Tuesday, April 18, 2017

मकवानपुर : थाहानगरमा ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा




परापूर्व कालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । युद्धमा कहिले देवताहरुको जित हुन्थ्यो, कहिले दानवहरुको जित हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चली नै रह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जित भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौं मारिए, कयौ घायल भए, कयौ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध युग समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्ण तर्फ भागी आउने देवताहरु हिन्दुस्थान भित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महशुस हुन थाल्यो । बाँचेकाहरु पुर्व एशियाका देशहरुमा स्थापना हुँदै आएका मध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३/१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । 

यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नम्बर ३ पालुङ शहरको केन्द्र भागमा नेवार बस्तीमा आई त्यहाँका मानिसहरुसंग बास मागेछ । पालुङका मानिसहरुले उहाँँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन–‘तपाइ जस्तो यौवनले धपक्क बलेको सुन्दरी युवतीलाई हामी बास दिन सक्दिन ।’ कसैले भनेछन्–‘यहाँ केही समय बास दिदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोध र अलि हँसिलो भावमा भनेछ–‘अब म पनि कुनै दिन तपाइहरुले धुमधामसंग मान्नुपर्ने भएर सिन्दुरयात्रा देखाउँदै आउनेछु ।’ अब म बास दिएता पनि बस्दिन भनी पालुङ शहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नम्बर ३ हाल थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउलेहरुले भनेछ–तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिदा तपाइलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओड्ने ओछ्याउने बस्तु केही छैन, के गरौ ? भनेपछि इन्द्रायणी माताले भनिछन्् –मलाई ओड्ने ओछ्याउने केही पनि चाहिँदैन । वेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ भनेपछि एउटा घरको कुनामा बास दिएछ । र, त्यहीँ इन्द्रायणी बास बसेछ । (त्यही बास बसेको घर नै हालको द्योछेः हो ।


त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पुजापाठ गरेको देख्ने, गाउँभरी नै धुपदीपको बास्ना फैलीरहने जस्तो अनौठो बाजागाजाको आवास आए जस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चन्चलता भइरहने जस्तो अचम्म लाग्न थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तीत मुद्रामा देख्ने, कहिलेकाँही आफ्नो पतिदेव इन्द्रदेवको सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लीएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिदैन ।

यसरी कुनै बेला साता, दुईसाता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले घर गर्दै गयो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सुपना दिएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दावहरुबीच घोर घमासान रणसंग्राम लडाई हुँदा सो लडाईमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास गरिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिनू र त्रसित हुन पर्दैन । म यहाँ रहुन्जेलसम्म हरेक समयमा तपाइहरुको सुरक्षा हुनेछ । तपाईहरुको भलाइ हुनेछ । यो तपाइहरुको गाउँमा  तपाईहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइतीगाउँ हुनेछ भनी सपना दिएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले आजापुजा गरी साक्षात् इन्द्रायणीमाई मानिराखे । 

यसरी समय बित्दै जाँदा दानवहरुको दूत जासुु पनि इन्द्रायणी कहाँ पुगेछ भनी खोजी निती गर्दै आउँदा इन्द्रायणी यहिँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्य्रायणी समक्ष भनेछ–देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खबर सुनाएर त्यही गाउाको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउलागाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछ । हे महामयीम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनू होला । हे इश्वर, हे देवी माता, के कालिका देवी होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस प्रभू । भनेर स्तुति प्रणाम गरेपछि इन्द्रायणीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरी पति इन्द्रदेव रणसंग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतिबास जानुपर्ने परम्परा रहि आएकोले अब म पनि यस मत्र्यलोकमा रहनूहुन्न ।     मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानू पर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जोडाइदिनूहोला ।

