Thursday, December 28, 2017

जुम्ला : सिंजा उपत्यका


जुम्लाको सिंजा उपत्यका अहिले हैन आज भन्दा १००० बर्ष अगाडी देखि अर्थात ११ औं देखि १४ औं सताब्दीमा एकदम शक्तिशाली खस राज्यको रुपमा परिचित थियो । युनेस्कोले अहिले पनि सिंजा उपत्यकालाई विश्व सम्पदा सुचिमा राखेको छ । सन् १०९३ यता नागराज, छाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्लले राज्य गरेको देखिन्छ भने सन् १२२३ यता अशोक चल्ल अशोक मल्ल हुँदै जितारी मल्ल, रिपू मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सुर्य मल्ल, अभय मल्लले राज्य चलाएको देखिन्छ ।

सन् १२८८ र १२८९ मा जितारी मल्लले काठमाडौंमा आक्रमण गरेको थियो भने सन् १२५५ जुन ७ मा नेपालमा ७.८ रेक्टरको भुइचालो जाँदा काठमाडौं उपत्यकाको एक तिहाइ जनताको मृत्यु भएको थियो जसमा अभय मल्ल पनि परेका थिए

सन १३१२ - १२ मा रिपू मल्लले लुम्बिनी दर्शन गर्न पुगेका थिए । उनले अशोक पिलर संगै "ओम माने पद्मे हुँ, श्री रिपूमल्लस्चीरण जयतु शाके १२३४" लेख्न लगाएका थिए ।

सन १३९१ मा मलय बर्मा (जो अभय मल्लका कोर्टको मुख्य व्यक्ति थिए) ले सत्ता सम्हालेपछि उनका छोराहरुले
शक्तिशाली खस राज्यलाई सल्यान (सुमेरु बर्मा), जाजरकोट - जुक्तिपुर (मेदिनी बर्मा), रुकुम (पिताम्बर), डुल्लु (संसरी बर्मा) मा विभाजन गरेका थिए ।

यति शक्तिशाली राज्य भएर पनि आज २१ औ सताब्दीसम्म आइपुग्दा पनि जुम्ला एक बिकट जिल्लामै सिमित हुनु ....खसवादीहरुको निम्ति दुखद अवस्था हो । लुज़ा !!

Friday, December 22, 2017

भगवान शिवको अति प्रिय नशा : धतुरो



Datura Stramonium अर्थात धतुरोको फूल । संस्कृतमा शिवशेखर भनिन्छ l भगवान शिवको प्रिय प्रिय नशाको रुपमा लिइन्छ।

पुष महिनामा यो फूल पशुपतिमा महादेवलाई चढाई पुजा गरेमा उच्च पदमा पुगिन्छ भनेर पुजा गर्ने विधिमा लेख्या रहेछ ।

प्राचीन विष विज्ञान- 'अगदतन्त्र'मा धतुरोलाई उपविष भनिएको छ। विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो। आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ। सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ।
प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ। यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुनथाल्छ। जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ। आँखा, मुख सबै रातो हुनथाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ। बरबराउने, कपडा लुछ्ने, उफ्रने, दौड्नेसम्मका पागलपन सवार हुनथाल्छ। यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुर्‍याइदिन्छ। धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको होस्। अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा हो।

ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ। यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ। शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ। पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ। ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ। औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ।

धतुरोको पात विषालु हुँदैन। कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ। छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन्। धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ। मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ। त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन्।

सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ। नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ। धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ। मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ।

Monday, December 18, 2017

गोसाईकुण्ड अवस्थित त्रिशुल धारा


भगवान शिवले कालकूट बिष खाएर गोसाईकुण्ड पुगेर तपस्या गर्न बस्दा घाँटी पोलेर यहीं आफ्नो त्रिशूलले घोपी पानी निकालेको थियो l त्रिशुलले घोपेर पानी निकालेको हुनाले यो ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ ।

यहि त्रिशुलधाराबाट बग्दै गएको नदी नै त्रिशुली वा त्रिशुली गङ्गा भन्ने गरिएको छ
त्रिशुली नदी मध्य भागबाट बहने नदी हो जुन नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो ।

Thursday, December 14, 2017

मकवानपुरगढी : ३० जना मरेर १७०० दुश्मन मारेको ठाउँ


मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुरगढी नेपालका लागि सधै रणनितीक महत्वको स्थान हो । मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ , कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको थियो । केही समयपछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भएको थियो  नेपाली सेनामा ब्यबस्थित सेना यो नै पहिलो थियो । नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै संगठन रहेको पाइन्छ । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पहिलो अवसर पनि यहि थियो ।

यस  युद्ध मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना, थोरै बन्दुक र अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए । जसले शत्रुलाई अचम्मित पारी रहेको थियो । नेपाली सेनाले राति आक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो ।

मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए । उनीहरुसँग २५०० सेना र तोपहरू, बन्दुक, राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स थियो । उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो । तिनीहरू रात्री आक्रमण गर्ने योजनामा थिए । जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घरहरू पहिले नै खाली भै सकेका थियो । उनीहरूलाई खानाको अभाव हुन थाल्यो ।

मकवानपुरगढी त्यहाँबाट ९ किमी माथि पहाडको टुप्पामा रहेको अवस्थित थियो । नेपाली सेनाले सबै बाटाहरू थुनेका थिए । तैपनि शत्रु उनीहरूलाई मकवानपुरगढी धकेल्न सफल भइरहेको थियो । झन्डै ३०० शत्रुले नेपाली सेनाहरुअझ रक्षात्मक बनाउदै २० जनवरी १७६३ मा आक्रमण शुरू गरे ।  

