Tuesday, March 21, 2017

भक्तपुरको नवदुर्गा नाच “ङालाकेगु नाच”

पौराणिक किम्बदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानी शहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैबीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने बनामाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको “ङालाकेगु नाच” प्रचलनमा ल्याएका थिए । १६ औँ शताब्दीदेखि प्रचलनमा आएको यो नाच माघे संक्रान्तिको रात तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवताहरूलाई आव्हान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा विधिवत् पूजा अर्चना गरेपछि यो जात्रा प्रारम्भ हुन्छ र भोलिपल्टदेखि सूर्यमढी टोलबाट पहिलो सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ र क्रमशः भक्तपुरका २१ ठाउँहरूका साथसाथै भक्तपुर बाहिर देउपाटन, ठिमी, नगदेश, बोडे, तुप्चा, मुलाकेचा, ग्रेखा, जयबागेश्वरी, साँखु, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पु, ढुर्खक, बुढानीलकण्ठ, दोलखा, गोकर्णमा पनि प्रदर्शन गर्ने गरिन्छ ।

विभिन्न कालखण्डमा विविध कारणले यो नाच रोकिने र फेरी सञ्चालन हुने गरेको पाइन्छ ! राजा भुवन मल्लको पालामा नेपाल सम्वत् ६३३ मा देशमा अनिकाल पर्दा सहकाल ल्याउन यो नाचलाई प्रारम्भ गरेको बंशावलीमा उल्लेख छ ! विभिन्न कारणहरूले गर्दा यो नाच केही समयदेखि केही ठाउँहरूमा बन्द भए पनि गणका नकिं र सदस्यहरू मुक्तिमाया र गणेश देवगण भई नाच्ने गरिएका पनि छन् ! नाच प्रदर्शन गर्न गराउन ८ दिन अघि निम्तोका रूपमा “दिं छु वनेगु” भनेर देवगणहरूलाई निमन्त्रणा गर्दै आगमनको लागि दिन निर्धारण गर्ने प्रचलन रहेको छ ।

धार्मिक कथनअनुसार महिषासुरसँगको संग्राममा नवदुर्गाले विभिन्न ९ प्रकारका रूपहरू धारण गरेका छन् ! नवदुर्गा देवगणमा सिफोद्यः, भैरब, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, बैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरब,  सिम्ह (सिम्बः), दुम्ह (दुम्बः), खिँबाजा, तः बाजा, कामँ बाजा, महापात्र, नकिँ सम्मिलित हुन्छन् । यस नवदुर्गा ‘ङालाकेगु नाच’मा विशेषतः दुम्बः र स्वेत भैरबको विशेष भूमिका रहेको पाइन्छ ।

नवदुर्गा नाचको लागि ब्रम्हकुण्डलस्थित खोलाको किनारमा पाइने कालो माटोबाट मुकुण्डो बनाउने परम्परा रहेको छ ! कालो माटो धुलो बनाएर कालो मास एवं मैदाको माड कपाससहित विभिन्न शुद्ध सामाग्रीहरू मुछेर मुकुण्डो तयार गरिन्छ । नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको मुकुण्डो बनाएर नाच नाच्ने गरिन्छ ।

जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरीका रसरंगहरूसहित विविध नाचहरू प्रदर्शन गर्ने गरिन्छ । विशेषतः मुख्य नाचहरू यसप्रकार छन् :

प्रारम्भिक नाच :
प्रारम्भिक नाच भैरबनाथ देवताबाट सुरु हुन्छ र क्रमशः दुई घण्टाको समयमा सम्पूर्ण देवगणहरूको नाच प्रदर्शन गरिन्छ । गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरूमा नाच प्रदर्शन गरिन्छ । भैरब नाच देवताको मूल नाइकेको रूपमा देखिन्छ । भैररूको बाहुलीबाट पूजा गर्ने, बलि दिने देवगणहरूलाई प्रसाद बाँडेर दिने देखाइन्छ । बलिको रूपमा गुठी संस्थानबाट उपलब्ध गराइएका समयबजिका साथ पूजा गरी मू बाहाँ (मूल बहान) लखेट्ने परम्परा रहेको छ । बाहिर चौरमा मू बाहाँलाई छोडेर ‘लियो लियो पायो पायो’ भन्दै मू बाहाँ लखेट्ने गरिन्छ । त्यसपछि मूल देवता (सिफोद्यः) अगाडि पूजा गर्दै मू बाहाँ बली दिने गरिन्छ । मध्यरातमा क्रमशः भैरब, काली, गणेशको नाच हुन्छ ।

