Tuesday, April 18, 2017

मकवानपुर : थाहानगरमा ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा




परापूर्व कालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । युद्धमा कहिले देवताहरुको जित हुन्थ्यो, कहिले दानवहरुको जित हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चली नै रह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जित भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौं मारिए, कयौ घायल भए, कयौ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध युग समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्ण तर्फ भागी आउने देवताहरु हिन्दुस्थान भित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महशुस हुन थाल्यो । बाँचेकाहरु पुर्व एशियाका देशहरुमा स्थापना हुँदै आएका मध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३/१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । 

यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग बास मागेछ । पालुङका मानिसहरुले उहाँँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन–‘तपाइ जस्तो यौवनले धपक्क बलेको सुन्दरी युवतीलाई हामी बास दिन सक्दिन ।’ कसैले भनेछन्–‘यहाँ केही समय बास दिदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोध र अलि हँसिलो भावमा भनेछ–‘अब म पनि कुनै दिन तपाइहरुले धुमधामसंग मान्नुपर्ने भएर सिन्दुरयात्रा देखाउँदै आउनेछु ।’ अब म बास दिएता पनि बस्दिन भनी पालुङ शहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउलेहरुले भनेछ–तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिदा तपाइलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओड्ने ओछ्याउने बस्तु केही छैन, के गरौ ? भनेपछि इन्द्रायणी माताले भनिछन्् –मलाई ओड्ने ओछ्याउने केही पनि चाहिँदैन । वेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ भनेपछि एउटा घरको कुनामा बास दिएछ । र, त्यहीँ इन्द्रायणी बास बसेछ । (त्यही बास बसेको घर नै हालको द्योछेः हो ।


त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने जस्तो अनौठो बाजागाजाको आवास आए जस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चन्चलता भइरहने जस्तो अचम्म लाग्न थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तीत मुद्रामा देख्ने, कहिलेकाँही आफ्नो पतिदेव इन्द्रदेवको सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लीएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिदैन ।

यसरी कुनै बेला साता, दुईसाता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले घर गर्दै गयो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सुपना दिएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दावहरुबीच घोर घमासान रणसंग्राम लडाई हुँदा सो लडाईमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास गरिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिनू र त्रसित हुन पर्दैन । म यहाँ रहुन्जेलसम्म हरेक समयमा तपाइहरुको सुरक्षा हुनेछ । तपाईहरुको भलाइ हुनेछ । यो तपाइहरुको गाउँमा  तपाईहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखे । 

यसरी समय बित्दै जाँदा दानवहरुको दूत जासुु पनि इन्द्रायणी कहाँ पुगेछ भनी खोजी निती गर्दै आउँदा इन्द्रायणी यहिँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्य्रायणी समक्ष भनेछ–देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खबर सुनाएर त्यही गाउाको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउलागाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामयीम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनू होला । हे इश्वर, हे देवी माता, के कालिका देवी होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस प्रभू । भनेर स्तुति प्रणाम गरेपछि इन्द्रायणीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरी पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रहि आएकोले अब म पनि यस मत्र्यलोकमा रहनूहुन्न ।     मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानू पर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जोडाइदिनूहोला ।

भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने–सति सामाग्रीहरु के के चिज हो भगवान ? इन्द्रायणी माताले भने धुप दिप, लाजा, सिन्दुर, फूल अक्षता नदीको किनारामा   दाउराको चाङ लगाई सोला बनाइदिनू प¥यो । देउलाहरु पनि अलाप बिलाप गरी रुन लागे । नचहाँदा नचाहँदै पनि  उहाँले भने बमोजिम सम्पूर्ण सामाग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ ।

त्यसपछि देउलागाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगिेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हगाचा नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणीदेवी माताले गंगाजीको दर्शन गरी पूरे कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनु भयो । त्यसै बेलादेखि इन्द्रायणी सतिजान नहुएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ छ ।


Source : www.bikaskhabar.com

बाला चर्‍हे र इन्द्रायणी जात्रा

- सन्दिप महर्जन
 


इन्द्रायणीलाई इन्द्रको पत्नीको रूपमा पुजिन्छ । बिष्णुमतिको किनारामा रहेको यस इन्द्रायणीलाई नेपालभाषामा लुती अजिमा भनिन्छ ।

किम्बदन्तीअनुसार लुती अजिमा अजिमाहरू मध्ये सबैभन्दा गरिब थिए । कथाअनुसार पशुपतिस्थित बछला माजु (भुवनेश्वरी) ले सबै दिदी बहिनीहरूलाई पाहाँ चर्‍हेमा भोज बोलाएछन् । सबैले मीठो मीठो भोज खुवाए तर लुती अजिमालाई भोलिपल्ट मात्र बोलाएछन् । खुसी हुँदै आफ्ना लालाबाला सबै बच्चाहरू लिएर भोजमा जाँदा भोज सिध्याएर भाँडा माझिरहेको थियो । आज भोज होइन ? भनेर इन्द्रायणीले प्रश्न गर्दा भोज त सकिसक्यो । खाने भए हिजोको बासी अलिकति बाँकी होला सोहरेर खाउ भनेर दिदीले उत्तर दिएछन् । यसरी आफू हेपिएपछि चित्त दुखाएर इन्द्रायणी फर्केछन् ।

इन्द्रायणीका धेरै सन्तानहरू थिए र ती सबै भोकले गर्दा रोइरहेका थिए । दिक्क भएकी इन्द्रायणीले जहाँ–जहाँ जुन–जुन बच्चाले धेरै दुःख दियो, त्यहीँ त्यहीँ छोड्दै हिँड्न थाले । आफूलाई एकदम प्यारो लाग्ने आफ्नो कान्छी छोरी मनकामना (मांकाचा) लाई लिएर केही शीप नलागेपछि खेतमा गएर एउटा फर्सी चोरेर घरमा पकाएर खानलाई काट्दा त्यस फर्सीबाट सुन निस्किएछ । त्यसपछि इन्द्रायणीले आफ्नो सबै बच्चाहरूलाई पुनः घर बोलाएर भोज खुवाए । त्यो दिन बाला चतुर्दशीको दिन थियो । त्यही बेलादेखि इन्द्रायणीको जात्रा अलग्ग हुने गरेको मानिन्छ जबकी अरू सबै अजिमाहरूको जात्रा पाहाँ चर्‍हेको बेला हुने गर्दछ । इन्द्रायणीले आफ्ना बच्चाहरूलाई भोज बोलाएपछि अरूले देख्ला भनेर ढोका लगाएर आफ्नो बच्चालाई मात्र खुवाए । अझै पनि बाला चर्‍हेको तीन दिन अगाडि लुती अजिमाको मन्दिरको ढोका लगाउनु पर्ने परम्परा छ ।