भक्तजन देउलाहरुले गहभरी आँसु बगाएर भने–सति सामाग्रीहरु के के चिज हो भगवान ? इन्द्रायणी माताले भने धुप दिप, लाजा, सिन्दुर, फूल अक्षता नदीको किनारामा   दाउराको चाङ लगाई सोला बनाइदिनू प¥यो । देउलाहरु पनि अलाप बिलाप गरी रुन लागे । नचहाँदा नचाहँदै पनि  उहाँले भने बमोजिम सम्पूर्ण सामाग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ ।

त्यसपछि देउलागाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई, रोई तल नदितिर झरे र पश्चिमबाट बगिआएको पवित्र तिर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगिेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हगाचा नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणीदेवी माताले गंगाजीको दर्शन गरी पूरे कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनु भयो । त्यसै बेलादेखि इन्द्रायणी सतिजान नहुएको हुनाले सो घाटको नाम सतिघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ छ ।


Source : www.bikaskhabar.com

बाला चर्‍हे र इन्द्रायणी जात्रा

- सन्दिप महर्जन
 


इन्द्रायणीलाई इन्द्रको पत्नीको रूपमा पुजिन्छ । बिष्णुमतिको किनारामा रहेको यस इन्द्रायणीलाई नेपालभाषामा लुती अजिमा भनिन्छ ।

किम्बदन्तीअनुसार लुती अजिमा अजिमाहरू मध्ये सबैभन्दा गरिब थिए । कथाअनुसार पशुपतिस्थित बछला माजु (भुवनेश्वरी) ले सबै दिदी बहिनीहरूलाई पाहाँ चर्‍हेमा भोज बोलाएछन् । सबैले मीठो मीठो भोज खुवाए तर लुती अजिमालाई भोलिपल्ट मात्र बोलाएछन् । खुसी हुँदै आफ्ना लालाबाला सबै बच्चाहरू लिएर भोजमा जाँदा भोज सिध्याएर भाँडा माझिरहेको थियो । आज भोज होइन ? भनेर इन्द्रायणीले प्रश्न गर्दा भोज त सकिसक्यो । खाने भए हिजोको बासी अलिकति बाँकी होला सोहरेर खाउ भनेर दिदीले उत्तर दिएछन् । यसरी आफू हेपिएपछि चित्त दुखाएर इन्द्रायणी फर्केछन् ।

इन्द्रायणीका धेरै सन्तानहरू थिए र ती सबै भोकले गर्दा रोइरहेका थिए । दिक्क भएकी इन्द्रायणीले जहाँ–जहाँ जुन–जुन बच्चाले धेरै दुःख दियो, त्यहीँ त्यहीँ छोड्दै हिँड्न थाले । आफूलाई एकदम प्यारो लाग्ने आफ्नो कान्छी छोरी मनकामना (मांकाचा) लाई लिएर केही शीप नलागेपछि खेतमा गएर एउटा फर्सी चोरेर घरमा पकाएर खानलाई काट्दा त्यस फर्सीबाट सुन निस्किएछ । त्यसपछि इन्द्रायणीले आफ्नो सबै बच्चाहरूलाई पुनः घर बोलाएर भोज खुवाए । त्यो दिन बाला चतुर्दशीको दिन थियो । त्यही बेलादेखि इन्द्रायणीको जात्रा अलग्ग हुने गरेको मानिन्छ जबकी अरू सबै अजिमाहरूको जात्रा पाहाँ चर्‍हेको बेला हुने गर्दछ । इन्द्रायणीले आफ्ना बच्चाहरूलाई भोज बोलाएपछि अरूले देख्ला भनेर ढोका लगाएर आफ्नो बच्चालाई मात्र खुवाए । अझै पनि बाला चर्‍हेको तीन दिन अगाडि लुती अजिमाको मन्दिरको ढोका लगाउनु पर्ने परम्परा छ ।

