Friday, October 6, 2017

बुङ्गमति : हयांग्रिव भैरव र भीमसेनको मितेरी कथा



कुनै बेला भिन्द्यो: अर्थात भीमसेन र हयांग्रिव भैरव मित थिए, एक दिन भैरवले आफ्नो मित भिन्द्यो:लाई एक चाडमा पाहुना बोलाउछन, जुन बुङ्गमतीमा "खिचाबु म्ये स्याइगु" को दिन हुन्छ, यो भनेको पाटनमा बुङ्ग:द्यो: रथमा राख्नु भन्दा ३ दिन अगाडी हो त्यो दिन भैरवले आफ्नो मितलाई भोज खुवाउन भनि हयांग्रिव भैरवको मन्दिर अगाडी राखेर सिंगो राँगो सत्कारपुर्वक खान दिन्छ, जुन राँगोलाई मारी छाला निकालेर त्यहि छालाले त्यो राँगोलाई छोपिराखेको हुन्छ तर हयंग्रिव भैरव स्वयम् भने मन्दिर पछाडिको चोकमा बसेर अर्कै राँगो मारेर खाइरहेको हुन्छ त्यसलाई देखेर भिन्द्यो: आफुलाई चाही मरेको राँगो खुवायर आफु चाहिँ जिउदो खाईराख्यो भनेर रिसाएर जान्छ खिचाबुम्ये स्याइगुको दिन दुइ ठाउमा बलि दिनुको कारण यहि हो पछि मोहनी जात्राको बेलामा उक्त भिन्द्यो: पुन आएर भैरवलाई बाहिर जानै दिन्न भनेर खुट्टा फैलाएर ईखा (मत्स्येन्द्र बहालको दक्षिण प्रवेश) मा बसिराखेको हुन्छ त्यो जात्राको पहिलो दिन थियो जसको कारणले गर्दा आजु-अजी जात्राको खटलाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगिदैन मत्स्येन्द्र बहाल भन्दा बाहिर जात्रा गरिदैन

त्यसरी खुट्टा फैलाएर बसे पछि नागेर जान नमिल्ने भए पछि पहिलो दिन मत्स्येन्द्र बहाल भित्र मात्र जात्रा हुन्छ भोलि पल्ट दशमीको दिनमा हयंग्रिव भैरवले हनुमानलाई बुङ्गमतिमा जात्राका लागि निम्तो बोलाउछ, अनि हनुमान आएर किन भन्ने जिज्ञासा भैरव सामु राखे पछि भैरवले भएका सबै कुरा बेला बिस्तार लगाई, अब तिमीले उक्त भिन्द्यो:लाई बाँसको टुप्पोले यहाँबाट हटाइदिनु पर्यो भनि आग्रह पश्चात खुट्टा फैलाएर बसेका भिन्द्यो:लाई बाँस (धुसाँ पं) को टुप्पोले अंकुस लगाएर हुत्त्याईदिन्छ, जुन भिन्द्यो: हनुमानको त्यो हुत्त्याईले दोलखामा हाल रहेको दोलखा भीमसेन ठाउँ सम्म पुग्छ त्यसैले दोलखा भिमसेनको मन्दिरमा रहेको भीमसेन बुङ्गमतीबाट हुत्त्याइएको भीमसेन हो भानिन्छ

यसरि हुत्त्याइए पछि बाटो खुला भए पछि मात्र जात्रालाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगेर दशमी र एकादसिको दिनमा पुरा बुङ्गमति घुमाएर जात्रा गरिन्छ

