अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको छ, अझ बाह्रा पिकाएगु वा गुफा निकाल्नुलाई समेत सुर्यदेव सँग विवाह भन्दै गलत प्रचार हुँदै गरेकोमा सजक रहन यो पोष्ट गर्दैछु । कृपया सजक रहौं । कृपया यो पोष्ट पढे पछी मात्र लाइक वा कमेण्ट गरिदिनु होला।
गलत अवधारणाको शिकार भएकाहरुले नेवार कन्याको बिवाह १) सुवर्णकुमार सँग २) श्रीफल सँग ३) सुर्य सँग ४) मान्छे सँग भन्दै पूर्णत: गलत बिचारको बिजारोपण गर्दै आइरहेका छन भने, आफ्नो बर्ग समुदायको साँस्कारीक ज्ञानको अभावले गर्दा अरुले जे भने पनि 'हो' भन्ने मानसिकताले ग्रस्त नयाँ पिढी यसैलाई आत्मसाथ गर्दै लैजादै छन, समयमा नै बिचार पुर्याउन अनुरोध गर्दछु।
नेवार कन्याहरुको विवाह जीवनमा एक पटक मात्र हुने गर्दछ, जुन विवाह वेदोक्त, तन्त्रोक्त, पुराणोक्त र धर्मशास्त्रीय दृष्टिकोणले पूर्ण र पारम्परिक हुने गर्दछ। यति मात्र नभै नेवार कन्याहरुको विवाह सामाजिक र स्वास्थ्य बिज्ञानका दृष्टिले समेत आधुनिक बिचारधाराले भरिपूर्ण भएको देखिन्छ, जुन कुराहरु सप्रशङ्ग व्याख्या गर्नु पर्दा थोरै समय र थोरै शास्त्रीय ज्ञान र थोरै लेखाइले पटक्कै पुग्दैन, कुनै अर्को पोष्टमा लेख्ने प्रयास गरौंला । यहाँ प्रसङ्ग अर्कै रहेको हुँदा, यत्ति सम्म भन्न सकिएला कि शास्त्रीय मान्यता अनुसार रजोवती हुनु पूर्व कन्याको कन्यादान र सिन्दुरारोहण भैसक्नु पर्ने र साथै बाल विवाहको दुस्परिणाम बाट पनि जोगिनु पर्ने चुनौतिलाई आत्मसाथ गरी आदीकालका नेवारका पुरोहितहरुले यस्तो बिधी प्रतिपादन गरे, जुन बिधीले धर्म शास्त्रीय मान्यता पनि नमेटिने, सामाजिक शास्त्रीय कुरालाई पनि बल पुग्ने गरी "इही" को संकल्पना लागु गरेका थिए हुन हाल सम्म पनि प्रचलन रहेको पाईन्छ, यसलाई 'बेलबिवाह', 'श्रीफलबिवाह', 'सुबर्णकुमार कन्यादान' आदी नामले पनि जनाउँने गर्दछ । अर्थात, विवाहको लागि 'वर' वा दुलाहाको अनुपस्थितिमा उनको प्रतीक मानी 'बेल'सँग विवाह गरिदिने र सोही बेल-स्वरूप वरलाई कन्याले आफु बयस्क भएपछी मात्र खोजेर, रोजेर आफु मनखुसी स्वयंबर गर्न पाउने नियम नेवार समाजमा रहेको छ। यसले के जनाउँदछ त भन्दा एउटै विवाहको बिधीलाई दुइ भागमा बिभाजन गरी, आधा बिधी रजोवती हुनु पूर्व बाल्यकालमा र बाँकी आधा बिधी रजोवती भईसकेपछी अर्थात बयस्क भयेपछी गरिने चलन नेवार समुदायमा रहेको पाईन्छ।