अर्को किम्बदन्तीअनुसार त्यसरी रोएर आएकी इन्द्रायणी थाय् मरु (बाङ्गेमुढा) मा बसिरहेको त्यसबेलाको त्यःर (त्यौड) टोलको जुजु (राजा) ले देखेछ । जुजुले रोइरहेकी आईमाई साधारण व्यक्ति नभइ देवता हुनुपर्छ भन्ने अनुमान लगाए । अनि इन्द्रायणीको अगाडि गएर भक्तिभावले बिन्ती गरेर दर्शन मागे । इन्द्रायणीले दर्शन दिई सकेपछि जुजुले इन्द्रायणीलाई आफ्नो टोलमा बस्न आग्रह गरे । जुजुले अनुनय–बिनय गरेपछि उनी राजी भइन् । अनि जुजुले उनलाई त्यःर त्वाः (त्यौड टोल)मा लगेर राखे । इन्द्रायणीले आफ्नो दुःख सुनाएपछि जुजुले हरेक वर्ष पुजा दिने बाचा गरे । इन्द्रायणीले आफू धेरै भोकै भयो भने रुद्र रूपधारण गर्न सक्ने र बलि लिन सक्ने कुरा सुनाएपछि राजाले बिन्ती गर्दै म हरेक वर्षको एक पटक ठूलो अग्नि होम गरी हजुरलाई बलि पनि दिन्छु । तर यसको बदलामा तपाईंले मेरो राज्यको सुरक्षा गर्नु पर्छ भनेर भनेपछि इन्द्रायणीले हुन्छ मलाई बाला चतुर्दशीको दिन पूजा गरेर बलि चढाउनु भनेर त्यहीँ अलाप भएछ । त्यसपछि जुजुले मूर्ति प्रतिस्थापन गरे ।

लुती अजिमालाई हेपिएको भएर उहाँले राजालाई दर्शन दिएर सपनामा जात्रा पनि चलाउ भनेपछि बाला चर्‍हेमा लुती अजिमासहित स्वाँछपु गणेश, भुँडी गणेश, मनकामना, ज्वालामाई, शोभा भगवतीको खट जात्रा गरिन्छ ।

वंशावलीअनुसार कलिगत सम्वत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षार्थ नगरको चारैतिर लुँमढी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंगेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खट जात्रा चलाएका हुन् ।

मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा अवस्थित इन्द्रायणी र भगवतीको सन्दर्भमा किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लडाँई हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रायणीले श्रीमान् युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सती घाटमा सती जान लाग्दा आकाशबाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुसीयालीमा इन्द्रायणीको जात्रा मनाउन थालिएको हो ।

 

Monday, April 17, 2017

त्रिशुल जात्रा : राक्षसलाई तर्साउने तथा काठमाडौंबासीलाई गाली गर्ने जात्रा

 
 
नेपाल सम्वत् तछलागा, भलाष्टमीको दिन पशुपतिनाथको देवपतन (ग्वलः देश) र पशुपतिको जय बागेश्वरी क्षेत्रमा नेवार समुदायहरूले धुमधामसँग मनाउने एक विशेष जात्रा हो । जुन जात्रालाई राजा यक्ष मल्लले नेपाल सम्वत् ६३४ देखि चलाउन लगाएका थिए । यस जात्रालाई सर्वप्रथम श्री बत्श्लेश्वरीका पुजारी, साधक तथा तान्त्रिकाचार्य मुनिबन्धुले सुरुवात गरेका थिए ।