खोइचा, बुङ्गमति-९ मा पनि हनुमान रहेको छ, जुन हनुमान एक पहरा दिदै बसेको हुन्छ, कतै हुत्त्याइएको भिन्द्यो: फेरी फर्केर आयो भने भगाउन बसेको हुन्छ र बेला बेलामा जागेको हनुमान विभिन्न ठाउँमा बाँसमा चद्नुको अर्थ कतै भिन्द्यो: फर्केर आयो कि आएन भनेर हेरेको हो यसैकारण दशमीको दिनमा मत्स्येन्द्र बहालमा हनुमान बोलाउनु भन्दा पहिला खोइचामा गएर पुजाआजा गर्नु पर्ने हुन्छ त्यहाँ पुजा सकी सकेर फर्के पछि मात्र मत्स्येन्द्र बहालमा हनुमान जगाएर बोलाउने कार्य सुरु हुन्छ अरु ठाउँमा खड्ग जात्रा भए जस्तै बुङ्गमतीमा पनि खड्ग जात्रा हुन्छ तर यो कुरा धेरै कमलाई मात्र थाहा छ मध्यरातमा हुने यो जात्रा सिर्फ पानेजुहरुको उपस्थितिमा नवमीको रात बुङ्गमति देखि खोइचा सम्म निरन्तरता हुन्छ जुन खड्ग पद्मपानी लोकेश्वोर बुङ्ग:द्यो:को हो र बुङ्ग: द्यो:को मन्दिरमा रहेको छ

हयंग्रिब भैरवबाट आग्रह भए बमोजिम टुप्पोले हुत्त्यौनु पर्ने हुन्छ, जसको कारण जात्राको बेलामा हेर्न सक्नु हुन्छ अरु सबै ठाउँमा बाँसको फेदलाई अघि लान्छ तर ईखातिर लग्दाखेर बाँसको टुप्पोलाई अघि राखेर तान्छ

पहिला पहिला आजको दिनमा कार्य विनायक परिसरको पपुख्य:मा भैरव नाच्न आउथ्यो भैरवले लगाएको गर-गहना तथा अन्य बाजाहरुको ताल र नाचको आवाज प्रस्टै संग टाढा टाढा सम्म सुनिन्थ्यो पछिल्लो पटक बि.सं. २०२४ सालमा सुनिएको थियो जसको केहि समय पछी सुनको जलप लगाइएको पुरानो आजु-अजी (श्री मनकामना माई) को मुर्ति चोरी भयो र तट पश्चात आज सम्म पनि त्यस्तो नाचको आवाज सुनिएको छैन मुर्ति चोरी भएको बर्ष आजु-अजीको जात्रा फोटोलाई खटमा राखेर जात्रा गरिएको थियो पछि स्थापना गरिएको आजु-अजीको मुर्ति त्यहि फोटो पौभा:लाई आधार मानेर बनाईएको थियो

 श्रोत : बुङ्ग बुङ्गमति अमरापुर (फेसबुक)

बुङ्गमति : हयांग्रिव भैरव र मनकामना माईको कथा

पहिला पहिला बुङ्गमति रथमा राख्नु भन्दा ३ दिन अघिको दिनमा कार्यविनायक परिसरको पपुख्य:मा हयांग्रिव भैरव नाच्न आउने गर्थ्यो रे । भैरवले लगाएको गर-गहना तथा अन्य बाजाहरुको ताल र नाचको आवाज प्रष्टसंग टाढा टाढासम्म सुनिन्थ्यो रे । पछिल्लो पटक बि.सं. २०२४ सालमा सुनिएको थियो जसको केहि समयपछि सुनको जलप लगाइएको पुरानो आजु (श्री मनकामना माई) को मुर्ति चोरी भएपश्चात त्यस नाचको आवाज सुनिएको छैन रे
कथाअनुसार बुङ्गमतीमा आजु-अजी (मनकामना माई) को जात्रा हुँदा गोर्खामा अवस्थित मनकामना माइको मन्दिरको ढोका बन्द रहन्छ । नवमी, दशमी र एकादशी गरि तीन दिन हुने आजु-अजी जात्राको बेलामा तीन दिन नै उक्त मन्दिरको ढोका बन्द रहन्छ र कुनै किसिमको पुजाआजा गरिदैन । पुजाआजाका लागि आएका भक्तजनलाई पनि उक्त मन्दिरका पुजारीले उल्लेखित तीन दिन सम्म कुनै किसिमको पुजाआजा हुदैन, यदि पुजा गर्ने पर्ने भए बुङ्गमतीमा गएर पुजाआजा गर्न जानु भनि फर्काउने गर्दछ

