अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार
गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी
आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला र
संखुवासभा जिल्लाको तुम्लिंटारलाई जोडेको छ । यो घाटको नाम सतीघाट कसरीरहन
गयो भन्ने बारेमा बिभिन्न खाले किंबदन्तीहरू सुन्न पाइन्छ । जसमा एउटा
यस्तो कहानी पनि छ । परापूर्व कालमा यो घाट अरुण नदीमा आवत जावत गर्ने घाट
नभएर, मसानघाटको रुपमा मात्र रहेको थियो ।
भोजपुर जिल्ला पटि भनौं वा दिंला तिरका मान्छेको दाहसंकार गर्ने मुख्य
घाटको रुपमा मात्र थियो । त्यो घाटको बगरमा प्रसस्त दाउरा पाइने भएकोले
गर्दा, टाढाटाढा देखिका मुर्दा लिएर त्यही आउने चलन थियो । जमाना धेरै
पहिलेको भएको हुँदा, महिला र अविबहित पुरुष मर्दा जलाउँने ठाउँ भिन्दै र
पत्नी भएका पुरुषको मृत्यु भएमा जलाउँने ठाउँ भिन्दै थियो । जुन पुरुषको
मृत्यु भएको छ, उसकी पत्नीलेसँगै जलेर सतीजानु पर्ने बाध्यता थियो । यदि
कसैले आफ्ना पतिको साथमा सती जान नमानेमा उसलाई समातरे हात र खुट्टा बाँधी
पतिको लाससँगै जलाइन्थ्यो । त्यो अवस्थामा पतिको साथमा सती जाने सतीहरू
रुन्छन् कराउँछन् भनेर बाजा गाजा बजाएर कसैले पनि तिनीहरूको आवाज नसुन्ने
गरी हल्ला गरिन्थ्यो । यसरी जलाउने क्रममा ती सतीले रुएको चिच्याएको सुनियो
भने अपबित्र हुइन्छ अथवा अगती परिन्छ भन्ने धारणा थियो ।
सतीढुंगो कहाँ थियो भन्ने निश्चित स्थान थाहा नभए पनि, अहिलेको सतीटारको
दक्षिण पटिको कुनामा रेवा दोभानको उत्तर पटि भोजपुर जिल्लाको पाटो आधाभाग
अरुण नदीमा र आधा भाग पाखामा पर्नेगरी मिलेर बसेको चप्लेटी अकारको विसाल
ढुंगो; जसलाई सतीढुंगो भनिन्थ्यो । त्यही चप्लेटी ढुंगामाथि चिता बनाएर मृत
पतिको साथमा जीवित महिलाहरूको हत्या गरिन्थ्यो । यस्तो चलन कहिले देखि
सुरु भयो भन्ने कुरा त पौराणिक काल देखिकै इतिहास खोज्नु पर्ने हुन्छ । खास
गरी सामन्ती युगलाई यसको सुरुवाती युगभन्दा पनि हुन्छ । त्यतिबेला नै मानव
समाजमा धर्मको नामा मानवहत्या गर्ने चलन रहेकोकुरा स्पस्ट छ ।
समयको गति निरन्तर बगिरहन्छ । भन्छन् सबै चिज बस्तु र परम्पराको गति
एकनास हुँदैन, अयु सकिए पछि सबैले मर्नुपर्छ तर पनि त्यो यस्तो जमाना थियो
कि सर्साउँदो मान्छे जसको खाउँ खाउँ र लाउँ लाउँको अवस्थामा नै एउटा बृद्ध
पुरुषको साथमा मन नलागि नलागि पनि मर्नबाध्य हुनुपर्ने । यो भन्दापनि ठुलो
अर्को अपराध काहाँ थियो होला र ? सात बर्षकी बालिका आधा सताब्दी खाइसकेको
बृद्धलाई कन्यादान दिएर सुम्पिएकी चेली पन्ध्रबर्ष नपुग्दै आमा बन्नु पर्ने
र बर्षै पिच्छेका सन्तान हुर्काउनु पर्ने अनि मध्य बैंस भरिए पछि बृद्ध
पतिकासाथमा ज्युँदै चितामा डड्नु पर्ने कहाँ सम्मको न्याय थियो त त्यस बेला
?