किम्बदन्तीअनुसार राजा नरेन्द्रदेवका पालामा उनका एक जना गुरु बन्धुदत्त आचाजु थिए । उनी तन्त्रविद्यामा पारंगत थिए । उनले इच्छाएको वस्तु प्राप्त गर्न सक्थे र देवी देवतालाई समेत वशमा राख्न सक्थे । उनको समयमा एक पटक नागार्जुन पर्वतबाट एउटा राक्षस सुवर्णपुर अर्थात देवपतन (ग्वलः देश) क्षेत्रमा आएर बालबच्चा चोरेर हाहाकार मच्चाए । सो कुराले राजालाई पनि चिन्तित बनाए । उनले बन्धुदत्तसँग सल्लाह गरे । बन्धुदत्तले पनि राजासँग ४०–५० जनाको बलिया सिपाहीको माग गरे । ती सबैलाई राक्षस आउने बाटोमा लुकेर बस्न आदेश दिए । जब राक्षस आयो, ती लुकेर बसेको ठाउँमा सिपाहीहरूले आक्रमण गरे । तर राक्षस मायाबी रूपधारण गरेर अलप भए साथै काठमाडौं शहरमा गएर लुक्न गए । सिपाहीहरू खोज्दै त्यहीँ पुगे । तर काठमाडौंबासीले यहाँ कोहीँ पनि आएको छैन भन्दै राक्षसलाई बचाए । सिपाहीहरू राक्षस खोज्दै नागार्जुन डाँडासम्म पुगे ।

राक्षसको बच्चालाई समातेर ल्याएर त्रिशुलले खोपेर स्थानीयहरूले बदला स्वरूप हाम्रो बच्चा सकिए अब तिम्रा बच्चालाई त्रिशुलले यसरी नै रोपेर मार्छौं भनेर तर्साए । राक्षसले फेरी पनि बच्चाहरू चोरेमा उसको पनि यसरी नै अन्त्य गरिने भनेर त्रास देखाएपछि सो कार्य रोकेपछि त्यसैको सम्झनामा हरेक वर्ष यो त्रिुशुल जात्रा मनाउँदै आएको हो । यसपछि भने त्यो राक्षसले जनताका कुनै पनि छोराछोरीलाई मार्ने आँट गरेनन् । हरेक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ । यसैको सम्झना स्वरूप हालसम्म पनि यो जात्रा निरन्तर चलिरहेको छ ।

अर्को प्रचलित किम्बदन्तीअनुसार एक पटक बन्धुदत्त आचाजुले देवी भुवनेश्वरीलाई निकै खुशी पारेका थिए । भुवनेश्वरी प्रकट भई ‘तिमीलाई जे माग्नु छ माग’ भन्दा बन्धुदत्तले लोकरक्षाका लागि अमृतको घडा मागे । देवी पनि भोलि पूजा गर्ने बेलामा तिम्रो इच्छा पूरा हुनेछ भन्दै अन्र्तध्यान भइन् । भोलिपल्ट पूजा गर्ने बेलामा देवी फेरी प्रकट भइन् र बरदानका लागि फेरी सोधिन् । बन्धुदत्तले पनि सोही माग दोहोर्‍याए । त्यसपछि देवीले तिम्रो पछाडि जो छ, मलाई त्यसैको बलि देऊ, अनि मात्र तिम्रो इच्छा पूरा हुनेछ भनेर अलप भइन् । फर्केर हेर्दा आफ्नै छोरो रहेछ । तर पनि बन्धुदत्तले हिम्मत हारेनन् । उनले लोककल्याणका लागि छोराकै बली दिन पनि तयार भए । साथै, पाएको अमृतजलले पुनः आफ्नो छोरालाई जीवित पार्ने उनले जमर्को गरे । सोहीबमोजिम छोरालाई बली पनि दिए । देवी पुनः प्रकट भइन् र छोरालार्य बली चढाएको कसैलाई थाहा नहुने गरी सात कोठाभित्र ताल्चा लगाएर राख्न लगाई कामरूप कामाक्षामा रहेको अमृतको घडा लिन जानु र साथै अमृत ल्याएर छोरालाई पनि बचाउनु अनि लोकको भलो गर्नु भन्ने आदेश दिइन् । र, आफू अन्र्तध्यान भइन् । उनले कामरूप जानुअघि पत्नीलाई आफू नफर्केसम्म सो कोठा नखोल्ने आदेश दिएका थिए । यता, सोही दिनदेखि छोरो हराएकाले उनी अत्यन्त चिन्तित थिइन् । यस्तै चिन्तित अवस्थामा सुतिरहेको बेला सपनामा पशुपतिनाथले ‘तिम्रो छोरो मरेकाले बन्धुदत्त उसलाई सात कोठाभित्र राखेर विरक्तिएर देश नै छोडेर गयो’ भनेछन् । उनले यो सपना माइतीमा गएर सुनाइन् । माइतीले पनि मरेको लास सडाउनु हुँदैन भन्ने ताल्चा फोर्दै लासलाई बाहिर निकाले । साथै, भष्मेश्वर घाटमा लगेर दाहसंस्कार पनि गरे । यता जब बन्धुदत्त अमृतको घडा लिएर घर फर्कंदै थिए, बाटैमा उनले सो विवरण थाहा पाइहाले र सार्‍है चिन्तित भए । आफूले भनेको नमान्ने भन्दै श्रीमतीसँग सार्‍है दुःखी भए । सो अमृतको घडा बाटैमा गाडेर अलप भए । यो सबै घटना राजा नरेन्द्रदेवले थाहा पाए । यसपछि मनाइने त्रिशुल जात्रामा बन्धुदत्तको छोराको समेत चित्रण पाइन्छ र यात्राले विस्तृत रूप लिएको मानिन्छ ।