तर तिनीहरू त्यतिखेर दंग परे जती खेर नेपाली सेनाहरु ताप्लाखारमा बिसाइ मारी रहेका थिए ।
काजी बंशराज पांडे तलबाट उनीहरू माथि जाइ लागे ।
काजी नरसिंह बस्नेतले माथिबाट गुरगिन खाँका सेनालाई हाने ।
नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडीबाट हाने । 

तीन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बहादुरी पूर्वक लडेर शत्रुहरुलाई नास गर्न  सफल रह्यो । मिर कासीमका १७०० सेना मारिए । ३० नेपाली सेनाका जवानहरुले शाहदत प्राप्त गरे । नेपाली सेनाले शत्रुका ५०० राइफल,  दुई तोप अन्य सैन्य सामाग्री प्राप्त गर्‍यो । यसै लडाईंबाट प्राप्त श्रोत साधनपछि  नेपाली सेनालाई संगठानिक  संरचनामा ढाल्ने काम शुरू भयो ।

हेटौडाको आफ्नै कथा !!

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौंडा भएको हो । हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ ।



हेटौंडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोक्षेक्व मन्दिर,कुसमान्ड् सरोभर्, गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन् ।

Saturday, December 9, 2017

श्रीघः चैत्य


रजनी शाक्य, बोधी टिभी

नेपालका अरु चैत्यहरुलाई छोडेर स्वयम्भू महाचैत्य जस्तै झल्को दिने काठमाडौंमा अर्को एउटा चैत्य छ जसलाई श्रीघः चैत्य, काश्यप चैत्य, काशी चैत्य, शान्तिघट बज्रधातु चैत्य आदि नामले चिन्ने गरिन्छ । आकारमा स्वयम्भू महाचैत्यभन्दा सानो भएपनि धार्मिक ऐतिहासिक दृष्टिकोणले बडो महत्वपूर्ण चैत्यको रुपमा रहेको छ । काठमाडौंको वडा नं २८ शान्तिघट महाविहारमा रहेको श्रीघः चैत्य स्थापना सम्बन्धमा रोचक इतिहास रहेको छ:-

राजा नरेन्द्रदेवको समयमा काठमाडौंको क्वाःबहाः मैत्रीपुर महाविहार थँहितिमा वाक्वज्र (वाग्वज्र) वज्राचार्य नामको एक तान्त्रिक आचार्य थियो । उनको मुखबाट निस्कने शब्दहरुमा सिद्धि हुने भएकोले उनलाई वाक्वज्र भनिएको हो । उनका दुई श्रीमती र दुई छोराहरु मञ्जुपाल र महीन्द्रपाल हुन् । करुणामयलाई कामारुकाक्षबाट नेपालमा ल्याउने प्रसिद्ध आचार्य बन्धुदत्त उनको गुरु थियो । धार्मिक स्वभावका तान्त्रिज्ञ वाक्वज्र दिनहुँ बनारसको मणिकर्निकाघाटमा गएर नुहाउने, मामकी देवीको आरधना गरेर घर फर्की पुजा पाठ गरी एक छाक भोजन मात्र गर्ने रहेछ ।

त्यसबेला काशीकी महारानीको एक बौद्ध स्तूप स्थापना गर्ने इच्छा भएकोले काशी नरेशले विभिन्न देश विदेशबाट कलाकारहरु निमन्त्रणा गरी चैत्य बनाउन लगाए । तर चैत्य प्रतिस्थापनका लागि काशीमा कुनै योग्य आचार्य पाएको थिएन । पछि नेपालबाट प्रतिदिन काशीको मणिकर्णिका घाटमा स्नान गर्ने श्री वाक्वज्र वज्राचार्यलाई बोलाएर प्रतिस्थापन गर्न लगाए ।
आचार्य वाक्रवज्रले मणिकर्णिका घाटमा आफुले साधना गरी स्थापना गरेको मामकी देवीको पूर्णकलशमा जल भरेर १०८ पटक मन्त्र जप गरी काशी चैत्यमाथि जल अर्पण गरे । त्यसपछि आखेजाकी (पाँच चामल) पाँचपटक फुकेर पुजा गरे र राजालाई चैत्य प्रतिस्था भएको सूचना दिए । तर चैत्य प्रतिस्थाका लागि राजाले जोरजाम गरेका ध्वजा, छत्र, पताका चढाएर पुजा नगरी, होम नगरी चैत्य प्रतिस्था गरेको कुरामा राजा सहित प्रजागणले उनलाई मूर्खको संज्ञा दिए । यस कुराले उनी दुःखी भए तापनि उनले आफ्नो मनलाई वज्रसमान दृढ बनाइ राखे र चाँडोभन्दा चाँडो आफ्नो निर्दोषताको बोध राजालाई कसरी गराउने भन्ने सोचमा लागिरहे ।
एकदिन चैत्य स्थापना गरेको स्थानमा प्रेतात्माहरु भएको र चैत्यलाई अन्यत्र सार्नुपर्ने कुरा राजालाई बताए । कुरा सत्य नै भए पनि प्रतिस्था गरिसकेको चैत्यलाई फेरि निकालेर अर्को ठाउँमा सार्न राजा मानेन । राजा नमानेपछि आचार्य वाक्वज्रले धर्मशास्त्र अनुसार घोडा हात्तीलाई तान्न लगाउँदा कुनै दोष नहुने कुरा बताएपछि त्यस्तै गरे । तर चैत्यलाई हात्ती घोडाले अलिकति पनि हल्लाउन सकेन । तब वाक्वज्रले राजासँग आफुले चैत्यलाई अन्यत्र सार्ने अनुमति मागे । राजाले पनि उनको परीक्षा गर्न यस चैत्यलाई तानेर जहाँ लान चाहेको हो लगेर पवित्र स्थानमा स्थापना गर्न सक्छौ भनेपछि आचार्यले चैत्यलाई मन्त्र सिद्ध भएको पसूका (पाँच रंगको धागो) ले बाँधेर उचाली आकाशमार्गबाट उडाएर नेपालमण्डलको शान्तिघट भन्ने स्थानमा पलिस्था गरे । यो देखेर राजा तथा प्रजागण सबैजना आश्चार्य चकित भए । त्यसपछि राजाले उनलाई साधारण मनुष्य नभई देवशक्ति भएका हुन् भनी उनलाई समन्तभद्र नामले सम्बोधन गरे ।