यस्तै परम्पराको बिचमा एक चोटी एकजना बृद्ध पति मर्दा उनकी पत्नीले सती
जान अस्वीकार गरिन् । गाउँलेहरू सबैले उनलाई समातेर दाम्लाले बाँधेर
लछारपछार गर्दै घाटमा पुर्याए । सती ढुंगामा चिता तयार थियो बाजा बजाउनेहरू
बाजा बजाउँन तैनाथ थिए । सारा मलामीहरू तिनलाई गालि गलौजका शब्दहरूले
स्वगत गरिरहेका थिए । आज सती जान नमान्ने पापिनी पछि गएर नर्कमा पर्नुभन्दा
त आजै सती गए स्वर्गमा गएर पतिकै साथमा बस्न पाइने कुरा गर्दै आ—आफ्ना
पाराका कुरा गर्दै तिनलाई सतीजान प्रेरणा दिन्थे । एक त पतिको मृत्युमा
शोकले बिह्वल भएको अवस्था हुन्थ्यो भने अर्कोतिर ती मसिना बालबच्चाको
अवस्थाको बारेमा भएको चिन्ता । यस्तो अवस्थामा पनि विवेक गर्न नसक्ने कस्तो
निर्बिवेकी समाज थियो त त्यतिबेला । सतिको मुखमा पट्टी बाँधेको थियो
हातलाई पाताफर्काएर बाँधेको थियो अनि सबैले गलहत्यएर सती ढुंगामाथि उकालेर
जब चितामा चढाइयो बाँधेको डोरी फुकाएर दाउराले थिच्न थालियो । मौका
बिचारिरहेकी सती त्यही बेला अप्रत्यासित तबरले जुरुक्क उठेर अरुण नदीमा
हमफालिन् । सबै मलामीहरू आपसमा हेराहेर गर्न थाले, यो अनर्थ भयो अब कसो
गर्ने भनेर सल्लाह गरेर पौडीखेल्न जन्नेहरू नदीमा पसेर खोज्न लागे भने कोही
नदीको किनारै किनार दगुर्न लागे । आखिरमा मलामीहरूले ती सतीलाई अरुण
पारिको बगरमा भाग्दै गरेको देखेर पौडीवाजहरू उनलाई समात्न त्यतैतिर लागे ।
उनी भाग्दै भाग्दै एउटा ढुंगाको सानो ओडारमा पसेर लुकिन् । उनी लुकेको ओडार
नै पुर्वकी प्रसिद्ध देवी श्री मनकामना माताको उत्पती स्थल हो ।
मलामीहरूले ती सतीलाई समातेर फेरि पनि हातखुट्टा बाध्न लाग्दा तीनले अफु
सती जानुभन्दा पनि आफ्ना बालबच्चाको राम्रो स्याहार सुसार कसले गर्ला
त्यसको जिम्मा कसैले लिनु पर्छ भनिन् र आफू जिउँदै अग्निमा पस्नुभन्दा
जलसमाधी लिन उचित सम्झेर यत्रो कोशी (अरुण) नदीमा हाम फालेकी हुँ, भन्दै
उनी मलामीहरूका साथमा फेरि त्यही सती ढुंगामा पुगिन् । अब भने उनी सबैका
सामु खुसीसाथ सतीजान तयार भइन् । मलामीहरूले उनलाई अब तिम्रो केही इच्छा छ
भने भन भनरे सोधे । सतीजानुभन्दा पहिले म एक घुट्को मत्रै भए पनि दही खान
चाहान्छु भनिन् । ती सतीको दही खाने इच्छा पुरा गरिदिन केही मानिसहरू दही
खोज्न नजिकैको गाऊँ तुम्लिंटारतिर लागे । सबैतिर खोजे तर पनि दही भेट्टाउन
सकेनन् र अन्तमा त्यसै फर्केर आए । दिनले कोल्टो फेर्दै गरेको अवस्था थियो
दहीखान नपाएकी सतीले —“तिमीहरू जुन ठाउँमा दही खोज्न गयौ त्यस ठाउँका
मान्छेले दही त होइन पानी समेत सुखले खान नपउन् ”— भनेर सराप दिइन् भन्ने
किम्बदन्ती हाल पनि गाउँमा सुन्न पाइन्छ । यसरी तुम्लिंटारमा सतीले सराप
दिएको हुँदा अहिलेसम्म पनि पानीको दुख नै छ ।
साँझ झमक्क पर्नलागेको बेलामा ती सतीलाई चितामा चढाइयो ।
बाजाहरू बजाउँन थालियो, मलामीहरू होहल्ला गर्न लागे चितामा आगो सल्किन
थालेको मात्र के थियो सती जुक्क उठेर बोल्न थालिन् । “हे मालमीहरूहो !