धान रोपाइँ नाच :
ब्रम्हाायणी, महेश्वरी, कुमारी र भद्रकाली (बिष्णुदेवी) देवी देवताहरूको धान रोपाइँ नाच देखाइन्छ ।
ब्रम्हायणीलाई नवदुर्गाको श्रृष्टिकर्ताको रूपमा लिइन्छ । पूजाआजामा सर्वप्रथम जन्मदाता ब्रम्हायणी माताको नाचबाट सुरु हुन्छ । दशैँको जात्रा पनि ब्रम्हायणी पीठबाट सुरु हुन्छ । किम्बदन्तीअनुसार प्राचीनकालमा सुडालको ठूलो जङ्गलको ब्रम्हायणी टोलबाट यस नवदुर्गा श्रृष्टि भएको भनाई छ ।
कुमारीले नवदुर्गा गणभित्र चेलीबेटीको भूमिका निर्वाह गरेको देखिन्छ । परिवारजनमा चेलीले गरिरहेको व्यावहार यस नाचमा प्रदर्शित हुन्छ । परिवारमा खाना बाँडेर दिने, सरसफाई गर्ने, श्रृंगारहरू गर्ने जस्ता सम्पूर्ण कार्य कुमारी देवीलाई जिम्मेवारी सुम्पेको देखिन्छ । अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले कुनै बेला खाली भएको पात्र दिँदा चित्त दुखाई विलाप गरी कुमारी तुलेगु (कुमारी विलाप) समेत यस नाचमा प्रदर्शन हुन्छ । साथै कुमारीलाई विद्याकी देवी वा सरस्वतीको रूपमा पनि लिइन्छ ।
भद्रकाली (बिष्णुदेवी) कृषि कार्यमा प्रतिकको रूपमा देखाइन्छ । कुनै पनि प्राणी बाँच्नको निम्ति खानपानको आवश्यक पर्छ भन्ने भावार्थ यो नाचमा प्रस्तुत गरिन्छ ।
नवदुर्गा गणमा महेश्वरी देवीलाई मात्र शाकाहारी देवीको रूपमा प्रस्तुत गरिएका छन् । सेतो रंग शान्तिको प्रतिक स्वरूप यिनलाई गङ्गाजस्तो पवित्र भएर छुट्टै पहिचान भएकी देवीको रूपमा मानिएको छन् ।

बाराही नाच :
बाराही देवता घरको महिला भूमिका विशेषबारे नाच प्रदर्शन गरिन्छ ! सानैदेखिको बेल विवाह, गुफा राख्ने, सूर्यदर्शन (बार्‍हा पिकायेगु), बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान आदि गतिविधिहरू प्रदर्शन गरिन्छ । बुहारीले सासुलाई गर्नुपर्ने आदर, सम्मान र शिष्टता आदि बाराही नाचमा प्रदर्शन गरिन्छ । साथै घरपरिवार नारीबाट नेतृत्व निभाउनुपर्ने व्यावहार पनि यसै नाचमा प्रदर्शन गरिन्छ ।

माछा मार्ने जात्रा :
सिम्ह दुम्हको माछा मार्ने नाच देखाइन्छ ! सिम्ह दुम्हको प्रतिकको रूपमा भीमसेन र द्रौपतिको रूपमा बाराही र कुमारी जोडीको रूपमा रहेका हुन्छन् । यस नाचमा दुम्ह पात्रले बालबालिकाहरूका गतिविधिहरू देखाइन्छ । दुम्हले भीमसेनको रूपमा भूमिका निभाउँछ । सिम्ह देवीले बालबालिकाहरूका क्रियाकलाप प्रदर्शन गर्ने गर्छ ! जात्रा हुँदा बाटोमा पैसा मागिरहने सिम्ह द्रौपदी देवीको भूमिका निभाउने गरिन्छ ! श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार सिम्ह–दुम्ह ‘ङा’ लाकेगु जात्राबाट प्रदर्शन गरिन्छ ।

महाकाली नाच :
महिषासुर दानव, नारीको क्रोध र सन्दर्भमा युद्धको भूमिका, तरवार नाच, पातालको नाच र तीन नेत्रको क्रोध नाच देखाइन्छ । महाकालीलाई यस देवगणमा सबैभन्दा क्रोधी देवीको रूपमा प्रस्तुत गरिन्छ । यस नाचमा नारीहरूको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको नाच प्रदर्शन गरिन्छ । कुनै पनि जात्रामा आफूले कुनै बली नपाउँदा रिसाई फर्कने देवीको रूपमा देखाइन्छ । भैरबको अनुपस्थितिमा महाकाली देवीबाट पनि कार्य सञ्चालन हुन्छ भन्ने देखाइन्छ ।

श्वेत भैरबको खास्टो लुट्ने नाच :
मानव जीवनमा सरसफाई, महिलाहरूको श्रृङ्गार गर्ने विषयमा आधारित नाच देखाइन्छ ! महाकालीले महिषासुरको बध गरी सकेपछि रगताम्य महाकाली देवी आफ्नो वस्त्र सफा गरी रहेको बेला स्वेत भैरब भने सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको थिए ! आफूलाई लुकी छिपी हेरेर जिस्काएपछि महाकाली स्वेत भैरबसँग क्रोधित हुन्छ र स्वेत भैरबको खास्टो लुटेर लिन्छ ! भैरबले जति फकाए पनि महाकाली खास्टो फर्काउन मान्दै मान्दैन ! यस नाचमा श्वेत भैरबको खास्टो लुट्ने (गा त्वःकेगु) नाच प्रदर्शन देखाइन्छ ।