यस जात्रामा भाग लिएका मानिसहरूले हातहातमा रुखका हाँगा र बोक्रा समाती राक्षसहरूलाई गाली गरिरहेका हुन्छन् । एउटी आईमाई घण्टी बजाउँदै पछिपछि हिँडिरहेकी हुन्छन् । सिफलबाट निकालिएको त्रिशुल जात्रा सिफल टोल, दथु टोल, पास्चा टोल, चलेपाखा परिक्रमा गरी आ–आफ्नो स्थानमा गएर बिसर्जन हुन्छ र बालिकाहरूलाई आर्यघाटमा लगी स्नान गराई दाह संस्कारका लागि सुत्न लगाइन्छ । बालिकाहरूलाई आफैँ नउठेसम्म उठाउनु हुँदैन भन्ने मान्यता रहेको छ । बालिकाहरू उठेपछि विधिपूर्वक घर–घरमा भित्र्याइन्छ । यो क्रियालाई आर्यघाटबाट मुर्दा ब्यूँतिएर आएको विश्वास गर्दै सगुन स्वरूप चौरासी व्यञ्जनसहित भोजन खुवाइन्छ ।

तान्त्रिकाचार्य मुनिबन्धुले यस जात्रालाई चलाउन तान्त्रिक विधिविधान अनुरूप नौ वटा खटहरू मुसल, शफ, त्रिशुल, खड्ग, पास, तरबार, बलिछरी आदि आयुधले युक्त गरी कुमार र कुमारी नौ जनालाई रथमा राखी आषाढ कृष्ण अष्टमीको दिन श्री इशानेश्वर महादेवको प्रदछिना गरी जात्रा गर्ने रित चलाएका थिए तर आर्थिक अभावको कारण हाल तीन वटा खतमा मात्रै यस जात्रा सीमित भएको छ । नियमअनुसार गणेश, भैरब र कुमारका साथै नौ कुमारीहरू हुनु पर्नेमा कुमारीको लागि सर्वलक्षणयुक्त र शरीरबाट कुनै रक्तश्राव नभएकी कन्या हुनुपर्ने कठिनाइले गर्दा नौ रथको सत्ता तीन वटा रथमा सीमित भएको हो । तान्त्रिक विधिविधानअनुसार यात्रा अवधिभर कुमार–कुमारीलाई बेहोस गराइन्छ । यात्राको विधानअनुसार आर्यघाटको वत्सलेश्वरी को मन्दिरनजिक रहेकी जयमंगलदेवीको स्थानबाट एउटा रथमा बालिकालाई त्रिशुल रोपेर मारेको देखिने गरी निकालिन्छ ।