तिमीहरू घर जाओ, यो ढुंगामा कुनै लाश छैन । त्यहाँ त मात्र दाउराको थुप्रो
मात्र छ । मेरा पति अगि नै कैलशमा पुगिसके अब म पनि पतिका सथमा जाँदैछु यदि
तिमीहरूले, मलाई सम्झिन्छौ भने धर्मादेवीको रुपमा मलाई पूजा गर्नु ”— भनेर
सती ढुंगालाई लात्तले हानी—“तँ पनि निर्दोष अबला नारीको हत्यामा संलग्न
भएको हुनाले सधैंभरि यहाँ रहन पाउने छैनस् ; तेरो शिर फुटेर तीन टुक्रा
हुनु परोस ”— भन्दै अलप भइन् । यसै क्रममा अहिले पनि मनकामना देवीको छत्र
(उत्पत्ती स्थान)मा पश्चिम पटिको प्वालमा धर्मा देवीलाई पूजा गर्ने चलन छ ।
यसरी सतीको सराप पाएको त्यो सती ढुंगो कति बर्षसम्म त्यहाँ रह्यो,
त्यसको केही लेखा जोखा छैन ता पनि पछि बि. सं. १९८९ सालमा अरुण नदीमा
बाढीआयो र त्यही बेला देखि सती ढुंगो पनि त्यो ठाउँमा देखिएन ।
यसरी सतीको सराप लागेर सती ढुंगाले आफ्नो ठाउँ छोड्नु त पर्यो नै; अब
यसको अर्को पनि सराप त छँदैछ, पहिले भएको ठाउँभन्दा करिब तीनचार सय मीटर
जति तल अरुण नदीको बिचमा तनिवटा ढुंगा छन् ती ढुंगा मनकानाको छत्रबाट सिधै
पश्चिमतिर पर्छ । यही नै सतीको सराप पाएर शिर फुटेको सती ढुंगो हो भन्ने
भनाइ छ ।
नोट — यो कथामा प्रयोग भएका किंबदन्तीहरू म सानो छँदा मेरी हजुरामाले
मलाई सुनाउनु भएको हो । सती ढुंगाको बारेमा अहिले भने नयाँ खालका धारणाहरू
प्रस्तुत हुन थालेका छन् । हाल अएर मनकामनाको छत्र नजिकै पुर्व पटिरहेको
एउटा ठुलो ढुंगालाई यही नै हो सती ढुंगो भनेर प्रचार गर्ने गरेको पाइन्छ ।
खासमा भन्नेहो भने सती ढुंगो अरुणपारि थियो भनिन्छ । पfनीले बगाएर त
ओरालोतिर मात्र लान्छ सिधै पारि जान सक्तैन । अर्को कुरा भन्ने हो भने म
स्वयंले पनि देखेको कुराहो बि. सं. २०२१ सालभन्दा पहिले त्यो ढुंगो त्यहाँ
थिएन । २०२१ सालमा अरुणमा ठुलो बाढी आएको थियो र त्यो बेला अन्तैबाट त्यो
ढुंगो बगाएर ल्याएको हो । सती ढुंगो आएको होइन ।
- टिका मिलन (श्रोत : मझेरी.कम)
- टिका मिलन (श्रोत : मझेरी.कम)
No comments:
Post a Comment