अचेल हिन्दी फिल्मी प्रभावका कारण, जन-मानसमा सिन्दुर हाल्दैमा विवाह पूर्ण हुने, अथवा कन्यादान गर्दैमा विवाह पूर्ण हुने भन्ने सोच धेरैमा रहेको पाईन्छ। तर सिन्दुरहाल्नुको अर्थ विवाह मात्र नभै आफ्नो कूलको ढुकुटीकी श्री-लक्ष्मी वा भनौ गृहलक्ष्मीको प्रसाद ग्रहण गर्न पाउने अधिकार भन्ने पनि बुझाउदछ, अर्को अर्थमा श्रिङ्गार गर्न पाउने नारी अधिकार, जुन अधिकार प्रयोग गरी श्रीमानको दिर्घायुको कामना गर्न मिल्ने भन्ने अर्थ लाग्दछ । त्यस्तै, कन्यादानको अर्थ पनि अभिभावकत्व हस्तान्तरण हो, इही गरिदा नारायण स्वरूप सुवर्णकुमारलाई अभिभावकत्व हस्तान्तरण गरिन्छ, जस्को अर्थ कन्याको जीवनमा आउने बाधा अड्चनलाई स्वयं इश्वरले अभिभावक रहेर रक्षा गरिदिनु भन्ने अर्थ लाग्दछ ।
अब प्रशङ्गमा प्रवेश गरौं ।
नेवार समुदायमा कन्याको जीवन संस्कारहरुमा प्रमुख त 'इहि' अनि 'बाह्रा' र त्यसपछी 'इहिपा' गरिने प्रचलन रहेको छ। इहि र इहिपा एउटै विवाह संस्कारलाई बाल्यकालमा आधा र बयस्क भएपछी आधा गरी पूर्ण विवाहमा रूपान्तरित गरिने संस्कार हुन । बिचमा आउने बाह्रालाई समेत अचेल विवाह हो भन्ने गलत प्रचार भईरहेको छ, अझ कोही कोही त शुभ उत्सव मानि भोज नै मनाउने समेत चलन देखिन थालेको पाउँछौ । बिगतमा बाह्रा भ्वय् धुमधामले मनाउने प्रचलन थिएन, अझ बाह्रा भ्वय् भनेको कन्याकी सखीहरु र अन्य महिलाहरुले बाहेक पुरुषहरुले खाँदैन थिए पनि । अचेल बाह्रा पिकाएगुलाई 'सुर्य दर्शन', 'गुफा-निकाल्ने' मात्र नभै सुर्य सँग विवाह हो भनेर समेत प्रचार गर्न थालेका छन । यो कता बाट यस्तो गलत प्रचार आयो खोजिनिती हुनु जरूरी पनि छ ।
गुफा निकाल्नु अथवा बाधा: पिकायेगु गरिदा पढिने संकल्प वाक्यमा "प्रथम रजोदर्शन दोष शान्तये श्रीसुर्य पूजानादी " भनी पढिन्छ, अर्थात प्रथम पटक रजोवती भएर १२ दिन सम्म सुर्यलाई नहेरेको दोष शान्त गर्न सुर्यको पूजा गरिने भनिएको हो। यो भनेको कन्याको बयस्क भएको सूचक संस्कार हो, जसमा उनलाई कूलकी थकालिनकिंले बयस्क महिलाहरुले गर्ने श्रिङ्गार समेत गरिदिन्छिन, जुन शास्त्र सम्मत बिधी हो। नेवार समुदायलाई खराब देखाउने नियतले नेवार कन्याको जतीपटक पनि विवाह हुन सक्छ, कुनै निश्चित श्रीमान भन्ने हुँदैन भन्ने मनसाय देखाउन यती-पल्ट र उतिपल्ट बिहे हुन्छ भनी जुन गलत व्याख्या भैरहेको छ, यसलाई समयमा नै नेवारहरुले बुझ्न जरूरी छ। बिज्ञ संग सर-सल्लाह नगर्ने, पण्डित पुरोहित सँग संस्कारको शास्त्रीय व्याख्या नसोध्ने, आँफै जानिफकार हुने, आँफै संस्कृतिबिद् भैदिनेहरु बाट गलत व्याख्या धेरै हुँदैछन, सजक रहौं। हाम्रा शताव्दियौ अगाडि देखिका पुर्खाले लेखेका थ्या-सफूहरुमा के भनिएको छ, बिचारै नगरि यस्ता गलत व्याख्या आफु मनखुसी हुँदैछन । पुराना थ्या-सफूहरुमा "बाधा:पिकाएगु" संस्कारलाई "गर्भाधान संस्कार" भनिएको छ, ‘सुर्य-दर्शन’ समेत कतै भनिएको छैन। "बाधा:भ्वय् नय् मत्य:, बाधा:भ्वय् वने मत्य:, बाधा:च्वम्ह मचाया पासापिं जक वनी " भन्ने परम्परा अझै धेरै घर बाँकी नै छन। समग्रमा बाधा:पिकाएगु संस्कार "सुर्य विवाह" पटक्कै होइन, सुर्य पूजा मात्र हो। उहिले उहिले वाल विवाह हुने