Sunday, April 2, 2017

रातो मछिन्द्रनाथको भोटो जात्रा


पाटनमा वरदेव राजाको शासनकालमा कर्कोटक नागराजाको श्रीमतीको आँखा दुखेछ । अनेक उपाय गर्दा पनि निको नभएपछि, भक्तपुरको नामी बुढा बैद्यलाई भेट्न भक्तपुर गएछ । मानवरुपी नागराजले बाटोमा बुढा बैद्यलाई भेटेछ । मानवरुपी नागराजले बुढा बैद्यलाई लिएर टौदहमा पुगेपछि नाग रुप लिएर बुढोलाई लिई टौदह भित्र पसेछ । भित्र सुवर्णमय ठुलो दरबार रहेछ । बुढाले चारपाँच दिनसम्म औषधी गरी निको बनाईदिएपछि, नागराजले खुसी हँदै औषधी गरेबापत के चाहिन्छ माग भन्दा, बुढा बैद्यले त्यसबेला नागराजले लगाएको मणीजडित भोटो मागेछ । नागराजले मुसुमुसु हाँसी भोटो फुकाली दिएछ र अन्य धन सम्पत्ति दिई बिदा गरेछ ।

बुढाले घर फर्केपछि, त्यहि भोटो लगाएर खेतमा काम गर्न गएछ । दिउँसो गर्मी भएपछि, भोटो फुकाली खेतको आलीमा राखि काम गर्न थालेछ । एकजना भुतले भोटो देखेर भोटो लिई भागेछ अनि बुढोले भेटाउन नसक्ने गरी गायब भएछ ।

समय बित्दै जाँदा श्री रातो मच्छिन्द्रनाथको रथ जात्रा हुँदा श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा रहेको बेला, त्यो भोटो चोर भुत मच्छिन्द्रनाथको जात्रा हेर्न अन्य भुतहरुसँग आएछ । उनीहरु अदृष्य भएर त्यहाँ जात्रा हेर्न आएका भक्तजनहरुको सरसामानहरु चोरी गरीरहेका थिए । नागराजा पनि मानवरुप लिएर जात्रा हेरिरहेका थिए । बुढो बैद्य पनि जात्रा हेर्न आएछ । 

भक्तजनहरुको सामान हराएकोले ललितपुरको एकजना बज्राचार्यले मन्त्रगरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरु कहीँ जान नसकेर देखिन थाले । यही मौकामा भोटो लाएको भुतलाई बुढाले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणीमय भोटोको प्रभावले भुत बलियो भई बुढालाई कस्त दिएछ । बुढाले गुहार मागेछ । मानवरुपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनी भुत भुईँमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो बुढोलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकोले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्तबुझेकोले श्री मच्छिन्द्रनाथलाई चढाएछ । 

यो समाचार सुनेर तत्कालिन राजा वरदेवपनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो बर्षेनि जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पल्ट देखाउन आदेश दिएछ । प्रथम पल्ट देव, मनुष्य, नागलोकलाई; दोष्रो पल्ट काठमाडौँ, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथंचक्र भरिया र कर्कोटक नागराजा,  तेश्रो पल्टको भुत बुढा बैद्य मन्त्र गर्ने बज्राचार्य सहित यक्ष लोकलाई देखाउनु भनेछ । यो कुरामा सबैलाई राजी गराइ साक्षी राखी नागराज अलप भएछ त्यसबेला देखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किंम्बदन्ती छ ।

मानिसहरुमा यो भोटो कस्को हो भनि भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कस्को हो भनि देखाएको नभई कर्कोटक नागराजाको आदेश अनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किंम्बदन्ती पाइन्छ ।


श्रोत : किरण गाइजु

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...