शान्तिघटमा आकाशमार्गबाट चैत्य ल्याउँदा उनको उमेर ५० वर्षको थियो र ने.सं.पु. ३३० मा उनले काशी चैत्यको स्थापना गरेको अनुमान गरिएको छ । काशी चैत्य स्थापना गरेपछि नित्यपुजा गर्न उनले श्रीघःमा नै आश्विन शुक्ल चतुर्दशीका दिन शान्तिघट महाविहारको स्थापना गरेका थिए । पछि क्वाथबहालको क्वापाद्यो (शाक्यमुनि बुद्ध) को दाहिने ध्यानागारमा प्रवेश गरेर त्यहीँ अन्तध्र्यान भएको कुरा उल्लेख छ ।

काशी नरेशको आज्ञा पवित्र स्थानमा चैत्य सार्नु थियो । आचार्य वाक्वज्रले शान्तिघट पवित्र स्थान भएको हुँदा त्यहीँ चैत्यको स्थापना गरे । शान्तिघटलाई श्रीघट र शिलाको घैंटो, घडा भएकोले शिलाघट पनि भन्ने गरिन्छ । शिलाघट यम्पु प्रदेश, सुवर्णप्रणाली काठमाडौं महानगर नःघः टोलको श्रीघः चैत्यको पश्चिमतिर अवस्थित शान्तिपुरमा पलिस्था गरिएको हुँदा शान्तिघट नाम प्रसिद्ध रहेको देखिन्छ । शान्तिपुरमा ठूला साना गरी जम्मा छ वटा शिलाका घडाहरु रहेका छन् । घटको मुन्तिरको शिलालेखबाट शािन्तघट श्रीघः चैत्यभन्दा पूर्व लिच्छविकालीन राजा अंशुवर्माको समयमा नै पलिस्था भइसकेको कुरा बुझिन्छ । शिलालेख टुटफट भएको हुँदा राजाको नाम, संवत् प्रष्ट नभए पनि अभिलेखमा उल्लेख भएका शब्दहरुबाट सो शिलालेख करीब १६०० वर्ष पुरानो हुनसक्ने अनुमान इतिहासकार धनवज्र वज्राचार्यजुको रहेको छ ।

यसरी काशीबाट ल्याइएको चैत्य हुँदा ‘काशी चैत्य’ पनि भन्ने गरेको छ भने अर्को जनश्रुति अनुसार मैत्रीपुर महाविहार (क्वाः बहाः) नजिक क्वाःपुखु भएको र सोही क्वाःपुखुसँगै रहेको विहार भएर क्वाःवहाः भनिएको हो । आचार्य वाक्वज्र सो क्वाःपुखुमा दिनहुँ नुहाउने र सोही पोखरीको जलले नित्य पुजा कर्म गर्ने गथ्र्यो । पोखरी नजिकै एक भव्य मणि र्चत्य रहेको र सो आचार्य वाक्वज्रले स्थापना गरको हुनुपर्छ । मणिकर्निका घाटमा स्थापना गर्न नसकि आकाशमार्गबाट नेपालमा ल्याएर स्थापना गरेको हुँदा ‘मणि चैत्य’ भन्ने नाम भएको कुरा पनि छ ।

फेरि श्रीघः चैत्यलाई काश्यप स्वयम्भू पनि भनिन्छ । इतिहासकार धनवज्र वज्राचार्यजुको लिच्छविकालीन अभिलेख संख्या ३८० मा काठे सिम्भू नाम उल्लेख भएबाट जंगलमा स्वयम्भू जस्तै चैत्य रहेको हुँदा काठे सिम्भू भनिएकोलाई पछि काश्यप स्वयम्भू भन्न थालिएको हो कि भन्ने भान पनि हुन्छ ।