सोही दृश्य समेटिएको दोश्रो रथ कुमार मात्र राखी बज्रघरबाट निकालिन्छ र जयबागेश्वरीबाट आएको तेश्रो रथमा तीन जना बालिकाहरू गणेश, कुमार र कुमारीलाई एउटै त्रिशुलले मारेको दृश्य देखाइएको हुन्छ । यसपछि वत्सलेश्वरी र बज्रघरका रथहरू जयबागेश्वरी आइपुगेपछि तीनवटै रथहरूको संयुक्त यात्रा सुरु हुन्छ । तेश्रो खटको आर्थिक भार माता जगदम्बा त्रिपुरा सुन्दरी भगवती भुवनेश्वरी पीठको गुठीले बेहोर्ने गरेको छ । खटमा राखिने बालिकाहरूको छनोट जात्रा आरम्भको दुई महिना अगावै बैशाख पूर्णिमाको दिन गरिन्छ र यही दिन कुमारी पूजा पनि गरिन्छ ।

ग्वलः देश (हालको जय बागेश्वरी क्षेत्र) का तान्त्रिक बन्धुदत्त आचार्यको काठमाडौंकी श्रीमतीको अविश्वासको कारणले मृत छोरालाई बचाउन असफल भएको तथा राक्षस लुकाउने काठमाडौंबासीलाई यस दिन ग्वलःबासीहरूले काठमाडौं शहरको भित्री बासिन्दाहरूलाई निकै अश्लील शब्दमा गाली गर्ने चलन पनि रही आएको छ । यस जात्राको मुख्य विशेषता भनेको नै सक्दो गाली गर्नु, गाली सुन्नु र सुनाउनु नै परम्परा रही आएको छ ।

Wednesday, April 12, 2017

पलान्चोक भगवती


किंवदन्ती अनुसार पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको थिए । यिनीहरुका ७ दिदीबहिनीहरु थिए

किंवदन्ती अनुसार एक जना कलाकारले पलान्चोक भगवतीको मूर्ति निर्माण गरे तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाए, उनको देब्रे हात पनि काटिएछ । कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाए, त्यसपछि उनलाई मृत्युदण्ड दिइएछ ।

पलान्चोक भगवतीको उत्पत्तिका बारेमा जनमानसमा प्रचलित किंवदन्ती अनुसार, एक पटक बुकोटका बासिन्दाले एक पटक भगवतीलाई सपनामा देखेछन् । त्यसपछि तिनीहरूले भगवतीको स्थापना गर्नका लागि कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एक पटक बिसाएछन् । तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले तिनलाई यहीं स्थापना गराएछन् । पलान्चोक भगवतीलाई पसिना आएको खण्डमा राष्ट्रमा राजनीतिक संकट आउने विस्वास गरिन्छ ।

साँखु : बज्रयोगिनी देवी



मृगेन्द्र शिखर पर्वत / मणिचुड पर्वत, साँखुमा विराजमान श्री बज्रयोगिनी देवी !!

बौद्ध परम्परा अनुसार बज्रयोगिनी देवीलाई बुद्धशक्ति ‘तारा’को रुपमा मानिन्छ । महायानीहरुले बज्रयोगिनीलाई उग्रतारा भनेर पनि मानिन्छ तैपनि बज्रयानीहरुले बज्रयोगिनी नामकरण गरिदिएको वंशावलीहरुमा उल्लेख भएको पाइन्छ ।

