Tuesday, December 18, 2018

जोमसोम : धुम्बा ताल


निलगिरी हिमालमुनि अवस्थित मुस्तांगबाट करिब ५.५ किमी दुरीमा रहेको यस ताललाई एक पवित्र बौद्ध तिर्थको रुपमा लिइन्छ l स्थानीय बुढापाकाको भनाई अनुसार कुनै बेला यो तलाउ पुरै राताम्य भएको थियो रे l पछि तिब्बती बौद्ध भिक्षु / लामाहरुले अनेक धार्मिक पुजा पाठ गरि सकेपछि मात्र अहिलेको निर्मल स्वच्छ हरियाली रुपमा फर्केको थियो रे ! यसैले यस ताललाई एक पवित्र तालको रुपमा मानिन्छ र यस तालमा रहेका माछाहरुलाई मार्न दिंदैन l स्थानीय बुढा पाकाहरुको भनाई अनुसार आफु र आफ्नो जीवन शैलीमा परिवर्तन गर्न यस तिर्थमा आई प्राथना गर्ने गरिन्छ l

जोमसोम जाँदा बाटोमै पर्ने यस ठाउँमा को को पुग्नु भाको छ कुन्नी ?

त्रिपुरेश्वर - सुर्य विनायक : ट्रली बस


पंचायत कालमा त्रिपुरेश्वर - सुर्य विनायक खण्डमा बिजुलीबाट चल्ने ट्रली बस !

चित्लाङ्ग : चारुमतिले बनाएको एक चैत्य




२३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा सम्राट अशोक पुत्री चारुमतीले चित्लाङ्गमा स्थापना गरेको एक चैत्य l बि.सं. २०१० पुर्व मोटरबाटो बन्नु अघि चित्लाङ काठमाडौ उपत्यका छिर्ने प्रमुख नाका थियो । काठमाडौ आवतजावत गर्न चिसापानी गढीमा राहदानी देखाउनु पर्दथ्यो रे ! त्यसैले चित्लाङ ऐतिहासिक रुपमा महत्वपुर्ण मानिन्छ । चित्लाङलाई तत्कालिन लिच्छवि राजा अंशुवर्माले गोठालाहरुलाई उपहार दिएको भनिन्छ । त्यसैले चित्लाङ बाख्रापालनको लागि प्रसिद्ध मानिन्छ । बि.सं. २०६१ सालमा यहाँ बाख्राको चिज उत्पादन गर्ने कारखाना खोलेपछि बाख्रापालन अझै उत्साहित भएको देखिन्छ ।

चित्लांग : शिवालय मन्दिर


अहिलेसम्म पनि कुनै इतिहास नै फेला नपरेको चित्लांगको एक शिवालय मन्दिर । मन्दिर चाहिँ शिवालय ! होली पुर्णिमाको दिन ठूलो मेला लाग्दछ ।

टाकटुके जात्रा

 


बिहे गरेर गैसकेका चेलीहरु पनि अनिवार्यरुपमा माइती आई सहभागी हुनु पर्ने त्रिशुलीको नेवारले गाइजात्राको अवसरमा मनाइने एक जात्रा

दुप्चेश्वर महादेव

काठमाडौं ग्वंग:बुँबाट करिब ६३ किमी उत्तरतर्फ #नुवाकोट जिल्लाको #राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल #दुप्चेश्वर महादेवको मन्दिरलाई #पशुपतिनाथको दोश्रो रुप मानिन्छ l धान्य पुर्णिमाको अवसरमा विशेष मेला लाग्ने यस मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने विश्वास गरिन्छ ।

पौराणिक कथनअनुसार ४०० वर्षअघि स्थानीय एक #तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ ।


अर्को किम्वदन्ती अनुसार, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

#सन्दर्भ : आज मिति २०७५ मंशिर २८ गते शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा. ३ ख ३९१३ नम्बरको मिनीट्रक सडकबाट ३०० मिटर तल खसेर दुर्घटना हुँदा २० जनाको मृत्यु l

आशापुरे महादेव


भक्तपुर जिल्ला नखेल गाबिस र नासिकास्थान गाबिस (हाल सुर्यबिनायक नगरपालिका) मा अवस्थित आशापुरे महादेवको दर्शन गरे मनोकामना आकाँक्षा पुरा हुने बिस्वास गरिन्छ l

हिमवत्खण्डमा उल्लेख भएअनुसार धेरै समय पहिले चण्डासुर नामक दैत्यको वध भएको खुसियालीमा स्वर्गका देवताहरूले अहिलेको आशापुरे महादेव भएको ठाउँ अर्थात नाश्चल खोला, काक्राबारी खोला र घ्याङखोलाको त्रिवेणी धारमा आई शिवलिङ्ग स्थापना गरेका र सोही समयदेखि यहाँ मेला लाग्ने गरेको हो l

मल्ल काल देखि पुस शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म काभ्रेको नासिकास्थानमा आशापुरे जात्रा लाग्ने गर्दछ ।

लतरम्बेश्वर महादेवकी जय !


Thursday, October 25, 2018

इन्द्रजात्रा : दांगी


चथा: अर्थात गणेश चौथी देखि हराएको देवराज इन्द्र काठमाडौमा स्थानिय बासिन्दाले बाँधेर राखेको र छोरो खोज्न पठाएको ऐरावत हातिं पुकुकिसी पनि यता उता भौतारिएको दृश्य अन्तरध्यानबाट देखे पछि चतुर्दशीको दिन स्वयं कन्तिपुरी नगरी आई छोरालाई कैदमुक्त गराउन आएका आमा बसुन्धरा जसलाई दागीं भनिन्छ।

 साथै, बर्ष दिनमा मृत्यु भएकाहरुलाई देवराज इन्द्र र आमा बसुन्धरा संगै स्वर्ग पठाउन पछि लागेका आफन्तजनहरु !