खास्तो फिर्ता लिने नाच :
महाकालीलाई मनाउन भैरब बाटो–बाटोमा पैसा उठाउन थाल्छ र पैसा चढाएर मनाउन खोज्छ । क्रोधित महाकाली मान्दैन र भाले कुखुरा खाने इच्छा प्रकट गर्छ ! भैरबले त्यही पैसाले भाले कुखुरा किनेर महाकालीलाई चढाउँछ ! महाकालीले मुखबाट भालेको टाउको छुट्याई बली लिन्छ र भैरबले आफ्नो खास्टो फिर्ता पाउँछ ! यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ । सिम्ह दुम्ह बालकुमारी स्वेत भैरब र महाकालीबीच विशेष पूजा गरी श्वेत भैरबको नाच देखाइन्छ ।

माछा मार्न शिक्षा दिने नाच :
सिम्ह दुम्ह आफ्नो मित छोरालाई शिक्षा दिई माछा मार्ने जात्रा सुरु गर्न पानी फाल्ने नाच देखाइन्छ । सिम्ह दुम्हको स–साना केटाकेटीपनको चकचके नाच जिद्दिपन ठूलाबडासँग जिस्किने नाच प्रदर्शन गरिन्छ । पछि श्वेत भैरबबाट माछा मार्ने जात्रा सुरु गर्न माछा राखेको बाँसको ढक्की बोक्दै माछा मार्ने जात्रा गरिन्छ । माछा मारेर मित छोराहरूलाई अगाडि बोलाई आफू एक्लैले मात्र माछा खान्छ र माछा खाने भाषाको बोलमा सिम्हले सराप दिने गर्छ ।

श्वेत भैरबको पेट दुख्ने नाच :
श्वेत भैरबको पेट दुखेको नाच देखाइन्छ । छट्पटिरहेको बेला मित छोराहरू सिम्ह दुम्हकै सहयोगबाट क्षमा मागी आफ्नी श्रीमती बालकुमारी (इन्द्रायणी) बोलाई अक्षता (जाकि ह्वयेकेगु) गर्ने गराइन्छ र निको हुने नाच देखाइन्छ ! यसपछि श्वेत भैरब र इन्द्रायणीको मतिना (प्रेम) नाच प्रदर्शन गरिन्छ । आफ्नो लुगा धुन सिम्ह दुम्हको सहयोग मागिन्छ ।  लुगा धोइदिन्छु भनेर लिन्छन् र फालिदिन्छन् ! लुगा फाल्ने, जिस्क्याउने बानीबाट दिक्क भई मित छोराछोरीलाई गाली गरी आफैँले लुगा धुने नाच प्रदर्शन गरिन्छ ।

समापन नाच :
श्वेत भैरबको छोटो नाच देखाइन्छ र माछा मार्ने जात्रा सम्पन्न गरिन्छ ।
त्यसलगत्तै पूर्ण सम्पूर्ण देवगणहरू अन्तिम देवगण नाच प्रदर्शन गरी स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय काली ! जय बाराही ! लगायत नाराका साथै धुप, अगरबत्ति बाली देवगण मन्दिरसम्म पुर्‍याउने चलन छ ।

श्रोत : नाचको सार माननीय श्री नारायणमान बिजुक्छेको लेखबाट ।

Monday, March 20, 2017

ऐतिहासिक नगरी पनौतीको कथा


धर्मग्रन्थहरूको पौराणिक कथाअनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाटनजिकै बस्थे । अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए । समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए ।

यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरिक सम्बन्ध बनाए । नदी तटनजिकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए । आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुबैलाई श्राप दिए । श्रापको प्रभावका कारण अहिल्या ढुङ्गामा परिणत भइन् । उक्त ढुङ्गा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्थित छ । श्रापकै कारण राजा इन्द्रको शरीरभर हजारौँ योनी निस्किए ।

कथाअनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे । गुरुको सल्लाहअनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको १२ वर्षे तपस्यामा बसे । तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, “यसलाई टेक्दै यात्रा गर्नु, बाँसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनी मुक्त हुनेछौ ।”

मुक्तेश्वर महादेवको आज्ञाअनुसार पृथ्वीको यात्रामा निस्किएका इन्द्र त्रिवेणीकोनजिक पुगेपछि उनले ढुङ्गामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभरी आएका योनी लुप्त भए ।
इन्द्रले ढुङ्गामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ । किनभने, नेपालभाषामा ‘पँ’ भनेको बाँस र ‘ल्होँ’ भनेको ढुङ्गा भन्ने बुझिन्छ । ढुङ्गामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ ‘पँल्होँ’ हुँदै कालान्तरमा पनौती नामाकरण भएको मानिन्छ ।

निधारको योनी नहटेपछि राजा इन्द्र पनौतीनजिकै रहेको भालेश्वर महादेवको १२ वर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ । यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनीलाई आँखामा प्रमाणित गरिदिए । भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ । त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेश्रो आँखा भएका इन्द्रको पूजा महत्वको विषय रहँदै आएको छ । जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ ।

इन्द्रले जुन ढुङ्गामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए । इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ । उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईश्वीको १३ औं शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन् । यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ । अहिले पनि उक्त मन्दिर १३ औं शताब्दीकै स्वरूपमा छ । समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन् । तर, ती दुबै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औं र १५ औं शताब्दीमा बनेका हुन् ।

श्रोत : विकिपिडिया

योमरीको कथा


ऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे उनकी पत्नी भगवान् विष्णुका परम भक्त थिए ! उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो

एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको भक्तालु रहेछन् भनि बुझ्न मन लागेछ ! कुबेरले एक दरिद्र रुप धारण गरि उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरि पकाएर राखेको यमरी सहित मिठा मिठा खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर अत्ति प्रशन्न भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि दीक्षा प्रदान गरि अन्तर्ध्यान भएछन् । त्यो दिन मंशिर शुल्क पुर्णिमा अर्थात थिंलाथ्व पुर्णिमाको दिन थियो ।

कुवेरले दिएको दीक्षा अनुसार महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी / योमरी बनाई अन्न राख्ने भकारीमा राखेछन् ! साथै कुवेरले दिएर गएको बिमिरोलाई पनि त्यहि विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पुजा गरेछन् ! अनि अन्न, धान र योमरी दान पनि गरेछन् ! भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर यमरी खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ, धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।

विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् । यसरी कुबेरले भने अनुसार धन धान्य भएको हुनाले त्यहि बेलादेखि मंशिर पुर्णिमाको दिन भर्खरै भित्राएको धानबाट योमरी बनाएर खाने र पर्व मनाउने चलन चली आएको भनाई छ ।

- "रत्नाबदान बुद्ध वचन" पुस्तकमा उल्लेखित कथाको सारांस !
 

 नोट : नमोबुद्धको कथामा प्रस्तुत विश्वन्तर राजकुमार यिनै पांचाल देशका राजकुमार थिए !

गुरुमापाको कथा

गुरुमापालाई टुंडीखेलमा टन्न मासु भात खुवाउँदै !!

केशचन्द्र, काठमाडौको इतुंबहाल निवासी, जुवामा आफ्नो सबै सम्पति हारेपछि, आफ्नै बहिनीसंग बस्न थाले ! बहिनीको घरमा खाना खान दिएको प्लेट समेत जुवा खेल्दै हार्न थालेपछि बहिनीले केशचन्द्रलाई भुइमा खाना राखेर खुवाउन थालिन !

बहिनीको यो ब्यबहारले चित्त दुखेर भुइको खाना सबै रुमालमा पोको पार्दै काठमाडौ शहर बाट टाढा हिडे ! भोकाएका केशचन्द्र खाना खानको लागि रुमालको पोको फुकाले, सबै खाना बासी भएर बिग्री सकेको थियो !
भोकाएका केशचन्द्र खानालाई फिजाएर घाममा सुकाउन थाले र आफु एकछिन आराम गर्न थाले ! जब बिउझियो, घाममा सुकाएका सबै खानाहरु परेवाले खाँदै थिए ! भोकाएका केशचन्द्र सारै दु:खि र उदास भए र आँशु झार्न थाले ! उसको दु:ख देखेर परेवाहरुले खाएका खानेहरु ओकल्न थाले जुन भकाभक सुनमा परिवर्तन भए ! यति धेरै सुन थुप्रिए कि उसले उचाल्न पनि सकेन ! सुनको थुप्रोलाई के गर्ने कसो गर्ने सोचि रहेको बेला एक्कासि जंगलमा बस्ने मान्छे खाने गुरुमापा गन्ध सुघ्दै आफुतिर आइरहेको देखे !

केशचन्द्रले मायायापुर्वक गुरुमापालाई मामा सम्बोधन गर्दै बोलाए र थुप्रेको सुन घरसम्म बोकेर पुरयाई दिन अनुरोध गरे ! बदलामा घर पुगेपछि टन्न भोजन गराउने र शहरका बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई गाली गर्दै बोलाए ति बच्चाहरुलाई गुरुमापाले लैजान सक्ने अधिकार दिने बचन दिए !

यसरी केशचन्द्रले गुरुमापालाई आफ्नो घर इतुंबहालमा लगे र आफ्नो काम सिद्ध गरे ! टन्न सुन पाएका केश चन्द्रले गुरुमापालाई मायापुर्वक आफैसंग राखे ! अन्तत: जब जब बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई ..गुरुमापा आउँछ, तिमीलाई लगेर खान्छ भनेर तर्साउन थाले, शहरबाट बच्चाहरु हराउन थाले !
पछि स्थानीय बासीहरुले यो कुरो थाहा पाए ! गुरुमापालाई आफ्नो टोलमा यसरी राख्न नहुने निर्णय गरे ! बार्षिक रुपमा मासु भात खुवाउने प्रतिबद्धता सहित टुँडिखेलमा बस्न बाध्य गराए र गुरुमापालाई शहरबाट निकाले !

