Sunday, March 15, 2020

सर्पलाई दुध चढाउनु गलत


सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमाए । 

उत्ता दूध खाईसकेपछि सर्पलाई प्यासले छटपट हुन्छ । सर्प जस्ता घिस्रने जन्तुहरुमा Mammary Gland हुंदैन । दूध खाएपछि सर्पलाई Dehydration र Stress हुन्छ र ३० देखि ४५ दिनभित्र मर्दछ । सायद, तराईमा सर्पले धेरै दु:ख दिने भएकोले सर्पहरु बाहिर निस्कने समय अनुसार सर्पलाई मार्ने उद्देश्यले यो चलन चलेको हुन सक्छ । दूध महादेवलाई चढाउने हो, घाँटीमा झुण्डेको सर्पलाई हैन ।

काठमाडौं उपत्यका - हरियाली बृक्षरोपण

किर्तिपुर


कुनै बेला काठमाडौ उपत्यका वरपर रहेका डाँडाहरु किर्तिपुर, स्वयम्भू, शिवपुरी, नागार्जुन उराठ लाग्दो नै थिए । अहिलेको अवस्थामा यी डाँडाहरु हरियाली देखिनुको पछाडि हामीले तानाशाह भनेर चिन्ने गरेका राणाहरुकै ठूलो हात रहेको पाइन्छ । भनिन्छ, चितवन, चारकोसे झाडीमा सिकार खेल्न पल्केका जंगबहादुर राणाले आफू बूढो भएपछि सिकार खेल्न तराई सम्म आउन जान गार्हो हुन्छ भन्ने हेतुले शिवपुरी डाँडामा पुरै बृक्षरोपण गर्न लगाई घना जंगल बनाउन लगाएका थिए ।

Friday, March 13, 2020

राजराजेश्वरी देवपाटन


कुनै बेला यस ठाउँमा पुर्वजन्मको ऐना हेर्ने इनार थियो । राजा शंकरदेवले पछिका राजाहरुले आफ्नो छाँया बढिया नदेखेर मनमा कष्ट होला भनी उक्त इनार छोपी माथि बिराटेश्वर शिवलिंग स्थापना गरि घाट समेत निर्माण गरि दिएका थिए ।

त्यसपछि राजा अंशुवर्माले श्री श्री जय बागिश्वरीको रहस्यमय मुर्ति स्थापना गरि सकेपछि ताहा बलिदान गर्न नहुने भन्दै जय बागिश्वरीको सट्टा बलिदान गर्न रहस्यमयी नवदुर्गाको मुर्ति स्थापना गरि यस ठाउँको नाम राजराजेश्वरी भनी नामांकरण गरि यसैको नामबाट घाट बनाएका थिए ।

फोटो : जयबागिश्वरी

सन्दर्भ : ५५ झ्याले दरवार, भक्तपुर



श्री सुर्यबंशी राजा रणजित मल्लले धेरै धन खर्च गरेर ने. सं. ७६०-७९३ बिचमा अनेक कालिगडहरुलाई काममा लगाई ५२ झ्याले दरवार बनाई रामायणलिला कुँड्न लगाई भक्तपुर दरवारको बैठक बनाएका थिए । केहि कालपछि मुलचोक जाने बाहिरी मोहडा ढोकामा सुनले छाई सुनको ढोका भने प्रख्यात गराए । बिक्रम सम्बत १९९० माघमा गएको महाभुकम्पले यो दरवार पुर्ण रुपमा भत्केर नष्ट भए ।

देवमाला बंशावलीमा उल्लेखित भक्तपुरको ५२ झ्याले दरवार १९९० सालपछि पुननिर्माण भएपछि ५५ झ्याले दरवार भए । यता हामीहरुले घोकेको इतिहास अनुसार ५५ झ्याले दरवार राजा भुपतिन्द्र मल्लले बनाएका हुन ।

ल अब भन्नुस भक्तपुरको ५५ झ्याले दरवार कसले बनाएका हुन ?

