेर सोधे । ज्यापुले जात्रा हेर्न जान लागेको भने । राक्षसले पनि जात्रा हेर्ने रहर गरे । ज्यापुले विभिन्न कारणहरुले लैजान चाहेन, अप्ठ्यारो महसुस गरे । राक्षसले जसरी भए पनि जात्रा हेर्ने ढिपी गरे र कसैलाई पनि केहि हानी नगर्ने बचन दिई निकै उत्सुकताका साथ जात्रा हेर्न पुगे, विविध बाजागाजाको संगीतमा रमाए, र आफै पनि नाचे ।
यिनै राक्षस नाचेको नाचको प्रतिकको रुपमा हिजोआज लाखेको स्वरुपमा रंजित समुदायबाट मुकुट ओढेर लुगा, जामा, घांग्ला, जनै, पटा / फेटा लगाई लाखे नाच प्रदर्शन गर्ने गरिन्छ । लाखेले लगाउने पहिरन तासले बनेका हुन्छन् । तासलाई सुद्ध कपडाको रुपमा लिइन्छ । लाखेले इन्द्रजात्राको रथयात्राको दौरान देवी कुमारीलाई आफ्नो नाच देखाउने विश्वास गरिन्छ ।
मजिपात लाखे र तलेजु भवानीको सन्दर्भ :
किम्बदन्तीअनुसार पहिलो मल्ल राजाले तलेजु भवानी (हिन्दू देवी)लाई दक्षिण भारतबाट १४ औं शताब्दीमा नेपाल ल्याई प्रतिस्थापन गरेका थिए । मल्ल राजा तलेजु भवानीसँग सिँधै कुराकानी गर्दथे । एकदिन एक जना मल्ल राजाको दव्र्यवहारले गर्दा तलेजु भवानीले मल्ल राजासँग सिधा कुरा गर्न मनाही गरी दिए । वर्षौ दिनको क्षमायाचना तथा अनुरोधपछि मल्ल राजाले तलेजु भवानीलाई जिउँदो कुमारीको रूपमा प्रकट गराउन सफल हुन्छन् । यसैले, तलेजु भवानी र कुमारी अलग–अलग रूप तथा पहिचानको एकै देवीको रूपमा मानिन्छ ।
तलेजु भवानी अन्तध्र्यान भएपछि खोज्न जाने क्रममा मजिपात लाखे मल्ल राजाको पाईलाका छापहरू पछ्याउँदै जाँदा हनुमानढोकाभित्र पुगेपछि समाप्त भएको थियो । यसर्थ इन्द्रजात्रामा लाखे नृत्यले अन्तध्र्यान भएका तलेजु भवानीलाई खोज्दै हिँडेको आभाष दिलाउँछ ।
लाखेले सवः भक्कुका दुई जना केटाकेटीहरू ग्रहण गरी दिएको र पछि आकाश भैरब र हनुमानको अनुरोधमा लाखेलाई शहरबाट बाहिर निकालेको प्रसङ्ग पनि पढ्न पाइन्छ । पछि येँयाः पुन्ही (ईन्द्रजात्रा)को दिन लाखेले दुबै केटाकेटीहरूलाई फिर्ता गरेर आफ्नो उदारता प्रस्तुत गरेको कथा पनि पढ्न पाईन्छ ।
लाखे र झ्यालिंचाको सन्दर्भ:
परम्परा अनुसार लाखे नाच नचाउँदा झ्यालिंचाको पनि उपस्थिति देखिन्छ । लाखे त्यतिबेला नाच्छ, जब झ्यालिंचाले जिस्काउन थाल्दछ । जामा लगाएको सानो फुच्चे केटालाई झ्यालिंचा भनिन्छ । लाखे अर्थात शान्त भैरब शान्त स्वभावको भएकोले झ्यालिंचाले जिस्काई रहन्छ र लाखे झ्यालिंचालाई समात्ने प्रयासमा नाच्न थाल्दछ । लाखे र झ्यालिंचाको "मलाई समात्न सके समात" भाव अनुसार लाखे र झ्यालिंचाको नृत्यले मानिसहरुलाई हँसाउने र मनोरंजन दिने गर्दछ । २० बर्ष लाखे नाच नाची सकेका लाखेको अनुसार लाखे नाच सिक्नै पर्दैन, जब धिमे र भुस्याको एकसुरको तालमा बाजा बज्न थाल्छ, लाखे उही सुरमा नाच्न थाल्दछ ।
कीर्तिपुरको जात्रा र लाखेको सम्बन्ध :
कीर्तिपुरमा वर्षौसम्म लुटपाट र अन्न बाली लुटेर खाई आएको लाखेलाई मारेको खुसियालीमा कीर्तिपुरको जात्रा चलिआएको किम्बदन्ती छ । बस्ती विकासको इतिहास तथा किम्बदन्तीअनुसार राजा रत्न मल्लको पालामा तिब्बतको कुँकुँ जातको भोटेहरूले राति लुटपाट, चोरी, डकैती गरेर दुःख दिई आएको र कीर्तिपुर वरीपरीको बस्तीहरूमा थप व्यवस्थित बस्तीहरू विकास गरी आफ्नो सुरक्षार्थ अष्ट मातृका शक्ति देवीको रूपमा जागृत गरी कीर्तिपुर जात्रा सुरु गरेको उल्लेख छ । यसरी राति–राति लुट्न आउने भोटेहरूलाई लाखेको रूपमा प्रस्तुत गरिएको छ ।