 फोटो : राजु महर्जन

स्वयम्भु अवस्थित हारती अजिमाको कथा


स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर्भभित्रको रत्ननिधिहरू सुरक्षित रेखदेख गर्ने हुनाले यस मन्दिरलाई रत्नपुर पनि भनिन्छ । यिनलाई ५०० छोरा, ५०० छोरी र ५०० ज्वाईहरूको समूहद्वारा सुसज्जित अजिमा पनि भनिन्छ । यिनलाई यक्ष र राक्षसहरूमा सबैभन्दा धेरै ऋद्धि र बल भएकी र देशदेशान्तरमा आफ्नो आधिपत्य जमाएकी यक्षणीको रूपमा मानिन्छ ।

यिनका यति धेरै परिवारगण भए पनि प्रतिनिधिको रूपमा धनभाजु, धनमयजु, वासिंभाजु, वासिंमयजु, जिलंभाजु गरि पाँच जनाको नाम उल्लेख भएको पाइन्छ । हारती महायक्षणीको जहाँ सुकै मन्दिर तथा मूर्तिहरूसँग यी पाँच जना प्रतिनिधिहरू पनि सँग रहेको देखिन्छ ।

हारिति महायक्षणीलाई हारती माजु, अजिमा द्य:, मयजुदेव, हारती बज्रयोगिनी, शितला माजु, स्वयम्भु संरक्षिका धर्मपाली, धाक्वसिक्वमा मचाप्यासी आदि नामले पनि चिनिन्छ ।

स्वयम्भू पुराणअनुसार हारती महायक्षणी पाञ्चिक महायक्षको पत्नी थिइन् । उनी मानव बस्तीहरू तथा राजदरबारहरूमा गई दिनहुँ ५०० बच्चाहरूको हरण गर्दै मासभक्षण गर्दै मानिसहरूलाई दु:ख दिईरहन्थे, हाहाकार मचाई रहन्थे, आमाबुबा तथा परिवारजनहरूलाई रुवाई रहन्थे । कसैले यिनको दमन गर्ने खोजे उपद्रो र अशान्त मचाई रहन्थे । यिनको यो अत्चायार सहन नसकेर ब्रम्हालगायत देवीदेवताहरू पनि दिक्क हुन्थे र प्रार्थना गरी रहन्थे ।

एकदिन, शाक्यमुनि सिद्धार्थ बुद्धले देवी देवताहरूको प्रार्थना सुनेर, हारती महायक्षणीको प्राण प्यारी छोरी आनन्दालाई पिण्डपात्रले छोपेर लुकाई दिए । आफ्नी प्राणप्यारी छोरी आनन्दा हराएपछि हारती महायक्षणी बिरह हुँदै भौतारिन्दै यताउता खोज्दै हिँडे । समुन्द्र नै धमिलो पार्दै तिनै भुवनमा भौतारिन्दै खोज्दै हिँडे । यिनी यसरी दु:खि हुँदै भौतारिन्दै हिँडे कि आफ्नो अगाडि सुमेरु पर्वत भन्दा नि गह्रौ पिण्डपात्र उचालेर हेर्न सामर्त्थता पनि रहेन र रोइ कराई बसे । यिनको यो अवस्था हेरिरहेको बुद्धले अन्तत: पिण्ड पात्र उचालेर उनको छोरीलाई अगाडि राखी दिए । जेतवन बिहारमा भएको यस घटनाले हारती महायक्षणीको आँखा खोले र उनले हिँसा गर्दै मासभक्षण गर्ने प्रवृद्धि त्याग्ने निर्णय गरे ।


शाक्यमुनि बुद्ध गोपुच्छ पर्वत (हालको स्वयम्भु) मा बस्दै स्वयम्भु महाचैत्य महात्म्य बिषयमा व्याख्यान गर्दै थिए । हारती महायक्षणी टुप्लुक्क अगाडी आइ पुगे र बुद्धको चरणकमलमा ढोग गर्दै आफु पनि स्वयम्भु महाचैत्यको दर्शन र सेवा गर्न आएको, यसै सुन्दर उपबनमा बसी स्वयम्भु महाचैत्य, सदगुरु मन्जुश्री एवं शान्तिकर आचार्यको सेवा गर्दै बुद्ध शासनको रक्षाको निम्ति समर्पित गर्दै आफु सधैको लागि बस्न पाउँ भनि अभिलाषा गरे ।
यिनको यस प्राथना प्रति बुद्ध अत्यन्तै प्रसन्न हुँदै यस महान एवं उत्तम क्षेत्र साह्वंगु बिहारमा बसी बुद्ध शासनको संरक्षिका भै बालबालिकाहरुको रक्षा र दयामाया गर्दै बस्न अनुमति दिए । पहिले जस्तै यताउता भौतारिन्दै बहुला झैँ बनेर मानिसहरुलाई भय त्रास नदिई आफ्नो प्राण प्यारी छोरीलाई जस्तै समस्त बालबालिकाहरुलाई उत्तिकै दयामाया गर्दै लालन पोषण गर्दै रक्षा गरि बस्न अनुमति दिए । आफ्नो बुद्ध शासनकालमा कुनै द्वेष,रिस तथा कलंक नगरी स्वयम्भुलाई चढाएको पिण्डपात्रको भोजन गर्दै पंचदशशत परिवार बीच महोत्सव तथा स्वयम्भुको भजन गर्दै बस्न लगाउंदै बुद्ध शासन अनुसार भिक्षुहरुलाई झैँ हारिति महायक्षणीलाई पनि पिण्डपात्र भोजन प्रदान गर्न विनय प्रस्तुत गरे ।

