Monday, March 20, 2017

बिरुपाक्षको कथा



मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग

बिरुपाक्षको मुर्ति
उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक्ष नामक एक सुन्दर किराती थिए । बिरुपाक्ष १२ बर्षको उमेरमा आफ्नी आमासँग खटपट भै घर छोडेर हिँडे । धेरै समयसम्म छोराको बाटो हेर्दा हेर्दै दिक्क बनेका आमा पनि एकदिन घर छोडी फिरन्ते भएर हिँडिन् ।

कालान्तरमा कर्मभोगको सिलसिलामा एकदिन एक जंगलमा आमा छोराको भेट भयो, तर दुबैले एकले अर्कालाई चिनेनन्  । एकान्त ठाउँ, रातको समय, आमाको सुन्दरता, दुबैमा कामतृष्णा जागृत भयो र अन्तत: दुबै बीच सहबास भएछ । कुरै कुरामा एक अर्काको परिचय गर्ने क्रममा दुबैले आफूहरू आमा छोरा सम्बन्ध रहेको थाहा भएछ र ठूलो पश्चाताप गर्दै आफूले गरेको पापकर्म मोचन गर्न बिरुपाक्ष पशुपति महादेवको शरणमा पुगे ।
बिरुपाक्षको सम्पूर्ण पापकर्म सुनेर महादेवले १२ धार्नी तामा (Copper) लाई पगालेर त्यसको झोल बनाई पियो भने पाप मोचन हुन्छ भनेर उपदेश दिएछ । महादेव जस्तो भगवानले भनेको कुरा नपत्याउनु नि कसरी, जंगलमा गएर एउटा ठूलो भाँडोमा १२ धार्नी तामा पकाउँदै उमाल्न थाले । धेरै बेरसम्म पकाई सकेपछि अब त तामा पग्लियो होला, खान लाएक भयो होला भन्दै ढकनी खोलेर हेरेछ । दुर्भाग्य, पग्लिएको तामाको रापले बिरुपाक्षको अनुहार कुरूप हुने गरी जलेछ । हतार हतार ऐना खोज्दै आफ्नो अनुहार हेर्दा बिरूप भै सकेको अवस्था थियो ।
बिरुपाक्ष मन मनै कुरा खेलाउन थाले, जाबो रापले नै यत्रो बिरूप हुन्छ भने त्यो झोल खायो भने त म भष्म नै हुने रहेछ । यस्तो नि महादेव हुन्छ ? भन्दै महादेव प्रति अविश्वास, अपत्यार, रिस राख्दै जंगल छोडेर हिँडे र अन्तत: बुद्धको शरणमा पुगे ।

बुद्धले बिरुपाक्षको सबै घटनाहरू सुनेपछि एक निर्मल जपमाला दिँदै जपमाला नखुइलेसम्म एकाग्र चित्तले जप गरेर बस्न उपदेश दिए । जब जपमाला पूर्ण रूपमा खुइलिन्छ, तिम्रो पापकर्म मोचन हुन्छ भन्ने बुद्धको उपदेश पाएर बिरुपाक्ष बागमतीको किनारामा बुद्धले दिएका मन्त्र घोक्दै जप गर्न बसे ।

लामो समयसम्म पनि जप गर्दा पनि जपमाला नखुइलेपछि निराश हुँदै बाहिर निस्के । खोलाको छेउमा एउटा माग्ने बच्चा एक ठूलो फलामको पाता ढुंगामा घोट्दै दिए । अचम्म लागेर के गरिरहेको भनेर सोध्दा “मेरो लुगा सार्है पुरानो भो, म यो फलामको पाता घोटेर सियो बनाउँछु र लुगा सिलाउँछु” भन्ने जवाफ पाए । माग्ने बच्चाको यस्तो जवास सुनेर बिरुपाक्ष निकै खुसी भए । जाबो सानो बच्चाले त यस्तो उद्योग गर्न सक्छ भने म मात्र के कम भन्दै पुन: मन्त्र  घोक्दै जपमाला जप गर्न थाले ।

