Tuesday, August 29, 2017

बोडेको निल बाराही नाच



गाईजात्राको भोलिपल्ट मध्यरातदेखि नचाइने बोडेको निलबाराही नाच ४ दिनसम्म सञ्चालन हुने गर्दछ । सो नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने यस जात्रामा देवगणमा भैरव १, बाराही ४, कुमारी ४, सिहं ४ द्वारपाल २ र गणेश ४ गरी १९ जना देवगणको समूह रहेको गर्दछ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
किम्वदन्ती अनुसार नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु भएको जनविश्वास रहदै आएको छ ।

नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नु पर्छ ।

नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुँदैन ।

श्रोत : किरज गैंजु

Sunday, August 27, 2017

पुलुंकिसी


किम्वदन्ती अनुसार स्वर्गका राजा इन्द्रदेव नेपालमण्डल, विष्णुमति नदी अवस्थित निर्मल तिर्थ दर्शन गरेर फर्कने बेला पारिजात फुल चोर्दै गर्दा समातेर बाँधेर राखे । आफ्नो इष्टदेव तथा बाहान स्वर्गमा फर्केर नआएपछि एरावत हाती आश्चर्य मान्दै छटपटाइ रहे ! २-३ दिनसम्म पनि इन्द्रदेव स्वर्ग नफर्केपछि एरावत हात्ती स्वर्गबाट धर्तीमा झरे । यता उता भौतारिन्दै इन्द्रदेवलाई खोज्दै रहे । इन्द्रदेव जता गए पनि एरावत हात्ती चढेर जाने गर्थ्यो, अब इन्द्रदेव नै नरहेपछि एरावत हात्ती कसरी बस्न सक्थे ? तसर्थ नेपालमण्डलको गल्ली गल्ली हुँदै अन्नपानी वास्ता नगरी यता उता भौतारिन्दै खोज्दै हिंडे ।

नेपालमण्डलमा यसरी यता उता भौतारिन्दै गरेको हात्ती देखेर मानिसहरु छक्क परे । गहनाहरुले सुसज्जित सेतो हात्ती, हेदै राम्रो ऐरावत हात्ती, बाटोमा हिडिरहेका मानिसहरुलाई पनि वास्ता नै नगरी दौडादौड, भागमभाग गर्दै भौतारिरहेको देखेर मानिसहरुले एरावट हातिलाई समातेर किलागल: मा बाँधी दिए ।

यता आफ्नो छोरा हेर्न पठाएको हाती पनि नफर्के पछि इन्द्रदेवका माता आफै ध्यानमा बसेर हेर्दा त आफ्नो छोरा र एरावट हात्ती दुबैलाई बाँधेर राखेको देखिन् । त्यसपछि माता आफै धर्तीमा झरेर दुबैलाई स्वतन्त्र गराई स्वर्गमा फर्काए ।

यसैको सम्झानार्थ इन्द्रदेव नरिसाओस् भनेर इन्द्रजात्राको चलन रहेको भनाइ छ । इन्द्रजात्रामा एरावत हात्ती इन्द्रदेबलाई खोज्दै हिंडेको प्रतिकको स्वरूप आजसम्म पनि पुलुंकिसी शहरभरि यता उता घुमाउने चलन रहेको छ । त्यसैगरि, आफ्नो छोरालाई बाँधेर राखेकोले रिसाएर श्राप दिन लाग्दा भुल भयो, क्षमा पाउँ भनि क्षमा मागेको हुनाले आज सम्म पनि इन्द्रजात्रा प्रतिकको रुपमा इन्द्रजात्राको रथ तानी सकेपछि दागीं ल्याउने चलन रहेको छ । इन्द्रलाई लिन आएको बेला इन्द्रदेबको माताले बत्ति बाल्दै आएको प्रतिक स्वरूप इन्द्रजात्रा पर्वको बेला दागींको अगाडी बहुमत / बौ:मत / लामो बाँसमा लहरै पाल्चा बाल्दै शहर घुमाउने चलन अहिले पनि रहेको छ ! दांगी रिसाएर भाग्छ भन्दै दायाँ बायाँ मानिसहरुले हात समातेर राख्ने गरिन्छ ।