एक किम्बदन्ती अनुसार बुङ्गमतीका आजु-अजी मध्ये आजु केहि दिन घर नफर्केको हुन्छ । घर नफर्केका आजुलाई खोज्न अजी घरबाट निस्किएर आजुको खोजीमा यताउता गर्दै जाँदा हालको गोर्खामा अवस्थित मनकामना माइकोमन्दिर रहेको स्थानमा पुगे पछी आराम गर्न भनि रोकिदाँ त्यहीं विराजमान हुन पुग्छिन । यसरि आजुको खोजीमा निस्किनु भएकी अजी उक्त ठाउँमा विराजमान हुँदा मनकामना माईको नामले चिनिन्छिन । यसै कारण मोहनिको तीन दिन नवमी, दशमी र एकादशी बुङ्गमतीमा आजु-अजीको जात्रा हुँदा गोर्खामा अवस्थित उक्त मन्दिर बन्द गरि कुनै किसिमको पुजाआजा सम्पन्न गरिदैन र आएका भक्तजनलाई पनि बुङ्गमतीमा गएर पुजा गर्न भनि फर्काउने गर्दछ

पछि आजुको खोजीमा निस्किनु भएकी अजीलाई हयांग्रिव भैरवले भेट्टाउनु हुन्छ र सम्झाई बुझाइ आफ्नो घरमा लानु हुन्छ र र घरमै राख्नु हुन्छ अनि थरि थरिका खानेकुरा दिएर फकाउनु हुन्छ । आजु घर फर्केपछि अजिलाई आफ्नो घरमा नपाए भएपछि वरिपरिकाबाट हयंग्रिव भैरवले आफ्नो घरमा राखी राख्नु भएको छ भन्ने खबर पाएपछि आजु हयंग्रिव भैरवको घरमा गइ अजिलाई लिन जानु जान्छु तर हयंग्रिव भैरवले आफ्नो घरमा छिर्न दिनु हुन्न । यसै कारण जात्राको एकदिन भए पनि आजु-अजीलाई हयंग्रिव भैरवको मन्दिरमा राखेको हामि देख्न सक्छौ भने अजीलाई हयंग्रिव भैरवसंगै राखिन्छ र आजुलाई बाहिर पट्टि राखिन्छ । जात्राको क्रममा एक शब्दको निकै प्रयोग भएको हामी सुन्न सक्छौ त्यो हो 'अवे अवे', वास्तवमा यो अवे अवे भन्ने शब्द अभय अभयको अपभ्रम्स भएर आएको हो जसको अर्थ 'भय' डर नभएको भन्ने जनाउछ
पहिला पहिला हयंग्रिव भैरव घुमघाममा निस्किदा लुभु पुगेपछि रात परेको हुन्छ । रात कटाउन निदाउंदा भोलिपल्ट बिहान भएको चाल नपाएर सम्पूर्ण लुभुबासी जम्मा भएर हयंग्रिव भैरव सुतेको हेरी रहन्छ । हयंग्रिव भैरव हो भन्ने थाहा पाएका लुभुबासीले हयंग्रिव भैरव निन्द्राबाट ब्युँझे पछि ठुलो भोजनको निम्ति आग्रह गर्छ जसमा पशुबली पनि रहेको हुन्छ । तर हयंग्रिव भैरबले त्यतिबेला लाजले भनेको हुन्छ कि 'म बली लिन्न अरु भोजन गर्छु तर यो पशुको बली म ग्रहण गर्दिन' । यसरी सम्पूर्ण लुभुबासीको अगाडी बली लिने नगरेको बताएर फर्केको हयंग्रिव भैरव आज सम्म पनि आफुले बली लिने गरे पनि यदि कोहि लुभुबासी आफ्नो नजिक या वरिपरी भयो भने बली दिन लागेको पशुलाई 'मु हायकेको' गर्दा 'मु हाईमखु' भन्ने किम्बदन्ती सर्वसाधारण राख्ने गर्दछन । 'मु हायकेको' भनेको बली दिन लागेको पशुको जिउमा जल छर्काएर उक्त पशुले आफ्नो जिउमा रहेको जललाई जिउबाट हटाउन आफ्नो जिउ हल्लाउने एक प्रक्रिया हो । जुन प्रक्रियालाई बली दिन लागेको पशुलाई, बली दिनु भन्दा पहिला त्यहि पशुबाट अनुमति लिनु सरह मानिन्छ
 