अर्को किम्बदन्तीअनुसार त्यसरी रोएर आएकी इन्द्रायणी थाय् मरु (बाङ्गेमुढा) मा बसिरहेको त्यसबेलाको त्यःर (त्यौड) टोलको जुजु (राजा) ले देखेछ । जुजुले रोइरहेकी आईमाई साधारण व्यक्ति नभइ देवता हुनुपर्छ भन्ने अनुमान लगाए । अनि इन्द्रायणीको अगाडि गएर भक्तिभावले बिन्ती गरेर दर्शन मागे । इन्द्रायणीले दर्शन दिई सकेपछि जुजुले इन्द्रायणीलाई आफ्नो टोलमा बस्न आग्रह गरे । जुजुले अनुनय–बिनय गरेपछि उनी राजी भइन् । अनि जुजुले उनलाई त्यःर त्वाः (त्यौड टोल)मा लगेर राखे । इन्द्रायणीले आफ्नो दुःख सुनाएपछि जुजुले हरेक वर्ष पुजा दिने बाचा गरे । इन्द्रायणीले आफू धेरै भोकै भयो भने रुद्र रूपधारण गर्न सक्ने र बलि लिन सक्ने कुरा सुनाएपछि राजाले बिन्ती गर्दै म हरेक वर्षको एक पटक ठूलो अग्नि होम गरी हजुरलाई बलि पनि दिन्छु । तर यसको बदलामा तपाईंले मेरो राज्यको सुरक्षा गर्नु पर्छ भनेर भनेपछि इन्द्रायणीले हुन्छ मलाई बाला चतुर्दशीको दिन पूजा गरेर बलि चढाउनु भनेर त्यहीँ अलाप भएछ । त्यसपछि जुजुले मूर्ति प्रतिस्थापन गरे ।

लुती अजिमालाई हेपिएको भएर उहाँले राजालाई दर्शन दिएर सपनामा जात्रा पनि चलाउ भनेपछि बाला चर्‍हेमा लुती अजिमासहित स्वाँछपु गणेश, भुँडी गणेश, मनकामना, ज्वालामाई, शोभा भगवतीको खट जात्रा गरिन्छ ।

वंशावलीअनुसार कलिगत सम्वत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षार्थ नगरको चारैतिर लुँमढी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंगेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खट जात्रा चलाएका हुन् ।

मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा अवस्थित इन्द्रायणी र भगवतीको सन्दर्भमा किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लडाँई हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रायणीले श्रीमान् युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सती घाटमा सती जान लाग्दा आकाशबाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुसीयालीमा इन्द्रायणीको जात्रा मनाउन थालिएको हो ।

 

Monday, April 17, 2017

त्रिशुल जात्रा : राक्षसलाई तर्साउने तथा काठमाडौंबासीलाई गाली गर्ने जात्रा

 
 
नेपाल सम्वत् तछलागा, भलाष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वलः देश) र पशुपतिको जय बागेश्वरी क्षेत्रमा नेवार समुदायहरूले धुमधामसँग मनाउने एक विशेष जात्रा हो । जुन जात्रालाई राजा यक्ष मल्लले नेपाल सम्वत् ६३४ देखि चलाउन लगाएका थिए । यस जात्रालाई सर्वप्रथम श्री बत्श्लेश्वरीका पुजारी, साधक तथा तान्त्रिकाचार्य मुनिबन्धुले सुरुवात गरेका थिए ।

किम्बदन्तीअनुसार राजा नरेन्द्रदेवका पालामा उनका एक जना गुरु बन्धुदत्त आचाजु थिए । उनी तन्त्रविद्यामा पारंगत थिए । उनले इच्छाएको वस्तु प्राप्त गर्न सक्थे र देवी देवतालाई समेत वशमा राख्न सक्थे । उनको समयमा एक पटक नागार्जुन पर्वतबाट एउटा राक्षस सुवर्णपुर अर्थात देवपतन (ग्वलः देश) क्षेत्रमा आएर बालबच्चा चोरेर हाहाकार मच्चाए । सो कुराले राजालाई पनि चिन्तित बनाए । उनले बन्धुदत्तसँग सल्लाह गरे । बन्धुदत्तले पनि राजासँग ४०–५० जनाको बलिया सिपाहीको माग गरे । ती सबैलाई राक्षस आउने बाटोमा लुकेर बस्न आदेश दिए । जब राक्षस आयो, ती लुकेर बसेको ठाउँमा सिपाहीहरूले आक्रमण गरे । तर राक्षस मायाबी रूपधारण गरेर अलप भए साथै काठमाडौं शहरमा गएर लुक्न गए । सिपाहीहरू खोज्दै त्यहीँ पुगे । तर काठमाडौंबासीले यहाँ कोहीँ पनि आएको छैन भन्दै राक्षसलाई बचाए । सिपाहीहरू राक्षस खोज्दै नागार्जुन डाँडासम्म पुगे ।

राक्षसको बच्चालाई समातेर ल्याएर त्रिशुलले खोपेर स्थानीयहरूले बदला स्वरूप हाम्रो बच्चा सकिए अब तिम्रा बच्चालाई त्रिशुलले यसरी नै रोपेर मार्छौं भनेर तर्साए । राक्षसले फेरी पनि बच्चाहरू चोरेमा उसको पनि यसरी नै अन्त्य गरिने भनेर त्रास देखाएपछि सो कार्य रोकेपछि त्यसैको सम्झनामा हरेक वर्ष यो त्रिुशुल जात्रा मनाउँदै आएको हो । यसपछि भने त्यो राक्षसले जनताका कुनै पनि छोराछोरीलाई मार्ने आँट गरेनन् । हरेक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ । यसैको सम्झना स्वरूप हालसम्म पनि यो जात्रा निरन्तर चलिरहेको छ ।

