Showing posts with label इन्द्रायणी. Show all posts
Showing posts with label इन्द्रायणी. Show all posts

Thursday, October 25, 2018

पारिजातको उत्पतिको कथा



हिन्दु धर्म अनुसार पारिजात समुन्द्र मन्थनबाट प्राप्त भएको पुष्पको रुपमा वर्णन गरिएको छन् l देवराज इन्द्रले एकाधिकार प्राप्त गरि स्वर्गको बगैंचामा रोपेका थिए l देवी इन्द्रायणीलाई यो पुष्प सार्है मन पर्ने गर्दथ्यो l

त्यस पारिजातको वृक्षलाई स्वर्गलोकमा मात्र होइन, पृथ्वीको द्वारकामा ल्याएर रोप्नु पर्यो भन्ने सत्यभामाको इच्छाअनुसार श्रीकृष्णले इन्द्रसँग युद्ध गरेर पारिजातको बिरुवा पृथ्वीमा ल्याउँछन्।

श्रीकृष्णकी अर्की प्यारी रुक्मणीलाई पनि पारिजातको चाहना हुन्छ। त्यसैले, श्रीकृष्णले पारिजातको बोट सत्यभामाको बगैंचामा रुक्मणीको साँधमा पर्ने पर्खालको आडमा रोपिदिन्छन् । फलस्वरुप पारिजातको फूल दुवैको बगैंचामा झर्न थाल्छ ।
.
.

कुन चाहिं खडेरी आइ परेछ स्वर्ग लोकमा खै ! देवराज इन्द्रको आफ्नै आमालाई पारिजात पुष्प चाहिँदा कान्तिपुरी नगरी भौतारिनु परेछ l देवी इन्द्रायणीले छुनै दिएन कि ?

Monday, September 4, 2017

अविरल बग्दछ इन्द्रावतीको कथा


कुनै बेला राजा इन्द्र स्वर्गको राजकाज सबै छोडेर यस नदीका तीरमा आई तपस्या गर्न लागे । उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्रायणी आई विलाप गर्न लागिन् । उनको विलाप सुनेर इन्द्रको मति फिरेछ र उनी फेरि स्वर्गमा गएर राजकाज सम्हाल्न थाले । इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती रहन गए ।

Tuesday, April 18, 2017

मकवानपुर : थाहानगरमा ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा




परापूर्व कालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । युद्धमा कहिले देवताहरुको जित हुन्थ्यो, कहिले दानवहरुको जित हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चली नै रह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जित भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौं मारिए, कयौ घायल भए, कयौ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध युग समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्ण तर्फ भागी आउने देवताहरु हिन्दुस्थान भित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महशुस हुन थाल्यो । बाँचेकाहरु पुर्व एशियाका देशहरुमा स्थापना हुँदै आएका मध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३/१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । 

यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग बास मागेछ । पालुङका मानिसहरुले उहाँँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन–‘तपाइ जस्तो यौवनले धपक्क बलेको सुन्दरी युवतीलाई हामी बास दिन सक्दिन ।’ कसैले भनेछन्–‘यहाँ केही समय बास दिदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोध र अलि हँसिलो भावमा भनेछ–‘अब म पनि कुनै दिन तपाइहरुले धुमधामसंग मान्नुपर्ने भएर सिन्दुरयात्रा देखाउँदै आउनेछु ।’ अब म बास दिएता पनि बस्दिन भनी पालुङ शहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउलेहरुले भनेछ–तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिदा तपाइलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओड्ने ओछ्याउने बस्तु केही छैन, के गरौ ? भनेपछि इन्द्रायणी माताले भनिछन्् –मलाई ओड्ने ओछ्याउने केही पनि चाहिँदैन । वेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ भनेपछि एउटा घरको कुनामा बास दिएछ । र, त्यहीँ इन्द्रायणी बास बसेछ । (त्यही बास बसेको घर नै हालको द्योछेः हो ।


त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने जस्तो अनौठो बाजागाजाको आवास आए जस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चन्चलता भइरहने जस्तो अचम्म लाग्न थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तीत मुद्रामा देख्ने, कहिलेकाँही आफ्नो पतिदेव इन्द्रदेवको सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लीएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिदैन ।

यसरी कुनै बेला साता, दुईसाता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले घर गर्दै गयो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सुपना दिएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दावहरुबीच घोर घमासान रणसंग्राम लडाई हुँदा सो लडाईमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास गरिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिनू र त्रसित हुन पर्दैन । म यहाँ रहुन्जेलसम्म हरेक समयमा तपाइहरुको सुरक्षा हुनेछ । तपाईहरुको भलाइ हुनेछ । यो तपाइहरुको गाउँमा  तपाईहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखे । 