शान्तिघट
श्रीघः चैत्यको शान्तिपुर भित्र स्थापना गरिएको घट (घैंटो, घडा) भएर शान्तिघट भन्ने नाम रहेको हो । घःलाई स्थानिय नेपालभाषामा क्वंचाः भनिने हुँदा क्वंचा भएको स्थान क्वःबहाः र त्यहाँ स्थापना गरिराखेको घटलाई क्वंचाघः भनिन्छ भने क्वःबहालाई कुम्भविहार पनि भनिन्छ ।
 शान्तिपुर
शान्तिघटलाई सिल घः (शील घट) पनि भनिन्छ । सिल घःको अर्थ नियमपूर्ण घैंटो, घडा हो । नेपालभाषामा पखाल्नुलाई सिलेगु भन्ने गरिन्छ । कुनै पनि चीज सफा शुद्ध बनाउन पखाल्नु पर्दछ । घडामा पानी राखिन्छ । अतः घडाको पानीले शुद्ध सफा गर्ने अर्थमा सिल घः भन्ने गरेको हुनसक्छ । किनकी त्यहाँ कुनै पनि पुजापाठ शान्ति – स्वस्ति गर्ने बेला शान्तिघटको पानी चाहिन्छ र क्वाथबहाका वज्राचार्यहरु ‘पिंवा वने’ भनेर शान्तिपुरमा प्रवेश गरी शान्तिघटको पानी ल्याएर महाबली पुजा गर्ने गरिन्छ तर हाल उक्त घटमा पानी नभएर सुख्खा भइसकेको सुन्नमा आउँछ । अर्को कुरा बुद्ध धर्ममा शीलको स्थान उच्च रहेको छ । शील चित्त शुद्ध गर्ने महत्वपूर्ण आधारशिला हो । शीललाई नियम तथा अनुशासन पनि भनिन्छ । पालि साहित्यमा पाँच शील, आठ उपोसथ शील, दश शीलका कुराहरु छन् । शुभ कार्यमा जलले शरीर शुद्ध गरिन्छ भने शीलले चित्त शुद्ध गरिन्छ । सिल घःले यही शुद्धता र पवित्रताको पनि संकेत गरेको देखिन्छ ।

शान्तिघटलाई नेपालको स्थानिय भाषामा सिगः भन्ने गरिएको छ । पहिला सो स्थान बाक्लो सिमा (रुख) भएको जङ्गल थियो । यसरी सिमा भएको स्थान हुनाले सिमागःबाट सिगः हुनगयो । सिगःमा रहेको धर्मकीर्ति विहार निर्माण गर्न जग्गा खरिद गर्दा त्यहाँ ककीचा स्वांमा (एक प्रकारको रुखहरु) भएको कुरा उल्लेख छ ।

वास्तवमा सिगः शुद्ध नाम भएको देखिन आउँछ । किनकी काठमाडौंमा सिगःसँग मिल्दोजुल्दो अन्य किलागः, त्यंग (तिंगः), वंगः आदि नामका स्थानहरु पनि छन् । किसि लहिगु थाय् – किलागः, तिं (बेत) विरुवाको झाङ्ग भएकोले तिंगः भयो । गःले बासस्थान जनाउँछ । किलागः हात्ती पाल्ने मानिसहरुको बासस्थान भयो । तिंगःको विषयमा पनि यस्तो जनश्रुति रहेको छ – तिं विरुवाको झाङ्गमा एक स्थानिय ज्यापुले गणेश भगवान नाचिरहेको देखेको थियो । उनले देखेपछि गणेश त्यहीँ नै सिद्ध भएर गएको थियो । पछि त्यहाँ गणेश भगवान स्थापना गरी गणेश भगवानको सेवार्थ मानिसहरु त्यहीँ बसोबास गर्न थाले । जहाँ बसोबास हुन्छ त्यहाँ पानीको आवश्यकता हुन थाल्यो । जङ्गल भएको हुँदा पानीको मुहान सजिलै पाउने भयो । धर्मसेवा गर्ने मनसाय भएकाले कुवा, इनार बनाउने जस्तै पानीको मुहान रहेको ठाउँमा शिलाका घटहरु बनाएका हुन सक्छन् । सिगःको शिलाघटमा पहिले पानी हुनु तर अहिले सुख्खा हुनु, सिगःमा बाहेक अन्य वंघः, नःघः, न्हुघः आदि स्थानमा पनि शिलाघट रहनुले यही संकेत गरेको अनुमान हुन्छ ।

हाल जनमानसमा श्रीघः नाम बढी प्रचलनमा रहेको देखिन्छ । शायद सिल घः उच्चारण गर्दागर्दै छोटकरी हुँदै श्रीघः हुन गएको हो कि जस्तो भान हुन्छ । तर श्रीघः नाम पनि सुहाउँदो नै भएको देखिन्छ । किनकी श्री शब्दले शीर्ष, उच्च, आदर, सम्मान, श्रेष्ठ भन्ने बुझाउँछ । पानी बिना संसारका कुनै पनि सजीव निर्जीवको अस्तित्व रहन्न । फेरि पृथ्वी पानीमाथि नै अवस्थित छ । अनि पृथ्वीमा हामी बाँचिरहेका छौं । अतः यस्तो जलपूर्ण घडालाई सम्मान गर्न योग्य, पुजा गर्न योग्य, शुद्ध, पवित्र, उच्च, शीर्ष भनी श्रीघः सम्बोधन गरिएको पनि एकदम उचित देखिन्छ ।