पारिजातको उत्पतिको कथा



हिन्दु धर्म अनुसार पारिजात समुन्द्र मन्थनबाट प्राप्त भएको पुष्पको रुपमा वर्णन गरिएको छन् l देवराज इन्द्रले एकाधिकार प्राप्त गरि स्वर्गको बगैंचामा रोपेका थिए l देवी इन्द्रायणीलाई यो पुष्प सार्है मन पर्ने गर्दथ्यो l

त्यस पारिजातको वृक्षलाई स्वर्गलोकमा मात्र होइन, पृथ्वीको द्वारकामा ल्याएर रोप्नु पर्यो भन्ने सत्यभामाको इच्छाअनुसार श्रीकृष्णले इन्द्रसँग युद्ध गरेर पारिजातको बिरुवा पृथ्वीमा ल्याउँछन्।

श्रीकृष्णकी अर्की प्यारी रुक्मणीलाई पनि पारिजातको चाहना हुन्छ। त्यसैले, श्रीकृष्णले पारिजातको बोट सत्यभामाको बगैंचामा रुक्मणीको साँधमा पर्ने पर्खालको आडमा रोपिदिन्छन् । फलस्वरुप पारिजातको फूल दुवैको बगैंचामा झर्न थाल्छ ।
.
.

कुन चाहिं खडेरी आइ परेछ स्वर्ग लोकमा खै ! देवराज इन्द्रको आफ्नै आमालाई पारिजात पुष्प चाहिँदा कान्तिपुरी नगरी भौतारिनु परेछ l देवी इन्द्रायणीले छुनै दिएन कि ?

सिन्धुपाल्चोक : पाँच पोखरी

ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो । श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए । एकपटक नारद उनलाई भेट्न गएछन् । ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए ।

अर्को एक कथा अनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पस्चिम ३ नं. क्षेत्रको भोताङ गा.वि.स १ नं. वडाको करिब ४२०० मिटर उचाईमा रहेको यो तिर्थस्थल आज भन्दा करिब २३२५ वर्ष अगाडि प्रख्यात सिकारी वुम्बा रवा वाईबा सिकार खेल्दै हाल पाँचपोखरी तिर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरीरहेको देखे ।
 
"यो के अचम्म हो ? यस्तो हिँउ पर्ने ठाउँमा पनि खेती गर्ने को होला" भन्दै खेती गर्ने नजिक पुग्दा लोग्ने मानिस (महादेव) ले सिकारी वुम्बा रवा वाईबालाई देख्ने वित्तीकै सम्पूर्ण धान खेती गर्ने सम्पूर्ण खेतालाहरु सहित यसै पाँच पोखरीमा रहेको हालको मन्दिर स्थानबाट अलप भएछन् । यो दृष्य देख्ने पहिलो व्यक्ति वुम्बा रवा वाईबालाई यस्तो अचम्मको दृष्य देख्दा अचम्म लागेकोले "यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाई गरेको हुनुपर्छ । मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ ।" भन्ने सोची आफ्नो सिकारी कुकुरलाई लगाएको घण्ट अलप भएको ठाउँमा झुण्ड्याई मन्दिरको स्थापना गरी फर्के । यसै रोपाई गरेको स्थानमा धानको वाला खोज्ने क्रम हालसम्म पनि चलिआएको छ । यहाँ धानको वाला भेटिएमा धनवान हुनेछ भन्ने भनाई आजसम्म पनि प्रचलित छ । 

धार्मिक किंवदन्ती अनुसार यस पाँच पोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृष्य जो कोही भाग्यमानी ले मात्र देख्न सक्दछन । पाँचवटा पोखरीले घेरिएको यस तिर्थस्थलमा एक चिज वर मागे भगवानले पुर्याईदिने किंवदन्ती अनुसार भाद्र महिनाको एकादशी देखि जनै पूर्णिमासम्म टाढाटाढाबाट हजारौ संख्यामा भक्तजनहरु आउने गर्दछ ।

सिंहदरवार आगाली : २०३०


किर्तिपुर : मौलिक नाम जोगाउँदै


फय् खा - किर्तिपुर नगरको दक्षिण तर्फ अवस्थित भूभाग

 अर्थ न बर्थ नामाकरण भएका केहि स्थानहtरु :

१. च्व: बहा: - चोभार
२. काेँयना गनेद्यः - जलबिनायक
३. धिलाच्व: / धिलाचो - चन्द्रागिरी
४. थक्वा: - थानकोट
५. फम्पी - फर्पिंग
६. ठंबही - ठमेल
७. तिचा नाः दुं - नगरकोट
८. न्वखु सिच्व: - नदि तुलानाताम्क रुपमा उचाईमा रहेको भाग / थापा थरको प्रधानमन्त्रीबाट थापाथली
९. न्हू लँ - गुर्जुहिती वरीपरी किपुल्चा, बलम्बु र सतुंगलभित्रको राजमार्ग क्षेत्र
१०. जा व्ह्वला ख्य: - जावलाखेल
११. खुन्थू - बानेश्वर (हाल संसद भवन रहेको ठाउँ)
१२. यन्ता बुँ - बागमती र बानेश्वर बिचको क्षेत्र (यन्ता बुँको अर्थ ललितपुरको उत्तर क्षेत्रको भाग, राजा महेन्द्रले नेपाल १४ अंचल ७५ जिल्लामा विभाजन गर्नु अघि बानेश्वर ललितपुर जिल्लामा पर्दथ्यो रे)
१३. फिब्व: ख्य: - माइतीघर (बालुवाको थुप्रो रहेको ठाउँ) / यसैको नामबाट परिचित फिब्व: अजिमा हाल नेपाल आर्मीले कब्जा गरेका छन् रे ! माइतीघर चलचित्र बनाउँदा यहीं केन्द्र स्थापना गरेका थिए ..पछि नाम परिवर्तन गरि दिए l
१४. कल्खु अजिमा - कलंकी / कलंक हरण गर्ने भएकोले कल्खुबाट कलङ्की अजिमा भए l
१५. लांख्य: - गठ्ठाघर
१६. क:सुली - कौशलतार
१७.ल्होंकि / ल्होंकिथु - लोकन्थली
१८. द्वक्व: - नमुना बस्ती
१९. देक्व: / भा: फल्चा - शंखधर चोक वरपर क्षेत्र
२०. कुनचा - कुन्डोल
२१. पाछै बुँ - सागवारी टोल
२२. थामाथु - गठ्ठाघर ब्यारेक
२३. थिमृङ- थिदेस- थिदेय् - थिमि
२४. पिथुगा / गांत्वा: - तक्षु टोल
२५. बारच्व / तर्चा : कमेरोटार
२६. ख्वसि - पाटन क्याम्पस र पुल्चोक इन्जिनियरिंग क्याम्पसको बीचको भाग
२७. ल्हुती - बालाजु
२८. सुकुबहा: - लाजिम्पाट
२९. साकुना - बालुवाटार
३०. भुइँजसी - बुढानिलकण्ठ
३१. पोर्पा - रानीवारी
३२. उचत्वा:, नखिंपुखु - महाराजगंज
३३. न्हूघ: जैसीदेवल
३४. जोशी देग: - जैसीदेवल
३५. स्यंगुँ - स्वयम्भु
३६. किपू - किर्तिपुर
३७. न:क्वा: - नुवाकोट
३८. भ्वंत - बनेपा
३९. नमुरा - नमोबुद्ध
४०. क्वपुंद्वं - कोपुण्डोल
४१. दल्लु द्वं - डल्लु
४२.फुसिंख्य: - मनमैजु
४३. सक्व - साँखु
४४. इखालाछी / मण्डप - क्षेत्रपाटी
४५. ग्वल - देवपत्तन
४६. सिनामुग: - सिनामंगल
४७. पंब्व: - बाँसबारी
४८. जामागुं - रानीवन
४९. न्यत: - नरदेवी
५०. वंघ - इन्द्रचोक
५१. पासिक्व: - कमलादी (पासिको अर्थ नासपाती, कमलादी ?)
५२. धुँस्व: - बागबजार (धुँ भनेको बाघ, बाग होइन)
५३.'पँ' को अर्थ बाँस, 'ल्हों' अर्थ ढुंगा, टी' को अर्थ टुसाबाट पन्ती - पनौती
५४. वादेय् - चापागाउँ (देय् भनेको देश, गाउँ हैन)

