Saturday, April 8, 2017

बालाजु मेला : तामांगहरुको तेमाल जात्रा


हरेक बर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तिमालजात्रा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो ।  तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

जनश्रुति अनुसार काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ ।पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ । 

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ, दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ । यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन् । जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन् । यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन् ।

तिमालजात्रामा सहभागीहरू आउँदा पहिले पहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउने जाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ । मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ । पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ ।

Source : http://www.tamangonline.com

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...