अर्को प्रचलित किम्बदन्तीअनुसार एक पटक बन्धुदत्त आचाजुले देवी भुवनेश्वरीलाई निकै खुशी पारेका थिए । भुवनेश्वरी प्रकट भई ‘तिमीलाई जे माग्नु छ माग’ भन्दा बन्धुदत्तले लोकरक्षाका लागि अमृतको घडा मागे । देवी पनि भोलि पूजा गर्ने बेलामा तिम्रो इच्छा पूरा हुनेछ भन्दै अन्र्तध्यान भइन् । भोलिपल्ट पूजा गर्ने बेलामा देवी फेरी प्रकट भइन् र बरदानका लागि फेरी सोधिन् । बन्धुदत्तले पनि सोही माग दोहोर्‍याए । त्यसपछि देवीले तिम्रो पछाडि जो छ, मलाई त्यसैको बलि देऊ, अनि मात्र तिम्रो इच्छा पूरा हुनेछ भनेर अलप भइन् । फर्केर हेर्दा आफ्नै छोरो रहेछ । तर पनि बन्धुदत्तले हिम्मत हारेनन् । उनले लोककल्याणका लागि छोराकै बली दिन पनि तयार भए । साथै, पाएको अमृतजलले पुनः आफ्नो छोरालाई जीवित पार्ने उनले जमर्को गरे । सोहीबमोजिम छोरालाई बली पनि दिए । देवी पुनः प्रकट भइन् र छोरालार्य बली चढाएको कसैलाई थाहा नहुने गरी सात कोठाभित्र ताल्चा लगाएर राख्न लगाई कामरूप कामाक्षामा रहेको अमृतको घडा लिन जानु र साथै अमृत ल्याएर छोरालाई पनि बचाउनु अनि लोकको भलो गर्नु भन्ने आदेश दिइन् । र, आफू अन्र्तध्यान भइन् । उनले कामरूप जानुअघि पत्नीलाई आफू नफर्केसम्म सो कोठा नखोल्ने आदेश दिएका थिए । यता, सोही दिनदेखि छोरो हराएकाले उनी अत्यन्त चिन्तित थिइन् । यस्तै चिन्तित अवस्थामा सुतिरहेको बेला सपनामा पशुपतिनाथले ‘तिम्रो छोरो मरेकाले बन्धुदत्त उसलाई सात कोठाभित्र राखेर विरक्तिएर देश नै छोडेर गयो’ भनेछन् । उनले यो सपना माइतीमा गएर सुनाइन् । माइतीले पनि मरेको लास सडाउनु हुँदैन भन्ने ताल्चा फोर्दै लासलाई बाहिर निकाले । साथै, भष्मेश्वर घाटमा लगेर दाहसंस्कार पनि गरे । यता जब बन्धुदत्त अमृतको घडा लिएर घर फर्कंदै थिए, बाटैमा उनले सो विवरण थाहा पाइहाले र सार्‍है चिन्तित भए । आफूले भनेको नमान्ने भन्दै श्रीमतीसँग सार्‍है दुःखी भए । सो अमृतको घडा बाटैमा गाडेर अलप भए । यो सबै घटना राजा नरेन्द्रदेवले थाहा पाए । यसपछि मनाइने त्रिशुल जात्रामा बन्धुदत्तको छोराको समेत चित्रण पाइन्छ र यात्राले विस्तृत रूप लिएको मानिन्छ ।

यस जात्रामा भाग लिएका मानिसहरूले हातहातमा रुखका हाँगा र बोक्रा समाती राक्षसहरूलाई गाली गरिरहेका हुन्छन् । एउटी आईमाई घण्टी बजाउँदै पछिपछि हिँडिरहेकी हुन्छन् । सिफलबाट निकालिएको त्रिशुल जात्रा सिफल टोल, दथु टोल, पास्चा टोल, चलेपाखा परिक्रमा गरी आ–आफ्नो स्थानमा गएर बिसर्जन हुन्छ र बालिकाहरूलाई आर्यघाटमा लगी स्नान गराई दाह संस्कारका लागि सुत्न लगाइन्छ । बालिकाहरूलाई आफैँ नउठेसम्म उठाउनु हुँदैन भन्ने मान्यता रहेको छ । बालिकाहरू उठेपछि विधिपूर्वक घर–घरमा भित्र्याइन्छ । यो क्रियालाई आर्यघाटबाट मुर्दा ब्यूँतिएर आएको विश्वास गर्दै सगुन स्वरूप चौरासी व्यञ्जनसहित भोजन खुवाइन्छ ।

तान्त्रिकाचार्य मुनिबन्धुले यस जात्रालाई चलाउन तान्त्रिक विधिविधान अनुरूप नौ वटा खटहरू मुसल, शफ, त्रिशुल, खड्ग, पास, तरबार, बलिछरी आदि आयुधले युक्त गरी कुमार र कुमारी नौ जनालाई रथमा राखी आषाढ कृष्ण अष्टमीको दिन श्री इशानेश्वर महादेवको प्रदछिना गरी जात्रा गर्ने रित चलाएका थिए तर आर्थिक अभावको कारण हाल तीन वटा खतमा मात्रै यस जात्रा सीमित भएको छ । नियमअनुसार गणेश, भैरब र कुमारका साथै नौ कुमारीहरू हुनु पर्नेमा कुमारीको लागि सर्वलक्षणयुक्त र शरीरबाट कुनै रक्तश्राव नभएकी कन्या हुनुपर्ने कठिनाइले गर्दा नौ रथको सत्ता तीन वटा रथमा सीमित भएको हो । तान्त्रिक विधिविधानअनुसार यात्रा अवधिभर कुमार–कुमारीलाई बेहोस गराइन्छ । यात्राको विधानअनुसार आर्यघाटको वत्सलेश्वरी को मन्दिरनजिक रहेकी जयमंगलदेवीको स्थानबाट एउटा रथमा बालिकालाई त्रिशुल रोपेर मारेको देखिने गरी निकालिन्छ ।

सोही दृश्य समेटिएको दोश्रो रथ कुमार मात्र राखी बज्रघरबाट निकालिन्छ र जयबागेश्वरीबाट आएको तेश्रो रथमा तीन जना बालिकाहरू गणेश, कुमार र कुमारीलाई एउटै त्रिशुलले मारेको दृश्य देखाइएको हुन्छ । यसपछि वत्सलेश्वरी र बज्रघरका रथहरू जयबागेश्वरी आइपुगेपछि तीनवटै रथहरूको संयुक्त यात्रा सुरु हुन्छ । तेश्रो खटको आर्थिक भार माता जगदम्बा त्रिपुरा सुन्दरी भगवती भुवनेश्वरी पीठको गुठीले बेहोर्ने गरेको छ । खटमा राखिने बालिकाहरूको छनोट जात्रा आरम्भको दुई महिना अगावै बैशाख पूर्णिमाको दिन गरिन्छ र यही दिन कुमारी पूजा पनि गरिन्छ ।