#RevivingNativeNewariNames

Wednesday, September 19, 2018

किलाग: दि प्याखं / देवी नाच



संस्कृतविद सत्यमोहन जोशीको कथन अनुसार परापुर्वकालमा एक दानवराजले महादेवको भयङ्कर तपस्या गरेको रहेछ l  उसको तपस्याबाट खुसि भएर महादेवले उक्त दानवराजलाई बरदान दिन पार्वतीलाई पठाएको रहेछ l पार्वतीले दानवराजलाई महादेवको आज्ञा अनुसार बरदान माग्न भनेछ l दानवराजले आफुले यति ठुलो तपस्या गर्दा पनि महादेव स्वयं नआई पार्वती मार्फत बरदान माग्न भन्दा दानवराजले आफुले एक स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै पार्वतीको उपेक्षा गरेको रहेछ l

पार्वतीले आफुलाई ठुलो अपमान भएको अनुभव भएछ l यसर्थ अर्को जन्ममा आफुले भैरव र चण्डीको छोरी भएर जन्म लिई यस अहंकारी दानवराजको बध गर्ने अठोट लिएछ l यसै घटनाको प्रतिक स्वरूप इन्द्रजात्राको अवसरमा कुमारीको रथलाई एक छिन रोकेर यस कथाको नाच देखाउने गरि आएको पाइन्छ l

यस नाचमा मुलत: ७ जना पात्र क्रमस: भैरव, चण्डी (भैरवको श्रीमती), कुमारी (भैरव र चण्डीको छोरी), दैत्य, बेता: (भैरबको बाहन), कवंचा (कुमारीको बाहन) र ख्या:क (चण्डीको बाहन) रहेको पाइन्छ l नाचमा बेता:, कवंचा र ख्या:कले हाँस्यरस थपेर रमाइलो र रोमान्चकारी दिने गर्दछ l

श्रोत : झिगु.कम (रेखा शाक्यज्युको लेखबाट सानो अंश साभार गरिएको)

नाला : एक ऐतिहासिक चिनारी


 सत्ययुगमा राजा दिर्घरथको समयमा यो नगरको नाम #नगिरीपुर थियो ।
लिच्छविकालमा राजा शिवदेव द्वितीयको पालामा नाम #नालाङ्ग्राम थियो ।
यहाँको एक प्रसिद्ध भगवतिको भजनमा यो नगरीको बखान #उत्ररापुर भनेर बर्णन गरिएको छ ।

महामन्जुश्री यहिं नगरी भएर काठमाडौ उपत्यका प्रवेश गरेका थिए ।

बुंगमतिमा सेतो मछिन्द्रनाथको मुर्ति पनि थियो । केहि तामांगहरुले उक्त मुर्ति चोरी गरेर ल्हासा लाने क्रममा यहाँ आईपुगे पछि ठुलो आँधीहुरी आएकाले तामाङहरु मुर्ति यहिं छाडेर भागेका थिए र पछि यहिं प्रतिस्थापन गरिएका थिए ।

यहाँको लगन टोल अवस्थित एक ढुंगे धारामा लिच्छविकालिन ॐ सम्बत उल्लेख रहेको शिलापत्र अझै छ । लिच्छविहरु बैशालीबाट मकवानपुर हुँदै यहि नगरीबाट काठमाडौ छिरेका थिए रे !

पांन्चाल देशका विश्वन्तर राजकुमारको कथा अनुसार गौतम बुद्ध यहाँ ४ महिना ध्यान बसेका थिए र आफ्नै मासु काटेर बघिनीलाई खुवाए पछि त्यागको कदर गर्दै गौतम बुद्धले यहिंबाट नमोबुद्ध भनेर बन्दना गरेका थिए ।

कल्खु अजिमा / कलङ्की अजिमाको सन्दर्भ


कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास गर्ने देवीको रुपमा चित्रण गरिएको छ l नेपालभाषामा कलह + खु (खुसि ~ खोला) बाट कल्खु बनेको र कलंक हरणी साक्षात देवी भएकोले कल्खु बालकुमारीबाट कलङ्की अजिमा र त्यस ठाउँको नाम समेत कलङ्की रहन गएको भनाई पाइन्छ l

कल्खु अजिमा परिसरमा एक मन्दिरकै गहनाको रुपमा बर पिपलको रुख छ l परापुर्वकालमा बालकुमारी अजिमा लामो यात्राको दौरान यसै बर पिपल रुख मुनि थकाई मारेको भन्ने किम्वदन्ती पाइन्छ l 