स्वयम्भु पुराणमा उल्लेख अनुसार शान्तिकर गुरुले ज्योतिर्मय स्वयम्भुलाई छोप्न विधिपुर्वक प्रतिष्ठान गर्न सबै देवीदेवताहरुलाई आह्वान गरे । स्वयम्भु महाचैत्यको निर्माण गर्न ब्रम्हा, बिष्णु, महेश्वर, इन्द्र, यम, बरुण, कुबेर, अग्नि, नैऋत्य, वायु, इशान, चन्द्र, सुर्य एवं यामा, तुषिता, निर्माणरति, परनिर्मित वशवर्ति, ब्रम्हपार्षद्य:, ब्रम्हकायिका, ब्रम्हपुरोहित, परिताभा, अप्रमाणाभा, आभाश्वारा, सुदर्शना आदि देवभुवनबाट आइ आ-आफ्नो अधिकार बिशेषले सहयोग गरे । साथै, सुखावती भुवनबाट अपरिमिता तथागत आइ चढाएर गएको उष्नीष चुडामणि सुबर्ण छत्र भने जति मिलाए पनि बाङ्गोको बांगै रहे । सबै देवदेवताहरु चुडामणि सुबर्ण छत्र बाङ्गो भएको देखेर चकित परे ।

पछि शान्तिकर आचार्यले शाक्यमुनि बुद्धलाई यसो हुनुको कारण प्रश्न गरेपछि धेरै पहिले देखि हारिति महायक्षणीले आफु यस पवित्र भूमिमा बस्न पाउँ भनि गरेको आशिकाको कारणले नै यसो भन्ने शाक्यमुनि बुद्धको दिब्यसंदेश पछि शान्तिकर आचार्यसामु हारिति महायक्षणीने निम्न उल्लेखित जिम्मेवारीहरु बाचा गरे / गराएका थिए ।
  • जहाँ जहाँ बुद्ध भगवानहरुको मुर्ति र चित्रहरु प्रतिस्थापित हुन्छ, दैनिक ३ प्रहर रेखदेख गर्ने
  • आफ्ना बच्चाहरुलाई जति माया गर्ने हो, १२ बर्ष मुनिका बच्चाहरुलाई सुदृष्टि पुर्वक हेरबिचार गर्ने
  • स्वयम्भु धर्म धातु बागीश्वरको सेवा भक्ति गर्दै यस क्षेत्रको हेरविचार र संचालन गरि रहने
  • जहाँ जहाँ बुद्ध धर्मको उत्सब हुन्छ, भक्तिभावले सेवा गर्दै गगनबिहार गर्दै हेरविचार गर्ने

स्वयम्भु महाचैत्य नजिकको हालको मुर्ति तथा मन्दिर भने १९ औं शताब्दीमा राखिएको थियो । आफ्नी रानी बिफरले मरेपछि रणबहादुर शाह बहुलाउँदै हारतीको पुरानो मूर्ति तोडिदिएका थिए । त्यसपछि यस स्थानमा अर्को हारती अजिमाको मूर्ति राखिएको थियो ।

श्रोत : स्वयम्भु महाचैत्यबाट अनुवादित 

बिरुपाक्षको कथा



मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग

बिरुपाक्षको मुर्ति
उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक्ष नामक एक सुन्दर किराती थिए । बिरुपाक्ष १२ बर्षको उमेरमा आफ्नी आमासँग खटपट भै घर छोडेर हिँडे । धेरै समयसम्म छोराको बाटो हेर्दा हेर्दै दिक्क बनेका आमा पनि एकदिन घर छोडी फिरन्ते भएर हिँडिन् ।

कालान्तरमा कर्मभोगको सिलसिलामा एकदिन एक जंगलमा आमा छोराको भेट भयो, तर दुबैले एकले अर्कालाई चिनेनन्  । एकान्त ठाउँ, रातको समय, आमाको सुन्दरता, दुबैमा कामतृष्णा जागृत भयो र अन्तत: दुबै बीच सहबास भएछ । कुरै कुरामा एक अर्काको परिचय गर्ने क्रममा दुबैले आफूहरू आमा छोरा सम्बन्ध रहेको थाहा भएछ र ठूलो पश्चाताप गर्दै आफूले गरेको पापकर्म मोचन गर्न बिरुपाक्ष पशुपति महादेवको शरणमा पुगे ।
बिरुपाक्षको सम्पूर्ण पापकर्म सुनेर महादेवले १२ धार्नी तामा (Copper) लाई पगालेर त्यसको झोल बनाई पियो भने पाप मोचन हुन्छ भनेर उपदेश दिएछ । महादेव जस्तो भगवानले भनेको कुरा नपत्याउनु नि कसरी, जंगलमा गएर एउटा ठूलो भाँडोमा १२ धार्नी तामा पकाउँदै उमाल्न थाले । धेरै बेरसम्म पकाई सकेपछि अब त तामा पग्लियो होला, खान लाएक भयो होला भन्दै ढकनी खोलेर हेरेछ । दुर्भाग्य, पग्लिएको तामाको रापले बिरुपाक्षको अनुहार कुरूप हुने गरी जलेछ । हतार हतार ऐना खोज्दै आफ्नो अनुहार हेर्दा बिरूप भै सकेको अवस्था थियो ।
बिरुपाक्ष मन मनै कुरा खेलाउन थाले, जाबो रापले नै यत्रो बिरूप हुन्छ भने त्यो झोल खायो भने त म भष्म नै हुने रहेछ । यस्तो नि महादेव हुन्छ ? भन्दै महादेव प्रति अविश्वास, अपत्यार, रिस राख्दै जंगल छोडेर हिँडे र अन्तत: बुद्धको शरणमा पुगे ।