श्रोत : सन्दिप महर्जन

लाखे


सामान्यतः लाखे भन्ने बितिक्कै एक डरलाग्दो रूप हाम्रो अगाडि आउँछ । काठमाडौमा २३० बर्ष अघि देखि लाखे नाच चलीआएको विश्वास गरिन्छ । नेपाल अधिराज्यभर नचाइने धेरै जसो लाखे नाचहरूमा लाखेलाई हिन्दू धर्मका कथाहरूसँग जोडिएर एक राक्षस वा दैत्यको रूपमा प्रस्तुत गरिएको देखिन्छ । धेरै जसो लाखेको कथाहरूमा लाखे मारिएको प्रसङ्गहरू जोडिएका छन् तर काठमाडौं उपत्यकाभित्रको मजिपात लाखेलाई भने लाखे “आजु” को रूपमा पुजिन्छ । मजिपात लाखेलाई ‘शान्त भैरब’ पनि भनिन्छ । मजिपात लाखेको विगत राक्षसी स्वभाव भएता पनि कालान्तरमा आएको परिवर्तनले गर्दा यिनलाई भैरबको एक रूपमा पुजिँदै आएको छ । भैरब शिवकै एक डरलाग्दो रूप हो जुन श्रृष्टिको संहारसँग सम्बन्ध राख्दछ । भैरबलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रकियाबाट जोगाउनु र रक्षा गर्नु सँग सम्बन्धित छ । कथाअनुसार लाखेले हाम्रा साना नानीहरूको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुजिने गरिन्छ । देशका विभिन्न स्थानहरूमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदिइयोस् भनेर लाखे नाच नचाउने गरिएको कथाहरू पाईन्छ ।

मजिपात लाखेको प्रेम कथा :

ऐतिहासिक कथामा आधारित इतिहासविद् डा. सत्यमोहन जोशीको “मजिपात लाखे” नाटकमा प्रस्तुत गरिएअनुसार काठमाडौंको मजिपातकी एक सुन्दर युवती “बाँलाः मयजु” (सुन्दर महिला)मा लाखेको प्रेम बस्न थाल्छ, आफ्नी प्रेमिका भेट्न उ मानिसको भेषमा बारम्बार आउन थाल्छ । आफ्नो प्रेमिको लागि जे गर्न पनि तत्पर लाखे एक्लैले एकैछिनमा प्रेमिकाको खेत खनजोत गरी दिन्छ, प्रेमीको हरेक समस्यालाई लाखे क्षणभरमै समाधान गरी दिन्छ । आफ्नो प्रेमीप्रति मोहित लाखेले खेतमा टाँगिएको बुँख्याचालाई साक्षी राखेर बिहे गरेको घोषणा गर्छ र भगाएर १५ दिनसम्म आफ्नै घरमा लगेर पनि राख्छ ।

यता काम गर्न खेतमा गएकी “बाँलाः मयजु” हराएपछि घरमा खैलाबैला हुन्छ । आमा माया र बुबा धनवीरले छोरी हराएकोमा निकै सुर्ता गर्छन् । लाखेसँगको पिरतीमा फसेकी छोरी “बाँलाः मयजु” लाखेको घरमा पुगेकी हुन्छे । पछि स्थानीयबासिन्दाले “बाँलाः मयजु” लुकाएको ठाउँ र छोरी भगाउने लाखेको असली रूप थाहा पाउँछ र समातेर राजा समक्ष बुझाउँछन् ।

राक्षस मानिने लाखेले छोरी लगेपछि गाउँले बसेर समस्या समाधानको उपाय खोज्छन् । राजाले अन्य राक्षसहरूबाट आफ्नो राज्यमा रहेका बालबालिकालाई बचाउन सहयोग गर्छ भने एक निश्चित ठाउँ दिन आफू तयार भएको प्रस्ताव राख्दछ । प्रस्ताव स्वीकार गरेर लाखे काठमाडौंको मजिपाट लाखे ननिमा घरज्वाँई भएर बस्न थाल्छ । हेर्दैमा डरलाग्दो लाखेले संकटमा परेका स्थानीयलाई उद्दार गर्न थाल्छ र संकटमा परेकाले उनलाई भाकल गर्ने क्रम पनि क्रमशः बढ्दै जान थाल्यो । भयावह रूपभित्र पनि कमलो मन छ, उसमा पनि प्रेमको भावना छ, उसले कसैलाई मन पराउन सक्छ, प्रेममा डुब्न सक्छ भन्ने सन्देश लाखेको कथाले देखाउँछ । आफ्नो प्रेमीको लागि लाखेले आफ्नो राक्षसी स्वभाव पनि त्याग गरी दिन्छ ।

जङ्गबहादुर राणा प्रधानमन्त्री हुनु भन्दाअघि उनी लगनमा डेरा गरी बस्थे । त्यही बेला लाखेको महिमासँग उनी परिचित हुन पुगेका थिए । उनी बेलायत भ्रमणमा गएका बेला बाटोमा आँधी बेहरी आएर उनी चढेको डुङ्गा डुब्ने डर भएको थियो । उनले त्यतिखेर नै लाखेलाई सम्झेर भाकल गरेका थिए र फर्किंदा लाखेको भाकल पूजा गर्न चार वटा हिरा लिएर आएको र भाकल पूरा गरेको यथार्थलाई पनि मजिपात लाखेको सन्दर्भमा पढ्न पाइन्छ ! त्यसबेलादेखि शक्तिको स्वरूप मान्दै मुकुट लगाएर ‘लाखे’ नचाउने चलन सुरु भएको देखाइन्छ ।