यस कल्खु अजिमा र असन केलटोलको बालकुमारी अजिमा र मध्यपूर थिमीको बालकुमारी अजिमासँग परम्परागत सम्बन्ध रहेको पाइन्छ l परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्व भेग मध्यपूर थिमिका केही मानिसहरू बालकुमारी अजिमा र गणहरूलाई तन्त्र साधना गरी स्थानान्तर गरेर थिमि लाने क्रममा असन केलटोलमा एकरात बास बसेको र बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै सिद्ध भएको भनिन्छ l भोलिपल्ट बालकुमारी अजिमा एवं अन्य देवदेवीहरू थिमिमा प्रतिस्थापन गराइएको भन्ने किम्वदन्तीहरु पाइन्छ l

यस कल्खु अजिमालाई केलटोल अवस्थित बालकुमारी अजिमाको आमा भनेर पनि चिनिन्छ l यस मन्दिर परिसरमा पहिले पहिले बिचित्रको दृश्यहरु देखिने गर्दथ्यो रे ! मन्दिर भित्र बालिका खेली रहेको, सेतो घोडा मन्दिर घुम्दै रहेको, सेतो खरायो देखिने गर्दथ्यो रे !

श्रोत : मन्दिर पुजारी प्रकाश मान शिल्पकारज्युको ब्लगबाट साभार !

ओम बहाल अवस्थित जोर गणेशको सन्दर्भ


किम्वदन्ती अनुसार ॐ वहाल टोलमा गणेशको जन्म भएको थियो रे ! यो टोलमा कोही १ जना मानिसको मृत्यु भयो भने अर्कोको पनि मृत्यु हुन्छ । यो प्रमाण अहिले पनि टोलमा भेटिन्छ । टोलमा कसैको मृत्यु भयो भने त्यसको केही समयमै अर्कोको पनि मृत्यु हुने गर्दछ ।

प्राय: अरु गणेश मन्दिरहरुमा एकजना मात्र गणेशको मुर्ति हुने गर्दछ l तर यहाँ मन्दिरको भित्र जोर गणेशको मुर्ती छ । एउटा मुर्ति उभिएको छ भने अर्को बसेको अवस्थामा छ l यसैले यहाँको गणेशलाई जोर गणेश भनिन्छ l
मन्दिरका पुजारी लक्ष्मी नारायण महर्जनको अनुसार यहाँको पुजा गर्ने विधि पनि अन्त्यत्र भन्दा फरक तरिकाले गरिन्छ l यहाँ ६/६ महिनामा गणेशको पुजा गर्ने गरिन्छ l मन्दिरमा आएर पुजा गरेपछि मनोकाक्षा पनि पूरा हुन्छ भन्ने मान्यता छ।

ॐ बहाल क्षेत्र ॐ आकारमा रहेकोले ॐ बहाल भनिएको पाइन्छ l अर्को किम्वदन्ती अनुसार धेरै पहिले सुनको ॐ आकारको ढुंगा बिछ्याई राखेकोले पनि ॐ बहाल नाम रहन गएको हो भन्ने कथंन पाइन्छ l

गणेश चौथी, चथा र हलिमाली खाने परम्परा



गणेश चौथी अर्थात गणेशको जन्म दिन । अरुको सहारामा रुपवान देखिने चन्द्रमाले गणेश भगवानलाई खिसी उदाएकोले गणेश भगवानको श्राप अनुसार आजको दिन चन्द्रमा दर्शन गर्नेलाई चोरको आरोप लाग्ने दिन ।
यस दिन देवराज इन्द्र आमा बसुन्धराको पुजाको लागि पारिजात फुल चोर्न काठमाडौ उपत्यका पसेको र बिष्णुमति - भद्रमति नदीको संगममा रहेको निर्मल तिर्थमा दर्शन गरी बिष्णुमति खोला किनारमा अवस्थित एक मालीको बगैंचामा पारिजात चोर्दै गर्दा स्थानिय बासीले देखेर चोरको आरोप लगाईएको र त्यही अनुरुप येँया जात्रामा बाँधेर राखेको कथा छँदै छ । चौरासी ब्यंजनमा रमाएका देवराज इन्द्रलाई चथा: को दिन बाँधेर राखी चपाउनै नसक्ने हलिमलि अर्थात बकुला, भतमास, मकै खान दिएका थिए रे । 

यसर्थ यस दिन देवताका राजा देवराज इन्द्रलाई नेवारहरु खुं द्य अर्थात चोर देवताको रुपमा मानेर हलिमली खुवाउने र खाने गर्दछन् ।

Wednesday, August 29, 2018

बसन्तपुर अवस्थित रहस्यमय इन्द्रपुर मन्दिर !


राजा प्रताप मल्लको पाला (सन् १६४१ - ७४) मा बनेको यो मन्दिरलाई रहस्यमय मन्दिरको रुपमा लिइन्छ l नाम इन्द्रपुर मन्दिर भित्र चाहिं शिवलिंग भेटिन्छ l मन्दिरको ढोकामा कुनै तोरण राखिएको छैन, जसले गर्दा कुन चाहिं देवता भनेर छुट्याउन सकिंदैन l मन्दिरको भुइँतल्लाको दक्षिणतर्फ गरुड राखिएको छ, जसले बिष्णु पो हो कि भनेर अलमलाउँछ l
जानकारको भनाई अनुसार उहिले इन्द्रजात्राको बेलामा यो मन्दिरको माथिल्लो तल्लामा इन्द्रको मुर्ति सजाउने गरिन्थ्यो रे ! मन्दिरको निर्माण गर्दा यसको सक्कल नक्सा डिजाइन अनुसार गरिएको छैन l सामान्य छानाको बनावट रहेको यस मन्दिरको भुइँ र पर्खाल खम्बाहरु एक आपसमा नमिल्ने गरि बनाइएको छ रे !!