भक्तपुर स्थित सिद्धपोखरीको सन्दर्भ



राजा आनन्ददेवको पालामा कलि सम्बत ४१९७ तिर भक्तपुरको एक तान्त्रिकले थिमीको स्वास्नी बिबाह गरि आनन्दसंग बस्दै आएका थिए । एक दिन स्वास्नीले आफ्नो लोग्नेलाई तपाईं अनेक रुप देखाउन सक्नु हुन्छ, मलाई पनि एक रुप देखाउ भनी सार्है धिपी गरेछिन् । लौ हुन्छ, तर नडराइस । डरायो भने मलाई यो अक्षताले हान्नु भन्दै मन्त्र फुकेर केहि अक्षताहरु स्वास्नीको हातमा राखी दिएछन् र आफू अलि तल छेडीमा गइ भयंकर नागको रुप लिइ माथि आएछ्न् । भयंकर नाग देखेर स्वास्नी सार्है डराइन् र हातमा रहेका अक्षताहरु लोग्नेलाई नहानी यताउता फालेर भागेछिन् । नाग आफ्नो स्वास्नीको पछि पछि कुददै गए र हालको सिद्धपोखरी निर आईपुग्दा प्रातकाल सुरु भए । लौ अनर्थ हुने भो भन्दै त्यो नागरुपी तान्त्रिक त्यतै लोप भए र नाग त्यतै रहे । कालान्तरमा त्यो ठाउँ सिद्ध पोखरीको नामले प्रचार भए । भनिन्छ, यस सिद्धपोखरीमा उहिले उहिले थिमिलेहरु जानू हुँदैन भन्ने जनबिश्वास रहि आएको छ । कथंकदाचित गएमा यस पोखरीमा रहेको पानी अनौठो तरिकाले खलबल भै उत्पात मच्चाउँछ भन्ने जनविश्वास रहेको छ । पछि जंगबहादुर राणाले यस पोखरीको चारैतिर ध्वाखाहरु बनाई भित्र ढुंगा छापेर घाट बनाई अति राम्रो र सुन्दर पोखरी बनाई दिएका थिए ।

#
आधार
: देवमाला बंशावली

गुँ बहा: देग:, लावाण्य देश


कलि सम्बत ३६२५ मा राजा शंकरदेवले शंख आकारको शहर बनाई संखपुर नाम राखी यिनै गुँ बहा: देग:मा बिराजमान बज्रयोगिनी अर्थात म्हासुख्वा: द्य: लाई चढाएका थिए ।

चिडियाखानाको पोखरी


राजा सिद्धि नरसिंह मल्लले नेपाल सम्बत ७७९ मा रानी लालमोतीको नाममा पोखरी प्रतिस्था गरे तर पानी आएन । पछि गुरु विश्वनाथ उपाध्यायले एक यन्त्र राखी जलयज्ञ गर्दा पोखरीमा पानी भरेर आए र ज्यावल खेल (जा ह्वला ख्य:)"पोखरी नाम रहन गए ।

पछि राणा प्रधानमन्त्री वीर शम्शेरले पोखरीमा के छ भनी खोलेर हेर्नु पर्‍यो भनी इन्जिन मगाई २ दिनसम्म पानी झिकेर फाल्दा पनि पानी सुकाउन सकेन र त्यतिकै छाडी दिए, पानी पुन: भरेर आए ।

पछि अर्का प्रधानमन्त्री जुद्ध शम्शेरले यस्तो बलवान् पोखरीलाई संरक्षण गर्नु पर्छ भनी चारैतिर पर्खाल बनाउन लगाई चारैतिर जिवजन्तु पशुपंछी राखी चिडियाघर निर्माण गरे । चन्द्रशम्शेरले जंगबहादुर राणाको जेठी महारानीको शालिक प्रतिस्थापन गरि अझ सोभायमान बनाइ दिए । देव शम्शेरले भिम शम्शेरको शालिक प्रतिस्थापन गरि दिए ।

भगवान बुद्धको लुम्बिनी आगमन


भगवान बुद्धले बुद्धत्व प्राप्त पछि होली पुर्णिमाको दिन कपिलवस्तु आएका थिए ।

त्यतिबेला छोरा राहुलको उमेर ७ बर्ष मात्र पुगेका थिए । आमा यसोधराले राहुललाई बुद्ध तर्फ देखाउँदै प्रश्न सोध्न भनेका थिए "उहाँ तिम्रो बुबा हुनु हुन्छ, तिम्रो लागि बुबाको तर्फबाट बासको बन्दोबस्त कहाँ छ ?" । छोराको बालसुलभ प्रश्नपछि राहुल नै सबैभन्दा कान्छो एवं सिकारु भिक्षुको रुपमा स्विकार गरिएको थियो । पछि छन्न किन्नरा जातकको प्रवचन दिई सकेपछि श्रीमती यसोधरा र सौतेनी आमा महाप्रजापती गौतमी पनि भिक्षु बनेका थिए ।