अर्को लामो समयसम्म जप गर्दा पनि जपमाला खुइलेन । पुन: निराश हुँदै बाहिर निस्के । दुई जना मान्छेहरू धागोले फटकिरी काट्दै गरेको देखे । अर्को ठाउँमा रुखलाई एकै चोटी बन्चरोले काट्यो भने ठूलो बेदना हुन्छ भन्दै सियोले घोच्दै रुखलाई ढाल्न खोज्दै गरेको दृश्य देखे । निराश हुँदै फिरन्ते पाराले  डुल्दै जाँदा एक ठाउँमा चराहरू आफ्नो चुच्चोले तलाउको पानी ओसारी रहेको पनि देखे । यस्ता विविध क्रियाकलाप देखेर बिरुपाक्षलाई मनमा बुद्धले आफूलाई धेरै ठूलो काम अर्‍याएको रहेनछ, जाबो यस्ता माग्ने बच्चा, सामान्य मानिस, चरा जस्ताले त यत्रो कामहरू सिद्ध गर्न सक्छ भने म किन नसक्नु भन्दै गुरुको आज्ञाअनुसार पुन: नयाँ उत्साह साथ जप गर्दै बस्न थाले । यसरी लामो स
मयसम्मको जप, थुप्रै अधैर्यहरू पार गर्दै उत्साह र निश्चयका साथ अन्तत: बिरुपाक्षको जपमाला खुइलेर गए र पापकर्मबाट मुक्त हुँदै खुसी भए ।

पापकर्मबाट मुक्त भए पनि बिरुपाक्षको मन चाहि शान्त रहन सकेन । यस्तो नि महादेव हुन्छ ? दु:ख दिने पनि महादेव हुन्छ भन्दै बिरुपाक्ष रिसाउँदै जहाँ जहाँ शिवलिंग छन्, उतै उतै प्रहार गर्दै, लात्ताले हिर्काउँदै हिड्न थाले । यस्तै ताल हो भने  महादेव अब आफूलाई पनि हिर्काउन आउँछ भन्ने ठानेर महादेव बुद्धको शरणमा पुगे l महादेव आपतमा परेको देखेर बुद्धले महादेवलाई पञ्चबुद्ध अंकित मुकुट लगाउन दिए l रिसाएका बिरुपाक्ष महादेवलाई हिर्काउने भन्दै महादेवको अगाडि आए तर पञ्चबुद्धको मुकुट लगाएको देखेर आफ्नो गुरु सम्झेर बन्दना गर्दै आफ्नो बाटो लागे ।

यसै दिनको सम्झनामा मुख अष्टमी अर्थात मुखअष्टी परम्परा आज पनि चलनचल्तीमा रहेको छ  । स्वयम्भूमा पञ्चबुद्ध अंकित मुकुट लाएका शिवको मूर्ति अहिले पनि देख्न सकिन्छ । बिरुपाक्षको मूर्ति पशुपति र स्वयम्भूमा भेटिएको छ । पशुपतिमा बागमती किनारामा यसै कथालाई अनुस्मरण गर्न बिरुपाक्ष जप गर्दै बसेको प्राचिन मूर्ति आज भोलि पनि हेर्न सकिन्छ । यसै ठाउँमा बिरुपाक्षको आमाको शालिक पनि राखिएको छ, यिनलाई मूर्ति विद्वानहरूले किराती राजमाता भन्ने गरिएको छ भने कसै कसैले यक्षणी भनेर पनि भनिएको छ । बिरुपाक्ष र बिरुपाक्षको आमा दुबैले पापकर्म शान्त गर्न शान्ति तीर्थको सन्नीवर्ती आर्यघाटमा सँगै बसेर तपस्या गरेको भन्ने भाव देखाउन खोजिएको छ । यता स्वयम्भूमा अवस्थित बिरुपाक्षको मूर्तिले भने पापकर्मको बन्धन बाट मुक्त भइ स्वयम्भू पर्वतमा पर्वतारुढको आसनमा बसी पापकर्मबाट सतर्क भइ स्वयम्भू महाचैत्यप्रति भक्तिभावपूर्वक बसेको देखिन्छ । बिरुपाक्षको यो मूर्ति जति जति जमिन छोडेर माथि आउँछ, उति उति नै कलि बढ्छ भन्ने भनाई रहेको छ । यसै कथा अनुरूप पशुपतिको शिवलिंग बाहेक अन्यत्र धेरै ठाउँमा शिवलिंग हल्का ढल्केको छ भन्ने जन विश्वास रहेको पाइन्छ ।

1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...