यसरी समय बित्दै जाँदा दानवहरुको दूत जासुु पनि इन्द्रायणी कहाँ पुगेछ भनी खोजी निती गर्दै आउँदा इन्द्रायणी यहिँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्य्रायणी समक्ष भनेछ–देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खबर सुनाएर त्यही गाउाको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउलागाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामयीम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनू होला । हे इश्वर, हे देवी माता, के कालिका देवी होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस प्रभू । भनेर स्तुति प्रणाम गरेपछि इन्द्रायणीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरी पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रहि आएकोले अब म पनि यस मत्र्यलोकमा रहनूहुन्न ।     मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानू पर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जोडाइदिनूहोला ।

भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने–सति सामाग्रीहरु के के चिज हो भगवान ? इन्द्रायणी माताले भने धुप दिप, लाजा, सिन्दुर, फूल अक्षता नदीको किनारामा   दाउराको चाङ लगाई सोला बनाइदिनू प¥यो । देउलाहरु पनि अलाप बिलाप गरी रुन लागे । नचहाँदा नचाहँदै पनि  उहाँले भने बमोजिम सम्पूर्ण सामाग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ ।

त्यसपछि देउलागाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगिेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हगाचा नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणीदेवी माताले गंगाजीको दर्शन गरी पूरे कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनु भयो । त्यसै बेलादेखि इन्द्रायणी सतिजान नहुएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ छ ।


Source : www.bikaskhabar.com

बाला चर्‍हे र इन्द्रायणी जात्रा

- सन्दिप महर्जन
 


इन्द्रायणीलाई इन्द्रको पत्नीको रूपमा पुजिन्छ । बिष्णुमतिको किनारामा रहेको यस इन्द्रायणीलाई नेपालभाषामा लुती अजिमा भनिन्छ ।

किम्बदन्तीअनुसार लुती अजिमा अजिमाहरू मध्ये सबैभन्दा गरिब थिए । कथाअनुसार पशुपतिस्थित बछला माजु (भुवनेश्वरी) ले सबै दिदी बहिनीहरूलाई पाहाँ चर्‍हेमा भोज बोलाएछन् । सबैले मीठो मीठो भोज खुवाए तर लुती अजिमालाई भोलिपल्ट मात्र बोलाएछन् । खुसी हुँदै आफ्ना लालाबाला सबै बच्चाहरू लिएर भोजमा जाँदा भोज सिध्याएर भाँडा माझिरहेको थियो । आज भोज होइन ? भनेर इन्द्रायणीले प्रश्न गर्दा भोज त सकिसक्यो । खाने भए हिजोको बासी अलिकति बाँकी होला सोहरेर खाउ भनेर दिदीले उत्तर दिएछन् । यसरी आफू हेपिएपछि चित्त दुखाएर इन्द्रायणी फर्केछन् ।

इन्द्रायणीका धेरै सन्तानहरू थिए र ती सबै भोकले गर्दा रोइरहेका थिए । दिक्क भएकी इन्द्रायणीले जहाँ–जहाँ जुन–जुन बच्चाले धेरै दुःख दियो, त्यहीँ त्यहीँ छोड्दै हिँड्न थाले । आफूलाई एकदम प्यारो लाग्ने आफ्नो कान्छी छोरी मनकामना (मांकाचा) लाई लिएर केही शीप नलागेपछि खेतमा गएर एउटा फर्सी चोरेर घरमा पकाएर खानलाई काट्दा त्यस फर्सीबाट सुन निस्किएछ । त्यसपछि इन्द्रायणीले आफ्नो सबै बच्चाहरूलाई पुनः घर बोलाएर भोज खुवाए । त्यो दिन बाला चतुर्दशीको दिन थियो । त्यही बेलादेखि इन्द्रायणीको जात्रा अलग्ग हुने गरेको मानिन्छ जबकी अरू सबै अजिमाहरूको जात्रा पाहाँ चर्‍हेको बेला हुने गर्दछ । इन्द्रायणीले आफ्ना बच्चाहरूलाई भोज बोलाएपछि अरूले देख्ला भनेर ढोका लगाएर आफ्नो बच्चालाई मात्र खुवाए । अझै पनि बाला चर्‍हेको तीन दिन अगाडि लुती अजिमाको मन्दिरको ढोका लगाउनु पर्ने परम्परा छ ।

अर्को किम्बदन्तीअनुसार त्यसरी रोएर आएकी इन्द्रायणी थाय् मरु (बाङ्गेमुढा) मा बसिरहेको त्यसबेलाको त्यःर (त्यौड) टोलको जुजु (राजा) ले देखेछ । जुजुले रोइरहेकी आईमाई साधारण व्यक्ति नभइ देवता हुनुपर्छ भन्ने अनुमान लगाए । अनि इन्द्रायणीको अगाडि गएर भक्तिभावले बिन्ती गरेर दर्शन मागे । इन्द्रायणीले दर्शन दिई सकेपछि जुजुले इन्द्रायणीलाई आफ्नो टोलमा बस्न आग्रह गरे । जुजुले अनुनय–बिनय गरेपछि उनी राजी भइन् । अनि जुजुले उनलाई त्यःर त्वाः (त्यौड टोल)मा लगेर राखे । इन्द्रायणीले आफ्नो दुःख सुनाएपछि जुजुले हरेक वर्ष पुजा दिने बाचा गरे । इन्द्रायणीले आफू धेरै भोकै भयो भने रुद्र रूपधारण गर्न सक्ने र बलि लिन सक्ने कुरा सुनाएपछि राजाले बिन्ती गर्दै म हरेक वर्षको एक पटक ठूलो अग्नि होम गरी हजुरलाई बलि पनि दिन्छु । तर यसको बदलामा तपाईंले मेरो राज्यको सुरक्षा गर्नु पर्छ भनेर भनेपछि इन्द्रायणीले हुन्छ मलाई बाला चतुर्दशीको दिन पूजा गरेर बलि चढाउनु भनेर त्यहीँ अलाप भएछ । त्यसपछि जुजुले मूर्ति प्रतिस्थापन गरे ।