मजिपात लाखे, आगमन, रक्सी र ज्यापुको एक सन्दर्भ :

कुनै समय, एक राक्षस (दैत्य / लाखे) लाई भक्तपुरबाट काठमाडौंमा तलेजु भवानीको द्वारपालको रुपमा भित्राइएको थियो । गुभाजु, काठमाडौका राजा र एक ज्यापुले यिनलाई काठमाडौं भित्राउँदा मान्छेको मासु खुवाउने बचन दिएका थिए ।

राक्षस मान्छेको मासु र रगत खाँदै जीवन यापन गर्दै गर्दा एक दिन एक ज्यापु काम गरिरहेको खेतमा आइ पुगे । मान्छे खाने राक्षस आफ्नो खेतमा आएको देखेर ज्यापु आफ्नो बल्चा: (खेतमा अवस्थित एक सानो अस्थायी घर) तर्फ लुके । राक्षस तिर्खाएका थियो । ज्यापुले सुतुक्के रक्सी पिलाई दिए । राक्षसले अझ बढी रक्सी मागे । ज्यापुले चलाखीपुर्वक शर्त राखे, यदि मेरा खेतहरु सबै खनि दिने हो भने म अरु रक्सी दिन्छु । राक्षसले यति धेरै रक्सी पिए कि उनले मान्छेको मासु र रगत खाने बानी नै छोडी दिए ।

एक दिन ज्यापु, नयाँ लुगा लगाएर चिटिक्क परेर बाहिर निस्कनै लाग्दा राक्षस टुप्लुक्क भेटिए र कहाँ जान लागेको भनेर सोधे । ज्यापुले जात्रा हेर्न जान लागेको भने । राक्षसले पनि जात्रा हेर्ने रहर गरे । ज्यापुले विभिन्न कारणहरुले लैजान चाहेन, अप्ठ्यारो महसुस गरे । राक्षसले जसरी भए पनि जात्रा हेर्ने ढिपी गरे र कसैलाई पनि केहि हानी नगर्ने बचन दिई निकै उत्सुकताका साथ जात्रा हेर्न पुगे, विविध बाजागाजाको संगीतमा रमाए, र आफै पनि नाचे ।
यिनै राक्षस नाचेको नाचको प्रतिकको रुपमा हिजोआज लाखेको स्वरुपमा रंजित समुदायबाट मुकुट ओढेर लुगा, जामा, घांग्ला, जनै, पटा / फेटा लगाई लाखे नाच प्रदर्शन गर्ने गरिन्छ । लाखेले लगाउने पहिरन तासले बनेका हुन्छन् । तासलाई सुद्ध कपडाको रुपमा लिइन्छ । लाखेले इन्द्रजात्राको रथयात्राको दौरान देवी कुमारीलाई आफ्नो नाच देखाउने विश्वास गरिन्छ ।

मजिपात लाखे र तलेजु भवानीको सन्दर्भ :

किम्बदन्तीअनुसार पहिलो मल्ल राजाले तलेजु भवानी (हिन्दू देवी)लाई दक्षिण भारतबाट १४ औं शताब्दीमा नेपाल ल्याई प्रतिस्थापन गरेका थिए । मल्ल राजा तलेजु भवानीसँग सिँधै कुराकानी गर्दथे । एकदिन एक जना मल्ल राजाको दव्र्यवहारले गर्दा तलेजु भवानीले मल्ल राजासँग सिधा कुरा गर्न मनाही गरी दिए । वर्षौ दिनको क्षमायाचना तथा अनुरोधपछि मल्ल राजाले तलेजु भवानीलाई जिउँदो कुमारीको रूपमा प्रकट गराउन सफल हुन्छन् । यसैले, तलेजु भवानी र कुमारी अलग–अलग रूप तथा पहिचानको एकै देवीको रूपमा मानिन्छ ।
तलेजु भवानी अन्तध्र्यान भएपछि खोज्न जाने क्रममा मजिपात लाखे मल्ल राजाको पाईलाका छापहरू पछ्याउँदै जाँदा हनुमानढोकाभित्र पुगेपछि समाप्त भएको थियो । यसर्थ इन्द्रजात्रामा लाखे नृत्यले अन्तध्र्यान भएका तलेजु भवानीलाई खोज्दै हिँडेको आभाष दिलाउँछ ।

लाखेले सवः भक्कुका दुई जना केटाकेटीहरू ग्रहण गरी दिएको र पछि आकाश भैरब र हनुमानको अनुरोधमा लाखेलाई शहरबाट बाहिर निकालेको प्रसङ्ग पनि पढ्न पाइन्छ । पछि येँयाः पुन्ही (ईन्द्रजात्रा)को दिन लाखेले दुबै केटाकेटीहरूलाई फिर्ता गरेर आफ्नो उदारता प्रस्तुत गरेको कथा पनि पढ्न पाईन्छ ।