टुटेश्वर महादेव



भगवानको नाम चाहिँ टुटेश्वर महादेव । जोडीहरु आइ भित्तामा "आइ लभ यु" कोर्नेहरुको भिड लाग्ने गर्छ रे ।


टुटेश्वरनाथ महादेव मन्दिरको एक चिनो आलेख अनुसार बि.सं. २००१ सालमा जंगल फडानी गर्ने क्रममा रुख कटान गर्दैै जाँदा घना जंगलको घारीमा शक्तिशालि ढुंगाको साँढे भगवान जिर्ण फेला परे ।

पहिले मानिसहरु शान्दार भन्ने जातका राम्रा काठहरु लिन दक्षिणतिरबाट उत्तर तिरको जंगलमा आउने गर्थे । शान्दारका रुखहर खोज्ने क्रममा चारैतिर खोलाले कटान गरि बाँकी रहेको एउटा सुन्दर डाँडामा (कैलाश पर्वत) अदृश्य रुपमा रहेको ढुंगाको जिर्ण साँढे (बसहा) फेला परे । उनीहरुले कसैले नदेख्ने गरि राती खोलैखोलो चोरेर लान खोजे ।

जर्बजस्ती टाइर गाडामा लोड गरे । लाँदालाँदा गौशाला बजारमा खाल्डे बजार भन्ने स्थानमा टाइर गाडाको धुरा भाँचियो । धुरा बनाएर कति लोड गर्दा पनि भएन । उनीहरु छाडेर गए । उनीहरु पछि घर गएर अन्य कोही मानिसहरुलाई समेत बोलाएर फलामे धुरा लिएर आए । फेरी धुरा भाँचिएको ठाउँमा आउँदा त्यहाँ त्यो ढुंगा थिएन । खोज्दै जाँदा पहिलेकै घनघोर जंगलमा भेटियो । फरी टाइर गाडमा लोड गरेर लान खोज्दा पहिले धुरा भाँचिएको स्थानमा फलामे धुरा भाँचियो । उनीहरु ढुंगा महादेव भएको भन्दै माफी माग्दै त्यहाँबाट उनीहरु फर्किए । सत्यवादी ढुंगा फेरी पहिलाको ठाउँमा फेला परे ।

नयाँ फडानी र शक्तिशाली ढुंगारुपी महादेवका कारण किसानहरुको खेतमा उब्जनी राम्रो हुन्थ्यो । भगवानले आफूलाई समाजमा चिनाउन आफ्नो शक्ति प्रर्दशन गर्न किसनको खेतको बाली खाइदिने गर्थे ! एक दिन किसान दुःखी हुँदै मेरो बाली कसले खायो भन्दै खेतमा खुकुरी लिएर लुकेर बसे । साँढेले खेतमा लगाएर तोरी खाँदै गर्दा किसानले रिस खप्न नसकी खुकुरीले हान्दा कान टुट्न गयो । साँढे भाग्ने क्रममा घनघोर जंगलमा प्रवेश गर्यो ।