ग्वलः देश (हालको जय बागेश्वरी क्षेत्र) का तान्त्रिक बन्धुदत्त आचार्यको काठमाडौंकी श्रीमतीको अविश्वासको कारणले मृत छोरालाई बचाउन असफल भएको तथा राक्षस लुकाउने काठमाडौंबासीलाई यस दिन ग्वलःबासीहरूले काठमाडौं शहरको भित्री बासिन्दाहरूलाई निकै अश्लील शब्दमा गाली गर्ने चलन पनि रही आएको छ । यस जात्राको मुख्य विशेषता भनेको नै सक्दो गाली गर्नु, गाली सुन्नु र सुनाउनु नै परम्परा रही आएको छ ।

Wednesday, April 12, 2017

पलान्चोक भगवती


किंवदन्ती अनुसार पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको थिए । यिनीहरुका ७ दिदीबहिनीहरु थिए

किंवदन्ती अनुसार एक जना कलाकारले पलान्चोक भगवतीको मूर्ति निर्माण गरे तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाए, उनको देब्रे हात पनि काटिएछ । कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाए, त्यसपछि उनलाई मृत्युदण्ड दिइएछ ।

पलान्चोक भगवतीको उत्पत्तिका बारेमा जनमानसमा प्रचलित किंवदन्ती अनुसार, एक पटक बुकोटका बासिन्दाले एक पटक भगवतीलाई सपनामा देखेछन् । त्यसपछि तिनीहरूले भगवतीको स्थापना गर्नका लागि कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एक पटक बिसाएछन् । तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले तिनलाई यहीं स्थापना गराएछन् । पलान्चोक भगवतीलाई पसिना आएको खण्डमा राष्ट्रमा राजनीतिक संकट आउने विस्वास गरिन्छ ।

साँखु : बज्रयोगिनी देवी



मृगेन्द्र शिखर पर्वत / मणिचुड पर्वत, साँखुमा विराजमान श्री बज्रयोगिनी देवी !!

बौद्ध परम्परा अनुसार बज्रयोगिनी देवीलाई बुद्धशक्ति ‘तारा’को रुपमा मानिन्छ । महायानीहरुले बज्रयोगिनीलाई उग्रतारा भनेर पनि मानिन्छ तैपनि बज्रयानीहरुले बज्रयोगिनी नामकरण गरिदिएको वंशावलीहरुमा उल्लेख भएको पाइन्छ ।

परापूर्वकालमा मायासुर नाम गरेका दैत्यले देवलोक जिती देवताहरुलाई देवलोकबाट लखेटे । उक्त दैत्यलाई अरु कसैले बध गर्न नसक्ने भएकोले गुरु वृहस्पतिको सल्लाहअनुसार उत्तरापन्थमा विराजमान श्री उग्रतारा बज्रयोगिनी देवीलाई खुसी तुल्याउन देवगणसहित भगवान विष्णु स्वर्गलोक पुगी उत्तरापन्थमा रहेको १२ तीर्थ, १० कुण्डमा स्नान गरेर बज्रयोगिनी माताका क्षेत्रपाललाई नै गुरु मानेर नारायणी नदी तटमा एक महिनासम्म व्रत बसे । त्यसपछि देवी खुशी भई युद्ध मैदानमै विजयवाहिनी भगवनी प्रकट हुने मन्त्र प्रदान गरेपछि देवगणले आदिशक्ति भगवती माताको आरधना गरी देवी भगवतीलाई आ–आफ्नो शस्त्र–अस्त्र प्रदान गरेपछि भगवतीले मायासुर दैत्यको वध गरी देवलोकको उद्धार गरेको किंवदन्ती पाइन्छ ।

यो घटनापछि तान्त्रिक अनुष्ठान गरी बज्रयान मुद्रामा रहेकी यिनी देवीको हत्केला पछाडि खड्ग राखिदिएपछि खड्गयोगिनी देवीको नाममा प्रख्यात भए ।
 

टोखा : आफ्नै कथा आफ्नै ब्यथा !!



टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो । चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ

Tuesday, April 11, 2017

ल्हुती पुन्ही : म्हेपी अजिमा जात्रा


किम्वदन्ती अनुसार मनकामना, मनमैजु र म्हेपी अजिमा एकदम नजिकको साथी तथा दिदीबहिनीहरु थिए । तिनै जना आ-आफ्नो शक्ति देखाउन ३ ठाउँतिर लाग्दै सिद्ध प्राप्त गरेका थिएँ । म्हेपी अजिमा ज्यापुनीको रुपमा मानिन्छ । म्हेपी अजिमाको नाम आशामाँ थियो । पछि योगाम्बर वा जोगाम्बर नामले परिचित भए । आशामाँले आफु नांगै भै महादेवसंग अँगालो मारेर खुसि पारेर सिद्ध भएको मानिन्छ, त्यसैले योगाम्बर भनिएको हो । पछि एक जना तान्त्रिक गुरुले योगाम्बरलाई पुजा गरि रहेको बेला गुरुजुको पछि पछि आउने गुरुजुकै छोराको भोग लिएर उसैको सरिरमा बसेकोले म्हेपी नामाकरण भएको मानिन्छ । पछि यहि बच्चा करुणामयलाई नेपाल ल्याउने बन्धुदत्त हुनेछ भनेर बरदान पाए । त्यसैगरी मनकामनाले पनि महादेवलाई खुसि पारेर सिद्ध भएको र मनमैजु (फुसिंख्य अजिमा) ले देवराज इन्द्रलाई खुसि पारेर सिद्ध भएको मानिन्छ ।

बालाजु पुर्णिमाको दिन यस देवीको जात्रा हुने गर्दछ । अघिलो दिन कमलाछीको तँलाछी टोलमा अवस्थित देवघरबाट देवीको देवमुर्तिलाइ लागि म्हयपी मन्दिरमा तान्त्रिक विधि पुर्वक स्थापना गर्ने गरिन्छ र पुर्णिमाको दिन साँझ बाजागाजाका साथ मन्दिरमा स्थापित मुर्तिलाइ दुई तल्ले खटमा राखी जात्रा गर्दै तँलाछीस्थित देवघर अगाडी राख्न ल्याइन्छ, त्यसको भोलिपल्ट धुमधामका साथ खटलाइ नगर परिक्रमा (काठमाडौँको पुरानो वस्ती) गराइन्छ । म्हयपी मन्दिर अवस्थित डाँडोको माटो धेरै नै पवित्र मानिन्छ, यसै कारणले सेतो मछिन्द्रनाथ, पाटनको रातो मछिन्द्रनाथ, नाला करुणामय, किर्तिपुरको बाघ भैरब , चोभारको करुणामय र बिजेश्वरीको मुर्ति बनाउन अथवा जिर्णोदार गर्नका लागि यहाँको माटो लैजाने गरिन्छ