लाखे र झ्यालिंचाको सन्दर्भ:
परम्परा अनुसार लाखे नाच नचाउँदा झ्यालिंचाको पनि उपस्थिति देखिन्छ । लाखे त्यतिबेला नाच्छ, जब झ्यालिंचाले जिस्काउन थाल्दछ । जामा लगाएको सानो फुच्चे केटालाई झ्यालिंचा भनिन्छ । लाखे अर्थात शान्त भैरब  शान्त स्वभावको भएकोले झ्यालिंचाले जिस्काई रहन्छ र लाखे झ्यालिंचालाई समात्ने प्रयासमा नाच्न थाल्दछ । लाखे र झ्यालिंचाको "मलाई समात्न सके समात" भाव अनुसार लाखे र झ्यालिंचाको नृत्यले मानिसहरुलाई हँसाउने र मनोरंजन दिने गर्दछ ।  २० बर्ष लाखे नाच नाची सकेका लाखेको अनुसार लाखे नाच सिक्नै पर्दैन, जब धिमे र भुस्याको एकसुरको तालमा बाजा बज्न थाल्छ, लाखे उही सुरमा नाच्न थाल्दछ ।

कीर्तिपुरको जात्रा र लाखेको सम्बन्ध :
कीर्तिपुरमा वर्षौसम्म लुटपाट र अन्न बाली लुटेर खाई आएको लाखेलाई मारेको खुसियालीमा कीर्तिपुरको जात्रा चलिआएको किम्बदन्ती छ । बस्ती विकासको इतिहास तथा किम्बदन्तीअनुसार राजा रत्न मल्लको पालामा तिब्बतको कुँकुँ जातको भोटेहरूले राति लुटपाट, चोरी, डकैती गरेर दुःख दिई आएको र कीर्तिपुर वरीपरीको बस्तीहरूमा थप व्यवस्थित बस्तीहरू विकास गरी आफ्नो सुरक्षार्थ अष्ट मातृका शक्ति देवीको रूपमा जागृत गरी कीर्तिपुर जात्रा सुरु गरेको उल्लेख छ । यसरी राति–राति लुट्न आउने भोटेहरूलाई लाखेको रूपमा प्रस्तुत गरिएको छ ।

कीर्तिपुरकै अर्को किम्बदन्तीअनुसार मध्यकालमा कीर्तिपुरमा लाखे लसिँहरूले सार्‍है दुःख दिन थालेकोले लाखे लसिँहरूसँग लड्न सात गाउँहरू एक आपसमा सल्लाह गरी सात गाउँ जात्रा चलाएको भनाई छ ! (जसलाई त्यहाँका स्थानीयहरूले नेपालभाषामा न्हय्गाँ जात्रा भनेर मनाउने गरिन्छ ।) सातै गाउँहरू एक आपसमा मिलेर लाखे लसिँहरूलाई धपाएर पठाएको कुरा उल्लेख गरिएको छ ।

कीर्तिपुरको इन्द्रायणी यात्रा सम्बन्धी अर्को किम्बदन्तीअनुसार परापूर्वकालमा कीर्तिपुर शहरको पश्चिम क्षेत्रको कोतः झाः भन्ने जंगलमा बस्दै आएको लाखेले कीर्तिपुर शहरमा बेला–बेलामा ठूलो उत्पात मचाउँदै लुटेर खाईरहेको हुँदा स्वयं इन्द्रायणी देवी प्रकट भई उक्त राक्षसलाई मारेको हुनाले इन्द्रायणी जात्रा सुरु भएको उल्लेख छ । कीर्तिपुरको उत्तर पश्चिम तिरको यो घना जंगल अहिले पनि छन् जहाँबाट उहिले–उहिले बस्ती नै नभएको बेला डरलाग्दो थियो । यसै जंगलबाट लाखे रूपी तिब्बती भोटेहरू राति–राति आएर लुटपाट मचाई रहेको हुँदा यसबाट सुरक्षित हुन कीर्तिपुरबासीहरूले ती लाखेहरूलाई खुवाउन तथा लाखे कुरुवा राख्ने गरेको पनि उल्लेख गरिएको छ ।

समग्रमा काठमाडौं उपत्यकाभित्रको ‘मजिपात लाखे’को कथामा लाखे राक्षसी वर्ग भए पनि उसको प्रेम, बलिदान र त्यागको कारणले उनलाई शान्त भैरबको रूपमा पुजिँदै आएको देखिन्छ । यता कीर्तिपुरमा लाखेले कीर्तिपुर बासीहरूलाई दुःख दिने गरेको र मारिएको कथाहरू पाईन्छ । देशका अन्य विभिन्न स्थानहरूमा नचाइने लाखेको कथाहरू पनि ठाउँअनुसार फरक–फरक पाइएको छ ।