किसानले रगत र पाइलाको आधारमा वास्तविकता खोज्दै जाँदा शीतैशीतमा साँढेको जीउ भरी तोरीको फूल टाँसिएको, दाहिने पट्टीको कान भाँचिएको ढुंगारुपी दृश्य देख्दा किसनले डराईडराई भगवानसँग मैले गल्ती गरेछु, भन्दै क्षमा मागे र गाउँमा सुनाउँदै हिँडे । साँढेको कान टुटेकोले जनमानसले टुटेश्वरनाथ महादेव मन्दिर नाम रहन गएको जनविश्वास छ ।

@बर्दिबास, महोत्तरी श्रोत : रातोपाटी

लुभु : ऐतिहासिक परिचय


नेपाल सम्बत ४२५ मा तत्कालिन राजा हरिहरसिंह मल्लले ३०० घरहरु बनाई बस्ती बसाले । दुर्भाग्य, केहि समयपछि त्यस बस्तीमा बस्ने जनताहरुलाई गलगाँड आउने समस्या हुन थाले । राजा हरिहरसिंह मल्लले बनाएको बस्तीको तलतिर गोभ्रटेश्वर महादेवको मन्दिर थियो ।

एउटा तान्त्रिकले गोभ्रटेश्वर महादेवको माथि मानिसहरुको बस्ती बसाल्न असुभ हुने भनेपछि राजा हरिहर सिंहको महारानी गंगामायाले आफ्नो सुनको थाल (लुँ भु) बेचेर बस्तीलाई महादेवको मन्दिर भन्दा मुनि अर्को बस्ती बसाले । यसै किम्बदन्तको आधारमा यस बस्तीलाई "लुँ भु" बाट अपभ्रंस भै लुभु भएको भन्ने भनाइ छ ।

स्कन्ध पुराण अनुसार, हिमवत् खण्डमा उल्लेखित ६४ शिव लिंगहरु मध्ये १ लिंग यस लुभुमा पर्दछ । द्वापर युगमा श्रींन्गी नामक ऋषिले कामधेनु गाईको गोबर पुजा गर्दै ध्यानमा बस्दा आषाढ कृष्ण चतुर्दर्शीको दिन गोबरबाट तेजस्वी लिंग निस्केको धार्मिक कथा पाइन्छ ।

लुभु बस्ती बसालेको केहि बर्ष पछि राजा हरिसिंग मल्लले बैसाख शुल्क तृतीय / अक्षय तृतीय देखि दशमी सम्म महालक्ष्मी - महाभैरबको जात्रा चलाए ।

तुम्लिंगटार : सतीको सराप



अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको  नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला र संखुवासभा जिल्लाको तुम्लिंटारलाई जोडेको छ । यो घाटको नाम सतीघाट कसरीरहन गयो भन्ने बारेमा बिभिन्न खाले किंबदन्तीहरू सुन्न पाइन्छ । जसमा एउटा यस्तो कहानी पनि छ । परापूर्व कालमा यो घाट अरुण नदीमा आवत जावत गर्ने घाट नभएर, मसानघाटको रुपमा मात्र रहेको थियो । 

भोजपुर जिल्ला पटि भनौं वा दिंला तिरका मान्छेको दाहसंकार गर्ने मुख्य घाटको रुपमा मात्र थियो । त्यो घाटको बगरमा प्रसस्त दाउरा पाइने भएकोले गर्दा, टाढाटाढा देखिका मुर्दा लिएर त्यही आउने चलन थियो । जमाना धेरै पहिलेको भएको हुँदा, महिला र अविबहित पुरुष मर्दा जलाउँने ठाउँ भिन्दै र पत्नी भएका पुरुषको मृत्यु भएमा जलाउँने ठाउँ भिन्दै थियो । जुन पुरुषको मृत्यु भएको छ, उसकी पत्नीलेसँगै जलेर सतीजानु पर्ने बाध्यता थियो । यदि कसैले आफ्ना पतिको साथमा सती जान नमानेमा उसलाई समातरे हात र खुट्टा बाँधी पतिको लाससँगै जलाइन्थ्यो । त्यो अवस्थामा पतिको साथमा सती जाने सतीहरू रुन्छन् कराउँछन् भनेर बाजा गाजा बजाएर कसैले पनि तिनीहरूको आवाज नसुन्ने गरी हल्ला गरिन्थ्यो । यसरी जलाउने क्रममा ती सतीले रुएको चिच्याएको सुनियो भने अपबित्र हुइन्छ अथवा अगती परिन्छ भन्ने धारणा थियो ।