श्रोत : राजेन्द्र महर्जन

Saturday, April 8, 2017

भद्रकाली : लुँमडी अजिमा, टुँडिखेल


किंवदन्ती अनुसार प्राचीन कालमा उपत्यकाका एक जना किसानले रोपाइँ गर्दै गर्दा एउटी बालिकालाई खेतमा रोइरहेको अवस्थामा भेटेछन् । ती किसानले बालिकालाई नरोऊ भनी फकाएछन् । जति फकाउँदा पनि बालिका रुन नछाडेपछि किसानले आफूलाई खाजाका लागि ल्याएको रोटी खान दिएछन् । रोटी पाएपछि ती बालिका रुन छाडेर हाँसिछन् र लगत्तै अन्तध्र्यान भइछन् । 


किसानले उनलाई दिएको पीठोको रोटी भने सुनको रोटीमा परिणत भएछ । नेवारी भाषामा लुँ को अर्थ सुन र मडी (मरी) को अर्थ रोटी हुने हुँदा ती बालिकालाई किसानले साक्षात् देवी मान्दै लुमडी अजिमा / देवी भन्न लागेछन् । तसर्थ भद्रकालीलाई लुमडी भगवती पनि भन्ने गरिन्छ । 


किसानले साक्षात् देवी मानेकी लुमडी भगवती अन्तध्र्यान भएपछि यो कुरा राजा गुणकामदेवकहाँ पुगेछ । त्यसपछि राजा गुणकामदेवले त्यस स्थानलाई देवीको वासस्थान मानी त्यहाँ भद्रकाली पीठको स्थापना गरेछन् । देवी रूपकी बालिका देखिएको स्थानमा ती किसानले नौ वटी देवीको स्तुति गर्दै आएछन् । यसरी भद्रकालीलाई नवदुर्गा मध्येकी प्रख्यात देवी र उक्त स्थानलाई नेपालको प्रख्यात शक्तिपीठका रूपमा पूजाआजा गर्दै आइरहेको छ ।

बालाजु मेला : तामांगहरुको तेमाल जात्रा


हरेक बर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तिमालजात्रा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो ।  तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

जनश्रुति अनुसार काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ ।पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ । 

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ, दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ । यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन् । जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन् । यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन् ।

तिमालजात्रामा सहभागीहरू आउँदा पहिले पहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउने जाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ । मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ । पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ ।

Source : http://www.tamangonline.com

Wednesday, April 5, 2017

मपता अजिमा / भाटभटेनी जात्रा / गहना पोखरीमा गहना खोज्ने जात्रा


मपता अजिमा र पति झुन्ड्याईएको सन्दर्भ
पुजारी पुरुषोत्तम कर्माचार्यका अनुसार प्राचिन कालमा कालाजादूका एक कुख्यात स्त्री थिइन् । उनले आफ्नो कुविद्या दुरुपयोग गरी दुनियाँका बालबच्चालाई रोगव्याधी लगाएर निकै दुख दिने गर्दथिन् । त्यसबाट त्राहिमाम समाजलाई मुक्ति दिन टुंडालदेवीले चीलको रुप धारण गरी त्यस स्त्रीको एकमात्र बच्चालाई टिपेर  बेपत्ता पारि दिएछ । टुंडालदेवीको दैवी शक्तिसंग त्यस स्त्रीको तान्त्रिक शक्ति प्रभावहीन भएर आफ्नो बच्चा फेला पार्न सकेनछ। यसबाट दुखी र समाजमा बेइज्जत भएको महसुस गरी उनका पति समेत दुबैले घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेछन् । त्यसैकारण भाटभटेनी मन्दीरमा त्यस दम्पतिको पूर्ण कदको मानव आकृति (मूर्ति)लाई घाँटीमा बाँधेर झुण्ड्याएर राखिएको छ । उनीहरुको आत्महत्यालाई प्रायश्चितको रुपमा लिई टुंडाल अजिमाले ति दुबैको लासलाई आफ्नो निवासमा झिकाई जीवित पारेर "अब आइन्दा दुनियालाई दुख नदिनू, जसरी तिमीले आफ्नो बच्चालाई माया गर्छौ त्यसरी नै दुनियाका बालबच्चालाई माया गर्नू । यसबाट तिमी ममता अजिमाको नामबाट प्रख्यात हुनेछौ" भनेर उनीहरुको बच्चा सहित फर्काएर पठाइ दिएछ । यिनलाई नेपालभाषामा मोपता अजिमा पनि भनिन्छ त्यसैले बालबच्चा लगायत वयस्कहरुको समेत ग्रहदशा शान्त गर्न मोपता अजिमा कहां पूजाआजा गर्ने चलन चलिआएको छ ।

टुँडालदेवीको कृपाले पुनर्जीवन पाएको हुनाले
मोपता अजिमालाई टुँडालदेवीको छोरी पनि भनिन्छ । भाटाभटेनी ठाउँको नामबाट उनलाई भाटभटेनी देवी वा भाटभटेनी अजिमा पनि भनिन्छ मोपता अजिमाको जात्रा प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीदेखि चैत्रकृष्ण तृतीयासम्म पाँच दिन मनाईन्छ । जात्राको पहिलो दिन मोपता अजिमा दम्पतिलाई लासको रुपमा टुंडालदेवी कहां लगिन्छ र अन्तिम दिन जीवित रुपमा मन्दीर प्रवेश गराइन्छ । मन्दीर भित्रको दृष्यको फोटो खिच्न बर्जित छ। 

श्रोत : नेवा म्हसिका
  
टुंडाल देवी
गहना पोखरी जात्राको सन्दर्भ
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा आफ्नी आमाको पोडेसंग गोप्य सम्बन्ध रहेका र पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी भाटभटेनीले राति फर्कंदा गहना हराउँछन् ।

त्रयोदशीको राति भाटभटेनीलाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन जात्राको रुपमा नक्साल अवस्थित गहना पोखरीमा त्यहि हराएको गहना खोज्ने गरिन्छ । जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ । टुडालदेवी मन्दिरको पूजारी अहिले पनि पोडे (द्यलाः) जातको हुने गर्दछ ।