अन्य लाखे नाचहरूको सन्दर्भ :
रिडी क्षेत्रमा लाखे नाच सबैभन्दा लोकप्रिय र चर्चित नाच हो । धेरै वर्ष पहिलेदेखि चली आएको यो नाच प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीको दिन परम्पराअनुसार लाखेले गठेमंगलको पुत्ला दहन गरी कालीगण्डकीमा मिल्काएपछि लाखे नाच सुरु हुन्छ भने कृष्ण जन्माष्टमीको दिन बलराम र कृष्णको स्वरूप धारण गरी लाखेको बध गरी लाखे नाच अन्त्य गरिन्छ ।

यसैगरी भोजपुरमा कृष्णलाई मार्न कंसले पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने गरिन्छ । ऋषि पञ्चमीका दिन पुतनाको मृत्यु भएको सम्झँदै नजिकको मन्दिरमा गई पूजाआजा गरी लाखे नाच बिसर्जन गर्ने गरिन्छ ।

यता ललितपुरको सिद्धिपुरमा गथेमंगलको भोलिपल्टदेखि बाजागाजाका साथ लाखे नाच नचाउने गरिन्छ ! लाखे नाच देखाउँदै बाजा खलकहरू टोल–टोलमा र घर–घर अगाडि आउने गर्छ र प्रत्येकले, पिठो, चामल र पैसा दिने प्रचलन रहेको छ । आफन्तहरू लाखे भएर आएको छ भने विधिपूर्वक पूजा गरी (सगुन) शुभ–साईतको दही लिई घर भित्र्याईन्छ । यसरी भित्र्याउँदा घरमा रहेको भूत, पिसाच बाहिर जान्छ भन्ने जनविश्वास रहेको छ । अन्तिममा पालाको घर अगाडि लगी धुमधामका साथ बाजा बजाई रात नै चमक हुने गरी छ्वाली (पराल) बाली लाखे नाच्न लगाईन्छ र तीन चोटी लाखेलाई कुदाउँदै च्याप्प समातेर लाखे घरभित्र लगेर लाखे नाच बिसर्जन गरिन्छ । अन्त्यमा सबै जना मिलेर भोज खाने चलन रहेको छ ।

त्यसैगरी, चरिकोटमा नेवारहरूको संस्कृतिअनुसार भगवान श्रीकृष्णको चरित्रको आधारमा लाखे नाच नचाइने गरिएको छ । गठेमंगलको दिन नाट्यश्वरीको मन्दिरमा भोग दिएर पूजा गरी भोज खाने र भोलिपल्टदेखि लाखे नाच प्रदर्शन गरिन्छ भने यो नाच कृष्ण जन्माष्टमीसम्म प्रदर्शन गर्ने गरिएको छ । नाचको अन्तिम दिन राति १२ बजेपछि कृष्णले चक्र हानी लाखेलाई मार्ने चलन छ ।

माथि प्रस्तुत गरिएको सामग्रीहरू केही उदारहण मात्र हुन् । देशका विभिन्न देवी देवताका कथाहरूमा लाखेको उपस्थिति देखिन्छ । हरेक कथाहरूमा लाखेको भूमिका फरक–फरक भेटिन्छन् ।

Thursday, August 24, 2017

गाईजात्रा : ऐतिहासिक पृष्ठभुमि


नेवार संस्कृतिमा दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि मनाइने सापारु अर्थात गाइजात्रा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । नेपालभाषामा “सा” भन्नाले गाई र “पारू” भन्नाले कृष्ण पक्षको पहिलो दिन भन्ने अर्थ लाग्दछ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोल–टोलमा घुम्ने यस पर्वमा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदाय बसोबास गर्ने क्षेत्रहरू मुख्यतः काठमाडौं उपत्यकालगायत कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, दोलखा, ओखलढुङ्गा, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा भाद्र शुक्ल प्रतिपदा अर्थात जनै पूर्णिमाको भोलिपल्ट गाइजात्रा मनाइने गर्दछ ।

गरुड पुराणअनुसार यमलोकको मुख्य ढोका वर्षभरी बन्द रहने र पृथ्वीलोकमा गाइजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको पाइन्छ । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाइजात्रामा सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र पैसा दान गर्ने चलन रही आएको छ ।


गाइजात्राको अवसरमा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्दै प्रहसन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा करुण रसका गीतहरू पनि गाइने चलन रहेको छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमहरू आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कूरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलनसमेत रही आएको छ ।