बुद्धले बिरुपाक्षको सबै घटनाहरू सुनेपछि एक निर्मल जपमाला दिँदै जपमाला नखुइलेसम्म एकाग्र चित्तले जप गरेर बस्न उपदेश दिए । जब जपमाला पूर्ण रूपमा खुइलिन्छ, तिम्रो पापकर्म मोचन हुन्छ भन्ने बुद्धको उपदेश पाएर बिरुपाक्ष बागमतीको किनारामा बुद्धले दिएका मन्त्र घोक्दै जप गर्न बसे ।

लामो समयसम्म पनि जप गर्दा पनि जपमाला नखुइलेपछि निराश हुँदै बाहिर निस्के । खोलाको छेउमा एउटा माग्ने बच्चा एक ठूलो फलामको पाता ढुंगामा घोट्दै दिए । अचम्म लागेर के गरिरहेको भनेर सोध्दा “मेरो लुगा सार्है पुरानो भो, म यो फलामको पाता घोटेर सियो बनाउँछु र लुगा सिलाउँछु” भन्ने जवाफ पाए । माग्ने बच्चाको यस्तो जवास सुनेर बिरुपाक्ष निकै खुसी भए । जाबो सानो बच्चाले त यस्तो उद्योग गर्न सक्छ भने म मात्र के कम भन्दै पुन: मन्त्र  घोक्दै जपमाला जप गर्न थाले ।

अर्को लामो समयसम्म जप गर्दा पनि जपमाला खुइलेन । पुन: निराश हुँदै बाहिर निस्के । दुई जना मान्छेहरू धागोले फटकिरी काट्दै गरेको देखे । अर्को ठाउँमा रुखलाई एकै चोटी बन्चरोले काट्यो भने ठूलो बेदना हुन्छ भन्दै सियोले घोच्दै रुखलाई ढाल्न खोज्दै गरेको दृश्य देखे । निराश हुँदै फिरन्ते पाराले  डुल्दै जाँदा एक ठाउँमा चराहरू आफ्नो चुच्चोले तलाउको पानी ओसारी रहेको पनि देखे । यस्ता विविध क्रियाकलाप देखेर बिरुपाक्षलाई मनमा बुद्धले आफूलाई धेरै ठूलो काम अर्‍याएको रहेनछ, जाबो यस्ता माग्ने बच्चा, सामान्य मानिस, चरा जस्ताले त यत्रो कामहरू सिद्ध गर्न सक्छ भने म किन नसक्नु भन्दै गुरुको आज्ञाअनुसार पुन: नयाँ उत्साह साथ जप गर्दै बस्न थाले । यसरी लामो स
मयसम्मको जप, थुप्रै अधैर्यहरू पार गर्दै उत्साह र निश्चयका साथ अन्तत: बिरुपाक्षको जपमाला खुइलेर गए र पापकर्मबाट मुक्त हुँदै खुसी भए ।

पापकर्मबाट मुक्त भए पनि बिरुपाक्षको मन चाहि शान्त रहन सकेन । यस्तो नि महादेव हुन्छ ? दु:ख दिने पनि महादेव हुन्छ भन्दै बिरुपाक्ष रिसाउँदै जहाँ जहाँ शिवलिंग छन्, उतै उतै प्रहार गर्दै, लात्ताले हिर्काउँदै हिड्न थाले । यस्तै ताल हो भने  महादेव अब आफूलाई पनि हिर्काउन आउँछ भन्ने ठानेर महादेव बुद्धको शरणमा पुगे l महादेव आपतमा परेको देखेर बुद्धले महादेवलाई पञ्चबुद्ध अंकित मुकुट लगाउन दिए l रिसाएका बिरुपाक्ष महादेवलाई हिर्काउने भन्दै महादेवको अगाडि आए तर पञ्चबुद्धको मुकुट लगाएको देखेर आफ्नो गुरु सम्झेर बन्दना गर्दै आफ्नो बाटो लागे ।

यसै दिनको सम्झनामा मुख अष्टमी अर्थात मुखअष्टी परम्परा आज पनि चलनचल्तीमा रहेको छ  । स्वयम्भूमा पञ्चबुद्ध अंकित मुकुट लाएका शिवको मूर्ति अहिले पनि देख्न सकिन्छ । बिरुपाक्षको मूर्ति पशुपति र स्वयम्भूमा भेटिएको छ । पशुपतिमा बागमती किनारामा यसै कथालाई अनुस्मरण गर्न बिरुपाक्ष जप गर्दै बसेको प्राचिन मूर्ति आज भोलि पनि हेर्न सकिन्छ । यसै ठाउँमा बिरुपाक्षको आमाको शालिक पनि राखिएको छ, यिनलाई मूर्ति विद्वानहरूले किराती राजमाता भन्ने गरिएको छ भने कसै कसैले यक्षणी भनेर पनि भनिएको छ । बिरुपाक्ष र बिरुपाक्षको आमा दुबैले पापकर्म शान्त गर्न शान्ति तीर्थको सन्नीवर्ती आर्यघाटमा सँगै बसेर तपस्या गरेको भन्ने भाव देखाउन खोजिएको छ । यता स्वयम्भूमा अवस्थित बिरुपाक्षको मूर्तिले भने पापकर्मको बन्धन बाट मुक्त भइ स्वयम्भू पर्वतमा पर्वतारुढको आसनमा बसी पापकर्मबाट सतर्क भइ स्वयम्भू महाचैत्यप्रति भक्तिभावपूर्वक बसेको देखिन्छ । बिरुपाक्षको यो मूर्ति जति जति जमिन छोडेर माथि आउँछ, उति उति नै कलि बढ्छ भन्ने भनाई रहेको छ । यसै कथा अनुरूप पशुपतिको शिवलिंग बाहेक अन्यत्र धेरै ठाउँमा शिवलिंग हल्का ढल्केको छ भन्ने जन विश्वास रहेको पाइन्छ ।