श्रोत : An Introduction to Hanuman Dhoka

Thursday, August 16, 2018

गुहेश्वरी अजिमा


स्वस्थानी कथा अनुसार गुहेश्वरीमा सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह रहेको छ । पशुपति क्षेत्रस्थित श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरी उत्पत्ति भएको किम्वदन्ती पाइन्छ । गुहेश्वरीमा एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथामा पाइन्छ ।

#पुरानो #गुहेश्वरी :
स्वयम्भू पुराण अनुसार बालाजु अवस्थित पुरानो गुहृयश्वरीलाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी - कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखिको पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशर माथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।

सागरहवा पोखरी

तौलिहवाबाट करिब १२ किमी उतरतर्फको जंगलमा अवस्थित #सागरहवा जसलाई #लुम्बुसागर पनि भन्ने गरिन्छ l कपिलबस्तुका राजा सुद्धोदन आफु स्वयं हजारौं सेनाहरु सहित भगवान बुद्धको शरणमा गइ सकेपछि देबदहका राजा #बिरुधकाले प्रतिहिंसा स्वरूप यहाँ ६० हजार भन्दा धेरै शाक्यहरुको हत्या गरेका थिए l भनिन्छ, त्यतिबेला यो पुरै क्षेत्रमा शाक्यहरुको रगतले भरिएका थिए रे l

पछि, यिनै मारिएका हजारौं शाक्यहरुको सम्झनामा यिनका पुस्ताहरुले यहाँ सयौ चैत्यहरुको निर्माण गरिएका थिए l सन् १८९७ - १८९८ तिर यिनै स्तुपाहरुको उत्खनन र अनुसन्धान गरिएका थिए l शाक्यहरुले त्यतिबेला राजा बिरुधकासंग युद्ध गर्न सक्थे, तर युद्ध चाहेन, मृत्युको अन्तसम्म पनि अहिंसाको बाटोमा लडी रहे र ६० हजार भन्दा धेरै मारिए l बचेका शाक्यहरु आफ्नो ज्यान जोगाउन यत्रतत्र भागे l शाक्यहरु आजभोली भारतको आसाम, देहारादुन, दार्जिलिंग, नेपालमा बसोबास गरेको पाइन्छ l

भनिन्छ, राजा सुद्धोदनले देवदहका राजकुमारलाई आफ्नो दरवारमा हुर्केकी एक दासीको छोरीलाई राजकुमारी बनाई झुक्याएर बिहे गरि दिएका थिए l बिरुधका यिनै दासीको तर्फबाट जन्मिएका राजा थिए l पछि यिनले राजा सुद्धोदनको यो छलकपट थाहा पाए र दुश्मनी फैलिएको थियो l 



नाग पंचमी


श्रावण शुक्लपक्षको पञ्चमीको दिनमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको र यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ l 

बैदिक दर्शनमा उल्लेख अनुसार १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा #अनन्त, #वासुकी, #शेष, #पद्यम्, #कम्बला, #कारकोटका, #अश्भतरा, #धृतराष्ट्र, #शङ्कपला, #कालिया, #तक्शका#पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

नाग पञ्चमीको सन्दर्भमा महाभारतसंग जोडिएको एक कथा पाइन्छ । #परिक्षीत नाम गरेका एक राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे l यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्ध, ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्शका पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्र सहित जन्मजयसम्म आइपुग्दछन् l यो देखेर सबै अचम्ममा परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजय समक्ष माफी माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । 

यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

श्रोत : हाम्रो पात्रो l

Wednesday, August 8, 2018

क्रकुछन्द बुद्ध र बागमती नदीको सन्दर्भ


 स्वयम्भु पुराणमा वर्णित अनुसार उहिले मान्छेको आयु ४०००० बर्ष भएकोबेला क्रकुछन्द बुद्ध जन्मेका थिए  । लामो आयु भएका क्रकुछन्द बुद्ध संसार उद्दार गर्ने भन्दै संसार घुम्ने क्रममा नेपालमण्डल पनि आइ पुगे  । नेपालमण्डलमा दिब्य उपदेश दिंदै घुम्दै गर्दा संसारबाट मुक्त भएर निर्वाण लाभ गर्ने इच्छाले गुणध्वज नामक ब्राम्हण सहित ४०० ब्राम्हणहरु, ३०० क्षेत्रीयहरु, थुप्रै वैश्य तथा शुद्रहरु पनि प्रवज्या ब्रत धारण गरि भिक्षु हुने इच्छा प्रकट गरे
यसपछि क्रकुछन्द बुद्धले सकलजनलाई शंखोदक पर्वतमा लगेर दारीजुँगा खौरन लगाई चुडाकर्म गराए 
। यसरि भिक्षु भएकाहरुलाई स्नान गराउन त्यहाँ कतै पनि पानी चाहिं भेटिएन ! खोज्न जाँदा पनि कतै पानी भेटिएन  । यसपछि बज्र सत्वको निर्माणकाय शक्ति भएका क्रकुछन्द बुद्धले एक वाक्य उच्चारण गरे र पर्वतबाट पानी बग्न थाल्यो  । वाक्यबाट पानी उत्पति भएकोले यसको नाम बाक्यमति भनि प्रख्यात भए र अनन्तकालमा अपभ्रंश भै बागमती भन्न थालिएको हो

हालको शिवपुरी पर्वतलाई क्रकुछन्द बुद्ध पर्वत पनि भनिन्छ 
। बाक्यबाट उत्पति भएको पानीको मुहानमा बाघको मुख जोडेर बागद्वार नामाकरण किन र कसरी गरिए ...कसैलाई किम्वदन्ती थाहा छ भने पोष्ट गरि दिनु होला 

गथांमुगः भूतप्रेत जम्मा पार्ने प्रकिया हो, आफै भुत होइन !!