ऐतिहासिक कथनअनुसार प्रताप मल्ल एक तान्त्रिक एवं शक्तिशाली राजा थिए । उनले आफ्ना वरपरका राज्यहरूलाई दबाई शासन गर्दथे । उनी आफ्नो बुबा राजा लक्ष्मीनरसिंह मल्ललाई अपदस्थ गरी सिंहासनमा पुगेका थिए । भनिन्छ, उनका बैध रानीहरू मात्र नौ जना थिए । तिनीहरू मध्ये उनलाई एकदम मन पर्ने रानी अनन्तप्रिया थिइन् । प्रताप मल्ल यिनै महारानीको छोरा चक्रवेर्तिन्द्रलाई आफूपछिको राजा बनाउन चाहन्थे र आफू जिउँदो छँदै कान्छा छोरा चक्रवेर्तिन्द्र मल्ललाई गद्दीमा राखेर राजा बनाएका थिए । तर, दुर्भाग्य छोरा चक्रवेर्तिन्द्र मल्ल गद्दीमा रहेकै बेला मृत्यु भयो ।

पुत्र वियोगमा परेकी रानीलाई मन बहलाउन राजा प्रताप मल्लले विभिन्न कार्यहरू गरेको ऐतिहासिक तथ्यहरू पाइन्छ । रानीको मन बहलाउन उनले वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गरे, तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने कार्य गरे । मुद्रामा रानीको नाम उल्लेख गराए । मृत्यु शाश्वत सत्य हो, मृत्युलाई सहज वरण गर्नु पर्दछ, दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ र मानिसलाई धैर्यताको खाँचो हुन्छ भन्ने सन्देश दिँदै सन्तापमा रहेकी रानीलाई सान्त्वना दिन दुनियाँदारको मृत्यु भएको सम्झनामा वासा, ताहासा, गाई सिङ्गारेर जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाइजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए र वर्ष दिनमा कति जनाको मृत्यु हुन्छ भन्ने मृत्यु गणना गर्न साँस्कृतिक परम्परा चलाएको देखिन्छ । यसै बेलादेखि गाइजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

गरुड पुराणको प्रेताकल्प भन्ने खण्डमा प्रेतत्वबाट मुक्ति भन्ने शीर्षकमा प्रेतत्वको मुक्तिको लागि मूर्तिको निर्माण गर्ने उल्लेख भएको पाइन्छ । साथै, “ललित विस्तर” भन्ने बौद्ध ग्रन्थमा बौद्धदेवको तपस्या भङ्ग गर्न क्लेस, मृत्यु, देवस्कन्ध आदि विभिन्न रूपमा नक्कल गरी तपस्या भङ्ग गर्न आएको तथ्यहरू पाइन्छ । यस अर्थमा सापारु अर्थात गाइजात्रा मल्लकालभन्दा धेरै पहिलेदेखि नै प्रचलनमा रहेको देखिन्छ । मृत्यु गणना गर्ने सन्दर्भमा संस्कारमूलक सांस्कृतिक थालनी चाहीँ मल्लकालमा भएको देखिन्छ ।

यता भक्तपुरमा भने गाइजात्रा आठ दिनसम्म मनाइन्छ र छुट्टै रौनक र आकर्षण रहेका छन् । भक्तपुरमा गाइजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामचा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामचालाई मृतकका घरको मूल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराई नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विशेषता हो भने घिन्ताङ्गघिसी र माक प्याखँ (बाँदर नाच) गाइजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामचासँगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा गाई्जात्राको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामचाको नगर परिक्रमाबाट गाइजात्रा सुरु हुन्छ भने बेलुका पख भैरब र भद्रकालीको तहामचा ल्याएपछि समाप्त हुन्छ ।

यसैगरी, ठिमीमा चाहीँ राँको बालेर गाइजात्रा मनाइने चलन रहेको पाइन्छ छ । ललितपुरमा भने गाइजात्राको भोलिपल्ट दिवंगत आफन्तको सम्झनामा बौद्ध परमपराअनुसार भित्री शहरमा रहेका विभिन्न देवदेवी, मन्दिर, चैत्यको पूजा गर्दै मतयाः अर्थात दीपयात्रा मनाइन्छ । यता पाल्पा, तानसेनमा गाइजात्राको अवसरमा क्रमशः गाइजात्रा, रोपाई जात्रा, गणेश जात्रा र बाघ जात्रा निकालिने गरिन्छ ।

चथा: अर्थात गणेश चौथी : गणेश भगवान र चन्द्रमाको कथा



एक प्रचलित आख्यान अनुसार कुनै बेला हाल मरु गणेशको मन्दिर भएको ठाउँमा एक अशोक जातको विशाल रुख थियो । एकदिन यसै रुखमुनि सम्पूर्ण देवताहरूको भेला भएछन् । बडेमानको भुँडी भएका गणेश चाहीँ छुचुन्द्रो चढेर ढिलो पुगेछ । चन्द्रमा खिसी गर्दै हाँस्न थालेछन् । चन्द्रमाको चमक जुन आफ्नो नै होइन, त्यस्तो झूठो रूपको घमण्ड भएको चन्द्रमाले गणेशलाई यसरी खिसी उडाएको देखेर गणेश भगवान् रिसाएर क्रुद्ध भएछ । गणेशले चन्द्रमालाई जस–जसले तिमीलाई रातमा देख्छ सबै चोर बनोस्, तिम्रो चमकको श्रोतबाट प्रकाश नै तिमीमा नपरोस् भनी श्राप दिएछन् । श्रापबाट भयभित सबै देवताहरू चन्द्रमालाई देखेर चोर बन्नुपर्ला भनी गायब भएछन् ।