श्रीघः चैत्यको वर्तमान अवस्था
समयको परिवर्तनसँगै श्रीघः चैत्य पनि पटकपटकको जिर्णोद्धारपछि हालको स्वरुपमा परिवर्तन भएको देखिन्छ । चैत्य परिसर भित्र पस्ने पूर्वमा पञ्चबुद्ध स्थापित ठूलो ध्वाखा (ढोका) रहेको छ । ध्वाखाको दायाँबायाँ घरहरु रहेका छन् । मूल प्राङ्गण पुगेपछि दायाँ उत्तर दिशामा एक गुम्बा, बुद्धको ठूलो मूर्ति र धर्मकीर्ति विहार निर्माण गरिएको छ । पश्चिमतिर एक थेरवाद विहार र प्रभात स्कुल रहेको छ । दक्षिणतिर भजन गर्ने स्थान, क्वापाद्यः प्रमुख रहेको छ ।

प्राङ्गणको बीच भागमा पञ्चबुद्ध स्थापित करीब ६० फिट जति अग्लो श्रीघः चैत्य रहेको छ । चैत्यको वरिपरी स–साना विभिन्न शैलीमा निर्माण गरिएका उद्देश्यिक चैत्यहरु स्थापित छन् । स्वयम्भू महाचैत्यमा जस्तै पश्चिम उत्तर कुनामा अजिमाद्यः (हारती) को मन्दिर रहेको छ । यी बाहेक बुद्ध, लोकेश्वर, वज्रसत्व, महामञ्जुश्री, गणेश, महाँकाल, कुलेश्वर महाद्यः आदिका मूर्तिहरुले श्रीघः चैत्य परिसर शोभायमान छन् ।

ORIGINAL URL :http://bodhitv.tv/article/171208b/

Monday, December 4, 2017

दोलखा : भैरब र कुमारी (बालकुमारी) जात्रा

दोलखा शहरको पुरानो बस्ती दुंगल हालको भीनपा–४ दुंगलको नामले प्रख्यात छ । जुन ठाउंमा त्यसताका २ जना सिन्धु र बिन्दु आचार्य नाम गरेका २ जना तान्त्रिक दाजुभाइ थिए । ती दुई दाजुभाइ दिनदिनै तामकोशीको किनारमा गएर नुहाउने अनि चोखो पानी ल्याई नित्य पूजा गर्दा रहेछन् । यसरी तामकोशीमा जादा एकदिन अति राम्री ३ वटी कन्या देखेछन् यसरी देखेपछि तान्त्रिक शक्तिले ध्यान गरी हेर्दा देवीहरु भनी थाहा पाएपछि तान्त्रिक शक्तिबाटै ती तिनवटी कन्यालाई समाती दोलखा ल्याएछन् । साक्षात देवीका तीन दिदीबहिनीहरु त्रिपुरा सुन्दरी, बालकुमारी र कालिञ्चोक माई श्री भीमेश्वर मन्दिरको पछाडिपट्टि रानीवनसंगैको ओढारमा वासस्थान गरेका थिए । पछि त्यसको वरिपरि जनावर पशुपंछी मानिसहरु दिन–प्रतिदिन मर्दै गएकाले स्थानीय वासिन्दाहरु होहल्ला र आतंकित हुंदै गयो । यसरी दिन दिनै यही क्रम जारी रहेपछि तान्त्रिक विद्यामा निपूण गुरुको आत्मिक दृष्टिकोणबाट हेर्दा देवी माताहरु खुल्ला ओढारमा बस्नु परेकोले यस्तो दैवीप्रकोप हुन आएको होे भनी पत्ता लगाएपछि यी तीनै दिदीबहिनीहरुलाई एउटै ठाउंमा राख्न नहुने विचार माताहरुसित प्रकट गर्दा देवी माताहरु सहमतीको विन्दुमा पुगेकाले आचार्यले आ–आफ्नो वस्ने ठाउंको वारेमा विन्ती प्रकट गर्दा जेठी दिदी त्रिपुरा सुन्दरी खोला देख्ने ठाउं र जंगलको छेउमा वस्ने निधो भए वमोजिम हालसम्म त्यही रानीवनको नजिक अर्थात ओढार संगै अवस्थित छ (हाल जुन ठाउं भीनपा–४, दुंगलमा पर्दछ) । माहिली बहिनी बालकुमारी दिदीसंगै आसपासमा वस्ने सहमती कायम गरिन भने कान्छी वहिनीले हिमालको मधुर मुस्कान देख्ने र आफू बसेको ठाउंबाट दिदीको दैनिक दर्शन गर्न पाउने ठाउंमा विराजमान हुने सहमतीले हाल दोलखा देखि करीव ३ कोष टाढा उच्च पहाडमा सुमद्र सतहदेखि १३,६०२ फिटको उच्चाईमा अवस्थित छ । यसरी देवी माताहरुलाई आ–आफ्नो इच्छा अनुसार बसाईयो । यसरी बसाई सकेपछि देवी माताहरु मध्ये बालकुमारी अति चञ्चल स्वभावकी थिईन । जुन सुकै बेला रातो पहिरनमा शहर बजार घुमी रहने, यसरी सधै रातो पहिरनमा घुमी रहने भएकोले बालकुमारी देवी मातालाई रातो (हेगउ) कुमारी पनि भन्दछन् । यसरी आफुलाई मन लागेको बेला निस्कने हिडडुल गर्ने भएपछि केटाकेटी, ठुलो मानिस दिनदिनै मर्न थाले यसरी दिन प्रतिदिन मर्न थालेपछि दोलखा शहरमा हाहाकार मच्चियो । यो समस्या समाधानका लागि स्थानीय बासिन्दाहरु बीच छलफल एवं सल्लाह भयो र सबैको सल्लाह र सहमतीमा त्यसताका तान्त्रिक बिद्यामा निपुण दोलखावासी बिद्यानन्दले अन्तदृष्ट्रिबाट पत्ता लगाउंदा बालकुमारी देवी माताबाट यस्तो गराएको भन्ने थाहा पाएपछि क्षमा पूजा गरी देवी मातालाई जगाई नरसंहार भएको बेलिबिस्तार गर्दा माताबाट आज्ञा भएनुसार आफुलाई कसैले हेरबिचार नगरेकोले गर्दा यस्तो बिपत्ति हुन गएको भनी जवाफ पाएपछि तान्त्रिकको आफ्नो चलाखिपनबाट अवदेखि मानव जातिलाई दुःख नदिएमा सम्पूर्ण ब्यवस्था हुनेछ भनी तान्त्रिक र देवी माता बीच बाचा बन्धन भयो ।  यसपछि तान्त्रिकले आफ्नो तान्त्रिक शक्तिबाट मातालाई खाडलमा पुर्ने योजना बनाए त्यसपछि दीक्षितहरुलाई पूजाको सामानहरु तयार पार्न लगाई ७–८ फिटको खाडल (हालको मन्दिर अगाडि) खन्न लगाई नित्यकर्म अनुसार पूजाआजा गरी त्यस खाल्डोलाई छोप्ने ढुंगाको ढकनी बनाई राखि दुवैलाई सिक्रीले बाध्ने र जो अगाडि सिक्री चुडालेर बाहिर निस्कन सक्दैन त्यसलाई सदाको लागि पुर्ने शर्तमा बाचा भए । यसपछि देवी मातालाई फलामको साङ्लाले ढुंगामा अंकुसे लगाई बाँधे र आफुलाई चामलको पिठोको साङ्ला बनाई बाँधे । देवी माता फलामे साङ्लाको जालमा फसिन भने तान्त्रिक आफु पिठोको साङ्लाले बा“धेको कारणले सजिलै साङ्ला चुडालेर बाहिर निस्किए । देवी मातालाई यो कष्ट भएको असह्य भएर केही अनर्थ गरी हाल्ने हो कि भनी तान्त्रिकले जुन दिन तामाकोशीको ढुंगा आ“प हुन्छ, भंगेराले पाईला चाल्छ र भुटेको भटमास उम्रेला त्यस बेलामा मात्र बाहिर निस्कन पाउने बाचा गराई सदाको लागि ढकनी बन्द गरी दियो । यसै बेलादेखि दिक्षाकर्म, मन्त्रतन्त्र प्राप्त गरेका ब्यक्तिहरु बाहेक अन्य ब्यक्तिहरु जान नहुने भयो । जुन मान्यता हालसम्म पनि रहिरहेको छ । तर शिवभक्ति (घर्ती) परिवारका सदस्यहरु भने आफ्नो कुल देवता मानी जाने गर्दछन् ।


