Wednesday, March 22, 2017

भक्तपुरमा यौन पर्वको रुपमा मनाइने होली

भीमसेन देया लज खङ्गलो वानला ल्यासे ?
बिस्युं वाने म्वायेक स्व: झायाला ?


 अर्थात

भीमसेनको लिङ्गले मन लोभियो कि ?
भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि ?


भक्तपुरको यौन पर्वको रुपमा मनाइने होलीको नेवारी गीत !!


भक्तपुरको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल-टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । टोल-टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याइन्छ । काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको सांकेतिक रूपमा लिने गरिन्छ ।

भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीक काष्ठकलालाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखेर यस दिन खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन भएको मानिन्छ ।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याउने गरिन्छ जसलाई "चीर स्वायगू" भनिन्छ । चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गर्दा व्यापार फस्टाउने विश्वास रहेको पाइन्छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ । यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको पाइन्छ ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व  भक्तपुरमा चाहिं भीमसेनसँग सम्बन्धित रहेको पाइन्छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने गर्दछ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ ।


No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...