पछि देवताहरूको सामूहिक आग्रह तथा चन्द्रमाको रोइ कराईले गणेश भगवानले श्राप फिर्ता त लिए तर गणेशजीले आफ्नो श्राप फिर्ता लिन नमिल्ने, श्रापको मात्रा कम गरी अंशको रूपमा बर्षमा एक दिन अर्थात श्री गणेशजीको आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थीका दिन कसैले चन्द्रमाको रूप नहेरोस्, यदि हेरेमा झूठा दोष, मिथ्याः आरोप लाग्नेछ र जगतले चन्द्रमाको यस्तो झूठो अभिमानलाई सधैँ याद गर्नेछ भनेर श्राप मुक्त गरे ।

पौराणिक कथनअनुसार चन्द्रमाको रूपसम्बन्धी यही अहंकारले गर्दा उनी श्रापित भए र वर्षमा एक दिन उक्त दोषले नछोड्ने गरी गणेश भगवानले माफी दिए । यसैकारण गणेश चौथीको दिन कसैले पनि चन्द्रमा हेर्न हुँदैन भन्ने जनविश्वास रही आएको छ । यसै गणेश चौथी (चथाः) को दाग मेटाउन नसकेको हुँदा अहिले पनि चन्द्रमा देखेका देवताहरूलाई त्यसदिन चोर्न मन लाग्ने गरेको बताइन्छ ।

भगवान् कृष्णले संयोगबस यसै दिन चन्द्रमा हेरेको र स्यमन्तक मणी चोरको दोष लागेको प्रसङ्ग पाइन्छ । कथा अनुसार सत्रजित नामको एक व्यक्तिले सुर्य देवताको स्तुति गरि तपस्या गर्ने क्रममा सुर्यदेवले प्रसन्न भइ स्यमंतक नामक मणि दिएको रहेछ । सत्रजितले सो मणि लिएर भगवान कृष्णलाई द्वारिकामा भेट्न गएछ । मणि देखेर भगवान कृष्ण प्रसन्न भइ यस्तै मणि आफुले पनि पाउने इच्छा ब्यक्त गरेछ । यस कुरालाई लिएर सत्रजितलाई मनमा लागेछ र उसको आफ्नो भाइ प्रसेनलाई सो मणि सुरक्षित साथ् राख्न दिएछ । त्यहि समयमा प्रसेन सिकार खेल्न गएछ र फर्केनछ । तब सत्रजितले श्री कृष्णलाई मणि चोरी गरेको आरोप लगाएको रहेछ । आफुलाई आरोप लागेपछि भगवान कृष्णले सत्य तथ्य पत्ता लगाउन खोज्दै जाने क्रममा एउटा गुफाभित्र एक जम्बुवन्तको छोऱाले सो मणि खेलिरहेको देखे ऱ जम्बुवन्तसंग युद्ध गरेऱ हराएछ र जम्बुवन्तले मणि फिर्ता दिएछ । भगवान कृष्णले उक्त मणि सत्रजितलाई लगेर फिर्ता गरि आरोपबाट मुक्ति पाए ।

यता भक्तपुरमा यसै गणेश चौथीको दिन राक्षसको प्रतिक मूपात्र जात्राको सन्दर्भ पनि जोडिएको पाइन्छ । स्वर्गका राजा देबराज इन्द्रकी आमा बसुन्धरालाई गणेश चौथीको दिन ब्रत बस्न पारिजात फूलको आवश्यकता भएकोले देवराज इन्द्रको छोरा जयन्तलाई फूल खोज्न पठाइयो ।  पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैंचामा पारिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरे ।  जयन्तलाई छुट्याउन देवता र राक्षसहरुको संग्राममा देवताहरुको जित भए पछि राक्षसहरुलाई जनतामाझ शहर परिक्रमा गरेको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भए अनुसार भक्तपुरमा मूपात्र जात्रा चली आएको जनाविश्वास रही आएको छ ।


चथा:को दिन बेलुकी चन्द्रमाको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । यस दिन चन्द्रमाको पुजा गरे वर्ष भरि चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाईन्छ । चोर देवतालाई पुजा गर्नेक्रममा साँझ चन्द्रमा देखिएपछि र सूर्यास्त हुने समयमा कमलको पातमा अनार, विमिरा, बोट सहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउ, बदाम लगायतका गेडागुडी राखेर पुजा गर्ने प्रचलन रहँदै आएको छ ।
 
नेवार समुदायमा चथाः पर्वको दिन पानी परे दशैंमा पनि पानी पर्छ भन्ने जनविश्वास रहेको पाईन्छ । 
 