Monday, April 3, 2017

सेतो मछिन्द्रनाथको जात्रा


 नेपाल सम्बतको तेस्रो महिना पोहेलाथ्व, अष्टमीको दिन बेलुकीपख सेतो मछिन्द्रनाथलाई नुहाई दिने र सजाई दिने गरिन्छ । यस दिन मछिन्द्रनाथ देवतालाई जनबहाल अवस्थित मछिन्द्रनाथको मन्दिरकै प्राङ्गणको डबलीमा ल्याइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरु फुकालिन्छ । त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाई दिन्छ । नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधिहरु मन्दिरकै पुजारीहरुले गर्ने गर्दछन् । यस समारोहमा नेपालको जीवित देवी कुमारीले पनि भाग लिने गर्दछ । मछिन्द्रनाथलाई बर्षा र सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करुणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ । सेतो मछिन्द्रनाथलाई यसरी नुहाई दिंदा समस्त मानवजातीमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार राजा यक्ष मल्लको पालामा कान्तिपुरीबासीहरु मृत्युपछि स्वर्ग जान पाइन्छ भन्दै कान्तिपुरका पबित्र नदिहरुमा स्नान गर्दै स्वयम्भु दर्शन गर्न जाने गर्थे । एकदिन यमराजले कान्तिपुरबासीका यी गतिविधिहरु र भगवान स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाएछ र यमराज स्वयम् मान्छेको भेषमा स्वयम्भूको दर्शन गर्न भनि आएछ । यमराज यसरी मान्छेको भेषमा स्वयम्भुनाथको दर्शन गर्न आएको कुरा राजा यक्ष मल्ल र उसका तान्त्रिक गुरुहरुले थाहा पाएछ र यमराज फर्किने बेलामा समातेर आफुहरु सधै अमर हुने बरदान मागेछ र यमराजलाई छोड्न मान्दै मानेनन् ।

यमराजलाई फसाद ! फसादमा परेपछि यमराजले उनीहरुबाट मुक्ति पाउन आर्य-अवलोकितेश्वर (सेतो मछिन्द्रनाथ)लाई प्राथना गरेछ । सेतो मछिन्द्रनाथ (सेतो रंगको देउता, आधा आँखा खोलेका) तुरुन्तै पानीबाट प्रकट भए र कालिमाटी र बागमती क्षेत्रभित्र मन्दिर बनाई रथ तान्ने जात्रा चलाउन आज्ञा दिएछ । तदनुसार हरेक बर्ष चैत्र महिनामा ३ दिन जमल देखि भोटाहिटी, भोटाहिटी देखि हनुमान ढोका र हनुमान ढोका देखि लगन टोलसम्म जात्रा चलाउन लगाए । कथाअनुसार मछिन्द्रनाथ देवताले कान्तिपुरबासीहरुलाई सुखमय जीवन तथा दिर्घायुको लागि बरदान दिन्छ भने जनविश्वास रही आएको छ । यसैको प्रतिकको रुपमा सेतो मछिन्द्रनाथको जात्रा हरेक बर्ष निरन्तर चल्दै आएको छ ।

Sunday, April 2, 2017

रातो मछिन्द्रनाथको भोटो जात्रा


पाटनमा वरदेव राजाको शासनकालमा कर्कोटक नागराजाको श्रीमतीको आँखा दुखेछ । अनेक उपाय गर्दा पनि निको नभएपछि, भक्तपुरको नामी बुढा बैद्यलाई भेट्न भक्तपुर गएछ । मानवरुपी नागराजले बाटोमा बुढा बैद्यलाई भेटेछ । मानवरुपी नागराजले बुढा बैद्यलाई लिएर टौदहमा पुगेपछि नाग रुप लिएर बुढोलाई लिई टौदह भित्र पसेछ । भित्र सुवर्णमय ठुलो दरबार रहेछ । बुढाले चारपाँच दिनसम्म औषधी गरी निको बनाईदिएपछि, नागराजले खुसी हँदै औषधी गरेबापत के चाहिन्छ माग भन्दा, बुढा बैद्यले त्यसबेला नागराजले लगाएको मणीजडित भोटो मागेछ । नागराजले मुसुमुसु हाँसी भोटो फुकाली दिएछ र अन्य धन सम्पत्ति दिई बिदा गरेछ ।

बुढाले घर फर्केपछि, त्यहि भोटो लगाएर खेतमा काम गर्न गएछ । दिउँसो गर्मी भएपछि, भोटो फुकाली खेतको आलीमा राखि काम गर्न थालेछ । एकजना भुतले भोटो देखेर भोटो लिई भागेछ अनि बुढोले भेटाउन नसक्ने गरी गायब भएछ ।

समय बित्दै जाँदा श्री रातो मच्छिन्द्रनाथको रथ जात्रा हुँदा श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा रहेको बेला, त्यो भोटो चोर भुत मच्छिन्द्रनाथको जात्रा हेर्न अन्य भुतहरुसँग आएछ । उनीहरु अदृष्य भएर त्यहाँ जात्रा हेर्न आएका भक्तजनहरुको सरसामानहरु चोरी गरीरहेका थिए । नागराजा पनि मानवरुप लिएर जात्रा हेरिरहेका थिए । बुढो बैद्य पनि जात्रा हेर्न आएछ । 

भक्तजनहरुको सामान हराएकोले ललितपुरको एकजना बज्राचार्यले मन्त्रगरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरु कहीँ जान नसकेर देखिन थाले । यही मौकामा भोटो लाएको भुतलाई बुढाले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणीमय भोटोको प्रभावले भुत बलियो भई बुढालाई कस्त दिएछ । बुढाले गुहार मागेछ । मानवरुपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनी भुत भुईँमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो बुढोलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकोले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्तबुझेकोले श्री मच्छिन्द्रनाथलाई चढाएछ । 

यो समाचार सुनेर तत्कालिन राजा वरदेवपनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो बर्षेनि जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पल्ट देखाउन आदेश दिएछ । प्रथम पल्ट देव, मनुष्य, नागलोकलाई; दोष्रो पल्ट काठमाडौँ, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथंचक्र भरिया र कर्कोटक नागराजा,  तेश्रो पल्टको भुत बुढा बैद्य मन्त्र गर्ने बज्राचार्य सहित यक्ष लोकलाई देखाउनु भनेछ । यो कुरामा सबैलाई राजी गराइ साक्षी राखी नागराज अलप भएछ त्यसबेला देखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किंम्बदन्ती छ ।