सतीढुंगो कहाँ थियो भन्ने निश्चित स्थान थाहा नभए पनि, अहिलेको सतीटारको दक्षिण पटिको कुनामा रेवा दोभानको उत्तर पटि भोजपुर जिल्लाको पाटो आधाभाग अरुण नदीमा र आधा भाग पाखामा पर्नेगरी मिलेर बसेको चप्लेटी अकारको विसाल ढुंगो; जसलाई सतीढुंगो भनिन्थ्यो । त्यही चप्लेटी ढुंगामाथि चिता बनाएर मृत पतिको साथमा जीवित महिलाहरूको हत्या गरिन्थ्यो । यस्तो चलन कहिले देखि सुरु भयो भन्ने कुरा त पौराणिक काल देखिकै इतिहास खोज्नु पर्ने हुन्छ । खास गरी सामन्ती युगलाई यसको सुरुवाती युगभन्दा पनि हुन्छ । त्यतिबेला नै मानव समाजमा धर्मको नामा मानवहत्या गर्ने चलन रहेकोकुरा स्पस्ट छ । 

समयको गति निरन्तर बगिरहन्छ । भन्छन् सबै चिज बस्तु र परम्पराको गति एकनास हुँदैन, अयु सकिए पछि सबैले मर्नुपर्छ तर पनि त्यो यस्तो जमाना थियो कि सर्साउँदो मान्छे जसको खाउँ खाउँ र लाउँ लाउँको अवस्थामा नै एउटा बृद्ध पुरुषको साथमा मन नलागि नलागि पनि मर्नबाध्य हुनुपर्ने । यो भन्दापनि ठुलो अर्को अपराध काहाँ थियो होला र ? सात बर्षकी बालिका आधा सताब्दी खाइसकेको बृद्धलाई कन्यादान दिएर सुम्पिएकी चेली पन्ध्रबर्ष नपुग्दै आमा बन्नु पर्ने र बर्षै पिच्छेका सन्तान हुर्काउनु पर्ने अनि मध्य बैंस भरिए पछि बृद्ध पतिकासाथमा ज्युँदै चितामा डड्नु पर्ने कहाँ सम्मको न्याय थियो त त्यस बेला ?

यस्तै परम्पराको बिचमा एक चोटी एकजना बृद्ध पति मर्दा उनकी पत्नीले सती जान अस्वीकार गरिन् । गाउँलेहरू सबैले उनलाई समातेर दाम्लाले बाँधेर लछारपछार गर्दै घाटमा पुर्याए । सती ढुंगामा चिता तयार थियो बाजा बजाउनेहरू बाजा बजाउँन तैनाथ थिए । सारा मलामीहरू तिनलाई गालि गलौजका शब्दहरूले स्वगत गरिरहेका थिए । आज सती जान नमान्ने पापिनी पछि गएर नर्कमा पर्नुभन्दा त आजै सती गए स्वर्गमा गएर पतिकै साथमा बस्न पाइने कुरा गर्दै आ—आफ्ना पाराका कुरा गर्दै तिनलाई सतीजान प्रेरणा दिन्थे । एक त पतिको मृत्युमा शोकले बिह्वल भएको अवस्था हुन्थ्यो भने अर्कोतिर ती मसिना बालबच्चाको अवस्थाको बारेमा भएको चिन्ता । यस्तो अवस्थामा पनि विवेक गर्न नसक्ने कस्तो निर्बिवेकी समाज थियो त त्यतिबेला । सतिको मुखमा पट्टी बाँधेको थियो हातलाई पाताफर्काएर बाँधेको थियो अनि सबैले गलहत्यएर सती ढुंगामाथि उकालेर जब चितामा चढाइयो बाँधेको डोरी फुकाएर दाउराले थिच्न थालियो । मौका बिचारिरहेकी सती त्यही बेला अप्रत्यासित तबरले जुरुक्क उठेर अरुण नदीमा हमफालिन् । सबै मलामीहरू आपसमा हेराहेर गर्न थाले, यो अनर्थ भयो अब कसो गर्ने भनेर सल्लाह गरेर पौडीखेल्न जन्नेहरू नदीमा पसेर खोज्न लागे भने कोही नदीको किनारै किनार दगुर्न लागे । आखिरमा मलामीहरूले ती सतीलाई अरुण पारिको बगरमा भाग्दै गरेको देखेर पौडीवाजहरू उनलाई समात्न त्यतैतिर लागे । उनी भाग्दै भाग्दै एउटा ढुंगाको सानो ओडारमा पसेर लुकिन् । उनी लुकेको ओडार नै पुर्वकी प्रसिद्ध देवी श्री मनकामना माताको उत्पती स्थल हो । 