 

Sunday, July 23, 2017

नरदेवी अजिमा


एक समय, बनेपाका राजा काठमाडौँको किसी घ: जंगल (हालको किलागल)मा हात्ती सिकार गर्न आएका थिए l आफ्नो सिकार गर्न आएको देखि हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि डराएका राजाले त्यहाँ आफुलाइ बचाउन गुहार मागेकोमा त्यहाँ ठुलो ज्योति उत्पति भै, हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा प्रसन्न भई आफुलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवीसक्तियुक्त भएको बुझी, ना ना प्रकारको स्तुति गरेकोमा सो रुखको फेदबाट स्वेतवर्णकी स्वेतकाली देवी उत्पन्नभै दर्शन दिएको भन्ने किम्बदन्ती रहेको छ l स्वेतकालीलाई नरदेवी वा ङ्तमरु अजिमा पनि भन्ने चलन रहेको छ l 

येही स्थानबाट मध्यरातबाट स्वेतकाली सहित अस्तमात्रिका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको कुरा महान तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको भनिन्छl सो कुरालाइ हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिबिम्बित गरेको छ l

नरदेवीलाइ नरबली लिने देवीको रुपमा पनि लिइन्छ, तर जानकारहरुका अनुसार नरबली भनेर मानिसको बली नभई मानिसको मनभित्रको अहंकार, इर्श्या, क्रुरता, आलश्यताको बली भन्न खोजिएको हो l

श्रोत : नेवा:म्हसिका (जुलाई १२, २०१३)

Friday, July 21, 2017

गथांमुगः भूतप्रेत जम्मा पार्ने प्रकिया हो, आफै भुत होइन !


पौराणिक कथा अनुसार शिवभक्त दानवराज वाणासुर र यादव सेनाबीच युद्ध भएको बेला वाणासुरका सेनालाई महादेव एवं कुमार कार्तिकेयले र यादव सेनालाई कृष्ण भगवानले साथ दिएका थिए । युद्धको क्रममा महादेवले तीनवटा टाउको र तीनवटा खुट्टा भएका शीतज्वर वा महेश्वरज्वरले यादव सेनालाई आक्रमण गरे । तर अर्कोतर्फ भगवान कृष्णले विषमज्वर उत्पन्न गरी वाणासुरका सेनालाई आक्रमण गरेपछि दानवराजको सेना युद्धमा हारे । युद्धमा हारेपछि कुमार कार्तिकेय भागे

शैव र वैष्णव बीचको यस शीतज्वर व विषमज्वर युद्ध ललितपुरमा देखाइने कार्तिक नाचमा अहिले पनि प्रदर्शन गर्ने चलन छ । संस्कृतिविद जोशीका अनुसार दानवराजको पक्षमा युद्ध गरेकाले घण्टाकर्णलाई पनि राक्षस भन्ने गरियो । र गठेमंगललाई बिसर्जन गर्ने चलन पनि युद्धमा हारेर भागेको प्रतीकको रुपमा लिने गरिन्छ ।

संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।

बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो । गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको ठाउँमा जम्मा गरिन्छ ।

बिहानैदेखि आआफ्नो टोलको दोबाटो र चौबाटोमा निगालो वा छ्वालीबाट बनाइएको तीनवटा खुट्टा भएको घण्टाकर्ण ठड्याइन्छ । र भूतको प्रतिमा बनाएर त्यसमा झुन्ड्याइन्छ । त्यसपछि कुनै ब्यक्तिलाई पेटभरी दहीचिउरा खुवाई त्यही दहीको भाँडोमा पैसा उठाउन लगाइन्छ ।

दिनभरी पैसा उठाउन लगाई साँझमा टोलबासी सबै मिलेर तान्त्रिक पूजा सहित त्यही ब्यक्तिलाई फेरि पेटभरी खुवाउँछन् र बलेको छ्वाली समात्न लगाई घण्टाकर्ण ढाल्ने गरिन्छ । त्यसपछि घण्टाकर्णमाथि उसलाई राखेर टोलका सबै मिली तानेर नजिकको नदीमा बिसर्जन गरिन्छ ।

यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ ।

भारतको वाराणशीमा प्रचलित रुद्रायमल तन्त्रको कथाका पात्र घण्टाकर्णलाई काठमाडौं उपत्यकामा प्रचलित गथांमुग:संग जोडिएपछि घण्टाकर्ण र गथांमुग: एकै हुन् भन्ने भान परेको हो। धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ।

'रुद्रायमल तन्त्रको कथाका अनुसार एक नास्तिकले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर हिड्ने गर्थे। त्यसैले उनको नाम घण्टाकर्ण रहन गयो' श्रेष्ठ बताउनुहुन्छ। नेपालभाषामा 'गं' (घण्ट) र 'ग:' (सहर)को अर्थ फरक हुन्छ। 'ग:'लाई 'गं' बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...