Tuesday, February 12, 2019

सिंहसार्थबाहु अर्थात चकंद्य: जात्रा

काठमाडौमा होलीको भोलिपल्ट मनाइने एक होली / सिन्दुरे जात्रा :

उहिलेको कुरा हो, काठमाडौं र ललितपुरबासीहरू व्यापारको सिलसिलामा ल्हासा आउने जाने गर्दथे । यसै क्रममा सिंहसार्थबाहु पनि व्यापार गर्ने भनी आफ्ना केही सहयोगी साथीहरू लिएर दिनरात डाँडाकाँडाको कठिन यात्रा पार गर्दै ल्हासा पुगे, व्यापार गरेर असंख्य धन सम्पत्ति पनि जम्मा पारे । पछि सिंहसार्थबाहुले आफ्ना सहयोगीहरूलाई आफ्नो देश फर्कन आग्रह गरे तर सहयोगी साथीहरू भने अप्सरा सुन्दरीहरूको मायाजालमा भुल्दै थिए, फर्कन मानेन । सिंहसार्थबाहुले अनेक पटक फर्कन अनुरोध गर्दा पनि आफ्ना सहयोगीहरूलाई फर्काउन नसकेपछि अन्ततः दुःख, चिन्ता अनुभूति गर्दै एक रात बलिरहेको बत्तिलाई हेर्दै ‘हे करुणामय ! मेरा सबै साथीहरूलाई फर्काउन मलाई शक्ति दिनुहोस् !’ भनी प्रार्थना गरे । यत्तिकैमा पानसको बत्तिभित्रबाट श्री करुणामय प्रकट भई दर्शन दिएर आज्ञा भयो ।

‘साथीहरूलाई राम्रोसँग सम्झाउनु । यी सुन्दरीहरूले जति माया मोह देखाए पनि फर्केर नहेर्नु । जसले फर्केर हेर्छ, त्यो बाँच्दैन, मारेर खानेछ । ती सुन्दरीहरू राक्षसनीहरू हुन् । यिनीहरू तिम्रा साथीहरूलाई खानलाई मौका खोज्दैछन् । ती सुन्दरीहरू राक्षसनी हो कि होइन परीक्षण गर्नलाई तिनीहरूको कुर्कुचा र खुट्टा हेर्नु, कुर्कुच्चा अगाडि फर्केका हुन्छन् भने खुट्टा पछाडि फर्केका हुन्छन् ।’

यति भन्दै करुणामयले ती राक्षसहरूबाट मुक्ति दिलाउन सहयोग गर्ने बचन दिँदै “ती सुन्दरीहरू आफूनजिक आउनु अघि नै भागेर गई नदीको किनारमा पुग्न आज्ञा दिए । करुणामयको आज्ञाअनुसार नदीको किनारामा एक बायुपंखी घोडा आउनेछ, तिमीहरू सबै बायुपंखी घोडामा चढ्नु र ती सुन्दरीहरू आउनु अघि नै बायुपंखी घोडा चढेर नदी पार गर्नु” भन्ने आज्ञा दिए ।

सिंहसार्थबाहुले सम्झाई बुझाई आफ्ना सहयोगीहरूलाई लिएर खोलाको किनारामा पुगे र बायुपंखी घोडामाथि चढे । जब बायुपंखी घोडा उड्नै लागेको थियो, सुन्दरी राक्षसहरू फर्केर नजान भावनात्मक आग्रह गर्दै, रोई कराई गर्दै पछि–पछि दगुर्दै आए । सुन्दरीहरूको कारुणिक रोदन सुनेर केही साथीहरूले फर्केर हेरे, यिनीहरू सबै मारिए । अन्ततः सिंहसार्थबाहु केही सहयोगी साथीहरूलाई मात्र फर्काउन सफल भए ।

सिंहसार्थबाहु मात्र एक त्यस्ता व्यक्ति थिए, जसले यात्राको दौरान कहीँकतै आफू बिचलित नभई मन र चित्तलाई नियन्त्रण गरे । सिंहसार्थकबाहु र सहयोगी साथीहरूलाई बचाउन दया र करुणाका प्रतिक करुणामयले बायुपंखी घोडाको रूप धारण गरेका थिए ।

यसरी राक्षसनीहरूको पञ्जाबाट बाँचेर घर पुगेका उपलक्ष्यमा तिनका परिवार र देशबासीहरूले सिहंसार्थबाहु र उनका साथीहरूलाई अबिर छरेर उत्सव गरी यात्रा गरेको दिन फागु पूर्णिमाको दिन थियो । काठमाडौंमा सिहंसार्थबाहुलाई चकंद्यःको रूपमा पुजिन्छ । काठमाडौंको थबहिल (ठमेल) अवस्थित बिक्रमशीला महाविहार, भगवान बहालमा यिनको मूर्ति रहेको छ, जुन मूर्तिलाई होली पूर्णिमाको भोलिपल्ट राति चकंद्यः जात्राको रूपमा खतलाई काठमाडौंको भित्री शहरहरूमा एकअर्कालाई अबिर दलेर होली खेल्दै खत घुमाउँदै जात्रा मनाउने चलन अहिले पनि रहेको छ ।

1 comment:

  1. त्यो तरेर आउनु पर्ने नदीको नाम हो — ब्रम्हपुत्र ।

    ओलाछि प्यँगःथाँका ज्यापुहरूको हाँस पाल्ने पेशामा थिए, ती हाँसहरू चराउन गल्कोपाखा ओरालो पछिको जमीन (जहाँ पहिले पानीको मात्रा धेरै हुने खासै बाली लगाउन मिल्ने थिएन ।) मा जान्थे । बाटो त्यहीँ थँबही (ठमेल) भएर आऊजाऊ हुन्थ्यो । त्यही उहाँहरूको साथी सिंहसार्थबाहु भए । सिंह सार्थबाहु पढे लेखेका अनि ब्यापारी थिए । एक समय, त्यसै हाँस चराइ रहेको ठाउँमा ती मेरा बाजेहरूले दुइटा सन्दुक भेटेछन् । जुन सुन चाँदीले लेखिएको प्रज्ञापारमिताको किताब थियो । हाम्राबाजेहरू अक्षर नचिनेका भएकोले त्यही सन्दुक र प्रज्ञापारमिताको पुस्तक साथी सिंहसार्थबाहुलाई पढ्न दिए । त्यही किताब पढेर बिद्वान र पारंगत भए सिद्धी पाए । त्यो तिमिहरूको पुस्तक संरक्षित नै छ है भनेर वर्षको एकचोटी होलिपुर्णिमाको भोलि हामीलाई भोज खुवाएर साँझ उक्त पुस्तक सहितको सन्दुक बोकाएर नगर परिक्रमा गरि जात्रा चलाइन्छ । उक्त शुद्ध भात(भोज)को लागि तीन पल्ट बोलाहट आउने चलन थियो र त्यसपछि खान गइन्थ्यो । हाल आएर झण्डै २५–३० वर्ष देखि हामी ओलाछि बासीहरूलाई बोलाउन पनि छोड्यो र हाल उक्त सन्दुक र किताब कस्तो अवस्थामा छ थाहा पनि छैन ।

    ReplyDelete

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...