मलामीहरूले ती सतीलाई समातेर फेरि पनि हातखुट्टा बाध्न लाग्दा तीनले अफु सती जानुभन्दा पनि आफ्ना बालबच्चाको राम्रो स्याहार सुसार कसले गर्ला त्यसको जिम्मा कसैले लिनु पर्छ भनिन् र आफू जिउँदै अग्निमा पस्नुभन्दा जलसमाधी लिन उचित सम्झेर यत्रो कोशी (अरुण) नदीमा हाम फालेकी हुँ, भन्दै उनी मलामीहरूका साथमा फेरि त्यही सती ढुंगामा पुगिन् । अब भने उनी सबैका सामु खुसीसाथ सतीजान तयार भइन् । मलामीहरूले उनलाई अब तिम्रो केही इच्छा छ भने भन भनरे सोधे । सतीजानुभन्दा पहिले म एक घुट्को मत्रै भए पनि दही खान चाहान्छु भनिन् । ती सतीको दही खाने इच्छा पुरा गरिदिन केही मानिसहरू दही खोज्न नजिकैको गाऊँ तुम्लिंटारतिर लागे । सबैतिर खोजे तर पनि दही भेट्टाउन सकेनन् र अन्तमा त्यसै फर्केर आए । दिनले कोल्टो फेर्दै गरेको अवस्था थियो दहीखान नपाएकी सतीले —“तिमीहरू जुन ठाउँमा दही खोज्न गयौ त्यस ठाउँका मान्छेले दही त होइन पानी समेत सुखले खान नपउन् ”— भनेर सराप दिइन् भन्ने किम्बदन्ती हाल पनि गाउँमा सुन्न पाइन्छ । यसरी तुम्लिंटारमा सतीले सराप दिएको हुँदा अहिलेसम्म पनि पानीको दुख नै छ ।
साँझ झमक्क पर्नलागेको बेलामा ती सतीलाई चितामा चढाइयो । 

बाजाहरू बजाउँन थालियो, मलामीहरू होहल्ला गर्न लागे चितामा आगो सल्किन थालेको मात्र के थियो सती जुक्क उठेर बोल्न थालिन् । “हे मालमीहरूहो ! तिमीहरू घर जाओ, यो ढुंगामा कुनै लाश छैन । त्यहाँ त मात्र दाउराको थुप्रो मात्र छ । मेरा पति अगि नै कैलशमा पुगिसके अब म पनि पतिका सथमा जाँदैछु यदि तिमीहरूले, मलाई सम्झिन्छौ भने धर्मादेवीको रुपमा मलाई पूजा गर्नु ”— भनेर सती ढुंगालाई लात्तले हानी—“तँ पनि निर्दोष अबला नारीको हत्यामा संलग्न भएको हुनाले सधैंभरि यहाँ रहन पाउने छैनस् ; तेरो शिर फुटेर तीन टुक्रा हुनु परोस ”— भन्दै अलप भइन् । यसै क्रममा अहिले पनि मनकामना देवीको छत्र (उत्पत्ती स्थान)मा पश्चिम पटिको प्वालमा धर्मा देवीलाई पूजा गर्ने चलन छ । 