मानिसहरुमा यो भोटो कस्को हो भनि भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कस्को हो भनि देखाएको नभई कर्कोटक नागराजाको आदेश अनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किंम्बदन्ती पाइन्छ ।


श्रोत : किरण गाइजु

रातो मछिन्द्रनाथ : १२ बर्षे मेला


१२ बर्षे बिशेष मेलाको अवसरमा परम्परा अनुसार
पहिलो दिन छ्यासीकोटदेखि भैँसेपाटीसम्म
दोस्रो दिन भैँसेपाटीदेखि नख्खु खोलासम्म
तेस्रो दिन नख्खु खोला देखि युलाखेल हुँदै पुल्चोकसम्म रथ तान्ने गरिन्छ

 
तेस्रो दिनको रथ जात्रा बारे एउटा रमाइलो कथा रहेको छ रथलाई नख्खु खोलाबाट तानेर युलाखेलमा विश्राम गराइन्छ किम्बदन्ती अनुसार नख्खु खोलासम्म आफ्नो छोराको पिछा गरिरहेकी श्री मत्स्येन्द्रनाथको राक्षस कुलकी आमाले छोरालाइ खोला तारेर लगेपछि अब कसरी जाने भन्ने चिन्ता परेछ । हतासमा भएकोले आफू राक्षसनी भएको र आफुसंग शक्ति भएको पनि बिर्सेछन । नख्खु वारि बसेर रोइरहेको बेला उनलाई झट्ट याद आयो र माछाको रुप लिएर नख्खु खोला पार गर्ने कोसिस गरेछन् तर सकेनछ । त्यसपछि बायुको वेगमा उडेर बल्ल तल्ल पार गरिन् र आफ्नो छोरा भएको ठाउँसम्म पुगेछन् ।

त्यसपछि अब मछिन्द्रनाथलाई उसकी आमाबाट कसरी पिछा छुट्टाउने भनेर मानिसहरु सोच्न थालेछन् र एउटा उपाय निकालेछ । छोरा भएको ठाउँ भन्दा अलि पर सुतेकी राक्षसनीलाई छल गरि कुनै आवाज ननिकाली बिस्तारै मत्स्येन्द्रनाथलाइ त्यहाँबाट भगाएर हालको पुल्चोक पुर्याएछन् ।

अर्को कथा अनुसार नख्खु तारेर रथलाइ हालको युलाखेलमा पुराएर राखिरहँदा कारणबस किर्तिपुरेहरुसँग पाटनवासीहरुको बाझाबाझ भएछ । मत्स्येन्द्रनाथ भने चुप लागेर ध्यान गरि बसिरहे । त्यसपछि अब किर्तिपुरमा रथ लानेछौँ पख भनेर किर्तिपुरका मान्छेहरु त्यहाँबाट किर्तिपुरमा मत्स्येन्द्रनाथ ल्याउनलाई मान्छे बोलाउन गए । १-२ जना कुरुवा बसेका थिए तर रात भएकोले निदाएछन् । मत्स्येन्द्रनाथको रथलाइ यतै राखे त किर्तिपुरमा लान्छ भन्ने डरले कसैले थाहा नपाउने गरि बाजागाजा केही नबजाइ सुटुक्क रथलाइ रातारात तानेर हालको पुल्चोक पुर्याइयो । भोलिपल्ट अमृतसमयमा किर्तिपुरका मान्छेहरु रथ लिन आउँदा त रथै थिएन । खोज्दै जाँदा हालको पुल्चोलमा पुर्याई सकाका रहेछन् । रथको धमा उतै फर्किरहेको हुनाले मत्स्येन्द्रनाथसंग माफी मागी फर्केछन्
 

रथको धमा ( भैरवको मुकुट राखिएको कर्कट नागको स्वरुप मानिने रथमा पाङ्ग्राहरुको बिचमा रहेको लामो काठ) जता फर्किएको छ , रथ उतै तानिनु पर्छ भन्ने परापुर्व काल देखिको मान्यता अनुसार आज सम्म पनि भोलि रथ कता तन्ने हो , धमा पनि उतै फर्काएर राख्ने गरिन्छ । त्यसैले आज सम्म पनि १२ वर्षको मेलामा युलाखेलबाट रथलाइ मध्यरातमा हल्ला नगरी कुनै पनि बाजा नबजाइ तानेर पुल्चोक पुराउने गरिन्छ ।

श्रोत : सन्दिप महर्जन

काठमाडौं : काष्ठमण्डप मन्दिर


काठमाडौँ दरवार क्षेत्रमा अवस्थित ३ तल्ले प्यागोडा शैलीमा बनेको काष्ठमण्डप मन्दिरको अस्तित्व १६औ सताब्दीका राजा लक्ष्मीनरसिंह मल्लभन्दा साढे ४ सय वर्षअघि नै रहेको पुष्टि भएको थियो । बिसेत नाम गरेका कलाकारले एकै रुखबाट यो मन्दिरको निर्माण गरेका थिए ।

मुलुकको राजधानीको नाम यसै मन्दिरबाट राखिएको थियो । पछि यहि काष्ठमण्डप अपभ्रंस भै काठमाडौ रहन गएको भन्ने भनाइ छ ।

उहिले उहिले बर्षको १ दिन यो मन्दिरमा जनताहरु भेला भएर रातभर मिष्ठान्न भोजन ग्रहण गर्थे रे । पौराणिक कथा अनुसार मछिन्द्रनाथ (जनबहाद्य:) को भक्त गोरखनाथ मछिन्द्रनाथको रथ जात्रामा सामान्य मनुष्यको रुपमा घुम्दै थिए । एक जना तान्त्रिकले गोरखनाथलाई चिनी हाले र आफ्नो नियन्त्रणमा लिए । गोरखनाथले आफुलाई नियन्त्रणमा लिएको थाहा पाएपछि आफ्नो उन्मुक्तिको लागि के इच्छा गरेको हो माग्न भने । तान्त्रिकले मन्दिर बनाउन चाहेको र यसको लागि चाहिने यथेष्ट निर्माण सामंग्री उपलब्ध गराई दिन इच्छा ब्यक्त गरे । बर्ष दिनमै तान्त्रिकको खेतमा एक बिशाल रुख उम्रेर आए । सोहि रुख काटेर तान्त्रिकले काष्ठमण्डपको निर्माण गर्न लगाए ।