समयमा कन्याको निश्चीत उमेर पुगेपछी जव रजोवती भएर बयस्क हुन्छिन, तव बार्हौ दिनमा कन्याकी श्रीमानले यज्ञ गरी धार्मिक तवरले गर्भस्थान पवित्र गर्ने कार्य नै अचेलको बाधा:पिकाएगु संस्कार हो। यसलाई अचेल राजोपाध्याय र बज्राचार्यहरुको विवाह पश्चात 'सँ प्याकेगु' संस्कार गरिये जस्तै नै संस्कार हो भन्न सकिन्छ, तर छुट्टै विवाह नभै मात्र सुर्य पूजन कार्य हो ।
नेवार कन्या बाह्रा बस्दाको समयमा केबल महिलाहरु मात्र बसि उनलाई उमेर अनुसार आउने शारीरिक र मानसिक परिवर्तनहरु, ब्यक्तिगत स्वास्थ्य शिक्षा, बयस्क नारीले सम्मानजनक ढङ्गले समाजमा आफ्नो प्रस्तुतिकरणको शिक्षा आदिका बिषयमा परीपक्व महिलाहरुले ज्ञान दिने गर्दछन । बाह्रा-कोठामा 'बाह्रा-ख्या:'ले कन्याको रक्षा गर्नेछ भन्ने मान्यता पनि रहेको छ। बाह्राकोठा वास्तुगत रूपले सुर्यको प्रकाश सिधै भित्र नआउने तर परावर्तित प्रकाश मात्र भित्र आउने, दोहोरो हावा चल्ने अर्थात प्रशस्त हावाको प्रवेश वा भनौ अक्सिजन प्रशस्त पुग्ने हुनु पर्ने पारम्परिक मान्यता रहेको छ।
आदिकालको गर्भाधान संस्कारबाट बिकसित हुँदै आजको युगमा 'बाह्रा च्वनेगु, बाह्रा तयेगु, बाह्रा पिकायेगु' सम्म आइपुग्दा यसलाई कहिले राख्ने हो भन्ने बिषयमा पनि धेरै नेवारहरु अलमल्लमा परेको देखिन्छ। यो उमेर अनुसार आउने प्राकृतिक परिवर्तन र त्यस सँग सम्बन्धित शिक्षा दिने बिषय भएकाले धेरै सानो उमेरमा बाह्रा राख्नु उपर्युक्त हुँदैन, किनकी निश्चित उमेर नपुगी बयस्क शिक्षा दिइदा बालिकाले नबुझिने पनि हुनसक्दछ । त्यस कारण महिला स्वास्थ्य सँग जानकार महिला बर्ग सँग नै परामर्श आवश्यक हुने गर्दछ। प्राकृतिक रूपले आँफै बाह्रा बसेको अवस्था भएमा महिला बर्गले उचित ब्यवस्था गरी चाजो-पाजो मिलाउनु पर्दछ। ज्योतिषीय दृष्टिकोणले, शुभ मुहुर्त देखाएर राख्नु पर्ने भएमा, बर्ष भरिमा यस्तो १२ दिन छनौट गर्ने गरिन्छ जुन भित्र २ पक्ष, २ शनिबार, २ आइतवार, २ फरक महिना नपर्ने गरी महिला बर्गले सगुन दिएर राख्ने प्रचलन रहेको छ।
उचित उमेरमा उचित जीवन शिक्षा पाएकी नेवार बालिकाले भविस्यमा आफु, आफ्नो परिवार र आफ्नो समाजलाई राम्रो बाटोमा डोर्याउन सकून, नराम्रो चाल चलन र अरुको छल-कपट बाट बच्न सकून, आफ्नो स्वास्थ्यको हेरबिचार आँफै गर्न सकुन, जीवनलाई रस दिन श्रिङ्गारिक ज्ञान प्राप्त गरून आदी कामना गरी गरिने बाह्रा संस्कार, जसमा श्रीसुर्यदेवलाई समेत १२ दिन सम्म बेवास्ता गरी लुकेर ज्ञान प्राप्त गर्ने बिधी हो भन्नु उपर्युक्त हुन्छ। १२ दिन सम्म लुकी-छिपी रहेर ज्ञान प्राप्त गरेकोमा सूर्यभगवानको नित्य दर्शन नगरेकोले सुर्य-दोष नलागोस भनी श्रीसूर्यदेवलाई पूजा गर्यो भन्दैमा सुर्य सँग विवाह हो भनिनु अज्ञानता नै मान्नु पर्दछ।