परापूर्वकालमा मायासुर नाम गरेका दैत्यले देवलोक जिती देवताहरुलाई देवलोकबाट लखेटे । उक्त दैत्यलाई अरु कसैले बध गर्न नसक्ने भएकोले गुरु वृहस्पतिको सल्लाहअनुसार उत्तरापन्थमा विराजमान श्री उग्रतारा बज्रयोगिनी देवीलाई खुसी तुल्याउन देवगणसहित भगवान विष्णु स्वर्गलोक पुगी उत्तरापन्थमा रहेको १२ तीर्थ, १० कुण्डमा स्नान गरेर बज्रयोगिनी माताका क्षेत्रपाललाई नै गुरु मानेर नारायणी नदी तटमा एक महिनासम्म व्रत बसे । त्यसपछि देवी खुशी भई युद्ध मैदानमै विजयवाहिनी भगवनी प्रकट हुने मन्त्र प्रदान गरेपछि देवगणले आदिशक्ति भगवती माताको आरधना गरी देवी भगवतीलाई आ–आफ्नो शस्त्र–अस्त्र प्रदान गरेपछि भगवतीले मायासुर दैत्यको वध गरी देवलोकको उद्धार गरेको किंवदन्ती पाइन्छ ।

यो घटनापछि तान्त्रिक अनुष्ठान गरी बज्रयान मुद्रामा रहेकी यिनी देवीको हत्केला पछाडि खड्ग राखिदिएपछि खड्गयोगिनी देवीको नाममा प्रख्यात भए ।
 

टोखा : आफ्नै कथा आफ्नै ब्यथा !!



टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो । चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ

Tuesday, April 11, 2017

ल्हुती पुन्ही : म्हेपी अजिमा जात्रा


किम्वदन्ती अनुसार मनकामना, मनमैजु र म्हेपी अजिमा एकदम नजिकको साथी तथा दिदीबहिनीहरु थिए । तिनै जना आ-आफ्नो शक्ति देखाउन ३ ठाउँतिर लाग्दै सिद्ध प्राप्त गरेका थिएँ । म्हेपी अजिमा ज्यापुनीको रुपमा मानिन्छ । म्हेपी अजिमाको नाम आशामाँ थियो । पछि योगाम्बर वा जोगाम्बर नामले परिचित भए । आशामाँले आफु नांगै भै महादेवसंग अँगालो मारेर खुसि पारेर सिद्ध भएको मानिन्छ, त्यसैले योगाम्बर भनिएको हो । पछि एक जना तान्त्रिक गुरुले योगाम्बरलाई पुजा गरि रहेको बेला गुरुजुको पछि पछि आउने गुरुजुकै छोराको भोग लिएर उसैको सरिरमा बसेकोले म्हेपी नामाकरण भएको मानिन्छ । पछि यहि बच्चा करुणामयलाई नेपाल ल्याउने बन्धुदत्त हुनेछ भनेर बरदान पाए । त्यसैगरी मनकामनाले पनि महादेवलाई खुसि पारेर सिद्ध भएको र मनमैजु (फुसिंख्य अजिमा) ले देवराज इन्द्रलाई खुसि पारेर सिद्ध भएको मानिन्छ ।

बालाजु पुर्णिमाको दिन यस देवीको जात्रा हुने गर्दछ । अघिलो दिन कमलाछीको तँलाछी टोलमा अवस्थित देवघरबाट देवीको देवमुर्तिलाइ लागि म्हयपी मन्दिरमा तान्त्रिक विधि पुर्वक स्थापना गर्ने गरिन्छ र पुर्णिमाको दिन साँझ बाजागाजाका साथ मन्दिरमा स्थापित मुर्तिलाइ दुई तल्ले खटमा राखी जात्रा गर्दै तँलाछीस्थित देवघर अगाडी राख्न ल्याइन्छ, त्यसको भोलिपल्ट धुमधामका साथ खटलाइ नगर परिक्रमा (काठमाडौँको पुरानो वस्ती) गराइन्छ । म्हयपी मन्दिर अवस्थित डाँडोको माटो धेरै नै पवित्र मानिन्छ, यसै कारणले सेतो मछिन्द्रनाथ, पाटनको रातो मछिन्द्रनाथ, नाला करुणामय, किर्तिपुरको बाघ भैरब , चोभारको करुणामय र बिजेश्वरीको मुर्ति बनाउन अथवा जिर्णोदार गर्नका लागि यहाँको माटो लैजाने गरिन्छ

श्रोत : राजेन्द्र महर्जन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...