शिवभक्ति परिवारको कुलदेवता कसरी भयो र बालकुमारी देवी माताको जात्रा कसरी शुरुवात भयो भन्ने सम्बन्धमा छुट्टै किम्बदन्ति रहेको पाईन्छ । शिवभक्ति परिवारको पुर्खोली बजै (ब्वातिन) शिवलक्ष्मी दिनहु जसो देवी चढी काम्ने गर्दी रहिछिन् । दोलखा शहरमा कुनै न कुनै रोगको निहुले केटाकेटी, ठुलो मानिसहरु मर्न थाले । यसरी केटाकेटी, ठुलो मानिसहरु मर्न थालेपछि दिनदिनै देवी चढ्ने ब्वातिन शिवलक्ष्मीलाई गोरेबाबुका पुर्खाले चुल्ठो समाती दिसामा दाहिने खुट्टाले टेक्दै बुढीको मुखमा हान्न थाले । बालबच्चा, ठुलो मानिसलाई दुःख दिने तँ बोक्सी बुढीलाई भनी लात्तले हान्दै गरेको बेलामा देवी चढी बक्न थालेको ब्वातिनले म बोक्सी होईन र मैले कसैको बालबच्चा पनि मारेको होइन म निर्दोष छु म बालकुमारी देवी हुँ मलाई तान्त्रिकले छलले बाचा गराई म माथि विश्वासघात गरी फलामे साङ्लाले बादी जमिनमुनी खाल्डोमा पुरी ढुंगोले छोपी आफु भागे । यसरी म अपमानित भएको छु । तान्त्रिकले मेरो लागि केही गरेन यस माथि फोहर दिशा मेरो मुखमा कोची अर्को अपमान तिमीहरुले ग¥यौ । त्यसले गर्दा म तिमीहरुलाई सराप दिन्छु भन्दै तिमीहरुको सन्तान दरसन्तानको कुर्कुचा फुटेर जाओस् भनेर सराप दिए । यसपछि तान्त्रिकले अन्तदृष्ट्रिबाट हेर्दा बालकुमारी देवी माता रहिछिन् भनी थाहा पाई क्षमा मागे । यसपछि यदि मानव जातिलाई नोक्सान नगर्ने हो भने बर्षमा १ पटक ३ दिन गाईजात्राको भोलिपल्ट द्वितिया, तृतीया र चौथीसम्म जात्राका रुपमा शहर परिक्रमा गर्न पाउने र जात्रा मनाउने बाचा गरे । यसरी बर्षमा १ पटक ३ दिन जात्रा निकाल्ने चलन रही आएकोमा पछि पञ्चमी, षष्ठी २ दिन थप गरी ५ दिन जात्रा मनाउने चलन चलिआएको छ । जुन हालसम्म पनि यथावत भएको छ ।