 
पौराणिक कथा अनुसार शिवभक्त दानवराज वाणासुर र यादव सेनाबीच युद्ध भएको बेला वाणासुरका सेनालाई महादेव एवं कुमार कार्तिकेयले र यादव सेनालाई कृष्ण भगवानले साथ दिएका थिए । युद्धको क्रममा महादेवले तीनवटा टाउको र तीनवटा खुट्टा भएका शीतज्वर वा महेश्वरज्वरले यादव सेनालाई आक्रमण गरे । तर अर्कोतर्फ भगवान कृष्णले विषमज्वर उत्पन्न गरी वाणासुरका सेनालाई आक्रमण गरेपछि दानवराजको सेना युद्धमा हारे । युद्धमा हारेपछि कुमार कार्तिकेय भागे ।
 
शैव र वैष्णव बीचको यस शीतज्वर व विषमज्वर युद्ध ललितपुरमा देखाइने कार्तिक नाचमा अहिले पनि प्रदर्शन गर्ने चलन छ । संस्कृतिविद जोशीका अनुसार दानवराजको पक्षमा युद्ध गरेकाले घण्टाकर्णलाई पनि राक्षस भन्ने गरियो । र गठेमंगललाई बिसर्जन गर्ने चलन पनि युद्धमा हारेर भागेको प्रतीकको रुपमा लिने गरिन्छ ।

संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।

बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो । गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको ठाउँमा जम्मा गरिन्छ ।

बिहानैदेखि आआफ्नो टोलको दोबाटो र चौबाटोमा निगालो वा छ्वालीबाट बनाइएको तीनवटा खुट्टा भएको घण्टाकर्ण ठड्याइन्छ । र भूतको प्रतिमा बनाएर त्यसमा झुन्ड्याइन्छ । त्यसपछि कुनै ब्यक्तिलाई पेटभरी दहीचिउरा खुवाई त्यही दहीको भाँडोमा पैसा उठाउन लगाइन्छ ।

दिनभरी पैसा उठाउन लगाई साँझमा टोलबासी सबै मिलेर तान्त्रिक पूजा सहित त्यही ब्यक्तिलाई फेरि पेटभरी खुवाउँछन् र बलेको छ्वाली समात्न लगाई घण्टाकर्ण ढाल्ने गरिन्छ । त्यसपछि घण्टाकर्णमाथि उसलाई राखेर टोलका सबै मिली तानेर नजिकको नदीमा बिसर्जन गरिन्छ ।

यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ ।

भारतको वाराणशीमा प्रचलित रुद्रायमल तन्त्रको कथाका पात्र घण्टाकर्णलाई काठमाडौं उपत्यकामा प्रचलित गथांमुग:संग जोडिएपछि घण्टाकर्ण र गथांमुग: एकै हुन् भन्ने भान परेको हो। धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ।

'रुद्रायमल तन्त्रको कथाका अनुसार एक नास्तिकले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर हिड्ने गर्थे। त्यसैले उनको नाम घण्टाकर्ण रहन गयो' श्रेष्ठ बताउनुहुन्छ। नेपालभाषामा 'गं' (घण्ट) र 'ग:' (सहर)को अर्थ फरक हुन्छ। 'ग:'लाई 'गं' बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ।

श्रोत : http://ujyaaloonline.com/news/23650/

Saturday, August 4, 2018

खसी र घोडाको कथा



 एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।

उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन "
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ । "
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । "

जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर , प्रयास गर ।

घोडा जुरुक्क उठ्छ,
खसीले भन्छ - हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास !

त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ। उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो " चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्यानी खुवाउछु " ।
खसि काटिन्छ र भव्य भोज हुन्छ।
#शिक्षा :
व्यवस्थापनलाई कहिल्यै थाहा हुदैन कि प्रभावकारी ढंगमा कसले कसरी के काम गर्दै छ भन्ने । मात्र अगाडी देखिएको नतिजालाई हेर्छ र भित्रै देखी जो काम गरिरहेको हुन्छ थाहै नपाई उसैलाई तमाम गरिदिन्छ । न्याउरी मारी पछुतो र सुनको अण्डा पार्ने कुखुराको कथा जस्तै 😂

Source : Facebook

Tuesday, July 10, 2018

नवदुर्गा नाच : भगष्टी

भलभल अष्टमी अर्थात असार कृष्ण अष्टमी (असार २२ गते) को दिन भक्तपुरमा नव दुर्गाको मुकुट जलाउने चलन रहेछ, जसलाई भगष्टी भनिन्छ रे !

फोटो : राम माक: श्रोत : झीगु म्हसिका:

Tuesday, June 26, 2018

थिमी : रातो करुणामय

मुलुकभर १०८ करुणामय  / पद्मपाणी लोकेश्वर अर्थात मछिन्द्रनाथहरु छन् l त्यसमध्ये थिमी अवस्थित यस रातो करुणामयको जात्रा चाहिं सिथिनख:को दिन हुने गर्दछ l 

महाविहार अवस्थित करुणामय देवतालाई प्रतिपदाको दिन आफ्नो घर मध्यपुर थिमी - ७ अवस्थित जिस्वा: बहालमा लैजाने परम्परा रहेको छ l जिस्वा: बहालमा लानु अघि मन्दिरमा बसाउने परम्परा रहेको पाइन्छ l त्यसपछि पन्चामृत (दुध, घ्यु, दहि, मह र साख:) ले विधिपुर्वक नुहाई धुहाई गरिन्छ l मुलुकभर १०८ करुणामय रहेकोमा बुङ्गमतिको रातो मछिन्द्रनाथ, नालाको शृष्टिकान्त लोकेश्वर, जनबहालको सेतो मछिन्द्रनाथ र चोभारको आदिनाथ / आनन्दधारी लोकेश्वरलाई मुख्य करुणामय मानिन्छ l 




Tuesday, June 5, 2018

लगनखेल : सप्तपाताल पोखरी



धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ललितपुर, लगनखेल अवस्थित १४ रोपनीमा फैलिएको सप्त पाताल पोखरीको हालत यस्तो छ l

रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकिए पछि जात्रा सकियो भनेर स्वर्गलोकमा इन्द्र देवतालाई सन्देश पठाउने गरिन्छ ।

त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउने गरिन्छ ।
बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को दिन साइत परेको छ, साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजाने गरिन्छ भन्ने बिस्वास गरिन्छ ।

नाग देउता कहाँ पो कसरी पुर्याउने ?