Friday, January 31, 2020

मखन टोलको पशुपतिनाथ मन्दिर



राजा महिन्द्र मल्लको पालामा पशुपतिनाथ दिनहुँ धाई धेरै भक्ती गरेको देखेर महादेव अत्ति खुशी भई "हे राजन ! अब देखि तिमी यहाँसम्म आईरहनु पर्दैन । तिमीले जहाँ आह्वान गर्छौ, म त्यहिं आई बसी दिनेछु" भन्ने आज्ञा अनुसार तत्कालिन दरवारको उत्तर दिशामा नेपाल संम्बत ६७४ सालमा श्री श्री पशुपतिनाथको जस्तै मन्दिर बनाई श्री महेन्द्रेश्वर महादेव प्रतिस्थापन गरि दिएको हुनाले मखन टोल स्थित महेन्द्रेश्वर महादेवलाई पशुपतिनाथको रुपमा पुज्ने गरिएको छ । बि. सं. १९९० महाभुकम्पमा यो मन्दिर भत्केर शिवलिंग समेत भाँचिएर उत्तर तर्फ फर्केर भासिएको थियो । पछि बि. सं. १९९५ मा जुद्ध शम्शेर राणाले शिवलिंगलाई माथि न उठाइ हालको देवल मात्र स्थापना गरि दिएका थिए ।

Saturday, January 25, 2020

ध्यानी बुद्धका मुद्रा अनुसार बुद्ध चिनौं



"धर्मचक्र मुद्रा" मा आसिन बैरोचन बुद्धले शिक्षा अर्थात धर्म प्रवर्तनको प्रतिनिधित्व गर्दछ ।

"ध्यानी मुद्रा" मा आसिन अमिताभ बुद्धले बुद्धि र करुणाको एकताको प्रतिनिधित्व गर्दछ ।

"वरद मुद्रा" मा आसिन रत्नसम्भव बुद्धले बेदना अर्थात अनुभुति तत्वको प्रतिनिधित्व गर्दछ । वरदको अर्थ वरदान दिनु अर्थ लाग्छ l

"अभय मुद्रा" मा आसिन अमोघसिद्धी बुद्धले संस्कारिक रचना, निडरता र सुरक्षाको प्रतिनिधित्व गर्दछ ।

"भुमिस्पर्श मुद्रा" आसिन अक्षोभ्य बुद्धले संसारिक तत्व योंजना अर्थात चेतनाको प्रतिनिधित्व गर्दछ ।
 
#नोट : हरेक बिहार, बहिमा स्थापित ध्यानी बुद्धहरु अंकित चैत्य अर्थात चिबहा: द्य: मा राखिएको बुद्धका स्वरुपलाई मुद्राको आधारमा चिनौं । बैरोचन बुद्ध केन्द्रमा हुन्छ, मुर्ति हुँदैन ।

#पुनश्च: हजारौं बुद्धहरु छन् । बुद्ध भनेको सिद्धार्थ गौतम मात्र होइन ।

Tuesday, January 21, 2020

मल्ल राज्यको आगमन र जयस्थिति मल्ल - २

मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा गुज्रेको त थियो नै, यता नेपालमण्डललाई बाह्य हस्तक्षेप, आक्रमण र बिनास गर्ने लिला पनि चरम सिमानामा पुगेको थियो l जसले गर्दा नेपालमण्डल भित्र र वरपरका राज्यहरु पुरै शक्तिबिहिन अवस्थामा थिए l फलस्वरूप सन् १२४४ देखि सन् १३११ को बिच नेपालमण्डलमा ५ बाह्य बिनासकारी आक्रमणहरु भए जसले नेपालमण्डललाई उथलपुथल नै बनाई दिए l सन् १२९९ को पुष महिनामा तिर्हुत, दोयाबाट आएका मैथिलीहरुले भक्तपुरको त्रिपुरा दरवार ध्वस्त बनाई दिए l सन् १३११ को माघमा पाटनका प्राय: मन्दिर देवलहरु ध्वस्त बनाई दिए र १३११ को कार्तिक महिनामा देउपाटनलाई कब्जा जमाए l 
 नेपालमण्डलाको उत्पात मच्चाई त्यतिबेला मात्र शान्त भए जब सन १३२४-२५ तिर मिथिलामा कब्जा गरेर बसेका मुस्लिम घियासुद्दीन बङ्गाल ध्वस्त गर्न कार्य छोडेर दिल्ही फर्के l 