महाँकाल भैरवको कथा

काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा

लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पानी पार्ने अनेक उपाय गरे । धेरै गण्यमान्यहरू र तान्त्रिकहरूसँग सर–सल्लाह हुँदा तान्त्रिकका पनि तान्त्रिक शाश्वत बज्र गुभाजुको नेतृत्वमा ठूलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक र आध्यात्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे । यज्ञ सुरु भो, अग्नी दन्कियो, स्वाहा गर्यो । सर्पदेखि बिच्छीसम्म होमिए । हेर्दाहेर्दै आकाशमा अजङ्गको कालो मेघ देखा पर्यो । यति बिशाल र सघन बादल कहिले पनि देखिएको थिएन । सब खुशी भए । राजा जनता, बटुक, पण्डित । तर तान्त्रिक गुभाजुको अनुहारमा चमकभन्दा ज्यादा चिन्ता देखिए । सहकर्मी तान्त्रिकहरू छक्क परे । यत्रो साधनाको फल, आकाशमा देखिँदा पनि तान्त्रिक गुभाजु हर्षित थिएन । सबै तान्त्रिकहरू गुभाजु भए ठाउँमा गए र जिज्ञासा राखे ।

“गुरु देव, यज्ञ सफल भएकोमा हजुर खुशी देखिनु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौं” गुभाजुले आफ्नो चिन्ता प्रकट गरे ।
‘मलाई यो मेघ प्राकृतिक लागेन, पानीको कुनै अंश देख्दिन’
‘कुनै दैवी छल वा पिसाचको संकट हुनसक्छ’
‘त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु, सत्य देख्न चाहन्छु’

गुभाजुको यो तर्क सुनेपछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए । गुभाजुले आफ्नो भए भरको तन्त्रमन्त्र प्रयोग गरी त्यो भीमकाय मेघलाई तारण लगाई झारे । झर्दा त बिशाल कालो रंगको ढुङ्गा झरे । करिब ६ हात लामो, ३ हात चौडा र २ हात उचाईको ढुङ्गा झरे । घोर अनिष्ट ! आकाशबाट बिशाल ढुङ्गा झरेकोमा हल्लाखल्ला धेरै भए । गुभाजुलाई लाग्यो तारण लगाई झारेको ढुङ्गा चानचुने होइन । यो कसैको छद्मभेषी अवतार हुन सक्छ । तारण फुकालेर, तन्त्रको बलले सही रूपमा प्रकट हुन आग्रह गरे । अचम्म, कालो वर्णको, भीमकाय शरीर भएको, सर्पको माला लगाएको, हातमा पात्र (गुलपाः), गद्दा, खड्ग बोकेको महाँकाल रहेछ, संसारलाई शत्रु र संकटबाट बचाउने देवको रूपमा । त्यो थाहा पाएपछि, गुभाजुले आफ्नो अज्ञानताको लागि माफी मागे र देशमा संकट भएकोले अबदेखि यहीँ राज हुन अनेक बिन्ति गरे ।महाँकाल देवताले ‘मलाई संसारभरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन, त्यसले वत्स, तिम्रो आग्रहलाई मानेर म हरेक शनिबार अवश्य आउँछु । मलाई एउटा मन्दिर बनाएर र मूर्ति बनाई राखी देउ, म आएर दर्शन दिन्छु ।

एक दिनले नपुग्ने गुनासो गरेपछि भगवानले केही सहुलियत दिने निर्णय गरे । ‘हरेक शनिबार त म आउँछु र मंगलबारको दिन पनि अन्य संकटकालीन काम आइपरे भने ऐच्छिक रूपमा आउँछु र कान्तिपुरबासीको दुःख निवारण गर्न सक्दो मदत गर्नेछु ।’

यति सुनेर गुभाजु लगायत सबै जनाले महाँकाल देवताको जय जयकार गर्न थाले । अचेल त्यो ढुङ्गारूपी महाँकाल खसेको ठाउँ ढुङ्गासहित यद्यपी देख्न सकिन्छ । पुरानो बसपार्क, शहीद शुक्र माध्यमिक विद्यालयको सामुन्ने त्यो ढुङ्गारूपी असली महाँकाल अहिले पनि देख्न सकिन्छ
। हाल त्यस स्थानलाई सुरक्षित रूपमा बार लगाई, माथी सुनको जलप भएको झल्लर राखिएको छ ।

श्रोत : राहुल भाई (www.sajha.com)

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...