Monday, September 18, 2017

बनेपा अर्थात वणिर्पुर "भोंदे"


भौगोलिक स्थिति 


काठमाडौँबाट २६ किमिको दुरीमा रहेको बनेपा नेपालबाट चीन जाने अरनिको राजमार्ग तथा पनौती जाने साहायक मार्गको संगम स्थल हो। यहाँबाट पनौती, धुलिखेल लगायतका स्थानहरूमा जानको लागि सहज यातायात साधनहरू उपलब्ध छन्। यस नगरपालिकाको उत्तरी भागमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र दक्षिणी भागमा धनेश्वर मन्दिर रहेको छ ।

बनेपुर वा धर्षपुर नामको यस बनेपा शहर धनुषाकार आकृतिमा काठमाडौं देखि पूर्व अरनिको राजमार्गको २६ कि.मि. उत्तर-दक्षिण फैलिएको जिल्ला सदरमुकाम धुलिखेलदेखि चार कि.मि पश्चिममा चण्डेश्वरी र धनेश्वरी डाँडाको बीचमा ८५०३२" पूर्व देशान्तर र २७०३८" उत्तरी अक्षांशमा रहेको छ। बनेपा समुद्र सतहबाट करीब १४३८ मिटर (४७१६ फिट) उचाइमा अवस्थित छ । यो शहर पुण्यमाता खोलाको किनारमा रहरको प्राचीन एवं ऐतिहासि शहर हो जसले नेपाल अधिराज्यको इतिहासमा बेग्लै अस्तित्व राख्दछ । 


बनेपा शब्दको व्युत्पति र यसको इतिहास

 बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।

इतिहास

बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपा वरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् ।

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू

'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे ।

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपति मन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।

- विकिपिडिया

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...