यसरी सतीको सराप पाएको त्यो सती ढुंगो कति बर्षसम्म त्यहाँ रह्यो, त्यसको केही लेखा जोखा छैन ता पनि पछि बि. सं. १९८९ सालमा अरुण नदीमा बाढीआयो र त्यही बेला देखि सती ढुंगो पनि त्यो ठाउँमा देखिएन । 

यसरी सतीको सराप लागेर सती ढुंगाले आफ्नो ठाउँ छोड्नु त पर्यो नै; अब यसको अर्को पनि सराप त छँदैछ, पहिले भएको ठाउँभन्दा करिब तीनचार सय मीटर जति तल अरुण नदीको बिचमा तनिवटा ढुंगा छन् ती ढुंगा मनकानाको छत्रबाट सिधै पश्चिमतिर पर्छ । यही नै सतीको सराप पाएर शिर फुटेको सती ढुंगो हो भन्ने भनाइ छ ।

नोट — यो कथामा प्रयोग भएका किंबदन्तीहरू म सानो छँदा मेरी हजुरामाले मलाई सुनाउनु भएको हो । सती ढुंगाको बारेमा अहिले भने नयाँ खालका धारणाहरू प्रस्तुत हुन थालेका छन् । हाल अएर मनकामनाको छत्र नजिकै पुर्व पटिरहेको एउटा ठुलो ढुंगालाई यही नै हो सती ढुंगो भनेर प्रचार गर्ने गरेको पाइन्छ । खासमा भन्नेहो भने सती ढुंगो अरुणपारि थियो भनिन्छ । पfनीले बगाएर त ओरालोतिर मात्र लान्छ सिधै पारि जान सक्तैन । अर्को कुरा भन्ने हो भने म स्वयंले पनि देखेको कुराहो बि. सं. २०२१ सालभन्दा पहिले त्यो ढुंगो त्यहाँ थिएन । २०२१ सालमा अरुणमा ठुलो बाढी आएको थियो र त्यो बेला अन्तैबाट त्यो ढुंगो बगाएर ल्याएको हो । सती ढुंगो आएको होइन ।

- टिका मिलन (श्रोत : मझेरी.कम)

Thursday, October 5, 2017

विष्णुको १० अवतार र बैज्ञानिक सभ्यताको समानान्तरता


विष्णुको १० अवतार र बैज्ञानिक सभ्यताको समानान्तरता


१. मत्स्य अवतार - पानी जीवहरुको उत्पति
२. कछुवा अवतार - पानी र जमिन दुवै थलमा बस्ने जिवहरुको उत्पति
३. बराह अवतार - जंगली र स्तनपायी जन्तुहरुको उत्पति
४. नरसिङ अवतार - अर्ध मनुष्य र अर्ध जन्तु - मानवीय विचार एवं चेतनशिल जन्तुहरुको उत्पति
५. वामन अवतार - मनुष्यधारी जन्तुहरुको उत्पति
६. परशुराम अवतार - प्रथम मनुष्यको उत्पति
७. राम अवतार - मनुष्य
८. कृष्ण अवतार - मनुष्य
९. बुद्ध अवतार - मनुष्य
१०. कल्की अवतार - मनुष्य

गणेशजीका अष्टसिद्धिहरु

१. अनिमा २. महिमा ३. गरिमा ४. लघिमा ५. प्राप्ति ६. प्रकाम्य ७. इश्त्व ८. वाश्त्व
फोटो : अनिल चित्रकार

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...