लुती अजिमालाई हेपिएको भएर उहाँले राजालाई दर्शन दिएर सपनामा जात्रा पनि चलाउ भनेपछि बाला चर्‍हेमा लुती अजिमासहित स्वाँछपु गणेश, भुँडी गणेश, मनकामना, ज्वालामाई, शोभा भगवतीको खट जात्रा गरिन्छ ।

वंशावलीअनुसार कलिगत सम्वत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षार्थ नगरको चारैतिर लुँमढी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंगेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खट जात्रा चलाएका हुन् ।

मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा अवस्थित इन्द्रायणी र भगवतीको सन्दर्भमा किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लडाँई हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रायणीले श्रीमान् युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सती घाटमा सती जान लाग्दा आकाशबाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुसीयालीमा इन्द्रायणीको जात्रा मनाउन थालिएको हो ।

 

Sunday, March 26, 2017

पाहाँ चर्हे : बिशेष कथाहरु


नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यसदिनलाई "पिसाच चतुर्दशी" पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीबेटीहरुलाई वर्षको एक दिन भएपनि अनिवार्य रुपमा  निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्हे मनाइने गरिन्छ ।


घोडाजात्राको सन्दर्भ :

पाहाँ चर्हेको भोलिपल्ट अश्वयात्रा गर्नाले भबिष्य ज्ञान प्राप्त गर्न सकिन्छ अर्थात् घोडा जति बेगले दौडन सक्छ त्यतिनै देशमा दुःख कष्ट हराउने र शत्रुहरु नाश हुन्छ भन्ने मान्यता अनुसार घोडे जात्रा मनाउने परम्परा रहिआएको छ । 

किम्वदन्ती अनुसार प्राचीन कालमा गुरुमापा नाम गरेको एक राक्षसले सहरका बालबालिकालाई खाने गरेको र
पछि पीडित सहरवासीहरुले विविध उपाए अपनाई त्यसलाई शहर बाहिर टुंडीखेलमा बस्न लगाई नियन्त्रण गरिएको कथा पाइन्छ । उक्त गुरुमापाले फेरी पनि बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको भनाई पाइन्छ

नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्रा १५~१६औ शताव्दीदेखि मनाउन थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो । पाटन बालकुमारीमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको पाइन्छ


लुकु महाद्य: अर्थात लुकेको महादेवको सन्दर्भ :

लुकु महाद्य: अर्थात लुकेको महादेवलाई क्षेत्रपाल पनि भनिन्छ । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचर्‍हे मनाउने गर्दछन् ।यसदिन आ-आफ्नो घर अगाडि चोक, टोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझ विशेष पूजा गरी मनाइने चलन रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले महादेवलाई भन्नुहुन्छ : 

"हे इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ ।"|

त्यसपछि श्री महादेवले "त्यसो होइन" भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो ।

महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव (लुकु महाद्य:) लाई मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । लुकुमहाद्य:लाई दिइएको बत्तिबाट गाजल थापी आँखामा लगाउने चलन रहेको छ । यसरी गाजल लगाउनाले आँखा तेजिलो हुने जनविश्वास रही आएको छ । नेपालभाषामा "धुँया मिखा काँ काँ छुँ या मिखा त्यला" भन्ने उखान चलनमा रहेको पाइन्छ ।


मल:जा खुवाउने सन्दर्भ :

पाहाँचर्हेको भोलिपल्ट काठमाडौँका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाई मल:जा खुवाउने चलन रहेको छ काठमाडौँका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाईनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल: जा खुवाउने गरिन्छ  मल: जा खुवाउने स्थानमा पान, मसला, चकलेट, पैसा, दुध आदि दिन थुप्रै मानिसहरू आउने गर्दछन् । मल: जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् र यिनै गुठीहरूले आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।

पाहाँचर्हे प्राय फागुन - चैत्रतिर पर्दछ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर मल:जा खुवाउने चलन रहेको पाइन्छ । मल: जा खुवाउनाले सा-साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास रहेको छ ।




पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्राको सन्दर्भ :

काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 
असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 
भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ ।


सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...