Monday, April 3, 2017

सेतो मछिन्द्रनाथको जात्रा


 नेपाल सम्बतको तेस्रो महिना पोहेलाथ्व, अष्टमीको दिन बेलुकीपख सेतो मछिन्द्रनाथलाई नुहाई दिने र सजाई दिने गरिन्छ । यस दिन मछिन्द्रनाथ देवतालाई जनबहाल अवस्थित मछिन्द्रनाथको मन्दिरकै प्राङ्गणको डबलीमा ल्याइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरु फुकालिन्छ । त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाई दिन्छ । नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधिहरु मन्दिरकै पुजारीहरुले गर्ने गर्दछन् । यस समारोहमा नेपालको जीवित देवी कुमारीले पनि भाग लिने गर्दछ । मछिन्द्रनाथलाई बर्षा र सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करुणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ । सेतो मछिन्द्रनाथलाई यसरी नुहाई दिंदा समस्त मानवजातीमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार राजा यक्ष मल्लको पालामा कान्तिपुरीबासीहरु मृत्युपछि स्वर्ग जान पाइन्छ भन्दै कान्तिपुरका पबित्र नदिहरुमा स्नान गर्दै स्वयम्भु दर्शन गर्न जाने गर्थे । एकदिन यमराजले कान्तिपुरबासीका यी गतिविधिहरु र भगवान स्वयम्भुनाथको यस शक्तिको बारेमा थाहा पाएछ र यमराज स्वयम् मान्छेको भेषमा स्वयम्भूको दर्शन गर्न भनि आएछ । यमराज यसरी मान्छेको भेषमा स्वयम्भुनाथको दर्शन गर्न आएको कुरा राजा यक्ष मल्ल र उसका तान्त्रिक गुरुहरुले थाहा पाएछ र यमराज फर्किने बेलामा समातेर आफुहरु सधै अमर हुने बरदान मागेछ र यमराजलाई छोड्न मान्दै मानेनन् ।

यमराजलाई फसाद ! फसादमा परेपछि यमराजले उनीहरुबाट मुक्ति पाउन आर्य-अवलोकितेश्वर (सेतो मछिन्द्रनाथ)लाई प्राथना गरेछ । सेतो मछिन्द्रनाथ (सेतो रंगको देउता, आधा आँखा खोलेका) तुरुन्तै पानीबाट प्रकट भए र कालिमाटी र बागमती क्षेत्रभित्र मन्दिर बनाई रथ तान्ने जात्रा चलाउन आज्ञा दिएछ । तदनुसार हरेक बर्ष चैत्र महिनामा ३ दिन जमल देखि भोटाहिटी, भोटाहिटी देखि हनुमान ढोका र हनुमान ढोका देखि लगन टोलसम्म जात्रा चलाउन लगाए । कथाअनुसार मछिन्द्रनाथ देवताले कान्तिपुरबासीहरुलाई सुखमय जीवन तथा दिर्घायुको लागि बरदान दिन्छ भने जनविश्वास रही आएको छ । यसैको प्रतिकको रुपमा सेतो मछिन्द्रनाथको जात्रा हरेक बर्ष निरन्तर चल्दै आएको छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...