१३औ सताब्दीको अन्त देखि १४औ सताब्दीतिर यता पश्चिम तिब्बतको भूभाग देखि कर्णाली नदि वरपरको भूभागमा खसहरुले राज्य गरिरहेका थिए l त्यतिबेला खसहरुको राजधानी जुम्लाको उत्तरी भाग अर्थात तराईको डुल्लु नजिक सिम्जातिर रहेको थियो l सिम्जाका खसहरु पनि आफुलाई मल्ल मानिन्थ्यो, जुन नेपालमण्डल भित्र र वरपरका मल्लहरु भन्दा पृथक थिए l यिनीहरु मल्लपुरी नगरीबाट झरेर पश्चिम नेपाल, सिम्जामा आई बसेका लिच्छवीहरु थिए l पुराना खस राज्य सिम्जामा अहिले पनि भत्किएका, पुरिएका, भासिएका ढुंगाका मन्दिर, मुर्ति, चित्र र अभिलेखहरु भेटिन्छन् l मैथिलीहरुले जस्तै यी खसहरुले पनि नेपालमण्डलमा सन् १२८७ देखि १३३४ बिचमा ६ चोटी आक्रमण गरेका तथ्यांक पाइन्छ l मैथिलीहरुको तुलनामा खसहरुले मन्दिर देवल ध्वस्त गर्नुको साटो नेपालमण्डलको राजा / प्रजाहरुलाई नै लक्षित गरेर विध्वंस मच्चाई लुटपाट र हातपाथ गरेको देखिन्छ l देउपाटनमा खसहरुले बस्तीको बिचमा बाणहरुले आक्रमण गरे तर बाणहरु जम्मै पशुपतिको आंगनमा झरे l त्यतिबेला पशुपतिनाथ, स्वयम्भुनाथ र मछिन्द्रनाथ प्रजाहरुको आस्थाको केन्द्रबिन्दु थियो l वास्तवमा खस राजा रिपुमल्ल सन १३१३ फाल्गुन महिनामा आक्रमण गर्न हैन, यी आस्थाका केन्द्रहरुमा दर्शन गर्न आई सकेका थिए l रिपुमल्ले ले यी धार्मिक स्थानहरु प्रति विशेष आस्था राख्दथे l 

पछिल्लो समय अवधिमा नेपालमण्डलमा पश्चिम नेपाल, पाल्पाका राजा मुकुन्दसेनले पनि नेपालामण्डलमा आक्रमण गरेका थिए l मुकुन्दसेनले आक्रमण गरेको साल स्पस्ट नभए पनि मध्य १३ औँ सताब्दीतिर मानिन्छ l मुकुन्दसेन अर्थात मणिमुकुन्दको पुर्खा खस राजा जितारी मल्ल मानिन्छ l 

यसै दौरान, सन् १३४९ मा बङ्गालका मुस्लिम सुल्तान सामसुद्दीन इल्यासले ७ दिनसम्म नेपालमण्डलमा उत्पात मच्चाएको पाइन्छ l यिनीहरु पुर्वबाट पश्चिम हुँदै अखडा जन्माउँदै बस्तीहरुमा उत्पात मच्चाउँदै नेपालमण्डल प्रवेश गरेका थिए l उपलब्ध अभिलेख अनुसार यिनले पशुपतिनाथको मन्दिर, ४ मुखे शिव लिंग, स्वयम्भुनाथको चैत्य लगायत अनेक मन्दिरहरु तथा धार्मिक स्थलहरु ध्वस्त पारेका थिए l नेपालमण्डलमा यिनीहरुले उत्पात यसरी मच्चाईएको थियो कि प्रजाहरुलाई ७ दिन ७ रात एक दिन जस्तो अनुभूति गराएको थियो l ७ दिनसम्म न कोहि सुत्न पाए न दैनिक काममा जान पाए l नेपालमण्डलमा भएका अन्य उत्पातहरु मध्ये यो नै सबैभन्दा ठुलो उत्पात थियो जसले दैवीप्रकोप, भूकम्प, आगजनीको अनुभूति गराइएको थियो l 