कीर्तिपुरकै अर्को किम्बदन्तीअनुसार मध्यकालमा कीर्तिपुरमा लाखे लसिँहरूले सार्है दुःख दिन थालेकोले लाखे लसिँहरूसँग लड्न सात गाउँहरू एक आपसमा सल्लाह गरी सात गाउँ जात्रा चलाएको भनाई छ ! (जसलाई त्यहाँका स्थानीयहरूले नेपालभाषामा न्हय्गाँ जात्रा भनेर मनाउने गरिन्छ ।) सातै गाउँहरू एक आपसमा मिलेर लाखे लसिँहरूलाई धपाएर पठाएको कुरा उल्लेख गरिएको छ ।
कीर्तिपुरको इन्द्रायणी यात्रा सम्बन्धी अर्को किम्बदन्तीअनुसार परापूर्वकालमा कीर्तिपुर शहरको पश्चिम क्षेत्रको कोतः झाः भन्ने जंगलमा बस्दै आएको लाखेले कीर्तिपुर शहरमा बेला–बेलामा ठूलो उत्पात मचाउँदै लुटेर खाईरहेको हुँदा स्वयं इन्द्रायणी देवी प्रकट भई उक्त राक्षसलाई मारेको हुनाले इन्द्रायणी जात्रा सुरु भएको उल्लेख छ । कीर्तिपुरको उत्तर पश्चिम तिरको यो घना जंगल अहिले पनि छन् जहाँबाट उहिले–उहिले बस्ती नै नभएको बेला डरलाग्दो थियो । यसै जंगलबाट लाखे रूपी तिब्बती भोटेहरू राति–राति आएर लुटपाट मचाई रहेको हुँदा यसबाट सुरक्षित हुन कीर्तिपुरबासीहरूले ती लाखेहरूलाई खुवाउन तथा लाखे कुरुवा राख्ने गरेको पनि उल्लेख गरिएको छ ।
समग्रमा काठमाडौं उपत्यकाभित्रको ‘मजिपात लाखे’को कथामा लाखे राक्षसी वर्ग भए पनि उसको प्रेम, बलिदान र त्यागको कारणले उनलाई शान्त भैरबको रूपमा पुजिँदै आएको देखिन्छ । यता कीर्तिपुरमा लाखेले कीर्तिपुर बासीहरूलाई दुःख दिने गरेको र मारिएको कथाहरू पाईन्छ । देशका अन्य विभिन्न स्थानहरूमा नचाइने लाखेको कथाहरू पनि ठाउँअनुसार फरक–फरक पाइएको छ ।
अन्य लाखे नाचहरूको सन्दर्भ :
रिडी क्षेत्रमा लाखे नाच सबैभन्दा लोकप्रिय र चर्चित नाच हो । धेरै वर्ष पहिलेदेखि चली आएको यो नाच प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीको दिन परम्पराअनुसार लाखेले गठेमंगलको पुत्ला दहन गरी कालीगण्डकीमा मिल्काएपछि लाखे नाच सुरु हुन्छ भने कृष्ण जन्माष्टमीको दिन बलराम र कृष्णको स्वरूप धारण गरी लाखेको बध गरी लाखे नाच अन्त्य गरिन्छ ।
यसैगरी भोजपुरमा कृष्णलाई मार्न कंसले पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिन्छ । ऋषि पञ्चमीका दिन पुतनाको मृत्यु भएको सम्झँदै नजिकको मन्दिरमा गई पूजाआजा गरी लाखे नाच बिसर्जन गर्ने गरिन्छ ।
यता ललितपुरको सिद्धिपुरमा गथेमंगलको भोलिपल्टदेखि बाजागाजाका साथ लाखे नाच नचाउने गरिन्छ ! लाखे नाच देखाउँदै बाजा खलकहरू टोल–टोलमा र घर–घर अगाडि आउने गर्छ र प्रत्येकले, पिठो, चामल र पैसा दिने प्रचलन रहेको छ । आफन्तहरू लाखे भएर आएको छ भने विधिपूर्वक पूजा गरी (सगुन) शुभ–साईतको दही लिई घर भित्र्याईन्छ । यसरी भित्र्याउँदा घरमा रहेको भूत, पिसाच बाहिर जान्छ भन्ने जनविश्वास रहेको छ । अन्तिममा पालाको घर अगाडि लगी धुमधामका साथ बाजा बजाई रात नै चमक हुने गरी छ्वाली (पराल) बाली लाखे नाच्न लगाईन्छ र तीन चोटी लाखेलाई कुदाउँदै च्याप्प समातेर लाखे घरभित्र लगेर लाखे नाच बिसर्जन गरिन्छ । अन्त्यमा सबै जना मिलेर भोज खाने चलन रहेको छ ।
त्यसैगरी, चरिकोटमा नेवारहरूको संस्कृतिअनुसार भगवान श्रीकृष्णको चरित्रको आधारमा लाखे नाच नचाइने गरिएको छ । गठेमंगलको दिन नाट्यश्वरीको मन्दिरमा भोग दिएर पूजा गरी भोज खाने र भोलिपल्टदेखि लाखे नाच प्रदर्शन गरिन्छ भने यो नाच कृष्ण जन्माष्टमीसम्म प्रदर्शन गर्ने गरिएको छ । नाचको अन्तिम दिन राति १२ बजेपछि कृष्णले चक्र हानी लाखेलाई मार्ने चलन छ ।
माथि प्रस्तुत गरिएको सामग्रीहरू केही उदारहण मात्र हुन् । देशका विभिन्न देवी देवताका कथाहरूमा लाखेको उपस्थिति देखिन्छ । हरेक कथाहरूमा लाखेको भूमिका फरक–फरक भेटिन्छन् ।
No comments:
Post a Comment