जात्रा कसरी कहा“बाट संचालन गर्ने भन्ने सम्बन्धमा कुमारी देवीमाताबाट आज्ञा भए अनुसार माथिल्लो टोलको थात बिहार्छें जाने मुखको घरमा एक ब्वातिन (घर्तिनी परिवारको सदस्य) छ जुन ब्वातिनले बताए अनुसार १ जना कुमारी, १ जना कालो बर्ण, लुगा पहिरन भएको भैरब,  १ जना सेतो जामा लवेदा शुरुवाल लगाएको हातमा तरवार र ढाल लिएका राजा इन्द्र, १ जना घोडाचढी (सर गौ), १ जना नायिका (नकिन), १ जना नाक काट्ने (नास डेङुगु), १ जना जाल फाल्ने (जाल ङकु ) १ धागो मिलाउने (थाजि यङ्गु), २ जना कालो भैरबको साहन बाहन, २ जना रातो कुमारीको साहन बाहन २ जना ध्वजा पतका बोक्न १ जना भूत प्रेत पन्साई बाटो खुल्ला गराउने समेत गरी जम्मा १५ जनाको गण हुनु पर्ने जस्मा १४ जना शिवभक्ति परिवारको र १ जना बज्रचार्य गुभाजु परिवारको पुरुष सदस्य हुनु पर्ने, रातो कुमारी एवं उनको साहन बाहनहरुलाई रातो पहिरनको र कालो भैरब एवं उनको साहन बाहनलाई कालो पहिरनको लुगा हुनु पर्ने तथा मुकुन्डो, घर गहना हुनु पर्ने बताए । यसको साथै भैरब र कुमारीबाट पूजा लिदा जुन घरबाट पुजाआजा हुन्छ त्यस घरबाट जान आउने बाटोमा ४ वटा सिडि हुनु पर्ने र पहिलो सिडीमाथि बाया“ खुट्टा भैरब र कुमारीले राखेर पुजा लिने भनी बताए । अहिले पनि कुमारी जात्रा नाच्दै जादा भीमसेन डब्बली उत्तर तर्फ समाजसेवी स्वर्गिय खड्ग बहादुर श्रेष्ठको घरबाट यो पूजा थाप्ने चलन रहेको छ । तर अन्य घरबाट यस्तो पूजा थाप्ने चलन छैन ।


बालकुमारीको जात्रा त निकाल्ने तर कसरी कहिले निकाल्ने भन्ने बिषयमा स्थानिय बासिन्दाहरु बीच छलफल र सर–सल्लाह भयो । छलफल र सहमती अनुसार श्रावण सङ्क्रान्तीदेखि दक्षिणायन लाग्ने र यस महिनादउखि देवगण तल पर्ने र भूतप्रेत दानवगण माथि पर्ने भई दावगणले देवगण मानवहरुलाई खुःख दिने भएकोले दावगण भूतपे्रतलाई हटाउन भाद्र कृष्ण पक्ष द्धितियाको रात अर्थात रक्षाबन्धन पुर्णीमाको भोली पल्ट देखि भैरब कुमारीलाई निकाली जात्रा संचालन गर्ने सहमती भयो । यसको साथै जात्रा निकाल्ने घरहरु २ ठाउंमात्र भेटिन्छ । एक पिंगलटोल हाल (दोलखा बजार भीनपा–४) र टसिचाटोल (दोलखा बजार, भीनपा–२) बाट ३÷ ३ वर्षको आलो पालो गरी निकाल्ने चलन छ । यो हालसम्म पनि रहि रहेको छ ।  तर हाल आएर भीनपा–४ स्थित पिंगलटोलको भैरव कुमारी निकाल्ने घर जिर्णोवस्थाको स्थितीमा पुगेकोले भीनपा–२, टसिचाटोलबाटमात्र बर्षेनी भैरब कुमारी जात्रा निकाल्दै आएको छ । यस जात्रामा कसाई बाजा अर्थात कसाईबाट बजाईन बाजा, १२ जना कुसुलेले सहनाई फुक्ने प्रचलन रहेको छ ।


जात्रा निकाल्नु भन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गण एवं साहन बाहनहरुलाई देवतादेवी अनुसार लुगा लगाउन लगाई पगडी बा“धी सगुन दिएर मात्र बाहिर निकाल्ने चलन रहेको छ । सगुन लिने बेलामा सगुन बाजा बजाईन्छ । यसपछि पूजाआजोको बिधि सिद्धिएपछि सबभन्दा पहिले राजा इन्द्र र नकिन हुने निस्कन्छ, त्यसपछि अन्तिममा भैरब कुमारी निस्कन्छ । यसपछि जाल फाल्नेले जाल फालेको अभिनय गर्ने, घोडा चढ्ने राजाको पछिपछि लाग्ने, नाक (नास) काट्नेले बुच्चे खुकरी र रगत थाप्ने ढुंग्रो लिनेले खुकुरी नचाउंदै नाच्ने गर्दछ । त्यसपछि भैरब बाजाको तालमा नाच्छ भने कुमारी भैरबको पछाडी पछाडी बसि नाच्छ । कुमारी जात्रामा भैरब कसरी भन्ने खुलदुली हुन सक्छ यस सन्दर्भमा बालकुमारी अति चञ्चल भएकोले कुनै बिध्वंश कार्य गर्न सक्छ भनी नियन्त्रणका लागि पतिका रुपमा भैरबलाई समावेश गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । त्यसैले भैरबले जहिले पनि बाल कुमारीलाई जहिले पनि आफ्नो पछाडी पछाडी मात्र राखेको हुन्छ कहिबाट अगाडि बढ्न लागे अगाडि बढ्न दिदैन आफ्नो पछाडी पछाडी मात्र लाने गर्दछ ।


जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छ र मानव जातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ । जात्रा शुरु भई केही पर पुगेपछि भूत प्रेत, दानव राक्षसहरु आई भैरब कुमारीको बाटो छेक्ने, जात्राको नक्कल गर्ने र बाधा पार्ने गरी खिसी गरेकोले भैरब र कुमारीले जोगिन देउ हालको दोलखा बसपार्कसम्म भुत प्रेत, दानवराक्षसलाई लखेटरे लगेको थियो भन्ने मान्यता रहेको छ भने दोश्रो देखि पहिलो दिनको जात्रामा भुत प्रेत, दानव राक्षसले अवरोध गरेको कारण दोश्रो दिन गुभाजुले एउटा मानिसलार्य बारन अर्थात पुजा एवं खाद्य सामान बोक्ने खर्पन जस्तो बोकाइृ सबभन्दा अगाडि बसी बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दावन राक्षसहरुलाई पन्साउदै र जस्ले जे माग्छ त्यही वारनबाट चित्त बुझाउदै बाटो दाया“ बाया“ पन्छाउदै जान्छ भन्ने स्थानिय बुढापाकाहरुको भनाई रहेको पाउंछौं । यसरी भुत प्रेत, दानव राक्षसले दुःख दिन्छ भनी भैरबले नक्छें टोलको बुद्धस्तुपको छेउबाट र माथिल्लो टोलको सरचुका भन्ने ठाउंबाट सिठि फुकि सहरपा डांडा तिर हेरी बोलाई सर्तकता गराउंछ भन्ने भनाई रहेको छ जुन हालसम्म पनि प्रचलनमा रहेको छ । दोश्रो दिन देखि भैरबको जिउमा करिव डेढ मिटर लामो तामाको पाताको लिङ्ग बा“धिएको हुन्छ र एक जनाले समातेको हुन्छ । यसरी दोश्रो दिन देखि लिङ्ग भैरबले राख्नुमा पनि किम्बदन्ती रहेको पाउंछों । पहिलो दिन भैरब कुमारी जात्रामा कुमारीलाई मात्र पूजाआजा गर्ने र भैरबलाई वास्ता नगरेकोले भैरब रिसाई दोश्रो दिन देखि यहि लिङ्गमा पूजाआजा गर्नु भनी लिङ्ग फैलाई दिएको मानिन्छ ।


भैरब कुमारी जात्रा दोलखा शहर पिंगल टोलको घरबाट निकाल्दा पिंगल, राजकुलेश्वर, बहिर, श्यामसुन्दर, डोकलुङा, टसिचा, कोर्छे, गणेश टोल, पालचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल हुंदै पिंगल घरमा प्रवेश गर्छ भने टसिचाबाट निकाल्दा कोर्छे, गणेश टोल, पलाचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल, पिंगल, बहिर, श्यामसुन्दर, डोकलुंगा हुंदै टसिचामा प्रवेश गर्दछ । यो जात्रा रातीको समयमा हुने हुंदा स्थानिय एवं बाह्य भक्तजनहरुबाट ब्रत लिने, मईनटोल बाल्ने, गोकुल धुप, सिन्के धुप बाल्ने गर्दछन् । यस जात्रामा दिवङ्गत पितृहरुको आन्म शान्तीको लागि तथा आफन्तहरुको सुख शान्ति एवं दिर्घायूको कामना, नौ ग्रह शान्तीको कामनाका साथ महिलाहरु ब्रत बस्ने गर्दछन् । भैरब कुमारी मांसाहारी देवता देवी भएकोले चिउरा मासु लगायत सबै किसिमका तरकारीहरु समावेश गरिन्छ । यो जात्रा रातभरी नाच्ने जात्रा भएकोले जति जति पछि पछि दिन हुन्छ त्यति त्यति उज्यालो भएपछि मात्र भित्र जाने गरिन्छ ।


भैरब कुमारी जात्रा कहिले देखि शुरु भयो भन्ने प्रमाण त भेट्टिएको त छैन तरपनि स्थानिय बयोबृद्धहरुको भनाई अनुसार बि.सं. १७८२–८३ देखि शुरुवात भएको मानिन्छ । भैरब र कुमारी लगायत अन्य साहन बाहनहरुले लगाईने मुकुन्डो सुनको बनाउन लगाई जात्रा निकाल्न खोजे तर धातुबाट बनेको मुकुन्डो लगाई जात्रा निकाल्ने बेलासम्म पनि भैरब कुमारीलाई कम्पन छुट्ने अर्थात शरिरमा देवता पस्ने भएन त्यसपछि धातुको मुकुन्डो हटाई साविककैको मुकुण्डो प्रयोग गरेपछि जात्रा शुरु भयो । साविकको लाहाबाट निर्मित मुकुन्डोलाई ब्यक्तिगत तथा संघ–संस्थाहरुबाट बर्षेनी मर्मत सुधार भई आएको छ ।

श्रोत : http://awajonline.com

 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...