२०७२ साल बैसाख १२ गतेको महाभूकम्पले यो मन्दिर ढलेर नष्ट भएको छ ।

Saturday, April 1, 2017

चोभार : जलबिनायकको कथा




धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी एउटी छोरी थिइन् । कच्छपासुरले बहिनीको जलक्रिडाको लागि पोखरी बनाउँछु भनी चोभार गल्छीमा सुतेर नेपाललाई जलमय तलाउ बनाइदिएका थिए ।

पौराणीक कथा अनुसार महादेवलाई काम बाण प्रहार गरेकोले रिसाई कामदेवलाई भष्म गरिदिएको र रतिको बिलौनाले त्रेतायुगमा कृष्णका छोरा प्रद्मुम्नसंग प्रभावती भई मिलन हुने बरदान पाएका थिए । सोहि अनुसार एक रात प्रभावतीले श्रीकृष्णको छोरा प्रद्मुम्नलाई स्वप्नमा दर्शन मिलेपछि मुग्ध भई वरण गरेकी थिइन् । नारदद्वारा प्रभावतीको खवर पाएर प्रद्मुम्न दानासुरसँग लडाई गरी प्रभावतीसँग विवाह गरेका थिए ।

श्रीकृष्णले नेपाल मण्डल खोल्ने भनि चोभार न्हसीकाटमा सुदर्शन चक्र प्रहार गरे ।
प्रद्मुम्नले जलमा सुतेको कच्छपासुरलाई मारी दष्टारत्न मणी लिए ।
जलमा दैत्यसँग युद्ध गर्नको लागि श्री गणेशलाई जलविनायक नाम राखी स्थापना गरे
त्यतिबेला गणेशको प्रार्थनाले बासुकी नाग स्वरुप भई सँगै संगै बसेका थिए
चोभार कच्छपको शरीर भएकोले कर्म गिरी, कच्छपाल पर्वत पनि भनि आएको पाइन्छ ।

प्रभावतीय तिर्थ नख्खु खोला

श्रीकृष्णका बुहारी प्रभावतीले दाजु कच्छपासुरलाई पवित्र पार्न गरेको आराधना अनुसार श्रीकृष्णले वरदान दिई कच्छपासुरलाई पवित्र पार्न प्रभावती नख्खु खोला भई र कच्छपासुरलाई पवित्र पारिन । यो चोभारको पूर्वमा रहेको बाग्मतीको सुलक्षण तिर्थ सुन्दरीघाट पाटनको नख्खु खोलाको संगम त्रिवेणी ठूलो तिर्थ हो । बाग्मती किनारमा बालकुमारी रहेको छ । यसैलाई प्रभावतीय तिर्थ वा जयश्री तिर्थ भन्दछन्
 
 श्रोत : http://bit.ly/1SlgnCk

चोभार : सिद्धिपुर र श्री आदिनाथ लोकेश्वरको सन्दर्भ


हामी सामान्यत: मछिन्द्रनाथ भन्ने बितिकै बर्षा र शहकालको देवता भनेर चिन्छौ ।  तर चोभार अवस्थित मछिन्द्रनाथ अर्थात आदिनाथ लोकेश्वरको कथा चाहिं धेरै असिना पानी परेकोले सिद्धिपुरका बासिन्दाहरुले देउटालाई नै गोदावरी खोलामा फ्याँकेको कथापाइन्छ ।

चोभार तथा थसिका जेष्ठ नागरिकहरुको भनाई तथा जनश्रुती अनुसार धैरै बर्ष पहिले थसि अर्थात ललितपुर अवस्थित सिद्धिपुरका वासिन्दाहरूले अति असिनाका कारण गोदावरी खोलामा फ्याँकेको श्री आदिनाथ खोला सँगसंगै बग्दा बग्दै कालान्तरमा उपत्यकालाई छोडेर जान मन नलागी चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको "नन्द ग्वा"ले देखेका थिए । चोभारको चौरमा गाई चराउदै गरेका चोभारबासी "नन्द ग्वा "ले नख्खु खोलाको दोभानमा अड्किएर बसेको बच्चा अर्थात श्री आदिनाथलाई बचाउन खोलामा गए । बच्चालाई समाउन खोज्दा उक्त बच्चाले "मलाई नछोउ, मलाई नछोउ" भनी कराउन थाले र नन्द ग्वालाई श्री आदिनाथले आफ्नो रूप दर्शन गराएका थिए । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए : " प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समयदेखि खाली रहेको छ, उक्त ठाउँमा प्रभु विराजमान भइदिनुस् ।“

 नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गरे र नन्द ग्वा: खुशी हुँदै श्री आदिनाथलाई लिन म बाजागाजा लिएर आउँछु भनी गाउँ पसे । नन्द ग्वा:ले सबै गाउँवासीलाई खबर गर्दागर्दै फर्केर आउन ढिला भए । उता श्री आदिनाथ आफुलाई कहिले लिन आउँछ भन्दै नख्खु खोलाको दोभानबाट माथि चोभार डाँडाको गाउँतिर हेरि रहे । त्यही भएर हालसम्म पनि श्री आदिनाथ मुर्तिमा आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा: बिभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइ पुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन् । यताउता चारैतिर सबैले आँखा लगाए तर कहीं  भेटिएन ।  नन्द ग्वा: र पुरोहित बिच गन्थन हुन थाले । नन्द ग्वा:ले आफुले यतै देखेको हो भनि जिद्धी गर्न थाले । त्यसै बखत सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई  श्री आदिनाथले दर्शन दिए । पुरोहितले श्री आदिनाथलाई देख्नासाथ खोलामा कलश थापे र श्री आदिनाथ त्यस कलश भित्र विराजमान भए । यसैको प्रतिक स्वरुप अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारेर थापिन्छ । हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ ।

त्यस बेला श्री आदिनाथ स्वयं प्रकत भई भनेका थिए " म सिपुर (सिद्धिपुर थसी) को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक (नेम्कुल) मार्फत नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलकबाट नै गरियोस भन्दै आज्ञा दिए । गाउँवासीहरूले उक्त कुरामा सहमत भए र  बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारा माजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरे । थसी (सिद्धिपुर्) का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू नाङो खुट्टाले सेतो वस्त्र लगाई कपाल मुन्डन गरी थसी (सिद्धिपुर्) देखी चोभार सम्म हिंडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत नै छ । यसर्थ सिद्धिपुरको प्वं देवता नै हालको श्री आदिनाथ लोकेश्वर हुन् भन्नेजन विश्वास रहेको पाइन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...