पहिले लगनखेलमा सप्तपाताल पोखरी थियो । एकजोडी हिलेमाछा पोखरीमा छाडिन्थ्यो। त्यही माछा सन्देश लिएर सुलुल्ल बग्दै पाताल पुग्ने गर्दथ्यो ।

Monday, May 28, 2018

जा ह्वला ख्य: अर्थात जावलाखेल


भोटो जात्राको अघिल्लो दिन जा ह्वला ख्य: अर्थात जावलाखेलमा भुतलाई भात छर्केर अर्पण गरिन्छ । परम्परा देखि चली आएको यहि जा ह्वला जात्रा वाट उक्त ठाउँको नाम अपभ्रंस भै जावलाखेल हुन गएको भनाई पाइन्छ l

श्री न्यत:मरु अजिमा अर्थात नरदेवी अजिमा


एक समय, बनेपाका राजा काठमाडौँको किसी घ: जंगल (हालको किलागल) मा हात्ती सिकार गर्न आएका थिए l आफ्नो सिकार गर्न आएको देखि हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा राजा भाग्दै चस्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि डराएका राजाले त्यहाँ आफुलाइ बचाउन गुहार मागेको बेला त्यहाँ एक ठुलो ज्योति उत्पति भै हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा प्रसन्न भई आफुलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी थरि थरि  प्रकारको स्तुति गर्दा सो रुखको फेदबाट स्वेतवर्णकी स्वेतकाली देवी उत्पन्न भइ दर्शन दिएको भन्ने किम्बदन्ती रहेको छ l

स्वेतकालीलाई नरदेवी वा ङ्तमरु अजिमा पनि भन्ने चलन रहेको छ l येही स्थानबाट मध्यरातबाट स्वेतकाली सहित अष्ट मात्रिका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको कुरा महान तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको भनिन्छ l यसै तथ्यलाई मध्यनजर गरि हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिबिम्बित गरेको छ l

नरदेवीलाइ नरबली लिने देवीको रुपमा पनि लिइन्छ, तर जानकारहरुका अनुसार नरबली भनेर मानिसको बली नभई मानिसको मनभित्रको अहंकार, इर्श्या, क्रुरता, आलश्यताको बली भन्न खोजिएको होभन्ने भनाई रहेको पाइन्छ l

श्रोत : झिगु म्ह:सिका, फेसबुक
-

डोटी जिल्ला : शैलेश्वरी देवी


महादेव र पार्वतीको विवाह पश्चात सुहागरात (मधुचन्द्रिका) का निम्ति डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोजेका थिए । हनिमुनमा रमाइरहेका महादेवलाई खोज्दै व्रम्हा विष्णु लगायत विभिन्न देवताहरु यहाँ आई पुग्दा पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको भनिन्छ !!

शैलेश्वरी देवीको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरु मध्ये एक मन्दिर मानिन्छ ।

देवताहरुको पनि रोमान्टिक क्षण हुँदो रहेछ है

किर्तिपुर : पाँगा


किर्तिपुरको ७ गाउँ मध्ये एक पाँगा हो । पाँगाको बस्ती बिकास कसरी भयो भनेर स्पष्ट छैन कीर्तिपुरको दक्षिण भेगतिर अरुहरुले लुटपाट गर्न गरेकोले रत्न मल्लले सुरक्षा दिन पालो राख्नको लागि ने.सं. ६२१ मा बस्ती व्यवस्थित गरेको र त्यसको संरक्षणको लागि भाजँगालमा विष्णुदेवी मन्दिरको स्थापना गरेको भन्ने पाइन्छ । नेवारीमा पालो बस्नेलाई ‘पा च्वनी गु’ भनिन्छ भने गाउँलाई गां भनिन्छ । पालो बस्ने गाउँ भएको हुँदा ‘पाँगा’ रहन गएको भन्ने भनाइ छ

Friday, May 4, 2018

मोहिनी एकादशी व्रत

सरस्वती किनारमा अवस्थित एउटा राज्य छ जसमा एकजना चन्द्रवंशी राजा राज्य गर्दछन् । यसै राज्यमा एकजना वैश्य अर्थात व्यापारी बस्छ जसको नाम धनपाल हो र उ पुण्य कार्य अनि दानमा लागिपरेकै हुन्छ । धनपालका ५ छोराहरु छन् जसमा कान्छो छोरा पाप कर्ममा लागेको हुन्छ । जुवातास अनि वेश्यागमनमा उनी आशक्त छन् भने दुव्र्यसनमा पनि उनी उस्तै लालाहित छन् । धनपालले केही नलागेपछि आफ्नो मनमा पत्थ राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घरनिकाला गर्दछन् । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि कौडिन्यको मा पुग्दछन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिवाट मुक्ति पाउछन् । यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिवाट मुक्त हुने भएकाले यस एकादशी बिशेष रहन्छ ।

बुढानिलकण्ठ :नौलिन भद्रकाली जात्रा

नयाँ बर्षको आगमनसंगै बुढानिलकण्ठमा मनाइने ५ दिने (बुद्ध जयन्तीको अघिल्लो दिन देखि) "नौलिन भद्रकाली" जात्रा ।

स्थानिय खड्का टोलमा अवस्थित मन्दिरमा भद्रकाली माइ ९ दिन बास बसेको र ९ वडाका जनताहरुले बिशेषत: मान्ने, पुजा गर्ने र हाँस, कुखुरा, बोका बली दिने चलन रहेको पाइन्छ । बुद्ध जयन्तिको अघिल्लो दिन बलि लिए पनि भोलिपल्ट बुद्ध जयन्ती परेकोले धार्मिक सहिष्णुता अनुसार त्यो दिन कुनै पनि बली नदिने गरेको पाइन्छ ।

Sunday, April 15, 2018

पाल्पाको सिन्दुर जात्रा

नेपाल–अंग्रेज युद्धमा विजयी भएको सम्झनामा पाल्पाको तानसेनमा भदौ २ गते श्री ७ रण उजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाइन्छ । 

तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले मनाउन शुरु गरेको तानसेनस्थित भगवतीटोलमा रहेको भगवती मन्दिरबाट भगवतीको रथलाई विभिन्न स्थानमा परिक्रमा गराइ मन्दिरमा भित्राइने चलन रहेको छ । 

युद्धमा जानु अघि उजिरसिंह थापाले विजय हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा गर्ने भाकल गरे अनुसार विजयी भएकोले बि.स. १८७६ देखि निरन्तर जात्रा मनाउने गरिएको विश्वास गरिन्छ ।