नेपालमण्डलमा यस्तै यस्तै अवस्थाबाट गुज्रिरहेको बेला देवलादेवीले १४ औँ सताब्दीको मध्यकालमा आफ्ना नाती रजलादेवीको लागि मिथिला कुलका बर जयस्थिति मल्ललाई छानेका थिए l जयस्थिति मल्लको आगमन पछि भने नेपाल मण्डलमा मल्ल कालिन ब्यबस्थामा व्यापक सुधार भएको पाइन्छ ।

 क्रमश:

Monday, January 20, 2020

मल्ल राज्यको आगमन र जयस्थिति मल्ल - १

नेपालको इतिहासमा जयस्थिति मल्लको ठूलो भुमिका छ । नेपालको संस्कार, संस्कृति, परम्परा, जातिय बिभाजन, कार्य बिभाजन बसाल्ने श्रेय यिनैलाई जान्छ । यिनैको पाला देखि मल्ल कालिन इतिहासमा स्थिरता आएको देखिन्छ । वास्तवमा जयस्थिति मल्लको उदय कसरी भए त ? कतै यिनी पनि #भारतीय त हैन ?

नेपालको मल्लकालिन इतिहासमा सन १२०० देखि १३८२ को समयलाई चरम संक्रमण र जटिल काल मानिन्छ । लिच्छवि कालको पतनसंगै सुरु भएको यो समय अवधिमा परम्परागत व्यबहारहरु करिब सुन्य नै थियो । देशको पुरै प्रसासनमा महत्था, जोथापाटी, भटनायक जस्ता नयाँ ब्यबस्था लाडिएको थियो । यो समय अवधिमा कुनै एक बंशले निरन्तरता पाउने वातावरण नै थिएन, अनेक बर्गहरु बिचको शक्तिले सासनमा उथलपुथल कायम रहे ।
एक शक्तिशाली समूह भादगाउँलाई राजधानी बनाई आफुले आफुलाई मल्ल उपमा दिएर सत्तासिन थिए । अर्का एक समूह बनेपा पनौती पलान्चोक क्षेत्र ओगटेर #भोटराज्य बनाई स्थापित थिए । काठमाडौ, पाटन र फर्पिङ राज्यको तुलनामा भोटराज्य निक्कै शक्तिशाली थिए र भोटराज्यले मात्र भादगाउँलाई सामान्य निष्ठाको भावले हेर्ने गर्दथ्यो ।

पहिलो मल्ल राजा अरिमल्लले सन १२०० देखि १२१६ सम्म शासन गरे । यिनी लिच्छवि कालका अन्तिम राजाका कान्छा भाइ थिए जो एक शक्तिशाली कुस्तिवाज थिए । केही सेनालाई साथ लिएर सत्ता कु गरे र आफ्नो नामको पछाडी मल्ल उपमा झुण्ड्याए । अरि मल्ल पछि नेपालको इतिहासमा अनेक उतारचढावहरु आए । अनन्तमल्लले १२७४ देखि १३०७ शासन गरे र आफनै धोकापुर्ण राज्य संचालनको कारण तनावमा बिते र मरे । उनका उत्तराधिकारी आनन्ददेव द्वितीयले १३०८ देखि १३२० सम्म सम्म शासन गरे ।

सन १३१७ मा रुद्र मल्ल उदय भए । भक्तपुर मुलका उनी जवान थिए र शक्तिलाई नियन्त्रणमा लिए । राजाको रुपमा नभै अरुलाई राजा पद दिई आफू शक्तिशाली भएर निस्के । उनी मछिन्द्रनाथको जात्रामा सहभागी भए । मन्दिर मुर्तिहरु जिर्णोद्वार गर्न लगाए र राजनितिमा एक नयाँ उचाई थपे । आनन्ददेव सतामा हुँदा नै यिनको रहरले अरिमल्ल द्वितीयलाई राजा बनाए र देवपाटनमा बसाले । यसरी अरिमल्ल द्वितीयलाई कठपुतली राजा बनाई रुद्रमल्लले सन १३४४ सम्म सत्ता हासिल गरे ।

