Sunday, March 26, 2017

पाहाँ चर्हे : बिशेष कथाहरु


नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यसदिनलाई "पिसाच चतुर्दशी" पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीबेटीहरुलाई वर्षको एक दिन भएपनि अनिवार्य रुपमा  निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्हे मनाइने गरिन्छ ।


घोडाजात्राको सन्दर्भ :

पाहाँ चर्हेको भोलिपल्ट अश्वयात्रा गर्नाले भबिष्य ज्ञान प्राप्त गर्न सकिन्छ अर्थात् घोडा जति बेगले दौडन सक्छ त्यतिनै देशमा दुःख कष्ट हराउने र शत्रुहरु नाश हुन्छ भन्ने मान्यता अनुसार घोडे जात्रा मनाउने परम्परा रहिआएको छ । 

किम्वदन्ती अनुसार प्राचीन कालमा गुरुमापा नाम गरेको एक राक्षसले सहरका बालबालिकालाई खाने गरेको र
पछि पीडित सहरवासीहरुले विविध उपाए अपनाई त्यसलाई शहर बाहिर टुंडीखेलमा बस्न लगाई नियन्त्रण गरिएको कथा पाइन्छ । उक्त गुरुमापाले फेरी पनि बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको भनाई पाइन्छ

नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्रा १५~१६औ शताव्दीदेखि मनाउन थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो । पाटन बालकुमारीमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको पाइन्छ


लुकु महाद्य: अर्थात लुकेको महादेवको सन्दर्भ :

लुकु महाद्य: अर्थात लुकेको महादेवलाई क्षेत्रपाल पनि भनिन्छ । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचर्‍हे मनाउने गर्दछन् ।यसदिन आ-आफ्नो घर अगाडि चोक, टोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझ विशेष पूजा गरी मनाइने चलन रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले महादेवलाई भन्नुहुन्छ : 

"हे इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ ।"|

त्यसपछि श्री महादेवले "त्यसो होइन" भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो ।

महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव (लुकु महाद्य:) लाई मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । लुकुमहाद्य:लाई दिइएको बत्तिबाट गाजल थापी आँखामा लगाउने चलन रहेको छ । यसरी गाजल लगाउनाले आँखा तेजिलो हुने जनविश्वास रही आएको छ । नेपालभाषामा "धुँया मिखा काँ काँ छुँ या मिखा त्यला" भन्ने उखान चलनमा रहेको पाइन्छ ।


मल:जा खुवाउने सन्दर्भ :

पाहाँचर्हेको भोलिपल्ट काठमाडौँका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाई मल:जा खुवाउने चलन रहेको छ काठमाडौँका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाईनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल: जा खुवाउने गरिन्छ  मल: जा खुवाउने स्थानमा पान, मसला, चकलेट, पैसा, दुध आदि दिन थुप्रै मानिसहरू आउने गर्दछन् । मल: जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् र यिनै गुठीहरूले आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।

पाहाँचर्हे प्राय फागुन - चैत्रतिर पर्दछ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर मल:जा खुवाउने चलन रहेको पाइन्छ । मल: जा खुवाउनाले सा-साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास रहेको छ ।




पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्राको सन्दर्भ :

काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 
असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 
भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ ।


No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...