तराईका जिल्लाहरुमा नयाँ बर्षको सुभारम्भको बिहानैदेखि सिरुवा पर्व मनाउने गरिन्छ । आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्ने, चुलो पूजा गर्ने र
वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्ने र सडक सरसफाइगर्ने यस पर्वको विशेषताहरु हुन् l
यस अवसरमा बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा
जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिने गर्दछ ।
कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नु नै मुख्य आशय रहेको यस पर्व मैथिली समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि
भन्ने गर्छन् ।
यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको
पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा
राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ ।
वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।
सो अवसरमा घरका देउताका साथै चुलो र
चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ ।
प्रसादका रुपमा चढाइएका ‘बासीभात’ नयाँ माटाको भाँडोमा एक दिनअगावै
पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा
रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार,
सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।
गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन
र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि
पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान
गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।
यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै
पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ
गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।
यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा
खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना
धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य
समुदायले मासु पनि खाने गर्छन् ।
श्रोत : दैनिकीबाट साभार