Thursday, February 7, 2019

टेबहालको श्री संकटा


कलिगत संवत् ३६०६, बि.सं. ५६२, इ. सं. ५०५ तिर तत्कालिन लिच्छवि राजा नरेन्द्रदेवको पालामा नेपाल्मण्डलमा अनावृष्टी दुर्भिक्ष भएर हाहाकार भयो । खडेरी पर्यो ।, त्यसैको निवारणको लागि रातो मत्स्येन्द्रनाथ (बुङ्ग द्य:)लाई नेपालमण्डल ल्याउनलाई नरेन्द्रदेवले शान्तिकराचार्यलाई आहवान गरे । राजाको आहवानलाई सहर्ष स्विकार गरेर उन्ले आफ्नो शिष्य बन्धुदत्त आचार्यलाइ पठाए। यसरी भक्तपुरका नरेन्द्रदेव राजा, कान्तिपुरका बन्धुदत्त आचार्य र ललितपुरका ललित चक्र / रथ चक्र ज्यापू मिलेर कामारुकामाक्षबाट करुणामयलाई लिएर आउँदा करुणामय सँग-सँगै संकटा पनि आउनु भयो । 

त्यसरी आउँदा आउँदै कटुवाल दहमा आइपुग्दा संकटाले आफ्नो दाहिने हात देखाउनु भयो । त्यस हातको आकारको शिला / ढुङ्गा अहिले पनि त्यहाँ देख्न पाइन्छ । उहाँले देखाउनु भएको हात एकदमै भिमकाय, डरलाग्दो र ठूलो थियो । यसरी भिमकाय ठूलो आफ्नो दाहिने हातको दर्शन दिनु भएको हुनाले उहाँलाई तपा :ल्हा द्य: भनेर बन्धुदत्तले नामाकरण गरिदिनु भयो । त्यही नामलाइ पछि उनी आफैले पा : ल्हा द्य भनेर फेरि नामाकरण गरिदिनु भयो । यसरी संकटालाई  राजाले केही दिन कटुवाल दहमै राखी केही समयपछि आर्यावलोकितेश्वरलाई पाटनमै थापना गरि सकेपछि पाटनमा लोकेश्वरलाई  त: बहालमा जति ठुलो जग्गामा राखियो, तबहालकै क्षेत्रफलमा काठमाडौंको टेबहाल (राजकिर्ति महाविहार) मा संकटालाई स्थापना गरिदिए । त्यसैले संकटाको मुनि मन्दिर तल श्री रातो मत्स्येन्द्रनाथको मुर्ती रहेको छ । त्यस्तै वीर पुस्तकालयमा रहेको राजमाला बंशबलीमा श्री संकटा थापना बारे २ ओटा बंशवाली रहेको छ । त्यस्तै शाक्यसिंह तथागतले पनि बन्धुदत्त आचार्यले पद्मान्तक दश्क्रोधादी देवताको स्थापना गर्ने छ भनेर भबिस्यबाणी गर्नु भएको कुरा स्वयम्भू पुराणमा उल्लेख छ ।

किम्बदन्ती अनुसार भने टेबहाल भनेर संकटा स्थापना गर्नु भन्दा अघि यश ठाउँमा रहेको विहारलाई तिर्थ विहार भन्ने गरिन्थ्यो । उत्तर मोहडा भएको मन्दिरको पहिलो तल्लामा श्री संकटाको कृष्णवर्णको सुन्दर मुर्ती रहेको छ । उनले दाहिने हातले खड्ग समातेका छन भने देब्रे हातले पद्म समातेका छन । उनले शिरमाभने चन्द्रकलायुक्त रत्नमुकुट लगाएका छन । श्री संकटा, दश्क्रोध योग योगिनी र अष्टमातृका सहित उज्ज्वल , शान्त भै प्रशन्न मुद्रामा उत्तर दिशा हेरेर बिराजमान छन । सबैको संकट हर्ने भएकोले संकटा भनिएको भन्ने भनाइ छ । संकटालाइ शैव र वैष्णव धर्मावलम्बी हरुले भगवतीको रुपमा र शनि संकटाको रुपमा पुज्ने गर्दछन । बज्रयानीहरुले भने तान्त्रिक देवता पद्मान्तक भनेर पुज्नेगर्दछन । यसै गरि बौद्ध र हिन्दु हरुले भने संकट हरण गर्ने देवताको रुपमा मान्ने गरेका छन ।

जेष्ठ कृष्ण अष्टमीका दिन बन्धुदत्त आचार्यले राजा नरेन्द्रदेवको आज्ञा अनुसार आफ्नो मन्त्रसिद्धिले एउटा कलशमा श्री संकटा र अर्को कलशमा श्री वरुण (योगिनी) लाई कलशमा बिराजमान गराइ पुजा र तान्त्रिक साधना गरेकाले त्यसै अनुरुप आज सम्म पनि हरेक १२ वर्षको एक पटक संकटाका पुजारीहरु कटुवाल दह गै आराधना गरि संकटालाइ लिएर आउने गर्दछन । त्यसरी कलशमा साधना गरेर ल्याएपछि जात्रा गरि सानेपा देखि पङ्खाले हम्काएर संकटा ल्याउने चलन यद्यपि अहिले सम्म चलिरहेकै छ । यसरी जात्रा गरि ल्याइएको कलशलाई ७५ जना थकाली बज्राचार्यहरु द्वारा भित्राएर खटबाट ती २ वटा कलश निकाली मुल ढोकामा आठ वटा पत्र भएको कमलको फुलको प्रतिनिधी स्वरुप मण्डल बनाएर त्यहाँ राख्ने परम्परा छ । यसरी जात्रा गरेर ल्याउने क्रममा मखंबहालका बज्राचार्यहरुले पन्चताल / इन्द्रबाजा , टेबहालका सिख्राकारहरुले धाँ (स्वयम्भू मेला बेला बजाइने बाजा) बाजा , र पुखु द्याँ ( खिचापोखरी) का डङ्गोलहरुले धिमे बाजा बजाएर ल्याउने प्रचलन रहेको छ।  यस टेबहाल भित्र आज सम्म पनि संकटा ल्याउनु पुर्वको र ल्याइसकेपछिको गरेर २ वटा महाविहार रहेको छ । यहाँका पुजारिले चुडाकर्म गर्ने बेला पहिले पश्चिम दिशा फर्केका अक्षोभ्य बुद्धलाई पुजा गरि विधि पुर्याए पछि मात्र पुर्वतर्फ फर्केका अक्षोभ्य बुद्धलाइ पुज्ने गर्दछन । यस संकटाको मन्दिर रहेको परिसर टेबहाल भित्र सरस्वती , स सानाचैत्यहरु , बज्रधातु चैत्य , नमोबुद्धको प्रतिक मुर्तिहरु थुप्रै छन । साथै भद्रकालीदेवीको घर पनि रहेको छ भने यहाँ नास द्य ( नाट्येश्वर) को मन्दिर पनि छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...