 श्रोत : हिमालखबर

भक्तपुर, थिमीमा मनाइने सिन्दुर जात्रा

परापूर्व कालमा नगरबासीलाई दुःख दिने गरेको राक्षसलाई मारिएको खुसीयालीमा हरेक वर्ष सुरुवातमा बिस्केट जात्राको अवसरमा एका बिहानै ३२ वटा देवी देवताहरुको खटसहित थरि थरि धिमे, भुस्या बाजाहरु बजाउंदै एक आपसमा अबीर दल्दै / अबीर छ्याप्दै सिन्दुर जात्रा मनाइन्छ l

खोकना : महारानीको श्राद्ध


तिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको खोकनामा हरेक बर्ष बैशाख १ गतेको दिन महारानीज्युको बागमती नदि किनारमा श्राद्ध गर्ने चलन रही आएको छ l जनश्रुति अनुसार दक्षिणकाली मन्दिरको दर्शनका लागि निस्केको महारानीको सवारी खोकना हुँदै जानु परेको थियो रे । त्यस दिन बस्वा गुठीको तर्फबाट मन्दिरभित्र पुजा हुँदै थियो । मन्दिरमा गुठियार बाहेक अन्य कसलाई पनि भित्र जान निषेध गरिएको थियो जुन अहिलेसम्म पनि त्यस दिनमा निषेध नै छ । 

यो कुरा सुनेपछि महारानीलाई जिज्ञासा हुन थालेछ, महारानीले नै दर्शन गर्न नपाउने कस्ता देवी होला ? भनी खोकनाका बासिन्दाहरुलाई सोधपुछ गरेछन्, भित्र के भै रहेछ भनी सोधपुछ गर्दा कसैको बोलेन l त्यस दिनको बारेमा बस्वा गुठीका गुठियार बाहेक अरु कसैलाई पनि थाहा थिएन ।

महारानी भित्र जान आग्रह गरे, स्थानीयहरुले नजानु पुजा सकेपछि जानु भनी सुझाव दिए, तर महारानीको जिद्दीका कारण ,महारानी पुजा नसक्दै भित्र छिरेछन् l  भित्र छिरे माथि पुग्दा डरलाग्दो ,भयंकर स्वरूपका देवताहरु भोज खादै रहेको देखेछन् । देख्ने बितिकै डर र त्रासमा बाहिर निस्केछन् l महारानीले स्थानीयहरुलाई भित्र जे देखियो सबै सुनाए र दक्षिणकाली मन्दिरतर्फ सवारीमा निस्किए । दक्षिणकालीबाट फर्किने क्रममा खोकना नपुग्दै महारानीको रगत छाडेर मृत्यु भए । सोही घट्नाको प्रतिक स्वरूप त्यहि बेला देखि आजसम्म हरेक बर्ष बैशाख १ गतेको दिन श्री रुद्रायानी गूठीबाट श्राद्ध गरिदै आइरहेको पाइन्छ ।
 
श्रोत : रुद्रायणी गुठी (फेसबुकबाट साभार)

होली खेल्दै मनाइने : सिरुवा पर्व


तराईका जिल्लाहरुमा नयाँ बर्षको सुभारम्भको बिहानैदेखि सिरुवा पर्व मनाउने गरिन्छ । आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्ने, चुलो पूजा गर्ने  र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्ने र सडक सरसफाइगर्ने यस पर्वको विशेषताहरु हुन् l 

यस अवसरमा बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिने गर्दछ । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नु नै मुख्य आशय रहेको यस पर्व मैथिली समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् ।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।

सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका ‘बासीभात’ नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।

यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार, सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।

गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।

यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।

यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य समुदायले मासु पनि खाने गर्छन् ।

श्रोत : दैनिकीबाट साभार



वसन्तपुर क्षेत्रको नौतले दरबार जीर्णाेद्धार हुँदै l


बि. सं. २०७२ बैसाख १२ गतेको शक्तिशाली भूकम्पले तहस नहस भएको हनुमान ढोका - बसन्तपुर अवस्थित नौतले दरवारको पुनर्निर्माण कार्य चीन सरकारको सहयोगमा द्रुत गतिमा हुँदैछ l नौतले दरबारसँगै गद्दी बैठकको सबलीकरण पनि धमाधम पुनर्निर्माण भइरहेको छ। यसको सबलीकरण अमेरिकी सहयोगमा भइरहेको छ ।


Friday, March 30, 2018

कमलादी गणेश - सेतो गणेश

धेरै अघि कमलादी भेगमा खेत मात्र थियो, बस्ती बसेको थिएन । एक चोटी खेतीपाती गर्ने क्रममा खेतको बीचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान् मानेर पूजाआजा गर्न थालेछन् । त्यसपछिका दिनहरुमा उनीहरूले ती गणेश काठमाडौं उपत्यकाका पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् ।

कमलादी गणेशका लागि राजेन्द्रविक्रम शाह लगायतका राजा र अन्य भक्तहरूले पनि मन्दिर निर्माण र त्यसको जीर्णोद्धार गरेका थिए राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि त्रिभुवनलाई जन्म दिएको विश्वास गरिन्छ काठमाडौ बासीहरु सन्तान प्राप्तिको लागि यस गणेशलाई उपासना गर्ने गर्दछन

Thursday, March 22, 2018

नाला : सृष्टिकान्त लोकेश्वर / करुणामय जात्रा


हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ ।

पुजारी पुण्यराज बज्राचार्यको अनुसार सृष्टिकान्त लोकेश्वरलाई सम्पूर्ण भगवानहरुको सृष्टिकर्ताका रूपमा लिइने गरिन्छ । पुजारीको अनुसार यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ । पहिले यो मन्दिर काठमाडौँ उपत्यकाको बुंगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्याउने क्रममा यही नालाको बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर भागेको भन्ने भनाइ छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्त लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ ।

Tuesday, March 20, 2018

सेतो मछिन्द्रनाथ / करुणामय : जमलबाट रथ यात्रा गर्नुको रहस्य

किम्बदन्ती अनुसार परापूर्व कालमा यसै जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार करुनानायम देवताको जात्रा चलाउँदा अहिले पनि मुर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...