रुद्रमल्लको इच्छा पछिसम्म शासन जमाउनु थियो । सन्तानको नाममा यिनको एक मात्र छोरी थियो - नायका देवी । रुद्रमल्लले आफ्नो मृत्यु पर्यान्त आफ्नो छोरी नायकादेवीलाई कानुनी उत्तराधिकारी घोषणा गरेका थिए । पद्मुला अर्थात पदमुलादेवी जो रुद्रमल्लको चतुर आमा थिए । यिनै पदमुलादेवीले देवलादेवीको सहयोगमा नायकादेवीलाई उतराधिकारीको पदमा आसिन गराई ३ दशकसम्म राज्य सम्हाले । देवलादेवी रुद्रमल्लको श्रीमतीको रुपमा रहेको धेरै पछि मात्र थाहा पाए ।

वास्तवमा देवलादेवी मिथिला अर्थात तिर्हुत राज्यको अन्तिम राजा हरिसिंहका महारानी थिई । त्यतिबेला मिथिला भारतीय भुभागमा पर्दथ्यो । मुस्लिमहरुले आक्रमण गरेर हरिसिंहलाई मारेपछि देवलादेवी आफ्ना छोरा जगतसिंह साथमा लिइ नेपालमा शरणार्थीको रुपमा आएका थिए । यिनलाई रुद्रमल्लको देहावसान हुनु केही महिना अघि भक्तपुर अवस्थित आफ्नै युथिनिहम दरवार मा शरण दिएका थिए । रुद्रमल्लले देवलादेवीलाई नायकादेवीको हेरचाह गर्न पुरै अधिकार दिइएको थियो ।

नायकादेवीको पहिलो बिबाह बनारसको एक राजकुमार हरिशचन्द्रसंग गरि दिएका थिए तर सन १३३५ मा राजकुमारलाई बिष खुवाइ मारिएकोले बिबाह बिच्छेद भए । पछि यिनको बिबाह देवलादेवीकै छोरो जगतसिंह संग दोस्रो बिबाह गरि दिए । सन १३४७ मा तिनिहरुको कोखबाट एक छोरी रजलादेवी जन्मे र केहि दिनपछि नायकादेवीको निधन भए । शंकाको घेरामा रहेका जगतसिंह जेल पुगे र उनि इतिहासबाट बिलाए । यसै बेला पदमालादेवीको निधन भए र देवलादेवी उपत्यकाको झन शक्तिशाली भए । यसरी एक अन्जान विधुवा जो एक बिदेशी थिइ, नेपालमण्डलको एक शक्तिशाली उत्तराधिकारी जमाएर बसे । 

यसैबिच अनेकामबर्धन नाम गरेका जो छिमेकी राज्य बनेपाको गुरु थिए, महत्थाको समर्थन पाई भक्तपुरका दुई राजा अरिमल्ल द्वितीय र उनका उत्तराधिकारी राजदेवको प्रधानमन्त्रीको भुमिका खेले । यिनको समर्थन पाए पछि देवलादेवी झन शक्तिशाली भए । सन १३५४ मा अनेकामबर्धनको मृत्यु भए । 

एक्लो शक्तिशाली रहेका देवलादेवीले धेरै सोचविचार गर्दै चलाखिपुर्वक सन १३६६ मा देवलादेवीले नाती रजलादेवीको लागि आफ्नै मैथिली राजवंशबाट वर छानेर बिबाह गरि दिए । दुलाहाको नाम स्थिति अर्थात स्थितिराज मल्ल थियो । उनी त्यही जयस्थिती मल्ल राजा थिए जसले नेपालको मल्लकालिन इतिहासलाई एक नयाँ धार दिए । नेपालमण्डलमा छिन्न भिन्न शक्तिहिन राज्यहरु अस्तित्वमा रहँदै गर्दा यसरी निरन्तर रुपमा बिनासको बाटोमा लागि रहे र मिथिला राज्यबाट शरणमा आएका एक महारानीले सत्ताको उत्तराधिकारी आफ्नो कब्जामा पारे । 

ज्वाई राजा जयस्थिति मल्लले सन् १३७० मा ललितपुरलाई नियन्त्रणमा लिए l १३७४ मा भोटराज्य र फर्पिंगलाई नियन्त्रणमा लिए l भक्तपुरलाई शाशन केन्द्र बनाएर यिनले सन् १३८२ देखि १३९५ सम्म पूर्ण नियन्त्रणमा राखे l काठमाडौं उपत्यका र वरपरका राज्यहरुलाई एकीकरण गरि एक शक्तिशाली बनाउन बनाउन सफल रहे l
क्रमश:

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...